विकासन्युज

ठूला सिँचाइ आयोजना अब अलपत्र पर्दैनन्, सुनकोशी मरिनको खरिद प्रक्रिया ९० दिनभित्र गछौं- ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ठूला सिँचाइ आयोजना अलपत्र अवस्थामा नछाड्ने बताएका छन् । ७३औं सिँचाइ दिवसका अवसरमा आज एक कार्यक्रममा उनले सिक्टा, भेरी-बबई, रानी जमरा कुलरिया र सुनकोशी-मरिनजस्ता सिँचाइ आयोजनालाई अब अलपत्र नछाड्ने बताएका हुन् ।  मन्त्री श्रेष्ठले सुनकोशी-मरिन आयोजनाको पुनःखरिद प्रक्रिया ९० दिनभित्र सम्पन्न गर्ने तयारी भइरहेको जानकारी दिँदै भेरी-बबई आयोजना दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको स्पष्ट पारे ।  उनले गण्डक, नारायणी, बागमती, सुनसरी-मोरङजस्ता ठूला सिँचाइ प्रणालीको मर्मत, पुनःस्थापना र व्यवस्थापकीय सुधारलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे ।  ‘ठूला आयोजना सम्पन्न गर्ने क्रममा वास्तविक अवरोध कहाँ छन्, त्यसको जानकारी दिनुहोस् हामी समाधानको प्रयास गर्नेछौं’, उनले भने । मन्त्री श्रेष्ठले कर्मचारीसँग रहेको प्राविधिक ज्ञान कुनै नीतिगत दस्तावेजले प्रतिस्थापन गर्न नसक्ने भएकाले कर्मचारीलाई निर्देशनको पालना गराउने मात्रै होइन आफूले साझेदारी गर्न चाहेको उल्लेख गरे ।  आगामी दिनमा सिँचाइ खेतमा पानी पुर्‍याउने माध्यमका रूपमा मात्र नहेरेर पानीलाई ऊर्जा, खाद्य सुरक्षा, वातावरण र जीविकोपार्जनलाई जोड्ने गरी एकीकृत प्रणालीको व्यवस्था गरिने मन्त्री श्रेष्ठको भनाइ थियो । उनले तल्लो तटीय फाइदा, बाढी नियन्त्रण, नदी किनारमा बस्ने समुदायलाई के-कस्ता लाभ पुर्‍याउन सकिन्छ भन्ने विषयलाई पनि मन्त्रालयको नीतिमा समावेश गरिएको बताए । 

बस र ट्रक ठोक्किँदा १५ भारतीय तीर्थयात्री घाइते, गाडीमा पूर्ण क्षति

काठमाडौं ।  म्याग्दीको बेनी नगरपालिका-९ जलेश्वरमा आज साँझ बस र ट्रक ठोक्किएर दुर्घटना हुँदा १५ जना भारतीय तीर्थयात्री घाइते भएका छन् । मुस्ताङबाट पोखरा जाँदै गरेको ग२ख १४५७ नम्बरको बस र भैरहवाबाट दानाको रुप्सेतर्फ जाँदै गरेको ग प्र.०१००१ख ००१२ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार बस र ट्रकको अगाडिको भाग पूर्ण क्षति भएको छ । बसमा सवारी २४ जनामध्ये चालक र सहचालकसहित नौ जना सकुसल छन् । घाइते मुस्ताङको मुक्तिनाथ तीर्थयात्रा गरेर फर्कंदै गरेको भारतीय तीर्थयात्री रहेका प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।  भारतको उत्तरप्रदेशका ६२ वर्षीय दीपकराज मित्तल, ६३ वर्षीय शङ्कर लाल केशवानी, ४२ वर्षीया कृति शर्मा, ३८ वर्षीय गौरव सेनी, गुजरातका ७२ वर्षीय राज अडोलिया, २० वर्षीया सिम्रन साहाय, हरियानाका ६७ का प्रेमा शर्मा, उत्तर प्रदेशका ५३ का अल्का गुप्ता, जयपुर राजस्थानका ५८ वर्षीय अरविन्द भट्ट, दिल्लीका ६९ वर्षीय रामगोपाल शर्मा र ४८ वर्षीया बन्धना शर्मा, मध्यप्रदेशका ३७ वर्षीया ऋचा कौशिक र ३९ वर्षीय गौरव कौशिक, गुजरातका ४८ वर्षीय विनित गोयल र ४२ वर्षीय निरु चौधरी घाइते भएका प्रहरीले जनाएको छ ।  अस्पतालका अनुसार घाइतेहरूमध्ये अधिकांशको अनुहार, हात र खुट्टामा चोट लागेको छ । बस चालक कास्कीको माछापुच्छ्रे« गाउँपालिका-४ का लाहाचोकका ३१ वर्षीय विकास जिसी घाइतेको उपचारमा संलग्न र ट्रक चालक पर्वतको जलजला गाउँपालिका-७ धाइरिङका २८ वर्षीय नारायणप्रसाद शर्मा प्रहरीको सम्पर्कमा रहेको प्रहरीले जनाएको छ । 

