विकासन्युज

सिंहदरबारमा प्रधानमन्त्री शाहले गरे १७ देशका राजदूतसँग सामूहिक संवाद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग बुधबार (आज) सामूहिक रूपमा संवाद गरेका छन् । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री शाहले उनीहरूसँग संवाद गरेका हुन् । भारत, पाकिस्तान, कोरिया गणराज्य, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका र संयुक्त राष्ट्र सङ्घका राजदूत र नियोग प्रमुखहरूको उपस्थिति रहेको थियो । ​राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे। उनीहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यहरूमा समर्थन र सहयोगको प्रतिबद्धतासमेत व्यक्त गरे । ​प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिलाई दोहोर्‍याउँदै छिमेकी, मित्र राष्ट्र र विकास साझेदारहरूसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनुपर्ने आवश्यकतामा जोड दिए । ​उनले शान्ति साझा प्राथमिकता हुनुपर्ने भन्दै नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको बताए । प्रधानमन्त्री शाहले सुशासन, आर्थिक विकास र नेपाली जनताको जीवनस्तर सुधारमा सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे । ​सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्यसचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। 

चैत २७ मा उपसभामुखको निर्वाचन हुने, प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्यो

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि यही चैत २७ गते निर्वाचन हुने भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त मिति औपचारिक रूपमा घोषणा गरेका हुन् । सभामुख अर्याल स्वयं भने चैत २२ गते सम्पन्न निर्वाचनबाट निर्विरोध निर्वाचित भएका थिए । उनको एकल उम्मेदवारी परेपछि प्रतिस्पर्धा बिना नै सभामुखमा चयन भएका हुन् । प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख चयन भइसकेपछि उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने प्रावधान छ । सोही व्यवस्थाअनुसार अब उपसभामुख चयन प्रक्रिया तीव्र बनेको हो ।        

