विकासन्युज

५ कट्ठा १८ धुर सार्वजनिक जग्गामा ७ तले होटल निर्माण गर्न खोज्ने सुभाषराज काफ्ले विवादमा

काठमाडौं । मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ । नेकपा झापा जिल्ला कमिटी सदस्य देवकुमार राईको नेतृत्वमा मङ्गलबार पार्टीको प्रतिनिधिमण्डलले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाउँदै सो जग्गामा होटलको निर्माण तत्काल रोक्न माग गरेको हो । एक दशक अघिसम्म नेपाल चिया विकास निगमको प्रधान कार्यालय रहेको चार हजार १५७ वर्ग मिटर क्षेत्रफल भएको सो जग्गा निगमले ऋण बुझाउन नसकेपछि कृषि विकास बैंकले काठमाडौँका सुभाषराज काफ्लेलाई गत वर्ष बिक्री गरेको थियो । काफ्लेले किनेपछि सो जग्गालाई प्लटिङ गरी घडेरी बिक्री गर्ने योजनाअनुसार मेचीनगर नगरपालिकाबाट कित्ताकाटको सिफारिश लिँदा सार्वजनिक प्रयोजनका लागि पाँच कट्ठा १८ धुर जग्गा खाली छाड्ने सहमति भएको थियो तर जग्गाधनी काफ्लेले हालै सो खाली छाडिएको जग्गामा सात तले होटल निर्माण गर्ने भनी मेचीनगर नगरपालिकाबाटै निर्माणको अर्को सिफारिश लिएपछि सार्वजनिक जग्गामा मास्ने षड्यन्त्रविरुद्ध उत्रिनुपरेको नेकपा मेचीनगरका नेता माधव अर्याले बताए । सार्वजनिक प्रयोजनका लागि भनी एकपटक कित्ताकाट भई नक्शासमेत बनिसकेको जग्गामा शुरु गरिएको होटल निर्माण रोक्न नगरपालिकाले अविलम्ब पहल गर्नुपर्ने ज्ञापनपत्रमा जोडदार माग गरिएको छ । पार्टीले बुझाएको ज्ञापनपत्र उपप्रमुख मीना उप्रेतीले ग्रहण गर्दै यस विषयमा नगरका प्रमुख विमल आचार्यले नै जवाफ दिनुपर्ने प्रतिक्रिया दिए । नगरपालिकाले सार्वजनिक हितका लागि छुट्याइएको जग्गामा किन होटल निर्माणका लागि सिफारिश ग¥यो भनी प्रश्न गर्दा नगर प्रमुख विमल आचार्यले नगरपालिकाले होटल निर्माणका लागि स्वीकृति नदिएको बताए । रासस

