विकासन्युज

माथिल्लो त्रिशूली-३ 'ए' र लाङटाङको टनेलमा उद्धार टोली परिचालित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् ।  ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी पुनःस्थापना तथा उद्धारका काम तीव्र पारिएको छ । हाल नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ । सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यकता देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ । बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसैक्रममा रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ । त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धारका लागि पनि आवश्यक तयारी र समन्वय भइरहेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ ।  पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोका कारण पुरिएपछि नेपाली सेना तथा दक्ष प्राविधिकको समन्वयमा उत्खनन् उपकरण प्रयोग गरी बाटो खुलाउने काम तीव्र पारिएको छ । नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ । टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उहाँहरूको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालित रहेको बताइएको छ । यसैबीच, बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयमा सम्बन्धित आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरुसँग बैठक गरी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ । प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ ।  उद्धार तथा खोजी कार्यलाई रातिको समयमा समेत प्रभावकारी बनाउन सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्रीसमेत उपलब्ध गराइएको छ । मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ ।  आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने बताइएको छ । विपद्को कठिन परिस्थितिमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र निरन्तर सञ्चालनमा राख्दै प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा मजदुरको जीवनरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धार तथा पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

पृथ्वी राजमार्ग सञ्चालनमा

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडक खण्डमा थुप्रिएको लेदो पन्छाएर शुक्रबार साँझदेखि सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ ।  पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा जम्मा भएको लेदो पन्छाएपछि पहिलो चरणमा अत्यावश्यक सवारीसाधनहरूलाई प्राथमिकताका साथ गन्तव्यतर्फ प्रस्थान गराइएको छ । राजमार्ग अवरुद्ध हुँदा बीच बाटोमै अलपत्र परेका गाडीहरूलाई सडक खुलेसँगै सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको छ ।  निरन्तरको प्रयासपछि लेदो हटाएर सडक सञ्चालनमा आएपछि रोकिएका यात्रु तथा सवारीसाधनहरूले राहत पाएका छन् । 

रसुवा र नुवाकोटका ११ जलविद्युत् आयोजनाका ९३४ जना सम्पर्कविहीन

काठमाडौं । भोटेकोसी नदीमा आएको भिषण बाढीले ठूलो क्षति पुर्‍याउँदा रसुवा र नुवाकोटका ११ वटा जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना कर्मचारी तथा श्रमिकहरू सम्पर्कविहीन भएका छन् ।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले शुक्रबार एक जानकारी सार्वजनिक गर्दै दुवै जिल्लाका गरी कुल १३ वटा जलविद्युत् आयोजना बाढीबाट क्षतिग्रस्त भएको र त्यसमध्ये ११ वटा आयोजनाका जनशक्ति सम्पर्कविहीन बनेको पुष्टि गरेको छ । इप्पानका अनुसार बाढीका कारण सबैभन्दा बढी जनशक्ति रसुवास्थित माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा प्रभावित भएका छन्, जहाँ ५७६ जना सम्पर्कबाहिर छन् ।  यसैगरी रसुवागढी जलविद्युत् आयोजनाका ९३ जना, लाङटाङ खोलाका ४२ जना, चिलिमेका आठ जना, मेलुङ खोलाका सात जना र रसुवा-भोटेकोसी आयोजनाका चार जना पनि हालसम्म सम्पर्कमा आउन सकेका छैनन् ।  यता नुवाकोट जिल्लामा निर्माणाधीन र सञ्चालनमा रहेका ६ वटा आयोजनामध्ये पाँच वटाका २०४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।  जसमा माथिल्लो त्रिशूली-३ ‘बी’ का १५८ जना, माथिल्लो त्रिशूली-३ ‘ए’ का ४२ जना, मिडल त्रिशूली गंगाका दुई जना तथा त्रिशूली र देवीघाट जलविद्युत् आयोजनाका एक/एक जना रहेका छन् ।  बाढी प्रभावित क्षेत्रमा तीव्र रूपमा उद्धार कार्य अघि बढाइएको र हालसम्म माथिल्लो त्रिशूली-१ का २५४ जनाको सकुशल उद्धार भइसकेको इप्पानले जनाएको छ ।  अन्य आयोजनाहरूमा पनि उद्धार टोली परिचालन गरी बाँकी व्यक्तिहरूको खोजी तथा उद्धारको पहल भइरहेको छ ।

एकैदिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३८ करोड ५६ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एकैदिन झण्डै ३८ करोड ५६ लाख रुपैयाँ सहयोग जुटेको छ । विभिन्न २७ संस्था तथा व्यक्तिले कुल ३८ करोड ५६ लाख ६४ हजार २२२ रुपैयाँ कोषमा योगदान गरेका हुन् । राहत सहयोगमा निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, उद्योगी व्यवसायी तथा विभिन्न संघसंस्थाको उल्लेख्य सहभागिता देखिएको छ । कोषमा सूर्य नेपाल प्रालिले मात्रै १५ करोड रुपैयाँ सहयोग गरेको छ । त्यस्तै, प्राइम बैंकले ३ करोड १० लाख, कृषि विकास बैंकले ३ करोड, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ५१ लाख रुपैयाँ योगदान गरेका छन् । यस्तै, हिमालयन बुलियन कम्पनीले १ करोड १ लाख, एग्रो थाईफुड्सले १ करोड, एसियन लाइफ इन्स्योरेन्सले १ करोड १ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ करोड रुपैयाँ सहयोग गरेका छन् । व्यक्तिगततर्फ उद्योगी विजयकुमार शाहले १ करोड तथा राजी राणाले १ करोड ९ लाख ८० हजार रुपैयाँ राहत कोषमा योगदान गरेका छन् । पद्मज्योति समूहअन्तर्गतको स्याकार ट्रेडिङले पनि १ करोड रुपैयाँ सहयोग गरेको छ । त्यसैगरी, डब्लूडब्लूएफ नेपालले १ करोड, मोरङ अटो वक्र्सले १ करोड ११ लाख, जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, अल्फा अटोमोटिभ र सोलु हाइड्रोपावरले १–१ करोड रुपैयाँ योगदान गरेका छन् । यस्तै, नेपाल सिमेन्ट उत्पादक संघले ५१ लाख, मुक्तिनाथ विकास बैंकले ५० लाख, लुम्बिनी विकास बैंकले २५ लाख, नेपाल चिया विकास कर्पोरेसनले ११ लाख र एबाकस इन्साइट्सले १५ लाख रुपैयाँ सहयोग गरेका छन् । अन्य संस्था तथा व्यक्तिबाट समेत थप सहयोग प्राप्त भएको अर्थ मन्त्रालयले जनाएको छ ।

सञ्चालनमा आयो पृथ्वी राजमार्ग

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत गल्छी-मलेखु सडकखण्डमा थुप्रिएको लेदो पन्छाएसँगै राजमार्ग सञ्चालनमा आएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार सडकमा थुप्रिएको लेदो हटाएर पहिलो चरणमा अत्यावश्यक सवारीसाधनको आवागमन सुचारु गरिएको हो । राजमार्गमा अलपत्र परेका सवारीसाधनलाई समेत सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको मन्त्रालयले जनाएको छ । ‍लेदो पन्छाउने र सडक खुलाउने कार्यलाई तीव्रता दिएसँगै पृथ्वी राजमार्गमा आवागमन पुनः सुरु भएको हो । मन्त्रालयले सडकखण्डमा थप सहज रूपमा यातायात सञ्चालनका लागि आवश्यक काम भइरहेको जनाएको छ । राजमार्गका विभिन्न खण्डमा लेदाे पन्छाउन निर्माण व्यवसायीका २५ भन्दा बढी हेभी इक्विपमेन्ट तथा यान्त्रिक उपकरण परिचालन गरिएको थियो । बाढीले राजमार्गको करिब १५ किलोमिटर सडक खण्डमा क्षति पु‍र्याएको छ ।  सडक स्तरोन्नतिको काममा प्रयोग भइरहेका निर्माण व्यवसायीका पिच प्लान्टलगायत उपकरणसमेत बाढीले बगाएको छ ।

बाढीपीडितका लागि प्राइम कमर्सियल बैंकको ३ करोड ८ लाख सहयोग

काठमाडौं । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्राइम कमर्सियल बैंकले ३ करोड ८ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड १ लाख रुपैयाँ नगद र ७ लाख रुपैयाँ बराबरका खाद्यान्न सामग्री सहयोग गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले उक्त सहयोग रकम अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन् । भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा मानवीय दुर्घटनाप्रति दुःख व्यक्त गर्दै बैंकले प्रभावित नागरिकको उद्धार, राहत वितरण र पुनःस्थापनामा सहयोग पु‍र्याउने उद्देश्यले उक्त योगदान गरेको जनाएको छ । बैंकले यसअघि पनि विभिन्न विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग प्रदान गर्दै आएको जनाएको छ । आगामी दिनमा पनि प्राकृतिक विपद्बाट प्रभावित नागरिक तथा समुदायको राहत र पुनःस्थापनाका लागि नेपाल सरकार तथा सम्बन्धित निकायसँग सहकार्य गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने बैंकले प्रतिबद्धता जनाएको छ ।

