जनता बैंकले लमजुङको बाल विकास आधारभुत विद्यालयलाई दियाे प्रोजेक्टर
काठमाडौं। जनता बैंकले लमजुङको बेशीसहर नगरपालिका वडा नं। १, रामचोकबेशीमा रहेको बाल विकास आधारभुत विद्यालयलाई प्रोजेक्टर हस्तान्तरण गरेको छ । विद्यालयमा आयोजित एक कार्यक्रममा बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले उक्त सामाग्री विद्यालय व्यवस्थपन समितिका अध्यक्ष प्रेम सेढाईलार्ईं हस्तान्तरण गरे। संविधानसभा सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा बैंकका अध्यक्ष रायमाझीले विद्यालय शिक्षालाई आधुनिक प्रविधिसँग जोड्न उक्त सहयोग महत्व पूर्ण रहने बिचार व्यक्त गरे। जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि कार्य गर्दै आइरहेको छ । बैंकले हाल देश भरीबाट १२३ शाखा, ४० शाखा रहित बैंकिङ, ७१ एटिएम, २ सिमित्त बैंकिङ्ग एकाईर २ एक्स्टेन्सन काउन्टरबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।
दशैंलाई लक्षित गर्दै कलंकी अन्डरपास आइतबारदेखि पुन: सञ्चालनमा आउने
काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुन: सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो । हाल अन्डरपासमा धमाधम पिचको काम भैरहेको छ । एक दुई दिनमै पिचको काम सकिने चक्रपथ सुधार आयोजनाका इन्जिनियर निराजन शर्माले बताए । उनका अनुसार अब अन्डरपासको थोरै मात्र भाग पिच हुन बाँकी रहेकोले असोज १४ गतेदेखि अन्डरपास पुन सञ्चालनमा आउनेछ । “अहिले दशैंलाई लक्षित गरेर मात्र अन्डरपास खोल्न लागिएको हो, दशै पश्चात फेरी ४ दिन जति बन्द गरेर फिनिसिङको काम हुने इन्जिनियर शर्माले विकासन्युजसँग भने ।” आयोजना डिसेम्बर सम्ममा पुरा हुने पनि उनले बताए । यसअघि परिक्षणको लागि गत साउनमा केहिदिनको लागि अण्डरपास सञ्चालनमा ल्याइएको थियो । अण्डरपास सञ्चालनमा आएपछि उपत्यका बाहिरिने र भित्रिने प्रमुख नाका कलङ्कीमा कम जाम हुने विश्वास गरिएको छ । चीन सरकारको सहयोगमा कोटेश्वर–कलङ्की सडक विस्तारअन्तर्गत अण्डरपास निर्माण भएको हो । साउन पहिलो सातामै खोल्ने भनिए पनि निर्माण सम्पन्न नभएकाले अण्डरपास खोल्न समय लागेको हो । थानकोटबाट कालिमाटीतर्फ आउने र जाने यातायात साधनका लागि १६ मिटर चौडाइको सडक रहेको छ । त्यसको ठीक तल १६ मिटर लामो सब–वे रहेकाे छ । जसबाट बल्खुबाट स्वयम्भूतर्फ आउने र जाने गाडी वारपार हुनेछन् । सब–वेको अन्डरपास भने ८ सय ४० मिटर लामो रहेको छ । यस बाटोबाट सीधै रिङरोडमा अघि बढ्ने गाडी मात्र गुड्नेछन् । तस्बिर: प्रकाश देवकोटा खसीबजार पुलबाट सुरु भएकाे अन्डरपासबाहेक दायाँबायाँबाट भने स्लोपमा समानान्तर सडक बाफल पुलसम्म पुगेकाे छ । खसीबजार तिरको दायाँ स्लोपबाट कालिमाटीतर्फ गाडी आउजाउ गर्नेछन् भने बायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । त्यस्तै, स्वयम्भूतर्फको बायाँ स्लोपका गाडी कालिमाटीतर्फ आउजाउ गर्नेछन् भने दायाँ स्लोपबाट थानकोटतर्फ आउजाउ गर्नेछन् । कुन सडकमा कसरी सवारीसाधन गुडाउने नागढुंगाबाट स्वयम्भूतर्फ जाने सवारीसाधन विना अवरोध ओभरहेड ब्रिजको बायाँतर्फ मोडेर जान