भारतबाट ल्याउँदै गरेको २ करोड ५१ लाखको सुन बरामद
काठमाडौं । रुपन्देहीमा २ करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध सुनका गहनासहित एक महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म डण्डा, रुपन्देहीको टोलीले भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको सुनका गहनासहित काठमाडौँ महानगरपालिका–१९ बस्ने ४६ वर्षीया ईला पटेललाई नियन्त्रणमा लिएको हो । असोज १४ गते राति करिब ८ बजे सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्तिगेट चेकप्वाइन्टमा सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले विशेष सूचनाका आधारमा जाँच गरेको थियो । जाँचका क्रममा पटेलको साथबाट २ किलो ६०५ ग्राम तौल बराबरका सुनजस्ता देखिने विभिन्न गहना बरामद गरिएको थियो । बरामद गहनाको परीक्षण तथा परिमाण यकिनका लागि असोज १५ गते सिद्धार्थनगर सुनचाँदी व्यवसायी संघमा पठाइएको थियो। परीक्षणबाट उक्त धातु १ किलोग्राम शुद्ध सुन रहेको पुष्टि भएको छ । यसको बजार मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेकी पटेललाई बरामद सुनका सम्पूर्ण गहनासहित आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाइएको छ । बरामद गहनामा ९ वटा हार, ८१ वटा औँठी, १३ वटा चुरा, ४ वटा माला, हसुली किसिमका ८ वटा सिक्री, पत्थरसहितका २० वटा झुम्का, २४ वटा झुम्का, १४ वटा गोली औँठी, १ वटा लकेट, १७ वटा पोते, २४ वटा सिक्रीलगायत छन् । त्यस्तै १८८ जोर बाली तथा जुली, ६४ जोर पत्थरसहितका टप, २२ वटा नाकको फूली, २ वटा पत्थरवाला हार, १० वटा साना झुम्का, ११ जोर कानको बाली र ८ वटा ब्रासलेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
१४ हजार फिट तल झर्यो विमान, यात्रुले जोगाए १७४ जनाको ज्यान
काठमाडौं । दुबईबाट इजरायलको राजधानी तेल अभिभतर्फ उडेको फ्लाई दुबईको विमानमा बुधबार (हिजो) भएको घटनाले विश्वभरको उड्डयन क्षेत्रमा तरंग ल्याएको छ । फ्लाई दुबईको एफजेड–१०७३ उडानमा ककपिटभित्रै एक पाइलटले अर्को पाइलटलाई चक्कु प्रहार गरेपछि विमान केही समय नियन्त्रण गुमाउने अवस्थामा पुगेको थियो । चक्कु प्रहारपश्चात विमान तीव्र गतिमा तल झरेको बताइएको छ । तर यात्रु र विमानमा रहेका चालक दलका सदस्यले समयमै हस्तक्षेप गरेपछि विमान सम्भावित ठूलो दुर्घटना बचेको छ । विमानलाई अन्ततः साउदी अरबको ताबुकमा आपतकालीन अवतरण गराइएको थियो । विमानमा रहेका सबै यात्रुलाई फ्लाई दुबईको विमानमार्फत सुरक्षित रूपमा इजरायल पु‍र्याइएको छ । घटना दुबईबाट उडेको करिब साढे दुई घण्टापछि भएको थियो । फ्लाइट ट्र्याकिङ विवरणअनुसार बोइङ ७३७ विमान करिब ३३ हजार फिट उचाइमा उडिरहेको थियो । त्यस क्रममा विमान एकाएक तीव्र गतिमा तल झर्न थाल्यो । केही विवरणअनुसार विमान करिब एक मिनेटभित्र ३३ हजार फिटबाट १७ हजार फिट आसपासमा झरेको थियो भने रोयटर्सले ३० सेकेन्डभन्दा कम समयमा करिब १४ हजार फिटको अवरोह भएको जनाएको छ । घटनाको विभिन्न चरण र तथ्यांकअनुसार अवरोहको समय तथा उचाइमा केही फरक विवरण आएका छन् । फ्लाइट ट्र्याकिङ विवरणले पनि