नयाँ वर्ष नजिकिएसँगै होटलहरूले सार्वजनिक गरे आकर्षक प्याकेज

काठमाडौं । नयाँ वर्ष २०८३ नजिकिँदै गर्दा नेपालका विभिन्न होटल तथा रिसोर्टहरूले आकर्षक ‘न्यु इयर प्याकेज’ सार्वजनिक गर्न थालेका छन् । विशेषगरी परिवार, जोडी तथा घुमफिर गर्न चाहनेहरूलाई लक्षित गर्दै बसाइँ, खाना, मनोरञ्जन र अतिरिक्त सुविधासहितका प्याकेज ल्याइएका हुन् । दुषित प्रिन्स होटल  काठमाडौंको लाजिम्पाटमा अवस्थित पाँचतारे होटल दुषित प्रिन्सले नयाँ वर्ष लक्षित ‘न्यु इयर इभ’ अफर सार्वजनिक गरेको छ । प्रतिव्यक्ति ३ हजार ४९९ मा होटलले बफेट डिनर, पेयपदार्थसहित विभिन्न सुविधाहरू समावेश गरेको छ । होटलका अनुसार न्यु इयर इभ बेलुका सात बजेपछि सुरु हुने छ । लाइफ म्युजिक,  किवु स्काई लाउन्ज, एसएओआइर्ए र स्टे प्याकेजहरू उपलब्ध छन् । साथै वेवभरेजमा २० प्रतिशत डिस्काउन्ट हुने जनाएको छ । होटेल ले हिमालय लाजिम्पाटमा रहेको होटल ले हिमालयले नयाँ वर्षलाई लक्षित गरेर नयाँ अफर सार्वजनिक गरेको छ । नयाँ वर्षलाई उल्लास र थप उत्साहित बनाउनका लागि होटलले न्यु ईयर इभको दिन ६ हजार रुपैयाँमा ब्रेकफास्ट, र वेलकम डिंक समावेश गरिएको छ । र्‍याडिसन होटल  लाजिम्पाटमै रहेको र्‍याडिसन होटलले पनि न्यु ईयर इभ प्याकेज सार्वजनिक गरेको छ । होटलले प्रतिव्यक्ति ३ हजार ९९९ रुपैयाँ र प्रतिजोडी ७ हजार ४९९ रुपैयाँमा ल्याभिस बफेड डिनरसहित विभिन्न सेवाहरु उपलब्ध हुने जनाएको छ । होटलका अनुसार उक्त प्याकेजभित्र लाइभ म्युजिक, स्नाक्स एण्ड डिर्जट काउन्टर, वान राउण्ड कक्टेल/मक्टेल समावेश गरिएको छ । त्यस्तै, वेभरेजमा २० प्रतिशत र ५ देखि १२ वर्षसम्मका बच्चाहरुको लागि ५० प्रतिशत छुट प्रदान गरेको छ ।  लेमन ट्री  बुढानीलकण्ठमा रहेको पाँचतारे होटल लेमन ट्री प्रिमियर होटलले ‘न्यु इयरर्स इभ गाला एण्ड स्टे’ प्याकेज ल्याएको छ ।  इभ गाला डिनर एण्ड स्टेको प्रति जोडी १८ हजार ९९९ र डिनर एण्ड स्टेको लागि मात्रै हो भने प्रति जोडी १५ हजार ४९९ तोकिएको छ । यी दुवै प्याकेजमा ब्रेकफास्ट पनि समावेश गरिएको छ ।  त्यस्तै, होटलले नयाँ वर्षको दिन न्यु ईयर ब्रञ्च प्याकेज ल्याएको छ । उक्त दिन होटलले प्रति व्यक्ति २ हजार ४९९ मा वेलकम ड्रिक, ल्याभिस बफेट ब्रञ्च र लाइभ काउन्टरर्समा पेयपदार्थमा १५ प्रतिशत छुट प्रदान गरेको छ । होटल मनाङ ठमेलमा रहेको चारतारे होटल होटल मनाङले न्यु इयर इभ कार्यक्रम सार्वजनिक गरेको छ । होटलले लाइभ म्युजिक, नेपाली कल्चरल सो आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा आउने पाहुनाले प्रतिव्यक्ति २ हजारस ९९० रुपैयाँ तिर्नुपर्ने हुन्छ । टिकट अनलाइनबाट समेत बुकिङ गर्न सकिने होटलले जनाएको छ । त्यस्तै, कार्यक्रम अवधिभरि अललिमिटेड स्नाक्स र बफेट डिनर हुने छ । त्यस्तै, डिनर पनि समावेश छ । माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट पोखरास्थित माउन्टेन ग्लोरी फरेस्ट रिसोर्टले नयाँको अवसर पारेर विभिन्न प्याकेजहरू ल्याएको छ । नयाँ वर्षको पूर्वसन्ध्याका लागि प्रतिव्यक्ति ४ हजार ५०० रुपैयाँको विशेष प्याकेज सार्वजनिक गरेको छ । यस प्याकेजमा एक रात बसाइँ, विशेष पूर्वसन्ध्या डिनर र बुफे ब्रेकफास्ट समावेश छन् । साथै अतिथिहरूले इनडोर खेलहरू, स्विमिंग पूल, स्टीम, सौना र ज्याकुजी जस्ता सुविधाहरूको पनि उपयोग गर्न सक्नेछन् ।  