सक्नेछन् । स्वयम्भूबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । नागढुंगाबाट बल्खुतर्फ जाने सावरीसाधन विनाअवरोध दायाँ मोडेर जान सक्नेछन् । बल्खुबाट नागढुंगा जाने सवारीसाधनले पनि सोही रूपट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट स्वयम्भू जाने सवारीसाधनले ओभरहेड ब्रिजको दायाँ मोड प्रयोग गरेर जाने सक्नेछन् । स्वयम्भूबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही रुट प्रयोग गर्न सक्नेछन् । त्रिपुरेश्वरबाट बल्खु जाने सवारीसाधनले ओभरहेड ब्रिजको बायाँ मोड प्रयोग गर्न सक्नेछन् । बल्खुबाट त्रिपुरेश्वर जाने सवारीसाधनले पनि सोही मोड प्रयोग गर्न सक्नेछन् ।
आर्थिक स्वतन्त्रतामा नेपाल ५ तह माथि चढ्यो, १६२ राष्ट्रहरुमा १०२ औं स्थानमा
काठमाडौ । नेपालमा आर्थिक स्वतन्त्रता बढ्दै गएको एक अध्ययनले देखाएको छ । समृद्धि फाउण्डेशनले क्यानाडाको फ्रेज इन्स्टिच्युटसँग सहप्रकाशन गरी मंगलबार सार्वजनिक गरेको विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१८ मा नेपाल १६२ राष्ट्रहरुमध्ये १०२आैं स्थानमा रहेको छ । गत वर्ष नेपाल १५९ राष्ट्रहरु मध्ये १०७ औं स्थानमा थियो । नेपाल ५ स्थान माथि उक्लिएको छ । समृद्धिले लगातार ११ औंं पटकको लागि नेपालमा यस वार्षिक आर्थिक स्वतन्त्रता प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका विभिन्न अध्ययनहरुले देखाए अनुसार, आर्थिक स्वतन्त्रताको माथिल्लो पंक्तिमा रहेका राष्ट्रहरुका जनताहरुमा बढी समृिद्ध, राजनीतिक र नागरिक स्वतन्त्रता र लामो औसत आयु पाइन्छ । आर्थिक स्वतन्त्रताको सूचीमा माथि रहेको राष्ट्रहरुको सन् २०१६ मा औसत प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन ४० हजार ३७६ अमेरिकी डलर रहेको थियो । आर्थिक स्वन्तन्त्रता सूचीको निम्न पंक्तिमा रहेका राष्ट्रहरुको चाँहि ५ हजार ६४९ अमेरिकी डलर रहेको समृद्धिले जनाएको छ । यसैगरी यी दुई समूहका राष्ट्रहरुको औसत आयु पनि लगातार ७९.५ वर्ष र ६४.४ वर्ष रहेको छ । नेपाल यस वर्षको प्रतिवेदनमा ६.५३ (१ देखि १० सम्मको क्रममा, अधिकतम मानको अर्थ अधिकतम आर्थिक स्वतन्त्रता) अंकका साथ १६२ राष्ट्रहरु मध्ये १०२आैं स्थानमा रहेको छ । यस अंकका साथ गत वर्षको तुलनामा नेपाल ५ स्थान माथि चढेको हो । गत वर्ष ६.५० अंक ल्याएर १५९ राष्ट्रहरु मध्ये नेपाल १०७ आैं स्थानमा रहेको थियाे । यसअघि भने ६.४५ अंक ल्याएर १५७ राष्ट्रहरु मध्ये नेपाल १०८ आैं स्थानमा रहेको थियो ।
पप्पुले तहल्का मच्चायो, अब लाइसेन्स खारेज गरौंः सांसद
काठमाडौं । ‘पप्पुमाथी यति धेरै प्रश्न उठेका छन, राष्ट्र बैंकले २ अर्बको नयाँ ठेक्का किन दिन लागेको ? पप्पुलाई जरिवाना गराएर लाइसेन्स रद्ध गरिनुपर्छ’, यो भनाई हो सांसद टोप बहादुर रायमाझीको । रायमाझीले पप्पु कन्स्ट्रक्सनको लाइसेन्स तत्काल खारेज गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिनुपर्नेमा समेत जोड दिए । संसदको विकास तथा प्रबिधी समितिको बैठकमा अर्का सांसद यज्ञराज सुनुवारले पनि पप्पुलाई तत्काल कारवाही हुनुपर्ने बताए । ‘पप्पुले