विमानको असामान्य गतिविधि देखाएको छ । विमानले सुरुमा ‘७७००’ आपतकालीन संकेत प्रसारण गरेको थियो । त्यसपछि केही समयका लागि ‘७५००’ कोड प्रयोग भएको थियो । ७५०० अन्तर्राष्ट्रिय उड्डयनमा विमान अपहरण वा गैरकानुनी हस्तक्षेप भएको संकेतका रूपमा प्रयोग हुँदै आएको छ । यसपछि विमानको दिशा पनि परिवर्तन भएको थियो । यही कारण इजरायली पक्षले सुरुमा विमान अपहरण भएको हुनसक्ने आशंका गरेको थियो । विमानमा अधिकांश यात्रु इजरायली नागरिक रहेको बताइएको छ । आपतकालीन संकेत र विमानको असामान्य उडानका कारण इजरायलले आफ्ना लडाकु विमानसमेत तयारी अवस्थामा राखेको थियो। तर विमानभित्रको वास्तविक अवस्था अझ डरलाग्दो थियो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले दिएको विवरणअनुसार ककपिटमा एक पाइलटले अर्का पाइलटमाथि चक्कुले आक्रमण गरेका थिए । आक्रमणमा परेका क्याप्टेन गम्भीर रूपमा घाइते भए पनि उनले प्रतिरोध गर्दै ककपिटको ढोका खोल्न सफल भएको बताइएको छ । त्यसपछि यात्रु र चालक दलका सदस्य ककपिटमा प्रवेश गरेका थिए । विमानमा संयोगवश फ्लाई दुबईकै केही ‘अफ–ड्युटी’ चालक दलका सदस्य पनि यात्रुका रूपमा रहेका थिए । उनीहरूले विमानको नियन्त्रण पुनःस्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको फ्लाई दुबईले जनाएको छ । केही यात्रुका अनुसार ककपिटभित्र रगत देखिएको थियो भने पाइलटहरूबीचको संघर्षपछि विमान एकाएक तल झरेको थियो । यात्रुहरूमा ठूलो त्रास फैलिएको थियो । इजरायली सञ्चारमाध्यमसँग कुरा गरेका यात्रुमध्ये केहीले विमान एकाएक डुब्न थालेपछि आफूहरूले विमान दुर्घटना हुन लागेको ठानेको बताएका छन् । केही यात्रु ककपिटतर्फ दौडिएका थिए । त्यही क्रममा आक्रमणकारी पाइलटलाई नियन्त्रणमा लिइएको थियो । यात्रुहरूले उनलाई ककपिटबाट हटाएर नियन्त्रणमा लिएपछि विमानको अवस्था क्रमशः स्थिर भएको थियो । घटनापछि विमानलाई इजरायलतर्फ अघि बढाउनुको सट्टा साउदी अरबको ताबुकतर्फ मोडियो । ताबुक विमानस्थलका अनुसार स्थानीय समयअनुसार बिहान ८ः४४ बजे विमानले आपतकालीन अवतरणका लागि अनुमति मागेको थियो । त्यसको करिब एक घण्टापछि विमान सुरक्षित रूपमा ताबुक विमानस्थलमा अवतरण गरेको थियो । घाइते दुवै पाइलटलाई उपचारका लागि अस्पताल लगिएको थियो । अवतरणपछि विमानमा रहेका यात्रुहरूलाई विमानस्थलमै आवश्यक सहयोग उपलब्ध गराइएको थियो । फ्लाई दुबईले यात्रुहरूलाई इजरायल फर्काउन अर्को विमान पठाएको थियो । पछि यात्रुहरू तेल अभिभस्थित बेन गुरियन विमानस्थल पुगेका थिए । घटनामा संलग्न आक्रमणकारी पाइलटको पहिचान र राष्ट्रियताबारे पनि विभिन्न विवरण सार्वजनिक भएका छन् । इजरायली अधिकारीहरूले उनलाई ओमानका नागरिकका रूपमा उल्लेख गरेका छन् । तर केही प्रारम्भिक विवरणहरू स्वतन्त्र रूपमा पुष्टि भइसकेका छैनन् । आक्रमणमा परेका क्याप्टेनलाई भारतीय नागरिक स्मित मच्छरका रूपमा इजरायली प्रधानमन्त्रीले उल्लेख गरेका छन् । सबैभन्दा ठूलो प्रश्न भने आक्रमण किन भयो ? भन्ने हो । यसको स्पष्ट उत्तर अहिलेसम्म आएको छैन । फ्लाई दुबईले ककपिटमा ‘घटना’ भएको पुष्टि गर्दै