विकासन्युज

फास्ट ट्रयाकको डीपीआर बनाउन कोरियाली कम्पनी छानियो, १० करोड लागतमा ४ महिनाभित्रै

काठमाडौँ । राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं निजगढ फाष्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त भारतीय कम्पनी आइएल एण्ड एफएसले डिपीआर तयार गरेकोमा प्रतिवेदनको मूल्यका विषयमा सहमति नभएपछि नेपाली सेनाले अर्को परामर्शदाताको छनोट गरेको हो । सेनाको फाष्ट ट्रयाक आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँणले डिपीआरका लागि छनोट भएको कोरियाको सुसुङ कम्पनीसँग यही महिनाको दोस्रो साताभित्रै निर्माणसम्बन्धी सम्झौता हुने जानकारी दिए । उक्त डिपीआर करीब १० करोड १५ लाखको लागतमा तयार हुने छ जुन भारतीय कम्पनी आइएल एण्ड एफएस्को मागभन्दा ५१ करोड सस्तो हो । खरीद सम्झौता भएको चार महिनाभित्रै उक्त कम्पनीले डिपीआर तयार गर्ने विश्वास दिलाएको छ । औपचारिकरुपमा द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको १३ महिनापछि सेनाले डिपीआरका लागि परामर्शदाताको छनोट गर्न सफल भएको हो । एशियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेर अहिले सेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको सङ्ख्यामा रुख कटान भइसकेको छ । यसअघिको रेखाङ्कन परिवर्तन हुँदै आयोजना अघि बढाउने सिलसिलामा छोक्रेडाँडादेखि बाँदरे खोल्सीसम्मको करीब १२ किलोमिटर क्षेत्रमा तीन वटा सुुरुङ निर्माण गर्ने गरी द्रुतमार्गको यसअघिको रेखाङ्कन परिवर्तन गर्ने निष्कर्षमा सेना पुगेको छ । सेनानी विनोद श्रेष्ठका अनुसार, छोक्रेडाँडादेखि महादेवखोल्सीसम्म (३.३), सीमपानीबेँसीदेखि चालिसे खोल्सीसम्म १.३७ र घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर दूरीका तीन वटा सुरुङ निर्माण गरिने छ । ती सुरुङ समानान्तर दूरीमा आवतजावत गर्नसक्ने दुईवटा मुख भएका ९.५ मिटर चौडाइ र ५.५ मिटर अग्ला हुने छन् । उक्त रेखाङ्कन परिवर्तन गरी सुरुङ निर्माण गर्दा ठूला १० वटा पुल र आधा दर्जानभन्दा बढी कल्भट बनाउन नपर्ने सेनाले बताएको छ । उक्त सुरुङ निर्माणपछि यसअघि प्रस्तावित ७६.२ किलोमिटरको उक्त मार्गको दूरी झण्डै साढे तीनकिलो कम हुनेछ भने छ अर्ब ८० करोड लागत मूल्य बढ्ने छ । विसं २०७४ साल वैशाख २१ गते मन्त्री परिषद्ले नेपाली सेनाको व्यवस्थापनमा निर्माण गर्ने निर्णय गरेको उक्त द्रुतमार्गको प्रारम्भिक अनुमानित लागत रु १११ अर्ब रहने अनुमान गरिएको राष्ट्रिय योजना आयोगले जनाएको छ । रासस

यती एयरलाइन्सको तेश्रो एटीआर-७२-५०० विमान काठमाडौंमा, भद्रपुर र पोखरासम्म सेवा दिने