तहल्का मच्चायो, तर त्यसैलाई अझ अरु ठेक्का पनि दिन आँटिएको छ, कारवाही गर्नुपर्ने कम्पनीलाई उल्टै नयाँ ठेक्का किन दिने ?’, सांसद सुनुवारले भने । सांसद दुर्गा पौडेलले पनि पप्पुको बदमासीमाथी प्रश्न गरिन् । ‘पप्पुले ठेक्का लिएर काम नगरेको पक्क हो, फेरी नयाँ ठेक्का किन दिन लागेको ? विकास समितिले छानविन गरेर निचोड निकाल्नुपर्छ’, पौडेलले भनिन् । उनले विकास निर्माणका काम रोक्ने पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार विकास समितिमा किन भन्ने प्रश्न समेत गरिन् । विकास समिति सभापति कल्याणी खड्काले काम नगर्ने ठेकेदारले उन्मुक्ति नपाउने स्पष्ट पारिन् । उनले राम्रोसँग अध्ययन गरेर भरपर्दाे निर्णय गर्ने र त्यसलाई कार्यान्वयन गर्न भौतिक मन्त्रालयलाई निर्देशन दिने पनि स्पष्ट पारिन् ।
सेयर बजार २२ अंकले बढ्यो, प्रभु र एनआईसी एशिया बैंकको सबैभन्दा बढी कारोबार
काठमाडौं । सेयर बजार मंगलबार २२ अंक बढेको छ । पछिल्लो समयमा लगानीकर्ताको विश्वास बढ्दै गएपछि यसको सकरात्मक असर बजारमा परेको हो । लगानीकर्ताको विश्वास बढेपछि बजार सुधार हुन थालेको छ । बजार बढेर नेप्से परिसुचक १ हजार २८० अंकमा पुगेको छ । मंगलबार १ अर्ब ७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा बैंक, वित्त, होटल, व्यापार, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तको सेयर मूल्य बढेको छ । सबैभन्दा बढी सेयर कारोबार प्रभु बैंकको भएको छ । प्रभु बैंकको प्रतिकित्ता २४० रुपैयाँमा ३ लाख ५१ हजार १०४ कित्ता सेयर किनबेच भएको छ । यस्तै एनआईसी एशिया बैंकको प्रतिकित्ता ४४८ रुपैयाँमा ५ करोड ९८ लाख रुपैयाँको सेयर किनबेच भएको छ । मंगलबार भागर्व विकास बैंक, सनराइज बैंक र प्रभु बैंकका लगानीकर्ताले कमाएका छन् । कर्जाको ब्याजदर घट्दो क्रममा रहेको, बैंकहरुले सेयर कर्जा लिन बोलाएको सेयर मूल्य सस्तो भएको र कम्पनीहरुले धमाधम लाभांश घोषणा गरेकाले यसको सकरात्मक असर बजारमा परेको ब्रोकरहरु बताउछन् ।
एनआईसी एसिया बैंकले घर किन्न ५० वर्षसम्म कर्जा दिने, ब्याजदर १०.८ प्रतिशत
काठमाडौं । बैंकबाट अब ५० वर्षसम्मका लागि घरकर्जा (होमलोन) पाइन थालेको छ । एनआईसी एशिया बैंकले ५० वर्षसम्म होम लोन दिन थालेको हो । यो हालसम्मको सर्वाधिक लामो होमलोन हो । बैंकले चमत्कारी घरकर्जा योजना ल्याएर लामो अवधिसम्म कर्जा दिन थालेको जानकारी दिएको छ । बैंकहरुले अधिकतम २५ वर्षसम्म होमलोन दिदै आएकोमा एनआईसी एशियाले दोब्बर समय बढाएर होमलोन योजना ल्याएको हो । बैंकले १०.८ प्रतिशत ब्याजमा होमलोजन योजना ल्याएको छ । मासिक ब्याजदर ०.९ प्रतिशत हुन्छ । यो सस्तो ब्याजदर हो । निम्न र मध्यम आय हुनेलाई घर लक्षित गरी ५० वर्षसम्मका लागि होमलोन योजना ल्याएको एनआईसी एशियाका प्रमुख जनसम्पर्क अधिकृत अर्जुन खनियाँले बताए । भाडामा बसिरहेकालाई घर किन्ने अवस्थामा पुर्याउन बैंकले दीर्धकालिन कर्जा योजना ल्याएको उनले जानकारी दिए । कागजात प्रक्रिया पुगेको २ दिनमा कर्जा स्वीकृति हुने र ३ दिनमा घर बनाउन वा किन्नलाई पैसा दिने खनियाले बताए । कर्जा