विकासन्युज

प्रहरीमा दर्ता जाहेरी र निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौं । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो समस्यामा पर्नुभएको छ भने अब त्यस्ता समस्या बेहोरिरहनु पर्ने छैन । अब त्यो जानकारी तपाईंको मोबाइलमै आइपुग्ने छ । नेपाल प्रहरीले अब मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा तथा जाहेरीको प्रगतिबारे ‘फोन वा एसएमएस’बाटै जानकारी दिने भएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले अब नागरिकका सेवा प्रभावकारी बनाउन फोन वा एसएमएसबाटै जानकारी दिने व्यवस्था सुरु गरिएको बताए ।  प्रहरी प्रधान कार्यालयले एक सूचनामार्फत भनेको छ, ‘मुद्दा दर्ता हुने प्रहरी एकाइहरूसम्म सेवाग्राहीबाट प्राप्त हुन आएका उजुरी, निवेदन, गुनासो, जाहेरी दरखास्त आदि दर्ता भएपश्चात् त्यसको प्रगति के भयो र के-कसरी कार्यान्वयन भइरहेको छ भनेर सम्बन्धित सेवाग्राहीहरूले दिनुभएको सम्पर्क नम्बरमा फोन गरेर वा एसएमएसमार्फत सूचना दिने व्यवस्था लागू गरिएको ब्यहोरा जानकारी गराउँदछौँ ।’ यसरी जानकारी दिँदा सेवाग्राहीहरू प्रहरी कार्यालयमा आउनु नपर्ने भएकाले समयको बचत हुने प्रहरीको निष्कर्ष छ ।