बुटवल उपमहानगरपालिकाको १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक

काठमाडौ। बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ। उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि पहिलो वर्षलाई अध्ययन वर्षका रूपमा लिँदै अब समृद्धिको आधार वर्षका रूपमा दीर्घकालीन योजनासहित महत्वपूर्ण काम अगाडि बढाएको हो । उपमहानगरपालिकामा मङ्गलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा गुरुयोजना निर्माणको निम्ति विज्ञसमूह, विषयगत विज्ञ उपसमूह, निर्देशक समिति र सल्लाहकार समिति गठन गरेर वडावासी तथा विभिन्न सरोकारवाला निकायसँग सुझाव सङ्कलन गरिएको नगरप्रमुख शिवराज सुवेदीले जानकारी दिए। उनले विभिन्न विषयगत समितिमा छलफल गर्ने काम सम्पन्न गर्दै तेस्रो नगरसभाबाट उपमहानगरपालिकाको एकीकृत विकास गुरुयोजना पारित गरिएको जानकारी दिए। साथै नगर पाश्र्वचित्र निर्माण गर्ने कामसमेत सम्पन्न भएको बताए। तत्कालीन अङ्ग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लामा कर्णेल उजिरसिंहको पूर्णकदको शालिक बनाइने भएको छ । सो किल्लामा विशाल राष्ट्रिय झण्डा फहराउने गरी ढाँचा तयार भइरहेको प्रमुख सुवेदीले बताए। विभिन्न विज्ञसँगको अन्तरक्रिया र छलफलमार्फत ऐतिहासिक धरोहरकारुपमा रहेको सो किल्लाको संरक्षण गर्न कार्यपालिकाको बैठकबाट वैशाख ७ गतेलाई जितगढी विजयोत्सवका रूपमा मनाउने निर्णय भएको जनाइएको छ । बुटवल उपमहानगर वडा नं १ र २ लाई पुरातात्विक बस्तीका रूपमा विकास गर्ने र बुटवल १ मा अवस्थित पुरानो नगरपालिका भवन भएको स्थानमा बटौली सङ्ग्राहलय निर्माण गरिने भएको छ । सो कामका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पार्ने काम अगाडि बढाइएको छ । हिल पार्कमा विशाल बुद्ध मूर्ति साथै बुद्धिष्ट पार्क निर्माण गर्न सर्भे तथा जग्गा यकिन गर्ने काम सम्पन्न गर्दै डिपीआर तयार पार्ने काम भइरहेको नगरप्रमुख सुवेदीले बताए। सो बुद्धमूर्ति लुम्बिनीको मायादेवी मन्दिर परिसरबाटसमेत देख्न सकिने बताइएको छ । यस्तै शिवनगर सामुदायिक वनमा ‘रामपिथेकस जियोलोजिकल पार्क’ बनाउन सर्भे तथा जग्गा यकिन गर्ने काम भइरहेको छ । मिलन पार्कको विकास गर्न गुरुयोजना निर्माण गर्दै पूर्वाधार निर्माणको काम शुरु भएको छ । पशुपतिनाथको महिमासँग जोडिएको सेमलारको नरैनापुर धाम र त्यसक्षेत्रको ताललाई जोडेर विशेष पर्यटकीय क्षेत्र बनाइने छ । पार्क संरक्षण गर्न पर्खाल निर्माण गर्ने काम भएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए। अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्र्न अव्यवस्थित बसोवास व्यवस्थापन तथा सार्वजनिक जग्गा संरक्षण कार्यदल गठन गर्दै करीब १६ हजार घरघुरीको लगत सङ्कलन गरी अमिनमार्फत नापी गर्ने प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख सुवेदीले जानकारी दिए। रासस