बाढीपीडितको साथमा विकास बैंकर्स एसोसिएसन, उद्धारदेखि पुनःस्थापनासम्म सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । देशका विभिन्न जिल्लामा बाढी तथा पहिरोलगायत प्राकृतिक विपदबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले गहिरो दुःख व्यक्त गरेको छ । एसोसिएसनले बुधबार भोटेकोशी खोलामा आएको भीषण बाढीलगायतका प्राकृतिक विपद्का कारण मुलुक गम्भीर संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै विपदमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।  साथै शोकसन्तप्त परिवारजन तथा आफन्तप्रति समवेदना व्यक्त गर्दै बेपत्ता तथा सम्पर्कविहीन व्यक्तिहरूको सकुशल उद्धारको कामना गरेको छ । एसोसिएसनले विपद्का बीच उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका स्थानीय समुदाय, नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी तथा उद्धारकर्मीप्रति कृतज्ञता व्यक्त गरेको छ ।  उद्धारमा संलग्न सबैको सुरक्षा र स्वास्थ्यप्रति समेत विशेष ध्यान दिन आग्रहसमेत गरेको छ । विपद्का कारण बैंक तथा वित्तीय संस्थामा कार्यरत केही कर्मचारीसमेत सम्पर्कविहीन तथा बेपत्ता रहेको भन्दै एसोसिएसनले उनीहरूका परिवारप्रति सहानुभूति प्रकट गरेको छ । बाढीका कारण सदस्य विकास बैंकका केही शाखा पनि प्रभावित भएको एसोसिएसनले जनाएको छ ।  विद्युत् आपूर्ति, नेटवर्क तथा सञ्चार सेवामा आएको अवरोधका कारण बैंकिङ सेवा प्रभावित भए पनि सम्भव भएसम्म सेवा निरन्तरता कायम गर्न प्रयास भइरहेको जनाएको छ । असामान्य परिस्थितिमा आफ्ना सदस्य विकास बैंकमार्फत राहत, उद्धार, सेवा निरन्तरता तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न एसोसिएसन प्रतिबद्ध रहेको बताएको छ ।

कैलाश यात्राबाट फर्किने विदेशीलाई हिल्सा नाका प्रयोग गर्न आग्रह

काठमाडौं । अध्यागमन विभागले कैलाश मानसरोवरबाट फर्कने विदेशीलाई हुम्लाको हिल्सा नाका हुँदै फर्कन  आग्रह गरेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण चीन प्रवेश गर्ने सडक, पुल तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेपछि कैलाश मानसरोवर तीर्थयात्राबाट फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्न अध्यागमन विभागले सहजीकरण गरेको हो । बाढीका कारण रसुवागढी नाका हुँदै नेपाल फर्किने अवस्था नरहेकाले नेपाल–चीन सीमास्थित हुम्लाको हिल्सा नाकालाई वैकल्पिक रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको हो । अध्यागमन नियमावली, २०५१ को अनुसूची १२ अनुसार हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा विदेशी नागरिकले निषेधित क्षेत्र प्रयोग गर्नुपर्ने तथा तोकिए बमोजिमको पदयात्रा दस्तुर तिर्नुपर्ने व्यवस्था छ। तर, विषम परिस्थितिलाई मध्यनजर गर्दै मानवीय सुरक्षालाई पहिलो प्राथमिकतामा राखी कैलाश मानसरोवर तीर्थयात्रीको सहज आवतजावत सुनिश्चित गर्न विशेष व्यवस्था गरिएको सम्बन्धित निकायले जनाएको छ। भदौ ११ गतेदेखि लागू हुने गरी एक हप्ताका लागि, रसुवास्थित अध्यागमन कार्यालयबाट प्रस्थान अनुमति लिएर कैलाश मानसरोवर तीर्थयात्रामा गएका र फर्किने विदेशी नागरिकलाई हुम्लाको हिल्सा नाकाबाट नेपाल प्रवेश गर्दा निषेधित क्षेत्रको पदयात्रा दस्तुर मिनाहा गरिएको छ। त्यस्तै, उक्त अवधिमा सो क्षेत्रमा पदयात्रा अनुमति लिनका लागि विदेशी नागरिक तथा ट्रेकिङ गाइडको बीमा र ट्रेकिङ गाइडसम्बन्धी व्यवस्थालाई समेत अनिवार्य नगरिएको सूचनामा उल्लेख छ। बाढीबाट प्रभावित रसुवा नाका बन्दजस्तै भएपछि अलपत्र पर्न सक्ने तीर्थयात्रीको सुरक्षित र नेपाल फिर्तीका लागि यो सहज व्यवस्था गरिएको बताइएको छ ।