३७.८१ लाख दर्शकले हेरे चलचित्र, १ अर्ब ८ करोडको व्यापार

काठमाडौं । वि.सं २०८२ नेपाली चलचित्रका लागि समग्रमा सुखद रहेको यस क्षेत्रका जानकारहरूले बताएका छन् । यस वर्ष विषयवस्तु प्रधानसँगै ‘स्टार’ भनिने कलाकारका चलचित्रले दर्शक पाएका छन् अर्थात् यस वर्ष सबै किसिमका चलचित्र हेर्न दर्शक चलचित्र भवनमा पुगे । चलचित्र विकास बोर्डले यस वर्ष २३० वटा नयाँ चलचित्र दर्ता र ९४ चलचित्रले चलचित्र जाँचका लागि सिफारिस प्राप्त गरेको जनाएको छ । यस वर्ष हालसम्म ५६ स्वदेशी र ९३ विदेशी चलचित्र प्रदर्शन भइसकेका छन् । यही चैत २७ मा प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ सँगै यो वर्ष प्रदर्शन हुने स्वदेशी चलचित्रको सङ्ख्या ५७ पुग्नेछ । बोर्डका अनुसार हाल  नेपालमा १७२ चलचित्र भवन रहेका छन् भने चलचित्र उपलब्ध गराउने वितरक संस्थाको सङ्ख्या ४४ पुगेको छ । यस वर्षको हालसम्म नेपाली चलचित्र हेर्न ३७ लाख ८१ हजार ५४४ दर्शक चलचित्र भवन आउँदा १ अर्ब ८ करोड ३८ लाख ५७ हजार ९१० रुपैयाँको व्यापार भएको छ । बोर्डअन्तर्गतको सेन्ट्रल म्यानेजमेन्ट टिकट सिस्टम (सिनेपा २ बक्सअफिस)मा रहेको तथ्याङ्कअनुसार गत कात्तिक १४ मा प्रदर्शन भएको चलचित्र ‘परान’ ले १७ करोड ७६ लाख ८४ हजार ४१० रुपैयाँ कमाई गर्दै घरेलुबजारमा सर्वाधिक कमाई गर्ने स्वदेशी चलचित्र बनेको छ । यस वर्ष सर्वाधिक कमाई गर्ने चलचित्र ‘परान’ का लागि कुल ६ लाख ३० हजार ६९१ टिकट बिक्री भएका छन् । दीपकप्रसाद आचार्यले निर्देशन गरेको उक्त चलचित्रले विशेषतः परिवारलाई नै दर्शक बनाएर चलचित्र भवनसम्म ल्याउन सफल भएको थियो । चलचित्रमा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रवीन खतिवडालगायतका कलाकारले अभिनय गरेका छन् ।  यस्तै, यस वर्ष सर्वाधिक कमाई गर्ने सूचीको दोस्रो स्थानमा चलचित्र ‘आ बाट आमा’ रहेको छ । उक्त चलचित्रका लागि ५ लाख ४ हजार ३२९ टिकट बिक्री हुँदा १३ करोड १३ लाख ७८ हजार ५२० रुपैयाँ कमाई भएको छ । आमा र छोरा बीचको कथा देखाइएको चलचित्र हालसम्म पनि नेपालका केही चलचित्र भवनमा प्रदर्शनरत छ । सर्वाधिक कमाई गर्ने चलचित्रको सूचीको तेस्रो स्थानमा चलचित्र ‘जेरी अन टप’ रहेको छ । उक्त चलचित्रले १२ करोड २८ लाख ८४ हजार रुपैयाँ कमाई गर्न सफल भएको छ । उक्त चलचित्रका लागि ३ लाख ९६ हजार ५९७ टिकट बिक्री भएका छन् । प्रेम कथानक चलचित्र ‘ऊनको स्वीटर’ यस वर्ष विसं २०८२ मा सर्वाधिक कमाई गर्ने चलचित्र सूचीको चौथो स्थानमा रहेको छ । उक्त चलचित्रले घरेलुबजारमा ११ करोड ४१ लाख ९२ हजार १९५ रुपैयाँ कमाई गरेको छ । नवीन चौहानले निर्देशन गरेको उक्त चलचित्रका लागि ३ लाख ९२ हजार २४३ वटा टिकट बिक्री भएका छन् । यस्तै, पाँचौँ स्थानमा रहेको चलचित्र ‘जारी २’ ले ६ करोड २४ लाख १७ हजार ४५३ रुपैयाँ कमाई गरेको छ । कवि उपेन्द्र सुब्बाले निर्देशन गरेको उक्त चलचित्रका लागि २ लाख ९ हजार ३३३ टिकट बिक्री भएका छन् । यस्तै, सर्वाधिक कमाई गर्ने चलचित्रको छैटौँ स्थानमा रहेको चलचित्र ‘बलिदान’ ले ५ करोड १० लाख ५१ हजार १७२ रुपैयाँ, सातौँ स्थानमा रहेको चलचित्र ‘मोहर’ ले ५ करोड ८ लाख ९५ हजार ५१२ रुपैयाँ, आठौँ स्थानमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७१ लाख ३८ हजार ६८७ रुपैयाँ, नवौँ स्थानमा रहेको चलचित्र ‘माग्ने राजा’ ले ४ करोड ६९ लाख ४३ हजार ६५१ रुपैयाँ र दसौँ स्थानमा रहेको चलचित्र ‘माइतीघर’ ले ४ करोड १६ लाख ३१ हजार ८६३ रुपैयाँ कमाई गरेको छ । यस वर्ष चलचित्रमा विषयवस्तु वा कथा आकर्षणसँगै ‘स्टारडम’ भएका कलाकारको चलचित्रलाई दर्शकको साथ प्राप्त हुनु सुखद रहेको चलचित्रकर्मीको भनाइ छ ।  समग्रमा चलचित्रका लागि यो वर्ष सुखद नै रहेको निर्देशक तुलसी घिमिरेको बुझाइ छ । झन्डै ७ वर्षको विश्रामपश्चात् चलचित्र ‘पहाड’ मार्फत पुनः निर्देशनमा सक्रिय भएका उनले दर्शकको अपेक्षाअनुसारको चलचित्र निर्माण गर्न सके घरेलुबजार राम्रो रहेको विश्लेषण गरे ।  ‘यहाँ ५० करोड रुपैयाँ व्यापार गर्ने चलचित्र पनि छन् भने ५० हजार रुपैयाँ व्यापार गर्ने पनि । यसकारण दर्शकसम्म चलचित्रको जानकारी पुग्ने हो भने घरेलुबजार नै पर्याप्त छ, तर त्यो सीमित चलचित्रको हकमा देखिएको छ । ती चलचित्रको समानता हेर्ने हो भने सबै सामाजिक विषयमा आधारित चलचित्र रहेका छन्,‘ निर्देशक घिमिरेले भने, ‘नेपाली समाज र माटो सुहाउँदो चलचित्र बनाउन सके हामीले राम्रो बजार पाउँछौँ ।’