त्यसको कारण र उद्देश्यबारे जानकारी अहिलेसम्म स्पष्ट नभएको जनाएको छ । कम्पनीले कारण र उद्देश्य औपचारिक अनुसन्धानबाट मात्रै खुल्ने बताएको छ । इजरायली अधिकारीहरूले भने यसलाई विमान दुर्घटनामा पार्ने प्रयास वा सम्भावित आतंकवादी गतिविधिका रूपमा अनुसन्धान गरिरहेका छन् । नेतान्याहूले आक्रमणपछि पाइलटले विमान नै खसाल्न खोजेको देखिएको बताएका छन् । तर अहिलेसम्म कुनै आतंकवादी संगठनले घटनाको जिम्मेवारी लिएको छैन र आक्रमणकारीको कुनै संगठनसँग सम्बन्ध रहेको प्रमाण पनि सार्वजनिक भएको छैन । त्यसैले घटनालाई अहिले नै निश्चित रूपमा आतंकवादी हमला भन्न सकिने अवस्था छैन । घटनाको अर्को महत्त्वपूर्ण पाटो विमानको ‘ब्ल्याक बक्स’ अनुसन्धान हो । फ्लाई दुबईका अधिकारीहरूले घटनाको वास्तविक क्रम र कारण पत्ता लगाउन ब्ल्याक बक्सलगायत प्रमाण महत्त्वपूर्ण हुने बताएका छन् । विमानको पुच्छरतर्फको रडरमा समेत क्षति पुगेको विवरण सार्वजनिक भएको छ । घटनापछि फ्लाई दुबईले इजरायल जाने र इजरायलबाट आउने आफ्ना उडानहरू अनुसन्धान जारी रहेसम्म स्थगित गर्ने निर्णयसमेत गरेको छ । संयुक्त अरब इमिरेट्सको नागरिक उड्डयन प्राधिकरणले पनि घटनालाई ‘सुरक्षा घटना’का रूपमा अनुसन्धान गरिरहेको जनाएको छ । यस घटनाले एउटा गम्भीर प्रश्न भने उठाएको छ, हजारौं फिट माथि उडिरहेको व्यावसायिक विमानको ककपिटमै पाइलटबीच हिंसात्मक घटना भएमा यात्रु र अन्य चालक दलले कति छिटो प्रतिक्रिया दिन सक्छन् ? फ्लाई दुबईको यो घटनामा यात्रु तथा अफ–ड्युटी चालक दलको तत्काल हस्तक्षेपकै कारण ठूलो मानवीय क्षति हुनबाट जोगिएको देखिन्छ ।
सफ्टवेयर केन्द्रको नियुक्तिमा प्रधानमन्त्री कार्यालयकै सेटिङ
काठमाडौं । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारको सुशासन र पारदर्शितामाथि प्रश्न उठाएकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले प्रधानमन्त्री कार्यालय मातहतको ‘सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र’ को कार्यकारी निर्देशक नियुक्तिमा नीतिगत भ्रष्टाचार र नियोजित सेटिङ भएको भन्दै संसदीय छानबिन समितिको माग गरेकी हुन् । सांसद ओलीले संसद्मा प्रस्तुत गरेको टाइमलाइनअनुसार जेठ १२ गते कार्यविधि बनाउन गठन गरिएको कार्यदलका संयोजक किरण तिम्सिनाले नै पछि आफू नियुक्त हुने गरी नियम र मापदण्ड तयार पारेको आरोप लगाइन् । उनले प्रमाणका रूपमा तिम्सिनाले लिङ्क्डइनमा राखेको ‘ओ ब्वाइ, दिस वाज टफ’ भन्ने पोस्ट र त्यसपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीसँगै केक काटेर उत्सव मनाएको तस्बिर सार्वजनिक गरिन् । सांसद ओलीले असोज १ गते हतार–हतार सर्टलिस्ट गरी २ गते अन्तर्वार्ता लिने काम भएको र सोही दिन मन्त्रिपरिषद्ले निर्णय गरे पनि पाँच दिनसम्म सूचना लुकाइएको बताइन् । उनले भनिन्, ‘आफैँ प्रश्नपत्र बनाउने, आफैँ सहभागी हुने र विज्ञापन खुल्नुअघि नै उत्सव मनाउने, यो कस्तो सुशासन हो ? १८२ जना सांसद भएको सरकारलाई विधेयक ल्याउन कसले रोक्यो ? एनआरएनको भोट र नोट चल्ने तर अधिकार नचल्ने ? संसद्मा मौन बस्ने र फेसबुकमा क्रान्तिकारी हुने प्रवृत्ति बन्द गर्नुस् । राजनीति आफ्नो सुविधा हेरेर होइन, सही ठाउँमा सही प्रश्न सोधेर गर्ने हो ।’ उनले यो घटनालाई सुशासन ऐन, २०६४ को मर्मविपरीतको ‘ओपन सेटिङ’ को संज्ञा दिँदै प्रधानमन्त्रीको समेत ध्यानाकर्षण गराइन् । यसैगरी, प्रवासी नेपालीको नागरिकताको मुद्दा उठाउँदै उनले सरकारको दोहोरो चरित्रप्रति असन्तुष्टि व्यक्त गरिन् । गैरआवासीय नेपाली (एनआरएन) ले आफ्नो नागरिकता निरन्तरताको माग गर्दा परराष्ट्रमन्त्रीबाट सम्भव नभएको अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ । ओलीले सत्तापक्षका सांसदहरूलाई ‘फेसबुक क्रान्तिकारी’ नबन्न आग्रह गरिन् । यस्तो दलीय मौनता र कुशासनको अन्त्य नभए आफ्नो सांसद पदको कुनै औचित्य नहुने चेतावनीसमेत दिइन् ।
गल्छी–बेत्रावती सडकमा ट्र्याक खुल्यो, ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी
काठमाडौं । बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ । ट्र्याक खुलेसँगै उक्त सडकखण्डमा सर्वसाधारणको आवतजावतसमेत सुरु भएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए । रसुवासँग जोडिने मुख्य सडक मार्गका रूपमा रहेको यस सडकखण्डमा ट्र्याक खुले पनि सडकलाई थप व्यवस्थित बनाउन ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी रहेको मन्त्री लम्सालले बताए । सडक निर्माण तथा मर्मतको काम भइरहेका बेला बाक्लो सवारीसाधन सञ्चालन हुँदा निर्माण कार्य प्रभावित भइरहेको भन्दै उनले सडक मर्मत तथा पुनःनिर्माणमा आवश्यक सहजीकरण गरिदिन सबैसँग आग्रह गरे । यसैबीच, ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सडकखण्डमा बेलिब्रिज जडानको तयारीसमेत अघि बढाइएको छ । नुवाकोटतर्फ बेलिब्रिज निर्माणका लागि फाउन्डेसन तयार भइसकेको छ । नेपाली सेनाको सहयोगमा अब बेलिब्रिज जडानको काम अघि बढाइने भएको छ । त्यस्तै, रसुवातर्फ बेलिब्रिजको फाउन्डेसन निर्माणसमेत अन्तिम चरणमा पुगेको मन्त्री लम्सालले जानकारी दिए । दुवैतर्फको कामलाई तीव्रता दिँदै आगामी एक साताभित्र बेलिब्रिज जडान सम्पन्न गर्ने लक्ष्य राखिएको छ । बाढीका कारण सडक संरचनामा क्षति पुगेपछि रसुवा जाने–आउने यातायात प्रभावित हुँदै आएको थियो ।
प्रतिनिधिमै रोकिए कांग्रेसका यी प्रभावशाली नेताहरू
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि छनोटमा पार्टीका केन्द्रीय सदस्यदेखि पूर्वमन्त्री, संविधानसभा सदस्य, प्रदेशसभा सदस्य र प्रदेश तहका पदाधिकारीसम्मका नेताहरू पराजित भएका छन् । कांग्रेसले यसपटक पार्टीको केन्द्रीय नेतृत्वमा रहेका नेताहरूले समेत निर्वाचित प्रक्रियाबाट महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्था गरेपछि विभिन्न जिल्लामा भएको निर्वाचनमा स्थापित नेताहरू नै प्रतिनिधि बन्नबाट रोकिएका हुन् । नेपाली कांग्रेसको निर्वाचन समितिले हालसम्म सार्वजनिक गरेको विवरण अनुसार केन्द्रीय सदस्य उमेशजंग रायमाझी, गंगा सुनार, विशेष महाधिवेशनको बन्दसत्रका अध्यक्ष श्यामकुमार खड्का, पूर्वमन्त्री तारिणीदत्त चटौत, संविधानसभा सदस्य तथा बागमती प्रदेश