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, प्रत्यक्ष निर्वाचित कार्यकारीदेखि निर्वाचन प्रणालीसम्ममा छलफल हुने

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक २०८२ चैत २५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न भएको छ । ​ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार एवं कार्यदलका संयोजक असिम साहको अध्यक्षतामा बसेको बैठकले संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ । ​बैठकमा उठेका विषयहरू र राजनीतिक दलहरूको लिखित धारणा संकलन गरी संविधान संशोधनका मुद्दा पहिचान गर्ने तथा कार्यदलको आगामी कार्ययोजना तयार गरी प्रस्तुत गर्ने जिम्मेवारी सदस्य सचिव (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सहसचिव) लिलाधर सुवेदीलाई दिइएको छ । कार्यदलले संविधान संशोधनसम्बन्धी विषयलाई बृहत् रूपमा अघि बढाउने लक्ष्य राखेको संयोजक साहले बैठकमा जानकारी दिए । उनले संविधान संशोधन प्रक्रिया राष्ट्रिय सहमति, सहभागिता र तथ्यमा आधारित हुने बताए । नेपालको संविधानको धारा २७४ ले संशोधनसम्बन्धी स्पष्ट प्रावधान गरेको उल्लेख गर्दै उनले सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता तथा जनतामा निहित सार्वभौमसत्ताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न नसकिने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे । ​साहले मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत संविधान संशोधनका विषयमा राष्ट्रिय सहमति निर्माण गर्न बहसपत्र तयार गर्ने निर्णय भएको स्मरण समेत गराए । सोही निर्णयअनुसार चैत १६ गते उनको नेतृत्वमा कार्यदल गठन गरिएको थियो । संयोजक साहका अनुसार संविधान संशोधनलाई सैद्धान्तिक र व्यावहारिक रूपमा अघि बढाउन सबै राजनीतिक दलको सहभागिता सुनिश्चित गरिएको छ । निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक प्रतिनिधित्व, सांसद मन्त्री नहुने व्यवस्था, गैरदलीय स्थानीय सरकार तथा प्रदेश संरचनाको सुधारजस्ता विषयमा व्यापक छलफल गरी अघि बढ्ने उनको भनाइ छ । ​प्रधानमन्त्रीको तर्फबाट सबै राजनीतिक दल तथा नागरिकलाई विश्वास दिलाउँदै उनले सरकार सबै पक्षसँग संवाद गरेर सहमतिको आधारमा अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । बैठकमा सहभागी सबै पक्षले खुला रूपमा बहस गर्दै जिम्मेवारीलाई तार्किक निष्कर्षमा पुर्‍याउने विश्वास आफूले लिएको शाहले बताए । ​सो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य मोहन आचार्य, नेकपा (एमाले) का डा. भीष्मनाथ अधिकारी, नेकपा (माओवादी केन्द्र) का पूर्वमन्त्री देवप्रसाद गुरुङ, श्रम संस्कृति पार्टीका ध्रुवराज राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ज्ञानेन्द्र शाही, जनता समाजवादी पार्टी, नेपालका डा. सुरेन्द्र कुमार झा, लोकतान्त्रिक समाजवादी पार्टीका डा.आभाष लाभ र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सहभागी भएका थिए ।  यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव पुष्कर सापकोटा र नेपाल कानुन आयोगका सचिव इन्दिरा दाहालको पनि उपस्थिति रहेको थियो ।  

