विकासन्युज

चेपाङ बस्तीमा प्रशासनको ‘घुम्ती सेवा’, ९० जनाले पाए नागरिकता

काठमाडौं । जिल्ला प्रशासन कार्यलय, चितवनले विकट चेपाङ वस्तीमा घुम्ति शिविर सञ्चालन गरेको छ । सदरमुकामबाट पुग्न दुई–तीन दिन लाग्ने चितवनको राप्ती नगरपालिकाको विकट पहाडी बस्तीमा प्रशासनले घुम्ती शिविरमार्फत नागरिकता वितरण गरेको हो ।  शिविरमार्फत ९० जना चेपाङ समुदायका नागरिकले नेपाली नागरिकता प्राप्त गरेका छन् । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले राप्ती–१३ मा ८४ जना र राप्ती–१२ मा ६ जना गरी ९० जनालाई नागरिकता प्रदान गरेको हो ।  नागरिकता प्राप्त गर्नेमा लामो समयदेखि कागजातको अभावमा नागरिकताबाट वञ्चित रहेका वृद्धवृद्धा तथा दृष्टिविहीन चेपाङ नागरिकसमेत छन् । वर्षायाममा पहिरोको जोखिमका बीच प्रशासनको टोली विकट बस्तीमै पुगेको थियो ।  नागरिकता बनाउनकै लागि दुई दिन हिँड्नुपर्ने भौगोलिक बाध्यता रहेका नागरिकलाई स्थानीय तहमै शिविर मार्फत सेवा उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय चितवनकी प्रशासकीय अधिकृत अन्तिम सिन्जाली मगरले बताइन् ।  उनका अनुसार प्रशासनले राप्तीका वडा नम्बर १०, ११, १२ र १३ मा घुम्ती शिविर सञ्चालन गर्ने तयारी गरेको थियो । तर वडा नम्बर १० र ११ बाट आवश्यक कागजात पर्याप्त रूपमा नआएपछि १२ र १३ मा मात्रै शिविर सञ्चालन गरिएको उनले बताइन् ।  १२० जनालाई नागरिकता वितरण गर्ने लक्ष्य भएपनि ९० जनालाई मात्रै उपलब्ध गराइएको उनको भनाइ छ । उनले स्थानीय नागरिकको समस्या र पीडा प्रत्यक्ष रूपमा देख्न पाएको तथा आफ्नै हातले हस्ताक्षर गरेको नागरिकता वितरण गर्न पाउनु आफ्ना लागि महत्त्वपूर्ण अनुभव भएको बताइन् । शिविरमा नागरिकता वितरणसँगै जिल्ला निर्वाचन कार्यालयको टोलीले मतदाता परिचयपत्र समेत बनाएको थियो । जिल्ला निर्वाचन कार्यालय, चितवनका प्रमुख भीमसेन कार्कीको नेतृत्वमा बस्तीमै पुगेर नागरिकको मतदाता परिचयपत्र बनाइएको हो । शिविरमा नागरिकता बनाउन आएका सेवाग्राहीलाई खाजाको प्याकेटसमेत उपलब्ध गराइएको थियो ।  सेवाग्राहीहरु वडा कार्यालयमा नागरिकता लिन नै तीन चार घण्टा पैदल हिँडेर आएका थिए । वडामा नै नागरिकता पाएपछि उनीहरू खुशी भएका छन् ।  राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले नागरिकता नभएका चेपाङ समुदायका नागरिकलाई नागरिकता वितरणको लागी आवश्यक कागजात संकलन गरि प्रशासनसँग समन्वय गरेका थिए । –न्युज एजेन्सी नेपाल

कांग्रेस विरोधी गतिविधिमा लाग्नेलाई अनुशासन समितिले कारबाही गर्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न हुनेहरूमाथि केन्द्रीय अनुशासन समितिले कारबाही गर्ने भएको छ ।  समितिका कार्यवाहक संयोजक रमेश धमलाले अनुशासन विपरीतका अवाञ्छित गतिविधिमा संलग्न नहुन आग्रह गरे । पार्टीका विभिन्न पदीय जिम्मेवारीमा रहेका पदाधिकारी, निर्वाचनबाट निर्वाचित प्रतिनिधि तथा साधारण क्रियाशील सदस्यसम्मका कसैलाई पनि पार्टीको हित प्रतिकूल हुने कुनै पनि गतिविधिमा संलग्न नहुन समितिले कडा निर्देशन दिएको छ । १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि पार्टीको हित विपरीतका क्रियाकलापमा संलग्न नहुन पार्टीका सम्पूर्ण तहका नेता तथा कार्यकर्ताहरूलाई सचेत गराइएको छ । समितिले निर्वाचन प्रक्रियामा संलग्न भइसकेपछि पनि कतिपय व्यक्तिहरू कांग्रेसकै नाममा पार्टी विरोधी गतिविधिमा लागेको सूचना प्राप्त भएको जनाएको छ । त्यस्ता गतिविधिहरूलाई अत्यन्त गम्भीरताका साथ निगरानी गरिरहेको उनले स्पष्ट पारे । कार्यवाहक संयोजक धमलाले पार्टीको मर्यादा र नीति विपरीत गतिविधि नगर्न आह्वान गर्दै अन्यथा समितिले तत्काल आवश्यक कडा कारबाहीको प्रक्रियालाई अगाडि बढाउन बाध्य हुने स्पष्ट पारेका छन् ।