पोखरा–बागलुङ सडक असोज २० गतेसम्म दैनिक सात घण्टा बन्द

काठमाडौं। मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ खण्ड फराकिलो बनाउने र सुधार गर्ने क्रममा दैनिक सात घण्टा बन्द गर्न थालिएको छ । गत असारदेखि निर्माण कार्य थालेको मध्यपहाडी लोकमार्ग आयोजनाले असोज २० गतेसम्म दैनिक सात घण्टा पर्वत खण्ड बन्द गर्न थालेपछि यात्रुलाई समस्या परेको छ । सडक विस्तारका लागि पर्वतको सिमाना अँधेरीखोलादेखि खहरेगेटसम्म असोज १ गतेदेखि दैनिक सात घण्टा बन्द गर्न थालिएको हो । लोकमार्गको पर्वत खण्डमा पर्ने डिमुवादेखि बेतनीबीचको माहुरी भीर र दोबिल्लादेखि चुवासम्मको चुवा भीरमा सडक फराकिलो बनाउन सडक बन्द गरेर काम भइरहेको छ । सडकमा बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म दुई घण्टा, दिउँसो १ बजेदेखि ४ बजेसम्म ३ घण्टा र साँझ ६ बजेदेखि राति ८ बजेसम्म दुई घण्टा सडक बन्द भइरहेको निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीले जानकारी दिएको छ । असोज २० देखि दशैँ शुरु हुने र मुक्तिनाथ पुग्ने पर्यटकको चाप बढ्ने भएकाले सडक बन्द नगरिने निर्माण कम्पनी लामा कन्ट्रक्सन कम्पनीका प्रोजेक्ट म्यानेजर गोविन्द भुसालले बताए। सडक खुला हुँदा सबै प्रकारका सवारी साधन आवतजावत गर्न कुनै समस्या नहुने गरी व्यवस्थापन भइरहेको उनले बताए। असोज ५ देखि हुने नेपाल जेसिजको क्षेत्र ‘ख’ सम्मेलनका बेला सडक किनारमा राखिएको निर्माण सामग्रीलाईसमेत हटाएर सडक फराकिलो बनाउने काम भएको म्यानेजर भुसालले बताए। आयोजनाको पर्वतको प्रवेशद्वारदेखि मालढुङ्गासम्मको २३ दशमलव ७६९ किलोमिटर स्तरोन्नतिको काम लामा कन्ट्रक्सन प्रालिले जिम्मा लिएको छ । कम्पनीले रु ८३ करोड ९८ लाखमा पर्वत खण्ड स्तरोन्नतिको कामको ठेक्का लिएको छ । अहिलेसम्म १५ प्रतिशत काम सकिएको छ । अहिले सबै ठाउँबाट काम शुरु गरिएको र दशैँ तिहारपछि कामलाई अझै तीव्र बनाउने बताइएको छ । मध्यपहाडी लोकमार्ग आयोजनाले ७२ किलोमिटर लामो पोखरा–बागलुङ खण्डलाई नयाँ स्वरुपको बनाउन मर्मतसम्भार तीव्र पारिरहेको छ । लोकमार्ग पुरै नयाँ स्वरुपमा विस्तार र स्तरोन्नति गर्ने काम भइरहेको छ । मध्यपहाडी सडक आयोजनाले दिएको जानकारीअनुसार तीन वर्षभित्र पोखरा–बागलुङ खण्डको धेरैजसो भाग पुरै नयाँ बन्नेछ । विसं २०५० मा निर्माण सम्पन्न भएको सडकका धेरै खण्ड भत्केर सवारी चलाउन कठिन हुँदै गएको अवस्थामा स्तरोन्नति गर्न थालिएको हो । सवारी साधनको चाप बढेकाले साँघुरो सडकमा ठाउँठाउँमा जामसमेत हुने गरेको थियो भने साँघुरो सडक र ठाउँठाउँमा भासिँदा सवारी सञ्चालनमासमेत जोखिम बढेको थियो। रासस

बेनी नगरपालिकाको सहरी विकास योजना बनाइदै

काठमाडौं। बेनी नगरपालिकाको एकीकृत शहरी विकास योजना तयार पारिने भएको छ। शहरी विकास तथा भवन विभागको प्राविधिक सहयोगमा नगर क्षेत्रको एकीकृत सहरी विकासका लागि योजना तयार पार्न लागिएको हो । योजना तयार पार्न मङ्गलबार भएको कार्यक्रमपछि नगरप्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा नगरस्तरीय एकीकृत सहरी विकास योजना तर्जुमा समन्वय समिति गठन भएको छ । इञ्जिनीयर विमलरञ्जन कार्की सदस्यसचिव रहेको समितिमा नगर उपप्रमुख सञ्जु बरुवाल, प्रमुख प्रशासकीय अधिकृत लोकनाथ भुसाललगायत दशवटै वडाका अध्यक्ष, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा र गौरी थापा सदस्य रहेका छन्न। योजनामा नगरपालिका क्षेत्रका हालको सडक, खानेपानी, ढल निकास, भवनलगायत पूर्वाधारको अवस्था र आवश्यकता समावेश गरिनेछ । नगरपालिकाका दश वडालाई चार समूहमा विभाजन गरेर बुधबारदेखि योजना निर्माणका लागि वडास्तरबाट सुझाव सङ्कलन गरिने नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराइलीले जानकारी दिए। योजना निर्माणपछि नगरक्षेत्रमा पूर्वाधार विकासलाई दिगो, व्यवस्थित र दीर्घकालीन बनाउन सहयोग पुग्ने नगरप्रमुख हरिकुमार श्रेष्ठले बताए।रासस