कांग्रेसका उपसभापति चन्द्र महर्जन, निवर्तमान प्रदेशमन्त्री उर्मिला केसी नेपाल प्रतिनिधि बन्न सकेनन् । रायमाझी पनि महाधिवेशन प्रतिनिधिमै रोकिए कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझी १५औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि बन्ने दौडमा पराजित भएका छन् । भोजपुरबाट खुलातर्फ उम्मेदवारी दिएका रायमाझी ४१६ मतमा रोकिएको निर्वाचन समितिले जानकारी दिएको छ । खुलातर्फबाट प्रतिनिधि छनोटका लागि भएको प्रतिस्पर्धामा उनी निर्वाचित हुन नसकेका हुन् । रायमाझी १४औं महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी कांग्रेसको खेलकुद विभाग प्रमुखसमेत हुन् । पार्टीको पछिल्लो आन्तरिक समीकरणमा रायमाझी लामो समय शेरबहादुर देउवा पक्षमा रहेका थिए । पछिल्लो समय भने पार्टीको संस्थापनको आह्वानअनुसार गगन थापा नेतृत्वको समूहमा समाहित भएका थिए । केन्द्रीय सदस्य सुनार प्रतिनिधिमै रोकिइन् काठमाडौं–५ बाट कांग्रेस केन्द्रीय सदस्य गंगा सुनार दलित क्लस्टरतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् । उनी निर्वाचित हुन नसकेको क्षेत्रीय निर्वाचन समितिले जानकारी दिएको छ । उक्त क्लस्टरबाट मेनुका भुसाल निर्वाचित भएकी छन् । सुनार गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट कांग्रेस केन्द्रीय सदस्य बनेकी थिइन् । केन्द्रीय सदस्य भए पनि यसपटक निर्वाचित प्रक्रियाबाटै महाधिवेशन प्रतिनिधि बन्नुपर्ने व्यवस्थाका कारण उनी क्षेत्रीय निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएकी थिइन् । काठमाडौं–५ मै विशेष महाधिवेशनको बन्दसत्रको अध्यक्षता गरेका ज्येष्ठ नेता श्यामकुमार खड्का पनि प्रतिनिधि बन्न सकेनन् । निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रजातन्त्र सेनानी, शहीद परिवार तथा द्वन्द्व प्रभावित क्लस्टरबाट उम्मेदवार बनेका खड्काले १०१ मत पाएका थिए । सोही क्लस्टरबाट ठाकुरप्रसाद पुडासैनी १३२ मतसहित निर्वाचित भएका छन् । खड्का १४औं महाधिवेशनमा यही क्षेत्रबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए । पूर्वमन्त्री चटौतको प्रतिनिधि बन्ने प्रयास असफल कञ्चनपुर–३ बाट पूर्वमन्त्री तारिणीदत्त चटौत पनि महाधिवेशन प्रतिनिधि बन्न सकेनन् । खुला पुरुषतर्फ १० जना प्रतिनिधिका लागि भएको प्रतिस्पर्धामा चटौतले २४३ मत पाएको निर्वाचन समितिले जानकारी दिएको छ । उक्त क्लस्टरबाट बहादुरसिंह थापा ४२० मतसहित निर्वाचित भएका छन् । ललितपुर–२ मा प्रदेशका तीन नेता बाहिर ललितपुर–२ मा कांग्रेस बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जन महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । त्यस्तै, बागमती प्रदेशकी निवर्तमान मन्त्री उर्मिला केसी नेपाल र कांग्रेस ललितपुर–२ का क्षेत्रीय सभापति महेश खड्का पनि प्रतिनिधि छनोटमा पराजित भएका छन् । यस क्षेत्रको परिणामले प्रदेश तहको नेतृत्वमा रहेका नेताहरूलाई समेत महाधिवेशन प्रतिनिधि छनोटमा प्रतिस्पर्धा सहज नभएको देखाएको कांग्रेस ललितपुरका एक नेताले जानकारी दिए । बाँके–२ मा