नेपालमा ३३ लाख भैँसी, लुम्बिनीमा मात्रै ६० अर्बको दूध उत्पादन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध तथा मासु उपादकत्व वृद्धि गर्ने योजना अघि बढाएको छ । आयोजनालाई अघि बढाउन लुम्बिनी प्रदेश सरकारले भैँसी वंश सुधारका क्षेत्रमा कार्यरत विज्ञहरूसँग छलफलसमेत गरिसकेको छ । नेपालमा भैँसीको विकास र अनुसन्धानका क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आएका कृषि, वन विज्ञान अध्ययन संस्थान चितवनका प्रा.डा. भूमिनन्दन देवकोटाले सन् २०२४ को तथ्याङ्कअनुसार करिब ३३ लाख भैँसीहरू रहेका र कुल दूध उत्पादनमा ५७ प्रतिशत र मासु उत्पादनमा ३६ प्रतिशत योगदान रहेको बताए ।  यस तथ्याङ्कअनुसार अन्य मुलुकको तुलनामा नेपालको औसत उत्पादन निकै न्यून रहेको बताउँदै उनले नेपालमा पालिने भैँसीका प्रमुख नस्लहरू स्थानीय लिमे, पार्कोटे, गड्डी विदेशी/त्रास गुरा जातका रहेको बताए ।  ‘पशुमा वंश सुधारको मुख्य उद्देश्य अघिल्लो पुस्ताको तुलनामा श्रेष्ठ गुण भएका जिनहरूको सङ्ख्या बढाउनु हो । यसका लागि व्यवस्थापनसँगै आनुवंशिक क्षमतालाई अधिकतम बनाउनुपर्छ । यसमा उत्पादन रेकर्डका आधारमा उत्कृष्ट भैँसी छान्ने, पुर्खाको रेकर्ड हेरेर राँगा छान्ने, ती पशुका सन्तति वा छोरीहरुको रेकर्डका आधारमा साँढेको मूल्याङ्कन गर्ने, स्थानीय नस्ललाई मुर्रासँग ‘क्रस’ गराई उत्पादकत्व बढाउने जस्ता विधि अपनाउन आवश्यक छ,’ प्रा डा. देवकोटाले भने ।  हिमालयन कलेजका कृषि, विज्ञान तथा प्राविधिक विषयका प्रा.डा. श्रीरामप्रसाद न्यौपानेले नस्ल सुधार कृत्रिम गर्भाधानबाट स्थानीय गाई भैँसीबाट बढी दूध दिने उन्नत जातका पशुहरू उत्पादन गर्न मद्दत पुगेको उल्लेख गरे । नेपालमा हाल भैँसी पालनको सङ्ख्या ३३ लाख ९४ हजार ७२४ रहेको तथ्याङ्क छ । यसमध्ये लुम्बिनी प्रदेशमा रहेका तराईका ६ जिल्लामा मात्र करिब ६९ प्रतिशत अर्थात् ४ लाख ७३ हजार ६७४ भैँसी रहेका छन् । प्रा.डा. न्यौपानेले नेपालमा दुहुना भैँसीको सङ्ख्या ९ लाख ६५ हजार ९२० रहेका र तीमध्ये लुम्बिनी प्रदेशका ६ जिल्लामा मात्र २ लाख १६ हजार ७९२ अर्थात् ४३ प्रतिशत रहेको उल्लेख गरे । ‘नेपालमा प्रतिदिन २७ लाख १८ हजार १७७ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । त्यसमध्ये लुम्बिनी प्रदेशमा ५ लाख १५ हजार ७८८ उत्पादन हुन्छ,’ उनले भने, ‘प्रदेशअन्तर्गत तराईका ६ जिल्लामा मात्र प्रतिदिन ६६ प्रतिशत अर्थात् ३ लाख ४२ हजार ५०३ मेट्रिक टन दूध उत्पादन हुने गरेको छ । यसमध्ये यी जिल्लामा भैँसीको मात्र दूध उत्पादन ६४ प्रतिशत अर्थात् २ लाख १९ हजार ५५४ मेट्रिक टन रहेको छ ।’ नेपालभर रहेका कुल भैँसीहरूमध्ये करिब २३ प्रतिशत लुम्बिनी प्रदेशमा मात्र छन् । यसले नेपालको डेरी र मासु व्यवसायमा लुम्बिनी प्रदेशको ठूलो योगदान रहेको पुष्टि गर्छ । लुम्बिनी प्रदेश, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका वरिष्ठ पशु चिकित्सक लोकराज भुसालले प्रदेश सरकारले २ वर्षदेखि परीक्षणका रूपमा तराईका सुस्तादेखि बर्दियाको राजापुरसम्म, हुलाकीमार्ग लक्षित भैँसीको वंश सुधार तथा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएको बताए ।  उनका अनुसार उक्त  ‘पाइलट प्रोग्राम’ अन्तर्गत एउटा जिल्लामा १५ लाख रुपैयाँ बजेट विनियोजन गरी  कार्यक्रम सञ्चालन गरिएका छन् । यस्तै, पहाडका ६ जिल्लामा पनि अन्तर्राष्ट्रिय पोषणमा सुधार केन्द्र नामक अन्तर्राष्ट्रिय संस्थाको प्राविधिक परामर्श सहयोगमा कार्यक्रम सञ्चालन भइरहेका छन् । ‘लुम्बिनीमा भैँसी प्रवर्द्धन, विकास, वंश सुधार र नस्ल सुधार गर्न सक्यौँ भने आगामी १० वर्षमा लुम्बिनीमा मात्रै ५५ देखि ६० अर्ब रुपैयाँको वार्षिक दूध उत्पादन गर्न सकिने सम्भावना छ,’ भुसालले भने, ‘प्रदेश सरकारले पनि यसलाई गौरवको योजनाका रूपमा प्राथमिकतामा राखेर नीतिगत रूपमै स्वीकार भएको छ, यसलाई अब कार्यान्वयन गर्न वार्षिक बजेट र कार्ययोजनामा लक्षित भयो भने दुग्ध उत्पादन बढाउन सकिन्छ ।’ यसका लागि भैँसीको नस्ल, वंश, आहारा सुधारका साथै व्यवस्थापन, भैँसीको स्वास्थ्य र प्रजननमा सुधार गरेर उत्पादन बढाउने काममा लाग्नुपर्ने धेरैको जोड छ ।  प्रदेशका कृषि तथा सहकारीमन्त्री दिनेश पन्थीले लुम्बिनीमा रहेका २ लाख २० हजार दुरालो भैँसीको उचित व्यवस्थापन गरेर उत्पादन वृद्धि गर्न सकिए प्रदेशमा आयआर्जनको ठूलो आधार हुने बताए । अब विषय विज्ञहरूले अनुसन्धान गरेर दिएका सुझावलाई आधार बनाएर प्रदेश सरकारले काम गर्ने उनको भनाइ थियो । पशुपन्छी तथा मत्स्‍य विकास निर्देशनालयको आयोजनामा यससम्बन्धी विज्ञहरूसँग बुधबार प्राविधिक कार्यशाला आयोजना गरेको हो । 