काठमाडौं । यती एयरलाइन्सले आफ्नो वायुयान थप गर्ने क्रममा आफ्नो तेश्रो एटीआर-७२-५०० विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएकाे छ । जसको नेपाली रजिष्ट्रेसन नं.९एन-एएलएन र उत्पादन क्रम संख्या एमएसएस ७७६ रहेको छ । उक्त विमान फ्रान्सको टुलुस–इटली–इजिप्ट–मस्कट हुँदै काठमाडौं अवतरण गरेको हो । उक्त विमानमा चालक दलका सदस्यहरु क्या.प्रमोद पौडेल, क्या.रमोद श्रेष्ठ, क्या.सुरेन्द्र कुँवर, वरिष्ठ इञ्जिनियर सुरेशकुमार बज्राचार्य, डिस्प्याचर सन्त प्रजापति तथा नागरिक उड्ययन प्राधिकरणका प्रतिनिधि भरतराज पराजुली थिए । एटीआर-७२-५०० फ्रान्सेली–इटालियनको सहकार्यमा उत्पादित ट्वीन इञ्जिन टर्बोप्रप विमान हो । यसको उत्कृष्ट निर्माण र प्रदर्शनले गर्दा एटीआर-७२-५०० संसारको सबैभन्दा सफल क्षेत्रिय क्यारियरहरु मध्येमा पर्ने कम्पनीले बताएको छ । विमानको विश्व प्रसिद्ध ग्लोबल अपरेटरहरु एयर न्यूजिल्याण्ड, एयर लिङ्स, एसएएस, एच ओ पी, फ्लिव, अजुल, बैंकक एयरवेज, जेट एयरवेज, मलिन्दो आदी हुन् । यो विमान के एफ् टर्बो लिजिङ्ग लिमिटेडबाट खरिद गरीएको हो र यो नेपालमा एटीआर-७२ विमान खण्डमा सबैभन्दा नयाँ विमान हुनेछ । यो विमान थपिँदा यति एयरलाइन्सले एटीआर-७२ को सेवा विस्तार गरेर भद्रपुर र पोखरासम्मको सेवा प्रदान गर्नेछ । साथै, यसले नेपालमा मनाउन लागिएको पर्यटन वर्ष २०२० मा नेपालको २० लाख पर्यटन भित्र्याउने लक्ष्यलाई सहयोग गर्ने कम्पनीले अपेक्षा गरेकाे छ ।

फास्ट ट्रयाकमा कसिँदै सेनाः प्रधानमन्त्रीको निगरानीमा रक्षामन्त्रीको अनुगमन

काठमाडौं । ‘फास्ट ट्रयाकमा विगतमा अलिकति सिभिलियन अथोरीटीलाई अलग्गै राखेर काम गर्ने परिपाटी सुरु भएकाले यहि मन्त्री परिषदले नै रक्षा, भौतिक र अन्य मन्त्रालयको सहभागीता हुने गरि सम्पुर्ण परियोजना निर्देशक समिती बनाएको छ ।’, यो भनाई हो अर्थमन्त्री डा. युवराज खतिवडाको । अर्थमन्त्री डा. खतिवडाको यहि वाक्यांशले फास्ट ट्रयाकमा सेनालाई कस्दै लगिएको स्पष्ट हुन्छ । पछिल्लो पटक सेनाले फास्ट ट्रयाकको काममा जथाभावी गरेको आरोेप लाग्दै आएको छ । सेनाले फास्ट ट्रयाकको बजेटबाट अनावश्यक रुपमा गाडी तथा निर्माण उपकरण खरिद, महंगा क्याम्पहरुको निर्माण गरिरहेको छ । ‘फास्ट ट्रयाकको खर्च भनेको, पुँजी निर्माण भनेको खाली गाडी किन्ने मात्रै होइन भन्ने सन्देश त हामीले पहिले नै दिईसकेका थियौं । अब चैँ वास्तविक रुपमै यसको टेण्डरको प्रक्रियाबाट निर्माणको काम अघि बढाउने हो ।’, अर्थमन्त्री डा. खतिवडाले अर्थमन्त्रालयमा आयोजीत पत्रकार सम्मेलनमा भने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले पनि रक्षा मन्त्रालयको नेतृत्वमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत सहभागीता रहेको निर्देशक समिति गठन भएको जानकारी दिए । ‘रक्षा मन्त्रीको नेतृत्वमा निर्देशक समिति गठन भएकोछ, त्यसले फास्ट ट्रयाकको खर्च पारदर्शिता तथा गुणस्तर हेर्नेेछ’, भौतिक मन्त्रालयका सचिव अधिकारीले विकासन्युजसँग भने । रक्षा मन्त्रीको नेतृत्वमा रहेको निर्देशक समितिले आफ्नो अनुगमन प्रतिवेदन प्रधानमन्त्री समक्ष पेश गर्नेछ । समितिमा रक्षामन्त्रीको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थमन्त्रालयका सचिव, भौतिक मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव सहित ७ जना रहेको रक्षा मन्त्रालयका प्रवक्ता ऋषीराज भण्डारीले विकासन्युजलाई जानकारी दिए । सरकारले २०७४ बैशाख २१ गते काठमाडौं र तराईलाई जोड्ने ७६.२ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो । फास्ट ट्रयाकमा आर्थिक वर्ष २०७४÷७५ मा साढे ७ अर्ब खर्च गरेको थियो । जुन कुल विनियोजित बजेट ८ अर्ब ९७ करोडको ९५ प्रतिशत हुन आउँछ । चालु आर्थिक बर्षमा यसका लागि १५ अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ । फास्ट ट्रयाकको ७.९ किलोमिटर खण्ड ललितपुर, ४ किलोमिटर काठमाडौं, ५६.७ किलोमिटर मकवानपुर र ७.६ किलोमिटर बारा जिल्लामा पर्नेछ । समथर भूभागमा २७ मिटर तथा पहाडी खण्डमा २५ मिटर चौँडाईको फास्ट ट्रयाकलाई एसियाली मापदण्डको प्राइमरी क्लास ४ लेनको सडकका रुपमा निर्माण गरिनेछ । यसमा ९९ वटा पुलहरुको निर्माण गरिनेछ ।