त्यसैगरी, नयाँ वर्षको दिन ‘फ्यामिली डे प्याकेज’ अन्तर्गत प्रतिव्यक्ति १ हजार ९९९ रुपैयाँको व्यवस्था गरिएको छ । यस प्याकेजमा लाइभ संगीत तथा डिजे, स्विमिङ पूल पहुँच, अनुहार चित्रकला, घोडा सवारी र बालबालिकाका लागि खेल क्षेत्र जस्ता आकर्षक गतिविधिहरू समावेश छन् । रिसोर्टले थप सुविधा स्वरूप नयाँ वर्षको ब्रन्च १ हजार ५०० रुपैयाँमा एड–अनको रूपमा उपलब्ध गराउने जनाएको छ । साथै समूहमा आउने पाहुनाका लागि पिकअप तथा ड्रप सेवा समेत उपलब्ध गराइनेछ । चन्द्रगिरी हिल्स  चन्द्रागिरी हिल्स रिसोर्टले नयाँ वर्षको पूर्वसन्ध्यालाई लक्षित गरेर अकोमोडेसन प्याकेजसहित विभिन्न अफर सार्वजनिक गरेको छ । रिर्सोटले नयाँ वर्ष पूर्वसन्ध्यामा आउने पाहुनाहरूलाई होटल रुममा विशेष छुट आफर ल्याएको हो । रिर्सोटले स्टान्डर्ड डबल रुमको २१ हजार ९९९, डिलक्स डबल रुमको २२ हजार ९९९ र एक्जुक्युटिभ डबल रुमको २३ हजार ९९९ रुपैयाँ सार्वजनिक गरेको छ । यसबाहेक अन्य सेवाहरुमा पाहुनालाई स्वागत स्वरुप वेलकम ड्रिंक, राउन्ड–ट्रिप केबल कार सवारी, लाइभ म्युजिक, बीबीक्यू स्न्याक्स र गाला डिनरको व्यवस्था गरिएको छ । त्यस्तै, भोलि बिहान बुफे ब्रेकफास्ट स्प्रेड, विशेष खालका जस्तै बिलियड्र्स, ब्याडमिन्टनजस्ता गेमहरू पाहुनाहरूको लागि सार्वजनिक गरेको छ । त्यस्तै, स्पा सेवाहरूमा २० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ। मनकामना हिलक्रेस्ट रिसोर्ट उपत्यका बाहिर अर्थात मनकामनामा अवस्थित मनकामना हिलक्रेस्ट रिसोर्टले ‘वान नाइट स्टे’ नयाँ प्याकेज सार्वजनिक गरेको छ । रिर्सोटले प्रति जोडी  १५ हजार ९९९ रुपैयाँ (करसहित) ल्याइएको उक्त अफरमा बसाइ, खानपान, मनोरञ्जनदेखि धार्मिक पर्यटनसम्म समेटिएको छ । रिर्सोटका अनुसार पहिलो दिन पर्यटकलाई स्वागतस्वरूप वेलकम ड्रिंक प्रदान गरिनेछ भने बसाइ अवधिभर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको छ । मनोरञ्जनात्मक प्याकेजअन्तर्गत बिङ्गो, राफेल ड्र, डिजे डान्स फ्लोरसहितको, लाइभ म्युजिक, विभिन्न खेलकुद गतिविधि तथा मगर कल्चरल कौरा सांस्कृतिक नृत्य जस्ता कार्यक्रम समावेश गरिएको छ । यो प्योकेजभित्र पाहुनाहरूका लागि एक ककटेल/मक्टेल निःशुल्क उपलब्ध गराइनेछ । साथै  बफेट डिनरको व्यवस्था गरिएको छ । भोलिपल्ट बिहान अर्थात नयाँ वर्षको दिन ११ बजेसम्म फुल इंग्लिस वा कन्टिनेन्टल बफेट ब्रेकफास्टको सुविधा समेत प्याकेजमा समावेश गरिएको होटलले जनाएको छ। प्याकेजको अर्को आकर्षणका रूपमा मनकामना केवलकारको दुईतर्फी टिकट प्रदान गरिएको छ । नयाँ वर्षको दिन खानपानमा १० प्रतिशत छुट दिएको रिर्सोटले जनाएको छ । त्यस्तै, अर्ली बर्ड अफर तथा जिम, स्विमिङ पुल, साउना र स्टीमको सुविधा पनि उपलब्ध गराएको छ । रिसोर्टका अनुसार यही प्याकेजअन्तर्गत परिवारसहित बस्न आउँदा १० वर्षभन्दा मुनिका बच्चाका लागि प्रति बच्चा ३ हजार रुपैयाँ अतिरिक्त शुल्क लाग्नेछ । त्यस्तै, १० वर्षभन्दा माथिका एडल्टका लागि प्रतिव्यक्ति ६ हजार रुपैयाँ शुल्क लाग्ने होटलले जनाएको छ । कान्तिपुर भिलेज होटल नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै कान्तिपुर भिलेज बुटिक होटलले आकर्षक अफर सार्वजनिक गरेको छ । होटलका अनुसार खुला आकाशमुनि छानामा तयार गरिएको सेटिङमा अतिथिहरूले उत्सवमय रातको अनुभव लिन सक्नेछन् । कार्यक्रम अन्तर्गत २ शट ह्विस्की वा २ गिलास बियर, लाइभ बारबेक्यू, संगीत तथा नयाँ वर्ष विशेष बुफे डिनरको व्यवस्था गरिएको छ । प्याकेजमा आगमनमा स्वागत पेय पदार्थ, ‘सारथी’ विशेष ककटेल वा मकटेलको एक गिलास, इन्फिनिटी स्विमिंग पूल तथा ज्याकुजी पहुँच, बिहानको नास्ता, सुरक्षित पार्किङ र न्यानो आतिथ्य समेत समावेश गरिएको छ । प्रिमियम भोजन, भावपूर्ण संगीत र स्मरणीय क्षणहरूको संयोजनसहितको यो अफर राजधानीमै नयाँ वर्ष मनाउन चाहनेका लागि आकर्षक विकल्प बन्ने होटलले जनाएको छ ।