प्रदेशसभा सदस्यहरूलाई धक्का बाँके–२ मा पनि लुम्बिनी प्रदेशका वर्तमान तथा निवर्तमान प्रदेशसभा सदस्यहरू महाधिवेशन प्रतिनिधि बन्नबाट रोकिएका छन् । लुम्बिनी प्रदेशसभा सदस्य माया पुन मगर महिला क्लस्टरतर्फ २१५ मत पाएर पराजित भइन् । सोही क्लस्टरबाट उमा थापा मगर ४३६, रेनुसिंह ठकुरी ४११, नारायणी रुपाखेती ३४९ र कल्पना रेग्मी ३०९ मतसहित निर्वाचित भएका छन् । दलित क्लस्टरतर्फ प्रदेशसभा सदस्य सुशीला नेपाली वादीले २३६ मत पाएर पराजित हुँदा उक्त क्लस्टरबाट मैकुलाल बाल्मिकी ३३० मतसहित निर्वाचित भएका छन् । निवर्तमान प्रदेशसभा सदस्य याकुव अन्सारी पनि बाँके–२ बाट प्रतिनिधि चयनमा पराजित भएर महाधिवेशन प्रतिनिधि बन्नवाट रोकिएका छन् । प्रतिनिधि छनोटमै देखियो प्रतिस्पर्धा कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भइरहेको प्रतिनिधि छनोटमा देखिएका यी परिणामले पार्टीको आन्तरिक निर्वाचनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ । यसपटकको व्यवस्थाअनुसार केन्द्रीय तहका नेतासमेत सम्बन्धित क्षेत्रबाट निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने हुन्छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार पार्टीको पदाधिकारी वा केन्द्रीय सदस्यको हैसियतले मात्रै महाधिवेशनमा प्रतिनिधित्व सुनिश्चित हुने अवस्था छैन । त्यसको प्रत्यक्ष प्रभाव क्षेत्रीय अधिवेशनका परिणाममा देखिएको कटुवालले जानकारी दिए । केन्द्रीय सदस्यदेखि प्रदेश नेतृत्व र पूर्वमन्त्रीसम्मका नेताहरू प्रतिनिधिमै रोकिँदा कांग्रेसको १५औं महाधिवेशनमा प्रतिनिधि छनोटको चरण नै महत्त्वपूर्ण शक्ति परीक्षणका रूपमा देखिएको छ । अझै देशभरका सबै क्षेत्रको परिणाम आइनसकेकाले प्रभावशाली नेताहरूको पराजयको संख्या अझै थपिन सक्नेछ ।
विपद्का बेला सरकार सिंहदरबारमा मात्र सीमित रह्यो : वासना थापा
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले मुलुकभरको बाढी–पहिरोको अवस्थाप्रति सरकारको निष्क्रियताको आलोचना गरेकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले गण्डकी र कर्णालीलगायतका क्षेत्रमा नागरिकले भोग्नुपरेको पीडा र राज्यको अनुपस्थितिमाथि प्रश्न उठाएकी हुन् । सांसद थापाले हालैको भारी वर्षाका कारण गण्डकी प्रदेशमा मात्र २७ जनाको ज्यान गएको र ११ जना अझै बेपत्ता रहेको दुःखद् तथ्याङ्क प्रस्तुत गर्दै मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिन् । उनले बेपत्ताहरूको खोजी, उद्धार र राहतका लागि सरकारले चालेका कदमबारे स्पष्ट जवाफ माग गरिन् । उनले विशेषगरी खोज तथा उद्धारमा कति सुरक्षाकर्मी र कुन प्रविधि प्रयोग भइरहेको छ भन्नेबारे जिल्लागत र व्यक्तिगत प्रगति विवरण सार्वजनिक गर्न सरकारलाई दबाब दिइन् । आफ्नो निर्वाचन क्षेत्र दैलेखसहित कर्णालीका विभिन्न स्थानमा बाढी–पहिरोले सडक, पुल र विद्युत्लगायतका भौतिक संरचना ध्वस्त हुँदा नागरिकले सास्ती खेप्नुपरेको उनले स्मरण गराइन् । चाडबाडको मुखमा राजमार्गहरू अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेको भन्दै उनले अवरुद्ध