झापाका ८ लाख नागरिक स्वास्थ्य बीमामा आबद्ध

काठमाडौं । झापामा चालु आर्थिक वर्ष २०८२/८३ को २४ चैतसम्म आठ लाख ४२ हजार ३३० नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका छन् । यो जिल्लाको कुल जनसंख्याकाे ८४ दशमलव ३९ प्रतिशत हो । सरकारद्वारा सामाजिक सुरक्षाअन्तर्गत सञ्चालनमा रहेको स्वास्थ्य बीमा कार्यक्रमप्रति झापाका नागरिकको आकर्षण निरन्तर बढ्दै गएको तथ्यांकले देखाएको छ । 'राज्यको लगानी, नागरिकको योगदानः स्वास्थ्य बीमा साझा अभियान' मूल नारासहित स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालयले आज मनाइएको दशौँ स्वास्थ्य बीमा दिवसका अवसरमा आयोजित कार्यक्रममा उक्त विवरण सार्वजनिक गरिएको हो । सोही अवधिसम्म जिल्लामा बीमित परिवारको संख्या दुई लाख १७ हजार ५२३ पुगेको छ, जुन जिल्लाभरका कुल परिवार संख्याको ९८ प्रतिशत हो । स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क शाखा कार्यालय संयोजक लक्ष्मी कँडेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा स्वास्थ्य बीमाको पहुँच विस्तार भइसकेको छ । स्थानीय तहगत विवरणअनुसार दमक नगरपालिकामा सबैभन्दा बढी एक लाख २२ हजार ७९७ नागरिक बीमित भएका छन् भने झापा गाउँपालिकामा सबैभन्दा कम १९ हजार ४९ जना बीमामा आबद्ध छन् । जिल्लामा हाल २७ स्वास्थ्य सेवा प्रदायक संस्था स्वास्थ्य बीमा कार्यक्रममा सूचीकृत भई सेवा प्रवाह गर्दै आएका छन् । सर्वसाधारणलाई गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको संयोजक कँडेलले जानकारी दिए ।  दिवसका अवसरमा विभिन्न स्थानीय तहमा दर्ता सहयोगीका रूपमा कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादन मूल्यांकनका आधारमा प्रत्येक स्थानीय तहबाट उत्कृष्ट दर्ता सहयोगीलाई प्रशंसापत्रसहित सम्मान गरिएको संयोजक कँडेलले बताए । 

सम्पत्ति विवरणका बारेमा भएका प्रचार भ्रामक र झुटा छन्: पूर्वसभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारको सम्पत्तिका विषयमा सञ्चारमाध्यममा आएका विवरणहरूलाई भ्रामक र झुटा भन्दै खण्डन गरेका छन् । सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धान सुरु भएको भन्ने समाचारप्रति लक्षित गर्दै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रष्टीकरण दिएका हुन् । आफ्नो सिंगो जीवन विधिको शासन, पारदर्शिता र लोकतान्त्रिक मूल्यमान्यताका लागि संघर्षमै बितेको उल्लेख गर्दै देउवाले आफ्नो जीवनलाई खुल्ला पुस्तकसँग तुलना गरेका छन् ।  उनले भनेका छन्, ‘नेपालको कानुन अनुसार सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरेको अवगत गराउन चाहन्छु ।’ देउवाले भ्रष्टाचारमुक्त समाज निर्माणका लागि आफूले विगतमा निर्वाह गरेको भूमिकाको समेत स्मरण गराएका छन् । उनले आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा 'भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको तथ्य उल्लेख गर्दै सुशासनप्रति आफ्नो प्रतिवद्धता स्पष्ट पारेका छन् । हाल स्वास्थ्य उपचारका क्रममा सपरिवार हङकङमा रहेका देउवाले उपचार जारी रहेको जानकारी गराएका छन् । वास्तविक तथ्य समयक्रमसँगै खुल्दै जाने विश्वास व्यक्त गर्दै उनले भनेका छन्, ‘अतिरञ्जना गरी सार्वजनिक भएका विवरणहरूबाट भ्रममा नपर्न सबैमा अपिल गर्दछु ।’

देशभर सार्वजनिक यातायातको भाडा १०.७१ प्रतिशतले बढ्यो, कुन रुटमा कति ?