७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो, ८ अर्बको कारोबार

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ अंकले बढेर २८०२ बिन्दुमा पुगेको हो । नेप्सेका अनुसार २५१ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ । २ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३४६ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार एसवाई प्यानलको भएको छ । एसवाई प्यानलको ४६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, रिलाइन्स स्पिीनिङको ४२ करोड, शिवम् सिमेन्टको ४२ करोड, शिवम् सिमेन्टको ३७ करोड र एनआरएनको ३० करोड रुपैयाँ बराबरको कारोबारको भएको छ । बुधबारको कारोबारमा ७ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । रिलाइन्स स्पिीनिङ, श्रीनगर एगरिटेक, सोलु हाइड्रो, होटल फोरेस्ट र सुपर खुदि हाइड्रोको सेयर मूल्य १० प्रतिशतले बढेका सकारात्मक सर्किट लागेको छ ।     

कुटनीतिक आचारसंहिताबारे मन्त्रीहरूलाई ब्रिफिङ

काठमाडौं । मन्त्रीहरूको कुटनीतिक अभिव्यक्तिलाई नियन्त्रणमा ल्याउन सरकार आकस्मिक रूपमा सक्रिय बनेको छ ।  परराष्ट्र मन्त्रालयले मन्त्रीहरूलाई कडा चेतावनीसहित कुटनीतिक आचारसंहिताबारे ब्रिफिङ दिएको छ । बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रस्तुतीकरणमा बालेन्द्र शाह नेतृत्वको सरकारका सबै मन्त्रीलाई अब मनलाग्दी बोल्न नपाइने सन्देश स्पष्ट रूपमा दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले पठाएको प्रेस नोटअनुसार, परराष्ट्र सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हित र कूटनीतिक मर्यादाबारे कडाइका साथ पालना गर्नुपर्ने सीमाहरू प्रस्तुत गरेका थिए । परराष्ट्र मन्त्रालयका सचिवले दिएको प्रशिक्षणमा विदेशी राष्ट्रसँग सम्बन्धमा व्यक्तिगत धारणा नचल्ने सल्लाह दिईएको थियो ।  प्रधानमन्त्री साहका प्रेष विज्ञ दाहालका अनुसार राष्ट्रिय हितविरुद्ध जाने अभिव्यक्तिमा कडा निगरानी राख्ने कूटनीतिक शिष्टाचार उल्लंघन नगर्ने र विदेशी पदाधिकारीसँगको भेटमा अनिवार्य प्रोटोकल पालना गर्ने विषयमा प्रशिक्षण दिइएको थियो । कुटनीतिक वृत्तमा यसलाई स्पष्ट वार्निङ सिग्नलका रूपमा लिइएको छ । अब मन्त्रीहरूका हरेक अन्तर्राष्ट्रिय टिप्पणी र भेटवार्ता सरकारकै आधिकारिक लाइनभित्र सीमित हुने संकेत गरिएको छ ।