संघीय निजामती सेवा विधेयक अघि बढ्यो, अब संसद्को प्रक्रियामा

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले लामो समयदेखि प्रतीक्षामा रहेको संघीय निजामती सेवा विधेयक संसद्मा पुगेको बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री रावलले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा आफूले तय गरेका प्राथमिकतामध्ये अधिकांश काम सुरु भइसकेको बताएकी हुन् । उनका अनुसार सहकारीपीडितको बचत फिर्ता प्रक्रिया अघि बढाउने, भूमिहीनलाई लालपुर्जा वितरणलाई तीव्रता दिने, संघीय निजामती सेवा विधेयकलाई टुंगोमा पुर्‍याउने तथा सार्वजनिक प्रशासन सुधार र सुशासनका लागि आधार तयार गर्ने विषयलाई प्राथमिकतामा राखिएको थियो । त्यसैगरी भूमि प्रशासनलगायतका क्षेत्रमा व्यापक विद्युतीकरण तथा स्वचालनमार्फत सेवा प्रवाहलाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउने लक्ष्य पनि अघि सारिएको उनले बताएकी छन् । मन्त्री रावलले संघीय निजामती सेवा विधेयक गहन अध्ययन र व्यापक छलफलपछि अन्तिम रूप दिएर संसद्को जिम्मामा पुर्‍याइएको जानकारी दिएकी छन् । विधेयकले निजामती सेवालाई थप सक्षम, प्रभावकारी, दक्ष, उत्तरदायी र परिणाममुखी बनाउने अपेक्षा गरिएको उनको भनाइ छ । विधेयकले संघीय शासन प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न महत्वपूर्ण आधार तयार गर्ने तथा सुशासन र सार्वजनिक प्रशासन सुधारमा पनि योगदान पुर्‍याउने विश्वास उनले व्यक्त गरेकी छन् । विधेयकलाई अन्तिम रूप दिन सहयोग गर्ने मन्त्रालयका कर्मचारी, विज्ञ, सरोकारवाला तथा अन्य सहयोगीलाई मन्त्री रावलले धन्यवाद दिएकी छन् । अब संसद्मा हुने छलफल र आवश्यक प्रक्रियापछि विधेयक छिट्टै पारित भएर नेपालको सार्वजनिक प्रशासनलाई अझ सक्षम, उत्तरदायी र परिणाममुखी बनाउने बलियो आधार तयार हुने अपेक्षा उनले गरेकी छन् ।

एमाले सांसद खातुनको प्रश्न– सरकारको सुशासनको नारा कि ‘आसेपासे’ नियुक्ति ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारले अघि सारेको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको भन्दै आलोचना गरेकी छन् । बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा भइरहेका विवादास्पद नियुक्ति र निमित्त प्रमुखको लामो समयसम्मको निरन्तरताले सरकारको सुशासनको दाबीलाई नै गिज्याइरहेको आरोप लगाइन् ।  सांसद खातुनले मुख्य गरी सरकारी निकायमा भइरहेका नियुक्तिको प्रक्रिया र त्यसमा हुने ढिलासुस्ती तथा चलखेलप्रति असन्तुष्टि व्यक्त गरिन् ।  नेपाल फार्मेसी परिषद्को नियुक्ति प्रक्रियालाई उनले उदाहरणका रूपमा प्रस्तुत गरिन् । उनका अनुसार परिषदमा नियुक्तिका लागि सूचना प्रकाशित गरी तोकिएको समयभित्र अन्तर्वार्ताको प्रक्रियासमेत सम्पन्न भइसकेको थियो । तर २१ दिन बितिसक्दा पनि नतिजा सार्वजनिक गर्नुको साटो पुनः नयाँ प्रक्रिया शुरु गरी आफ्ना निकट व्यक्तिहरूलाई समेट्न खोजिएको भन्दै उनले गम्भीर आपत्ति जनाइन् । खातुनले प्रश्न गर्दै भनिन्, ‘सुशासनको नारा सरकारकै हो तर कस्तो सुशासन हो यो ? आफ्ना प्रिय पात्रहरूलाई नियुक्त गराउनकै लागि प्रक्रियालाई लम्ब्याउने र जनतालाई झुक्याउने काम भइरहेको छ ।’ उनले सरकारको कार्यशैलीलाई दिउँसै रात पार्ने प्रवृत्तिको संज्ञा दिँदै प्रक्रिया मिचेर हुने नियुक्तिले कर्मचारीतन्त्रमा समेत नकारात्मक असर पुर्‍याएको बताइन् ।  उनले कतिपय सरकारी विभागमा निमित्त प्रमुखको भरमा काम चलाइरहेको विषय पनि उठान गरिन् । एउटा निमित्त हुँदाहुँदै अर्को निमित्त ल्याउने वा लामो समयसम्म निमित्तकै भरमा विभाग चलाउने सरकारको शैलीले सुशासनको दाबीलाई असान्दर्भिक बनाएको उनको भनाइ छ । 