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ । विभागका अनुसार यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ । मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको हो । पछिल्लो पटक २२ पुस २०८१ मा समायोजन भएको गाडी भाडा अहिले बढाइएको हो । सो बेला डिजेलको मूल्य १५०.८३ रुपैयाँ प्रतिलिटर थियो । बढेको भाडा दर अन्तरप्रदेशीय गन्तव्यका लागि मात्रै हो । एक प्रदेशभित्रको भाडा दर भने प्रदेश सरकारले तोक्नुपर्छ । नेपाल आयल निगमले १ महिनाको अवधिमै डिजेलको भाउ प्रतिलिटर ४० रुपैयाँ र पेट्रोलको भाउ प्रतिलिटर ४५ रुपैयाँ बढाइएको छ । निगमका अनुसार अझै डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र डिजेलमा ३४ रुपैयाँ घाटा रहेको छ । यस्तो छ भाडादरको मूल्यसूची :

निजी क्षेत्रमा अख्तियारको प्रवेशलाई रोक्न सफल भएँ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आफ्नो कार्यकालमा निजी क्षेत्रको मनोबल बढाउन र विद्यमान आर्थिक चुनौतीहरूलाई चिर्दै लगानीमैत्री वातावरण निर्माण गर्न महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले आफूले पदभार ग्रहण गर्दाको कठिन समय र त्यसपछिका सुधारका प्रयासहरूबारे विस्तृत जानकारी गराएका हुन् । अध्यक्ष ढकालका अनुसार महासंघको नेतृत्व सम्हाल्दा मुलुकको अर्थतन्त्रमा उच्च ब्याजदरको दबाब थियो भने रुस–युक्रेन युद्धका कारण विश्वव्यापी रूपमा परेको प्रभावले नेपाली बजारलाई पनि असहज बनाएको थियो ।  ‘तत्कालीन संकट समाधान गरी वैदेशिक लगानी भित्र्याउने वातावरण बनाउनु मेरा लागि मुख्य चुनौती थियो,’ उनले भने, ‘त्यसका साथै दक्ष जनशक्ति उत्पादन र व्यावसायिक मनोबल बढाउनु पनि उत्तिकै आवश्यक थियो ।’ आफ्नो कार्यकालको प्रमुख सफलताका रूपमा उनले निजी क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्राधिकार विस्तार हुनबाट रोकेको विषयलाई उल्लेख गरे । शपथ ग्रहण गरेकै दिन निजी क्षेत्रमा अख्तियार प्रवेश गर्ने अवस्था आए पनि त्यसलाई कानुन सम्मत रूपमा रोक्न सफल भएको उनको दाबी छ ।  यस्तै, बागलुङको ढोरपाटनमा बसेको कार्यकारिणी समितिको बैठकले निजी क्षेत्रको हितमा ऐतिहासिक निर्णयहरू गरेको समेत उनले स्मरण गरे । नेपाल विद्युत् प्राधिकरणको महसुल भुक्तानीमा देखिएको विवाद समाधान गर्न महासंघले अभिभावकीय भूमिका निर्वाह गरेको बताउँदै ढकालले भने, हरेक आन्दोलनको निशानामा निजी क्षेत्र पर्ने गरेको छ । ८१ प्रतिशत योगदान पु‍र्याउने क्षेत्रमाथि हुने यस्ता आक्रमणबाट सुरक्षाका लागि महासंघले ठोस निर्णयहरू अघि बढाएको छ।’ अध्यक्ष ढकालले लगानी प्रवर्द्धनका लागि प्रधानमन्त्रीको उपस्थितिमा चीन, दुबई, भारत लगायतका देशका लगानीकर्ताहरूसँग छलफल गरी नेपालमा लगानी भित्र्याउन आग्रह गरिएको जानकारी दिए । ठूला आयोजनाहरूको निर्माणका लागि महासंघकै अग्रसरतामा १० अर्ब रुपैयाँ पुँजी भएको कम्पनी खडा गरिएको उनको भनाइ छ । अन्तमा आफ्नो प्रतिबद्धता बमोजिम नै महासंघको विधान संशोधन गर्न सफल भएको बताउँदै उनले उच्च स्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसमा धेरै कानुनहरू परिमार्जन भइरहेको र बाँकी सुधारका लागि वर्तमान सरकारसँग निरन्तर सहकार्य भइरहेको पनि उल्लेख गरे ।

वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौंका अध्यक्ष गोले पक्राउ

काठमाडौं । वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौंका सञ्चालक पक्राउ परेका छन् । मंगलबार ६६ वर्षीय इन्द्रलाल गोलेलाई स्वयम्भूबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका अनुसार उनले वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौं नामक संस्थाबाट वैदेशिक रोजगारीमा पीडित भएका व्यक्तिहरूबाट उजुरी निवेदन लिने र कानुन विपरीत रकम असुल गर्ने गरेका थिए । उनले संस्थाको अध्यक्ष रहेकाले पीडक तथा पीडितलाई अपशब्द प्रयोग गरेर अभद्र व्यवहार गर्ने गरेका थिए ।  अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट चार दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।