पश्चिम नेपालबाट वर्षा सुरु

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लागेको छ भने बाँकी भूभागमा साधारणतया बादल लागेको छ । अहिले बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ । विभागका मौसमविद् रोजन लामिछानेले वर्षा दिउँसो बढ्ने र कुनैकुनै ठाउँमा भारीसम्म वर्षा र हिमपात हुने जानकारी दिनुभयो । अहिले बिहान १०ः०० बजे विभागमा प्राप्त वर्षा मापनअनुसार पछिल्लो तीन घण्टामा चितवनदेखि पश्चिम ६० भन्दा बढी केन्द्रहरूमा वर्षा भएको छ । विभागका अनुसार अछाममा ८.६, सुर्खेतमा ७.६, डडेलधुरामा ५.२, रोल्पामा ८.२, प्युठानमा ५.२, चितवनमा ४.२ मिलीमिटर वर्षा भइसकेको छ । यस्तै कालीकोट, डोटी, रुकुम, रोल्पा, म्याग्दी बाग्लुङ, दाङ, अर्घाखाँचीलगायतका जिल्लामा पनि हल्का वर्षा भएको छ । वर्षा पूर्वतर्फ सर्ने क्रममा रहेको जनाइएको छ । विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्णतया बादल लाग्ने तथा बाँकी भूभागमा साधारणतया बादल लागेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङ, हुरीबतास र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । यस्तै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागको एकदुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ । रासस     

गाडी भाडा बढ्यो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि भएपछि सरकारले नयाँ भाडादर निर्धारण गरेको हो । यातायात व्यवस्था विभागले मन्त्रालयको सहमतिसँगै नयाँ भाडादर कायम गरेको जनाएको छ । वैज्ञानिक प्रणाली अनुसार भाडा बढाइएको जनाइएको छ । यात्रुवाहक सवारीसाधनको भाडामा १६.७१ प्रतिशतले वृद्धि गरिएको छ ।  त्यसैगरी, मालवाहक सवारी साधनतर्फ पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा २१.६८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने सवारीको भाडा १५.७५ प्रतिशतले वृद्धि गरिएको हो ।

राष्ट्रियसभा बैठक : भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग

काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसद गीता देवकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनताको दैनिकी प्रभावित भएकाले कृषिमा लगानी बढाई आत्मर्भिरताका लागि दीर्घकालीन योजना बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद धर्मेन्द्र पासवानले सप्तरीमा गत फागुन ३० गते एक महिलामाथि भएको बलात्कार र हिंसा प्रकरण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै न्यायका लागि तत्काल पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद मीनासिंह रखालले कर्णाली क्षेत्रमा प्राकृतिक स्रोतको प्रचुर सम्भावना हुँदा पनि समृद्धिमा पछाडि परेकाले आवश्यक लगानीका लागि आगामी बजेटमा व्यवस्था गर्न सरकारसँग माग गरे । सांसद रेखाकुमारी झाले कृषि खेतीबालीका लागि समयमै मल, बीउ र अन्य आवश्यक सामग्रीको व्यवस्था गर्न र कृषिमा हानि पुर्याउने वन्यजन्तुको व्यवस्थापन गर्न सरकारसँग माग गरे । सांसद ललितजङ्ग शाहीले भ्रष्टाचार नियन्त्रणका लागि आवश्यक कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न र मुलुकमा सुशासनका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सोमनाथ पोर्तेलले दलित समुदाय आर्थिक, सामाजिकलगायत क्षेत्रमा पछि परेको उल्लेख गर्दै संविधानको प्रभावकारी कार्यान्वयन गरी विशेष कार्यक्रम घोषणा गर्न माग गरे ।