माथिल्लो त्रिशूली-३ 'ए' र लाङटाङको टनेलमा उद्धार टोली परिचालित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोट र धादिङका मानवीय तथा विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले सुरक्षा निकायसँगको समन्वय र सहयोगमा सुरक्षा मापदण्ड पालना गर्दै उद्धार, राहत तथा विद्युत् सेवा पुनःस्थापनालाई उच्च प्राथमिकतामा राखेर काम अघि बढाउँदै आएका छन् । 

ऊर्जा मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यका अनुसार बाढी र प्रतिकूल मौसमका कारण प्रभावित जलविद्युत् आयोजना तथा प्रसारण संरचनामा आवश्यक प्राविधिक जनशक्ति, उपकरण र स्रोतसाधन परिचालन गरी पुनःस्थापना तथा उद्धारका काम तीव्र पारिएको छ । हाल नुवाकोटका करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् आपूर्ति पुनःसुचारु भइसकेको छ भने रसुवाको धुन्चेमा विद्युत् लाइन सञ्चालनका लागि काम भइरहेको छ ।

सम्भावित थप बाढीको जोखिमलाई ध्यानमा राख्दै जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई पूर्वसूचना दिन दुई लाखभन्दा बढी एसएमएस अलर्ट पठाइएको मन्त्रालयले जनाएको छ । स्थानीय बासिन्दालाई सतर्क रहन तथा आवश्यकता देखिए सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरिएको छ ।

बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा फसेका कर्मचारी तथा मजदुरको उद्धारका लागि आवश्यक सामग्री, उपकरण र दक्ष जनशक्तिसहित थप हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ । यसैक्रममा रसुवागढी जलविद्युत् केन्द्रभित्र फसेका चार कर्मचारी भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझीको प्रतिकूल मौसमका बीच सकुशल उद्धार गरिएको मन्त्रालयले जनाएको छ ।

त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनामा उद्धारका लागि पनि आवश्यक तयारी र समन्वय भइरहेको छ । ६० मेगावाटको माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रको भूमिगत पावरहाउसमा मर्मतका क्रममा फसेका कर्मचारीको उद्धारका लागि विशेष अभियान सञ्चालन भइरहेको छ । 

पावरहाउस प्रवेश गर्ने केबल टनेलको मुख बाढी र पहिरोका कारण पुरिएपछि नेपाली सेना तथा दक्ष प्राविधिकको समन्वयमा उत्खनन् उपकरण प्रयोग गरी बाटो खुलाउने काम तीव्र पारिएको छ । नेपाली सेनाले लाङटाङ भोटेकोशी जलविद्युत् आयोजनाको सुरुङमा फसेका २५ जना कामदार तथा माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिसहित करिब ३५० जना मजदुर तथा स्थानीयको उद्धार गरिसकेको मन्त्रालयले जनाएको छ ।

टनेलभित्र अझै सयभन्दा बढी व्यक्ति फसेको प्रारम्भिक जानकारी रहेकाले उहाँहरूको उद्धारका लागि सुरक्षा टोली निरन्तर परिचालित रहेको बताइएको छ ।

यसैबीच, बाढी प्रभावित जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको अवस्थाबारे ऊर्जा मन्त्रालयमा सम्बन्धित आयोजनाका व्यवस्थापक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिहरुसँग बैठक गरी विवरण अद्यावधिक गर्ने काम भइरहेको छ ।

प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रमा कार्यरत एक हजारभन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ । 

उद्धार तथा खोजी कार्यलाई रातिको समयमा समेत प्रभावकारी बनाउन सुरक्षाकर्मीका लागि २०० थान हेडल्याम्प र ९०० थान ब्याट्रीसमेत उपलब्ध गराइएको छ । मन्त्रालयले बाढी प्रभावित आयोजनामा कार्यरत कर्मचारी तथा मजदुरको जीवनरक्षा र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको जनाएको छ । 

आवश्यकताअनुसार थप हेलिकप्टर, उद्धार तथा राहत सामग्री, उपकरण र जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिने बताइएको छ । विपद्को कठिन परिस्थितिमा विद्युत् प्रणालीलाई सुरक्षित, भरपर्दो र निरन्तर सञ्चालनमा राख्दै प्रभावित क्षेत्रमा रहेका कर्मचारी तथा मजदुरको जीवनरक्षा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायबीच समन्वयात्मक रूपमा उद्धार तथा पुनःस्थापनाको काम अघि बढाइएको मन्त्रालयले स्पष्ट पारेको छ ।

Share News