संविधान दिवसमा उद्योगीदेखि बैंकरसम्म सुप्रवल जनसेवा श्रीबाट विभूषित

  काठमाडौँ । सरकारले संविधान दिवस अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई मानपदवी, अंकार र पदकद्धार विभूषित गरेको छ । सुप्रवल जनसेवा श्रीबाट नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभत्त श्रेष्ठ विभूषित भएका छन् । सुप्रवल जनसेवाबाट विभूषित हुनेमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, आइएमई ग्रुपका उपाध्यक्ष हेमराज ढकाल, व्यवसायी मीनबहादुर श्रेष्ठ र देविप्रकाश भट्टचन र राजेन्द्र मल्ल विभूषित भएका हुन् । चन्द्रागिरी हिल्स लिमिटेका महाप्रवन्धक अभिषेक बिक्रम शाह, प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वाणिज्य बैँकका सीईओ किरणकुमार श्रेष्ठ पनि विभूषित भएका छन् ।

फर्निचर तथा फर्निसिङ एक्स्पो बिहीबारदेखि शुरु, वास्तुशास्त्र लगायत इण्टेरियर डिजाइन सम्बन्धी परामर्श दिने

काठमाडौं । असोज ४ गते बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जेम फ्लोरिगंको प्रस्तुतीमा आयोजना हुने फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स २०१८’ को तयारी पुरा भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिले एक्स्पोको सबै तयारी पुरा भएको जनाएको हो । प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरु सहभागि हुने एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु विक्री वितरण समेत हुने छ । एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिनेछ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने छ । विगत वर्षका एक्स्पोको तुलनामा यसपटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने छ । फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिगं रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइटरहेका छन् । एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफकमर्श तथा नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् । किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ । मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकतामा राखिदिन उपभोक्तालाई आग्रह गर्दै नेपाल फर्निचर तथा फर्निसिङमा आत्मनिर्भर हुने बाटोमा रहेको जानकारी गराए । प्रदर्शनीमा फर्निचरको प्रदर्शनी मात्र नगरी त्यसका उपयोगिता, प्रयोग विधि, बनोटका बारेमा पनि अवलोकनकर्तालाई जानकारी गराउने आयोजकको भनाई छ । यसका अलावा फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । एक्स्पो व्यवस्थापन गरेको इभेण्ट सोलुसन प्रा.लि.का प्रबन्ध निर्देशक विजय सागर प्रधानले फरक शैलीमा आयोजना हुने एक्स्पोको सबै तयारी पुरा भएको बताए । फर्निचर क्षेत्रको प्रविधि अवलोकनकर्ताको मूख्य आकर्षण बन्न सक्ने उनको भनाई छ । एक्स्पो असोज ४ गतेदेखि ८ गतेसम्म चल्ने छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगतसन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको कम्पनीले जनाएको छ ।