सडकहरूको एकीकृत सार्वजनिक सूचना प्रणाली नहुनु सरकारको कमजोरी भएको औँल्याइन् । सांसद थापाले बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा राहत, उपचार र पुनःस्थापनाका लागि कति बजेट तथा स्रोत परिचालन गरिएको छ भन्ने विषयमा तत्काल स्पष्ट पार्न सरकारसँग माग गरिन् । विपद्को पूर्वसूचना हुँदाहुँदै पनि जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्न किन चुक्यौँ भन्दै उनले सरकारी कार्यशैलीमाथि प्रश्न उठाइन् । उनले आश्वासनको भरमा नभई परिणाम देखिने गरी काम गर्न र निरन्तर सूचना प्रवाह गर्न सरकारलाई सचेत गराइन् ।
निजामती सेवामा १४ तहको संरचना, अवकाश उमेर ६० वर्ष पुर्याउने प्रस्ताव
काठमाडौं । सरकारले तीन दशकभन्दा बढी समयदेखि कार्यान्वयनमा रहेको निजामती सेवा ऐनलाई प्रतिस्थापन गर्ने गरी ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ संघीय संसद् सचिवालयमा दर्ता गरेको छ । नयाँ विधेयकले निजामती सेवाको विद्यमान श्रेणीगत संरचना हटाएर तहगत प्रणाली लागू गर्ने, अनिवार्य अवकाशको उमेर बढाउने, उच्च प्रशासनिक पदको पदावधि तोक्ने तथा अवकाशपछि उच्चपदस्थ कर्मचारीको भूमिकामा समेत नियमन गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित व्यवस्थाअनुसार निजामती सेवामा १४ तहको संरचना कायम हुनेछ भने कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ बाट ६० वर्ष पुर्याइनेछ । मुख्य सचिवको पदावधि दुई वर्ष र सचिवको तीन वर्ष कायम गर्ने प्रस्ताव पनि विधेयकमा छ । श्रेणी हटाएर तहगत प्रणाली विधेयकले निजामती सेवामा हाल कायम राजपत्राङ्कित र राजपत्र अनङ्कित श्रेणीगत संरचनालाई विस्थापन गर्दै तहगत प्रणाली लागू गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित संरचनामा मुख्य सचिव तथा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारलाई १४औं तहमा राखिएको छ। सचिव वा सो सरहका पद १३औं तहमा रहनेछन् । त्यस्तै, राजपत्राङ्कित प्रथम श्रेणीका पद ११औं र १२औं तह, द्वितीय श्रेणीका पद ९औं र १०औं तह तथा तृतीय श्रेणीका पद ७औं र ८औं तहमा रहने व्यवस्था प्रस्ताव गरिएको छ । राजपत्र अनङ्किततर्फ भने पहिलोदेखि छैटौं तहसम्मको संरचना रहनेछ । अधिकृत छैटौं, सहायक पाँचौं, चौथो, तेस्रो, दोस्रो र पहिलो तह कायम हुने प्रस्ताव छ । हाल श्रेणीविहीन अवस्थामा रहेका कर्मचारीलाई सहायक पहिलो तहमा कायम गर्ने र तेस्रो तहमा कुनै कर्मचारी नरहेपछि उक्त तहको पद स्वतः खारेज हुने व्यवस्था पनि विधेयकमा प्रस्ताव गरिएको छ । मुख्य सचिव दुई वर्ष, सचिव तीन वर्ष विधेयकले संघीय प्रशासनको सर्वोच्च नेतृत्वमा रहने मुख्य सचिवको पदावधि दुई वर्ष कायम गर्ने प्रस्ताव गरेको छ । त्यस्तै सचिवको पदावधि तीन वर्ष तोक्ने व्यवस्था प्रस्ताव गरिएको छ । उच्च प्रशासनिक पदमा हुने नियुक्ति र जिम्मेवारीलाई निश्चित अवधिसँग जोड्ने गरी गरिएको यो प्रस्ताव विधेयकको महत्वपूर्ण व्यवस्थामध्ये एक हो । अवकाश उमेर ६० वर्ष पुर्याउने प्रस्ताव विधेयकले निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरसमेत पुनर्निर्धारण गरेको