लिनेको उमेर, आम्दानीको स्रोत र समय अवधि हेरेर ५० वर्षसम्म होम लोन दिने उनको भनाई छ । आफ्नो आम्दानी अनुसार मासिक किस्ता निर्धारण गर्न सकिने छ । कर्जा भुक्तानी अवधि, आंशिक अथवा पूर्ण रुपमा विना कुनै शुल्क पूर्वभुक्तानी गरी आफ्नो इच्छा अनुसार मासिक किस्ता र भुक्तानी अवधि कायम गर्न सकिने रहेको बैंकले जनाएको छ । यसका लागि ऋणीले पहिलो ४० प्रतिशत बुझाएपछि ६० प्रतिशत बैंकले कर्जा दिने छ । इच्छाअनुसार किस्ता राख्न मिल्ने गरी आफुसंग पैसा भए कर्जा पनि घटाउन मिल्ने उनको भनाई छ । यसअघि एनएमबी बैकले पनि ३५ वर्षसम्मका लागि होमलोन योजना ल्याइसकेको छ ।
पाँचथरमा रङ्गशाला निर्माणको लागि स्थानीयले दिए ५० रोपनी जग्गा
काठमाडौं। पाँचथरको फिदिम नगरपालिका–५ मा रङ्गशाला निर्माणको लागि स्थानीय १० जनाले ५० रोपनी जग्गा निःशुल्क प्रदान गरेका छन् । सरसिउला भन्ने ठाउँमा रङ्गशाला निर्माणका लागि रु ५० लाखभन्दा बढी मूल्य पर्ने जग्गा स्थानीयवासीले फिदिम नगरपालिकालाई निःशुल्क प्रदान गरेका हुन् । रङ्गशाला निर्माणको लागि सामान्यतः नौदेखि १९ हेक्टर क्षेत्रफल जग्गा आवश्यक पर्दछ । रङ्गशाला निर्माणको लागि अहिलेसम्म स्थानीय रामचन्द्र नेपालले १९ रोपनी नौ आना, वीरेन्द्रकुमार लावतीले तीन रोपनी नौ आना, तुलाराम तामाङले तीन रोपनी आठ आना, सीतादेवी नेपालले दुई रोपनी आठ आना, रोहितप्रसाद लुईंटेलले दुई रोपनी र कमल नेपालले आठ आना जग्गा नगरपालिकाको नाममा पास गराइदिनु भएको छ । बाँकी १९ रोपनी पनि एक हप्ताभित्रमा पास गराइदिने जग्गा उपलब्ध गराउने समितिका उपसंयोजक गगन लावतीले बताए। नयाँ नमूना शहरको रुपमा विकास भइरहेको फिदिममा व्यवस्थित रङ्गशालाको अभाव खड्किएकाले जग्गा दानको लागि स्थानीयवासी समिति नै बनाएर अघि बढेका हुन् । नगरपालिकाको नाममा सम्पूर्ण जग्गा पास भइकेपछि सम्बन्धित निकायबाट रङ्गशाला निर्माणको कार्यअघि बढ्नेमा स्थानीय विश्वस्त छन् । सम्पूर्ण जग्गा प्राप्त भइसकेपछि रङ्गशाला निर्माणको काम अघि बढ्न रङ्गशाला निर्माणको लागि प्रयास गर्दै आएको नयाँ शहर आयोजनाको कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले बताए।
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियरलाई पक्राउ गर्न प्रहरी परिचालन
काठमाडौं । पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियरलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले आदेश दिएको छ । प्रहरीले साेछोधपुछका लागि बोलाउदा नआएपछि रौनियर माथि पक्राउ पुर्जि जारी गरेको हो । डुङगा दुर्घटनामा ५ जनाको मृत्यु भएपछि पुल बनाउने ठेकेदार दोषी रहेको भन्दै अदालतले पक्राउ पुर्जि जारी गरेको हो । अदालतले आइतबार नै रौनियरलाई पक्राउ गर्न आदेश दिएको रौतहट जिल्ला प्रहरी कार्यलयका एसपी केदार ढकालले बताए । ‘हामीले यसअघि नै रौनियरलाई टेलिफोन गरी प्रहरी कार्यालय आउन जानकारी गराएका थियौं एसपी ढकालले विकासन्युजसँग भने तर उनी मानेन् अहिले उनको मोबाइल अफ छ, कानूनी प्रक्रिया अनुसार खोजी भैरहेको छ ।’ रौनियरलाई सोधपुछको लागि मात्र पक्राउ गर्न लागिएको ढकालले बताए ।