हिमालय एअरलाइन्सको काठमाडौं-हाङझाउ सिधा उडान सुरु

काठमाडौं । हिमालय एअरलाइन्सले नेपाल र चीनबीचको हवाई सम्पर्क विस्तार गर्दै काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु गरेको छ । एअरलाइन्सले बुधबारदेखि चीनको हाङझाउका लागि नियमित सिधा उडान थालेको हो । हिमालय एअरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलका लागि सातामा दुईवटा सिधा उडान सञ्चालन गर्ने जनाएको छ । तालिकाअनुसार काठमाडौंबाट हाङझाउका लागि प्रत्येक आइतबार र बुधबार उडान हुनेछ । हाङझाउबाट काठमाडौं फर्कने उडान भने प्रत्येक सोमबार र बिहीबार सञ्चालन हुनेछ । सेप्टेम्बर ३० मा काठमाडौंबाट साँझ ५ः३७ बजे उडेको पहिलो उडान अक्टोबर १ को बिहान १ः०८ बजे हाङझाउ पुगेको थियो । त्यसैगरी, हाङझाउबाट अक्टोबर १ मा बिहान ३ः१८ बजे उडेको पहिलो फर्कने उडान सोही दिन बिहान ६ः२८ बजे काठमाडौँ अवतरण गरेको थियो। उक्त उडानमा १५४ जना चिनियाँ पर्यटक नेपाल आएका छन् । हिमालय एअरलाइन्सले नयाँ उडानले नेपाल र चीनबीचको पर्यटन, व्यापार तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरेको छ । कम्पनीले यात्रुका लागि सहज र सुविधाजनक यात्रा विकल्प उपलब्ध गराउने उद्देश्यले आफ्नो अन्तर्राष्ट्रिय उडान सञ्जाल विस्तार गरिरहेको जनाएको छ । हिमालय एअरलाइन्सका उपाध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने कम्पनीको लक्ष्य रहेको बताए । उनका अनुसार काठमाडौं–हाङझाउ सिधा उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै पर्यटन र व्यापार प्रवर्द्धनमा सहयोग पुग्नेछ । हिमालय एअरलाइन्सले मागअनुसार आगामी दिनमा काठमाडौं–हाङझाउ क्षेत्रमा उडान संख्या थप गर्ने योजना रहेको जनाएको छ । यात्रुले एअरलाइन्सका टिकट बिक्री कक्ष, आधिकारिक यात्रा साझेदार तथा कम्पनीको वेबसाइट र मोबाइल एपमार्फत टिकट बुक गर्न सक्नेछन् ।

श्रम संस्कृति पार्टीका सांसदले संसदमा भने– ‘कुरा त्यही हो, धन्यवाद !’

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद धुर्वराज राईले प्रधानमन्त्री बालेन्द्र साहको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन् । बिहीवारको संसद बैठकमा समय माग गर्दै सांसद राईले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिले गम्भीर प्रश्न खडा गरेको बताए ।  प्रधानमन्त्रीले नेपालले भारतको भूमि मिचेको भनी दिएको अभिव्यक्तिप्रति पार्टीको गम्भीर आपत्ति रहेको उनको जिकिर छ। सभामुखले बोल्नका लागि समय दिएपछि सांसद राईले संसद्को रोस्ट्रमबाट उक्त अभिव्यक्तिप्रति खेद प्रकट गर्दै संसदको मर्यादा कायम राख्न र रेकर्डबाट उक्त विवादास्पद भनाइ हटाउन माग गरे ।  संसदमा श्रम संस्कृति पार्टीले यो विषयलाई मुख्य एजेण्डा बनाइरहेको छ ।