देशका विभिन्न भागमा वर्षा र हिमपात हुने, यी प्रदेशमा वर्षा हुँदै

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कोशी प्रदेशका पहाडी भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भागमा साधारणतया बदली रहने तथा बाँकी भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेशसहित देशका पहाडी तथा हिमाली भागका केही स्थानका साथै मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका हिमाली भागमा साधारणतया बदली रहने, बाँकी पहाडी भागमा आंशिक बदली रहने तथा तराई भेगमा मुख्यतया मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा अन्य हिमाली भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ । वर्षा तथा हिमपातको सम्भावना रहेका स्थानका सर्वसाधारण तथा ती भेगमा यातायातका साधन सञ्चालनकर्ता लगायत सम्बद्ध सबैलाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

विद्युत प्राधिकरणद्वारा थप ८ सहिद परिवारलाई रोजगारी दिने निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको १०२९औं बैठकले 'जेनजी' आन्दोलनका थप ८ सहिद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । प्राधिकरणले गत २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका तर यसअघि रोजगारीका लागि नाम छुट भएका परिवारका सदस्यलाई नियुक्ति दिने प्रक्रिया अघि बढाएको छ । नेपाल राजपत्र (२०८२ कात्तिक १७ गते) मा भएको व्यवस्था र राहत उपलब्ध गराउने सम्बन्धी कार्यविधिको बुँदा नम्बर ११ अनुसार यो निर्णय लिइएको हो । रोजगारी पाउने सहिद परिवारका सदस्यहरूमा रोजित श्रेष्ठ (वनस्थली), अम्बिका विश्वकर्मा (उदयपुर),सुमित्रा महत (सिन्धुपाल्चोक), शितल पौडेल, मौसम कुलुङ (संखुवासभा), पार्वती अधिकारी (सर्लाही), हेमन्ती विष्ट (बझाङ) तथा मञ्जु पौडेल (लमजुङ) छन् । यसअघि प्राधिकरणले २७ जना सहिद परिवारलाई रोजगारी दिने प्रक्रिया सुरु गरिसकेको छ । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको कार्य सम्पादन मूल्यांकनका बारेमा समेत जानकारी लिएको छ ।  प्राधिकरणको प्रशासनिक र प्राविधिक सुधारका लागि कार्यकारी निर्देशकको कार्य सम्पादनलाई सञ्चालक समितिले नियमित रूपमा अनुगमन गर्दै आएको छ । बैठकमा ऊर्जा मन्त्रालयका पदाधिकारीहरू र सञ्चालक समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