पल्सरले तीन वर्षसम्म सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सर गर्ने

काठमाडौं । नेपालकै सबैभन्दा लोकप्रिय तथा विश्वासिलो मोटरबाइक ‘पल्सर’ ले फुटबल लिग सहिद स्मारक ए डिभिजन लिगको टाइटल स्पोन्सरको सम्झौता गरेको छ । उक्त सम्झौतामा एचएच बजाजका प्रवन्ध निर्देशक शेखर गोल्छा र अखिल नेपाल फुटवल संघबाट बजार व्यवस्थापनको जिम्मेवारी पाएको रामसार मिडियाका प्रबन्ध निर्देशक राज हुमागाईबीच हस्ताक्षर भएको हो । सम्झौता अनुसार पल्सर आगामी तीन वर्षसम्मका लागि सो लिगमा अनुबन्ध हुनेछ । एचएच बजाजका प्रबन्ध निर्देशक गोल्छाले भने, ‘हाम्रो यो सहकार्यको मुख्य उद्देश्य भनेको नेपाली युवा तथा नेपाली खेलकुद क्षेत्रलाइ अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने रहेको छ । यससँगै हामीले विभिन्न अर्वाड कार्यक्रम मार्फत सहभागीता जनाइरहेका छाैँ, जसमध्ये पल्सर स्पोर्टस् अर्वाड एक उत्कृष्ट अर्वाड अन्तर्गत पर्दछ ।”

‘४८ घण्टाभित्र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ खुला नगर्ने’

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले मङ्गलबार साँझ विज्ञप्ति जारी गरी चाडवाड शुरु हुनु अघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनु राम्रो नभएको भन्दै फिर्ता लिन माग गरेको हो । “चाडपर्वमा यात्रुलाई सहजरूपमा आवतजावत गर्न असोज ५ देखि अग्रिम टिकट बुकिङ खुला गरेका छौँ, ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नभए टिकट बुकिङ अग्रिमरूपमा खुला गर्न सक्दैनौँ”, विज्ञप्तिमा भनिएको छ । भदौ ३१ गते यातायात व्यवस्था विभागमा बसेको विभाग र महासङ्घबीचको बैठकले असोज ५ गते अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको थियो । रासस

कक्षा १२ को मौका परीक्षाको नतिजा आज, हेर्ने कसरी ?

काठमाडौं। कक्षा १२ को ग्रेड वृद्धि मौका परीक्षाको नतिजा आज बुधबार सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा सम्बन्धि सबै काम पूरा गरी १० बजे बोर्ड बैठक बोलाएको थियो। बोर्डले गत १६ भदौंमा ग्रेड वृद्धि मौका परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा डि प्लस वा सोभन्दा मुनी कुनै एक विषयमा ग्रेड वृद्धि गर्न चाहने विद्यार्थीलाई परीक्षामा सहभागी गराइएको थियो । नोट: ग्रेडवृद्धि परीक्षामा सामेल हुने बिद्यार्थीले पहिलो भन्दा कम ग्रेड ल्याएमा पहिलेकै ग्रेड राखिन्छ । नतिजा कसरी हेर्ने ?  नतिजा प्रकाशित भैसकेपछी आफ्नो मोबाईल को म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएम्यस पठाएर आफ्नो नतिजा हेर्न सकिन्छ। उदाहरणको लागि: तपाईंको सिम्बोल नम्बर १२३४५६७८ हो भने NEB १२३४५६७८ लेखेर ३१००३ मा पठाउन आफ्नो सबै बिषयगत नतिजा हेर्न सकिन्छ। श्रोत- मेरो स्टडी