एनसेल ग्राहकलाई आइफोन १८ खरिदमा विशेष बन्डल प्याकेज

काठमाडौं । एनसेलले नेपालमा एप्पल फोनको आधिकारिक बिक्रेता जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँग सहकार्य गर्दै आइफोन १८ सिरिज खरिद गर्ने ग्राहकका लागि विशेष बन्डल प्याकेज सार्वजनिक गरेको छ । यो योजना एनसेलका विद्यमान ग्राहक तथा नयाँ एनसेल सिम लिने ग्राहकका लागि उपलब्ध हुनेछ । आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स र आइफोन डुओ खरिद गर्ने ग्राहकले प्याकेजअन्तर्गत असीमित डाटा, असीमित स्थानीय कल, दैनिक १५० वटा निःशुल्क एसएमएस र लायन्सगेटको सदस्यता सुविधा पाउनेछन् । योजनाअनुसार आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स खरिद गर्ने पहिलो २०० ग्राहकले यी सुविधा तीन महिनासम्म निःशुल्क पाउनेछन् । त्यस्तै, आइफोन डुओ खरिद गर्ने पहिलो १०० ग्राहकले सोही सुविधा छ महिनासम्म अतिरिक्त शुल्कबिना प्रयोग गर्न पाउनेछन् । एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा आइफोनका नयाँ मोडल खरिद गर्ने ग्राहकका लागि विशेष योजना ल्याउन पाउँदा खुसी लागेको बताए । उनले एनसेलको प्रतिबद्धताअनुसार यो योजनाले देशभरका ग्राहकलाई भरपर्दो मोबाइल सेवा र डिजिटल सुविधा उपलब्ध गराउन सहयोग पुग्ने बताए । दत्ताका अनुसार प्रिमियम मोबाइलसँग भरपर्दो मोबाइल सेवा जोडेर ग्राहकको सञ्चार तथा मनोरञ्जन अनुभवलाई थप सहज बनाउने उद्देश्यले योजना ल्याइएको हो ।

इतर पक्षको वडा अधिवेशन आज, कांग्रेसको महाधिवेशन समानान्तर प्रक्रियामा

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनको प्रक्रिया पार्टीभित्रै दुई समानान्तर धारबाट अघि बढेको छ । निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले शशांक कोइरालाको संयोजकत्वमा छुट्टै महाधिवेशन तयारी समिति गठन गर्दै बिहीबारदेखि वडा अधिवेशन सुरु गर्न लागेको हो । सभापति गगनकुमार थापा पक्षले यसअघि नै असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको छ । देउवासहितको इतर पक्ष उक्त प्रक्रियामा सहभागी भएको थिएन । त्यसपछि उक्त पक्षले आफ्नै तयारी समिति बनाएर छुट्टै निर्वाचन कार्यतालिकाअनुसार वडा तहबाट महाधिवेशन प्रक्रिया अघि बढाउन लागेको हो । पूर्वमहामन्त्रीसमेत रहेका नेता शशांक कोइरालाको संयोजकत्वमा गठन गरिएको तयारी समितिले इतर पक्षको तर्फबाट वडा अधिवेशन सञ्चालन तथा प्रतिनिधि चयनको प्रक्रिया अघि बढाएको छ । नेता डा. प्रकाशशरण महतका अनुसार वडा अधिवेशनबाट निर्वाचित हुने कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका आधारमा त्यसपछिका पालिका, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा जिल्ला तहका अधिवेशन अघि बढ्ने छन् । यससँगै कांग्रेसको १५औं महाधिवेशनका लागि एउटै पार्टीभित्र दुई फरक प्रक्रियाबाट प्रतिनिधि चयन हुने अवस्था बनेको छ । सभापति थापा पक्षले असोज ३ र ४ गते वडा अधिवेशन सम्पन्न गरिसकेको अवस्थामा इतर पक्षले त्यसलाई अस्वीकार गर्दै आफ्नै संगठनात्मक प्रक्रिया अघि बढाएको हो । उक्त प्रक्रियामा नेता डा. शेखर कोइराला पक्ष पनि सहभागी हुने भएको छ । नेता सञ्जय गौतमले आफ्नो पक्षमा रहेका नेता तथा कार्यकर्ता पनि पछिल्लो महाधिवेशन प्रक्रियामा सहभागी हुने जानकारी दिए । इतर पक्षले सुरु गर्न लागेको वडा अधिवेशनबाट चयन हुने प्रतिनिधिले आगामी महाधिवेशनमा आफ्नो पक्षको सहभागिता र संगठनात्मक दाबीलाई आधार दिने नेताहरूले बताएका छन् ।