पञ्चासे-पोखरा ८.५ किलोमिटर लामो केवलकार, ७ अर्ब लागतमा ४ वर्षभित्र सकिने

पर्वत । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा रहेको प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । फाइल फाेटाे पञ्चासेसम्म पुग्ने केबलकार निर्माण गर्न ७ अर्ब लाग्ने अनुमान गरिएको छ । केवलकार चार वर्षभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए। केबलकारमा ८० पोल राखिनेछ । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारी साधनमा र त्यहाँबाट पैदलयात्रा गरी जाने गर्छन् । त्यस्सैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारी साधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता छ । पोखराबाट सबैभन्दा नजिकै रहेको पर्यटकीय गन्तव्य भएकाले पञ्चासेको पर्यटन प्रर्वद्धन गर्नक केबलकार निर्माण गर्न लागिएको हो ।केबलकार सञ्चालन सँगसँगै घरबास सञ्चालित गाउँको पर्यटन प्रवद्र्धन लागि विभिन्न आयोजना रहेको शर्माले बताए । केबलकार कम्पनीले पञ्चासे लेकभन्दा तल भाडामा जग्गा लिएर जल मनोरञ्जनस्थल, स्थानीय हस्तकला बिक्री केन्द्र, रिसोर्ट, घरबास, प्रेमपार्क, मदिरा सेवन क्षेत्र, पञ्चासे मन्दिरको जीर्णोद्धारलगायतका योजना बनाएको कम्पनीले जनाएको छ । पर्वत, स्याङजा, पोखरा, चितवन काठमाडौं लगायत जिल्लादेखि शैक्षिक भ्रमणमा विद्यार्थी तथा शिक्षक यहाँ आउने गरेका छन् । पर्याप्त होटल र पसल नहुँदा भने घुम्न आउने पर्यटकले समस्या झेल्ने गरेका गुनासो पर्यटकको छ । रासस

याे वर्ष २१ अर्ब १० करोड खर्च गर्दै त्रिभुवन विश्वविद्यालय

काठमाडौ । त्रिभुुवन विश्वविद्यालय सभाको बैठकले आर्थिक वर्ष २०७५/७६ का लागि २१ अर्ब १० करोड ८० लाख १३ हजार रुपैयाँको बजेट पारित गरेको छ ।मङ्गलबार बसेको त्रिविसभाको बैठकले ११ अर्ब ३१ करोड ७३ लाख ८५ हजार रुपैयाँ सरकारबाट अनुदानका रूपमा माग गर्ने र बाँकी ९ अर्ब ७९ करोड ६ लाख २८ हजार रुपैयाँ आन्तरिक स्रोतबाट व्यहोर्ने प्रस्ताव पारित गरिएको रजिस्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिए। उहाँले उक्त बजेट पूर्वाधार निर्माण, सेमेस्टर प्रणालीको सुदृढीकरण, शिक्षण क्रियाकलापमा प्रविधि प्रयोगको विस्तार, अनुसन्धान, प्राविधिक शिक्षाको विस्तार र पाठ्यक्रम परिमार्जनमा खर्च गरिने बताए । सभामा प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले बजेट जुन क्षेत्रमा पनि न्यून रहेको भन्दै त्रिविलाई आफ्नो स्रोत र साधन अनुकूल आफ्ना नीति कार्यक्रम निर्धारण गरी सञ्चालन गर्न सुझाव दिए। त्रिविका उपकुलपति प्रा.डा तीर्थराज खनियाँले विकासका लागि त्रिवि भिजन २०३० तयार गरी कार्यान्वयन गर्न लागिएको भन्दै सम्पूर्ण अध्ययन संस्थान, सङ्काय, केन्द्रीय विभाग तथा आङ्गिक क्याम्पसलाई उत्कृष्ट केन्द्रका रुपमा विकास गर्ने बताए । सभाले त्रिवि कार्यकारी परिषद्को सदस्यमा वनस्पतिशास्त्रका प्रा डा मोहनप्रसाद पन्थी र शिक्षाशास्त्र सङ्कायका डिन प्रा डा कृष्णप्रसाद गौतमको नामसमेत अनुमोदन गरेको छ । आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) का कार्यकारी निर्देशक डा अरुण ठाकुर, सामुदायिक क्याम्पस सङ्घका सभापति भोलानाथ ओझा, जनप्रशासन क्याम्पसका स्ववियु सभापति पङ्कज क्षत्री, नेपाल प्राध्यापक सङ्घका सभापति रामेश्वर उपाध्याय, नेपाल र एशियाली अनुसन्धान केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा मिर्गेन्द्रबहादुर कार्की, पूर्व शिक्षाध्यक्ष प्रा डा राममान श्रेष्ठलगायतले त्रिविको बजेट बढाउनुपर्नेमा जोड दिएका थिए। रासस

