कालिकोटमा महेन्द्र शाही विजयी, नेकपाको दोस्रो जित
काठमाडौं । कालिकोटमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार महेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनरसार ११ हजार ३३८ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका निटकटतम प्रतिस्पर्धी नेकपा एमालेका नगीन्द्र शाहीले १० हजार ३५२ मत प्राप्त गरेका छन् । नेकपाको यो दोस्रो जित हो । यसअघि नेकपाका संयोजक पुष्प कमल दाहाल प्रचण्डले पूर्वी रुकुमबाट जित हासिल गरेका थिए ।
सर्लाही क्षेत्र नं ४ मा रास्वपाका सिंहको अग्रता कायमै
काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनअन्तर्गत मधेस प्रदेशको सर्लाही क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेशकुमार सिंह अग्रस्थानमा रहेका छन् । निर्वाचन आयोगका अनुसार सिंहले ६ हजार २६४ मत ल्याएका छ भने नेपाली कांग्रेसका उम्मेदवार गगनकुमार थापाले तीन हजार ६७१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार अमनिशकुमार यादवले ८९४, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का रजनीस रायले ३७७ र जनमत पार्टीका राकेशकुमार मिश्रले ३८२ मत प्राप्त गरेका हुन् ।
रसुवाबाट कांग्रेसका मोहन आचार्य निर्वाचित
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवाबाट नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य निर्वाचित भएका छन् । उनले १० हजार ६ सय ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । मतगणनाको सुरुदेखि नै अग्रता कायम गरेका आचार्य अन्ततः विजयी बनेका हुन् । यो आचार्यको तेस्रो जित हो । उनी यसअघि २०७४ र २०७९ सालमा पनि रसुवा जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार वसन्त भट्टले ५ हजार ५ सय ७१ मत प्राप्त गरेका छन् । हिजो सम्पन्न मतदानमा रसुवामा ६०.६१ प्रतिशत मत खसेको थियो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा कुल २५ हजार १ सय ३६ मत खसेको हो । रसुवा जिल्लामा कुल ४१ हजार ४ सय ७१ मतदाता रहेका छन् ।
हुम्लामा मत गणना सुरु
सिमकोट । हिमाली जिल्ला हुम्लामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मत गणना सुरु भएको छ । जिल्ला सदरमुकाम सिमकोटस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय सहमतिपछि ७ः४५ मा सुरु हुने भनिएको मत गणना करिब १ घण्टा १५ मिनेट पछि ९ः५ मा सुरु गरिएको हो । जिल्लाका विभिन्न मतदान केन्द्रबाट सङ्कलन गरिएका मतपेटिकाहरू सुरक्षा व्यवस्थासहित सदरमुकाम सिमकोटमा ल्याइएपछि मतगणना प्रक्रिया अघि बढाइएको निर्वाचन कार्यालयले जनाएको छ । दुर्गम क्षेत्रहरूबाट केही मतपेटिका हेलिकोप्टरमार्फत ल्याइएको थियो । मत गणनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको कडा सुरक्षा व्यवस्था मिलाइएको छ । उम्मेदवारका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उपस्थितिमा पारदर्शी रूपमा मत गणना भइरहेको बताइएको छ । प्रारम्भिक परिणाम केही समयपछि सार्वजनिक गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
प्रचण्ड भन्छन् : म बाहेक अरु नेताले जित्ने देख्दिनँ, रास्वपाले मेरो सुझाव लिएर सरकार बनाउँछ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू बाहेक अरु नेताले जित्ने स्थिति नदेखिएको बताएका छन् । प्रतिनिधि सभा निर्वाचनमा रुकुम पूर्वबाट विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफू अब संसदमा सबैभन्दा ‘वरिष्ठ’ र ‘निर्णायक’ नेताका रूपमा रहने जिकिर गरे । मुलुकको भावी राजनीति र संसद्मा आफ्नो भूमिका निर्विकल्प रहेको दाबी उनको छ । प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका अन्य स्थापित शीर्ष नेताहरू यसपटकको प्रतिस्पर्धामा पाखा लाग्ने अवस्था आएको बताए । युवा पुस्ताको आक्रोशलाई सम्बोधन गर्दै देशलाई स्थिरता दिने जिम्मेवारी अब आफ्नो काँधमा आएको उनले बताए । ‘रास्वपाले मसँगै सल्लाह र सुझाव लिएर मात्र सरकार बनाउनेछ,’ उनले भने ।
धनकुटामा श्रम संस्कृतिका उम्मेदवार सानबहादुर राईको अग्रता कायमै
धनकुटा । मतान्तर घटे पनि धनकुटामा श्रम संस्कृति पार्टीका उम्मेदवारको अग्रता कायमै छ । आज साँझ ५ः३० बजेसम्मको गणनामा श्रम संस्कृति पार्टीको अग्रता ८५० रहे पनि राति ८ः०० बजेको मत परिणामअनुसार उक्त मत अन्तर घटेर १६७ मतमा झरेको हो । हालसम्म गणना भएको ११ हजार ८८० मतमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले तीन हजार ९७२ र एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले तीन हजार ७०५ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश राईले दुई हजार २३८, रास्वपाका दिनेश भण्डारीले ५५६, राप्रपाले ११६ तथा जसपा नेपालले १११ मत प्राप्त गरेको निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले जानकारी दिए । हालसम्म ८३५ मत बदर भएको छ । निर्वाचनमा प्रतिनिधिसभाका लागि तीन स्वत्रन्त्र र १४ दलसहित जम्मा १७ जनाको सहभागिता रहेको छ ।
कुलमानले राजुनाथलाई दिए बधाई, नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्ने प्रतिबद्धता
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा काठमाडौं-३ का उम्मेदवार कुलमान घिसिङले प्रतिनिधि सभा निर्वाचनमा विजयी भएका राजुनाथ पाण्डेलाई बधाई दिएका छन् । शुक्रबार पराजित भएपछि सामाजिक सञ्जालमा धारणा राख्दै उनले पाण्डेलाई बधाई दिएका हुन् । ‘यस निर्वाचनमा मलाई विश्वास गर्दै आफ्नो अमूल्य मत प्रदान गरेका भएका यस क्षेत्रका सम्पूर्ण आदरणीय मतदाताप्रति हार्दिक आभार व्यक्त गर्दछु । यहाँहरूले देखाउनु भएको विश्वास र माया मेरो लागि सधैं प्रेरणाको स्रोत रहनेछ । चुनावको परिणाम जे जस्तो भए पनि यस क्षेत्रको समग्र विकास, सुशासन, समृद्धि सहितको उज्यालो नेपाल निर्माणका लागि आगामी दिनमा थप सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु,’ उनले भनेका छन् । उनले सबै मिलेर उज्यालो, समृद्ध र सुशासित नेपाल निर्माणको यात्रालाई निरन्तर अगाडि बढ्नुपर्ने बताएका छन् ।
सोलुखुम्बुमा मतगणना सुरु, लिखुपिकेबाट सुरुआत
सोलुखुम्बु । सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८ः४५ बजेदेखि मतगणना सुरु गरिएको हो । जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणनाको सुरुआत लिखुपिके गाउँपालिकाबाट गरिएको छ । उक्त गाउँपालिकामा कुल दुई हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता कायम भएकामा ४१ हजार ४०१ मत खसेको थियो । मतदान गर्नेमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष मतदाता रहेका छन् । भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रबाट मतपेटिका ढुवानी गर्न समय लागेकाले गणनामा ढिलाइ भएको थियो ।