छ । हाल कायम ५८ वर्षको उमेर हदलाई बढाएर ६० वर्ष पुर्याउने प्रस्ताव गरिएको छ । प्रस्तावित व्यवस्था लागू भएमा कर्मचारीले हालको भन्दा दुई वर्ष बढी सरकारी सेवामा रहने अवसर पाउनेछन् । उच्चपदस्थलाई अवकाशपछि दुई वर्ष ‘कूलिङ पिरियड’ विधेयकले उच्चपदस्थ कर्मचारीको अवकाशपछिको गतिविधिमा समेत नियमन प्रस्ताव गरेको छ । उच्च तहका कर्मचारीका लागि अवकाशपछि दुई वर्षको ‘कूलिङ पिरियड’ राख्ने व्यवस्था गरिएको छ । यस अवधिमा तोकिएका प्रकृतिका जिम्मेवारी वा गतिविधिमा संलग्न हुन नपाउने गरी कानुनी सीमा निर्धारण गर्ने प्रस्ताव विधेयकमा छ । महिला कर्मचारीलाई महिनावारी बिदा महिला कर्मचारीको सेवा सुविधातर्फ पनि विधेयकले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । महिला कर्मचारीका लागि महिनावारी बिदाको प्रावधान राखिएको छ । यसले निजामती सेवामा महिला कर्मचारीका लागि बिदासम्बन्धी व्यवस्थामा नयाँ आधार थप्नेछ । आरक्षण व्यवस्थामा नयाँ मापदण्ड विधेयकले निजामती सेवाको समावेशी तथा आरक्षण प्रणालीका मापदण्डमा समेत पुनरावलोकन गर्ने प्रस्ताव गरेको छ । आरक्षणबाट सेवा प्रवेश गर्ने समूह तथा त्यससम्बन्धी मापदण्डलाई कानुनी रूपमा थप व्यवस्थित गर्ने प्रावधान विधेयकमा समेटिएको छ ।
प्रधानमन्त्री शाह र अष्ट्रेलियाका राजदूत अर्न्स्टबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत महामहिम साइमन अर्न्स्टले शिष्टाचार भेटवार्ता गरेका छन् । राजदूत अर्न्स्टले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री शाहले नेपालमा हालै आएको बाढी र पहिरोपछि अष्ट्रेलिया सरकारले देखाएको मित्रता, एक्यबद्धता र सहयोगका लागि कृतज्ञता व्यक्त गरेका छन् । नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अर्न्स्टले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज गरेको शिष्टाचार भेटका क्रममा प्रधानमन्त्री शाहले सो आभार व्यक्त गरेका हुन् । भेटका क्रममा प्रधानमन्त्रीले बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै नेपाल सरकारले खोज, उद्धार, राहत र पुनःस्थापनाका लागि उपलब्ध सम्पूर्ण स्रोतसाधन परिचालन गरिरहेको जानकारी दिए । विपद् लगत्तै अष्ट्रेलियाले विशेषज्ञ ड्रोन अपरेटर, राहत सामग्री र १७ सदस्यीय विपद् सहकार्य तथा प्रतिकार्य टोली नेपाल पठाएकोमा प्रधानमन्त्रीज्यूले प्रशंसा गरे। साथै, अष्ट्रेलियाले उपलब्ध गराएको ११ मिलियन अष्ट्रेलियन डलरको सहयोग दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक भएको उनको भनाइ थियो। सो क्रममा बाढीका कारण बेपत्ता रहेका अष्ट्रेलियन नागरिकको खोजी कार्यलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको प्रधानमन्त्री शाहले बताए। उनले अष्ट्रेलियाले नेपालको मानव संसाधन विकासमा पुर्याउँदै आएको निरन्तर सहयोगका लागि पनि धन्यवाद दिए। भेटमा राजदूत साइमन अर्न्स्टले प्राकृतिक विपद्का कारण नेपालले बेहोरेको क्षतिप्रति समवेदना व्यक्त गरे। साथै, उनले हालै संयुक्त राष्ट्रसंघमा नेपालले जनाएको सशक्त र प्रभावकारी उपस्थितिको समेत प्रशंसा गरेका छन् ।