मेडिकलमा ६० प्रतिशत छुट गरी अनलाइन ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । औषधि बिक्री गरेको नक्कली अनलाइन पेमेन्टको बील देखाइ ठगी गर्ने दुई जना पक्राउ परेका छन् । बुधबार भ्याली मेडीकको ग्लोबल आईएमई बैंकको खातामा अनलाईनबाट रकम पठाएको नक्कली अनलाइन पेमेन्टको बिल देखाई ठगी गर्ने ३६ वर्षीय रविन दाहाल र रोहित पाण्डे भन्ने २५ वर्षीय अचुतम काफ्ले पक्राउ परेका हुन् । उनीहरूले मेडिकलबाट औषधि खरिद गरेर बिक्री गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता मनोहर भट्टले जानकारी दिए ।  नक्कली अनलाइन पेमेन्टको बील बनाएर ग्राहकलाई उनीहरूले ठगी गर्ने गरेको उनको भनाइ छ । ‘एउटा मेडिकलबाट औषधि खरिद गरेर अर्को मेडिकलमा ६० प्रतिशत छुटमा बिक्री गर्ने गरेका थिए,’ उनले भने । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार इन्क्लेलभ ६२५ लेखिएको औषधी ट्याबलेट ७ हजार थान र कालो रंगको सामसुङ्ग मोबाइल १ थान रहेको थियो ।

नेशनल लघुवित्तको अध्यक्षमा रबिन सिजापती नियुक्त, राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट लिए सपथ

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रबिन सिजापती नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष सिजापतीले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ अर्थविद् केशवप्रसाद आचार्यको गत चैत ९ गते असामयिक निधन भएपछि रिक्त रहेको पदमा सिजापतीलाई चयन गरिएको हो । चैत २४ गते बसेको सञ्चालक समितिको २०१ औं बैठकले सिजापतीलाई अध्यक्षमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो ।  सपथ ग्रहण समारोहमा संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको वर्तमान अवस्थाबारे जानकारी गराएका थिए । उनका अनुसार स्थापनाको १२ औं वर्षमा आइपुग्दा नेशनल लघुवित्तले ७४ जिल्लाका १८५ वटा शाखा कार्यालयमार्फत करिब २ लाख ६० हजार विपन्न सदस्यहरूलाई सेवा प्रदान गरिरहेको छ । हाल संस्थाको कुल लगानीमा २७ अर्ब रुपैयाँभन्दा बढी  कर्जा, ६ अर्ब रुपैयाँभन्दा बढी बचत संकलन तथा करिब ९०० जना कर्मचारीको संख्या छ ।  सपथ ग्रहणपछि बोल्दै नवनियुक्त अध्यक्ष सिजापतीले नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएका नीति तथा निर्देशनहरूको कार्यान्वयनलाई आगामी दिनमा थप प्रभावकारी र कडाइका साथ लैजाने प्रतिबद्धता व्यक्त गरे । समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले संस्थाका विभिन्न सूचकहरू उत्सा हजनक रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए। उनले संस्थालाई अझै सुदृढ र विश्वसनीय बनाउँदै लैजान आग्रह समेत गरे ।

स्वीस बैंकमा नेपालीको पैसाबारे अनुसन्धानमा सघाउन राजदूतलाई गृहमन्त्रीको आग्रह

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग नेपालका लागि स्वीस राजदूत डेनिएल मैवलीले आज शिष्टाचार भेट गरेका छन् । गृह मन्त्रालयमा भएको सो भेटमा राजदूत मैवलीले गृहमन्त्रीलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिए । नेपाली उच्चपदस्थ व्यक्तिहरूले भ्रष्टाचारलगायत कसुरबाट अवैध रूपमा आर्जन गरेको रकम स्वीस बैंकमा जम्मा गरेनगरेको विषयमा अनुसन्धानका लागि दुई देशबीच सहकार्य गर्न तथा रकम जम्मा गरेको देखिएमा नेपाल सरकारको अनुरोधमा उक्त रकम फिर्ता ल्याउने व्यवस्था गर्न आवश्यक पहल गरिदिन गृहमन्त्री गुरुङले राजदूतसमक्ष आग्रह गरेको उनको सचिवालयले जनाएको छ । विपद् व्यवस्थापनका क्षेत्रमा गृहमन्त्री गुरुङको एक दशकभन्दा लामो अनुभव र उल्लेखनीय योगदान रहेकोप्रति सम्मान प्रकट गर्दै राजदूतले नेपालमा जलवायु परिवर्तन एवं विपद् जोखिम न्यूनीकरणका लागि पूर्वचेतावनी प्रणालीलाई थप सुदृढ बनाउन स्वीस सरकारले आवश्यक सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।