१ डलर बराबर ११७ रुपैयाँ पुग्यो, दशै महंगो बन्दै

काठमाडौं । नेपाली रुपैयाँ अमेरिकी डलरसंग फेरी कमजोर भएको भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि १ डलर बराबर ११७ रुपैयाँ बिक्री दर तोकेको छ । यो हालसम्मको उच्च दर हो । अमेरिकी डलरसंग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि यसको असर नेपाली रुपैयामा परेको हो ।  भारु कमजोर भई १ डलर बराबर ७२.९६ रुपैयाँ  पुगेको छ । स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुने गरेको छ । डलर मजवुत भएपछि यसको चाप मूल्यमा पर्नेगर्छ र बजार भाउ बढ्छ । यसको असर आउदो दशैमा पर्ने भएको छ । डलर लगातार बढी रहेकाले दशैका खरिद गर्ने वस्तुको भाउ आकासिने देखिएको छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । ५ महिनाको बीचमा नेपाली रुपैयाँ झण्डै १२ रुपैयाँले कमजोर भएको छ ।यसअघि बैंकरहरुले १२० रुपैयाँ पुग्ने अनुमान गरेका छन् । पछिल्ला २ दिनमा डलर कमजोर हुदै गएपनि मंगलबार पुनः मजवुत भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएका नीतिका कारण अमेरिकी अर्थतन्त्र मजवुत हुदा डलर महंगिएको हो । पछिल्लो समयमा अन्य मुलुकमा भएको लगानी अमेरिकामा फिर्ता हुन थालेपछि डलर संचिती बढेको छ । भारतबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । भारतमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । आउदो दशैं महंगो हुने देखिएको छ । डलर बलियो भएपछि अर्जे्िन्टना, इण्डोनेसिया र टर्कीको मुद्रा धेरै कमजोर हुन पुगेको छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । यस्तै जलविद्युत आयोजनाको लागत पनि बढ्ने छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । डलरमा ऋण तिर्न सरकारले बढी रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

च्याम्पियान्स् लिगको पहिलो खेलमै मेसीको सानदार ह्याट्रिक

काठमाडौं । बार्सिलोनाले च्याम्पियान्स् लिगमा राम्रो सुरुवात गरेको छ । म‌‍‌‍‍‍‍‍गलबार राती भएको खेलमा पिएसभीलाई ४ गोल प्रहार गर्दै लिगको खेल सुरु गरेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा मेसी एक्लैले ३ गोल गरेका हुन् । यस्तै अर्को गोल ओसामाने डेम्बेलेले गरे । खेलमा बार्साका डिफेन्डर स्यामुएल उमटीटीले रातो कार्ड खादैं मैदान बाहिरिएका थिए ।