काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बैंक सञ्चालक समितिको भदौ १४ गते बिहान बसेको १९१औँ बैठकले चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँको आधारमा १ अर्ब १३ करोड ६८ लाख ५१ हजार २०० रुपैयाँ नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने निर्णय गरेको हो ।
निफ्राले उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय पनि गरेको जनाएको छ ।
बैंकका अनुसार राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएपछि प्रस्तावित लाभांश वार्षिक साधारणसभाबाट पारित गरिनेछ । त्यसपछि कम्पनी ऐन, २०६३ को दफा १८२ (२) बमोजिम नेपाल सरकारको अर्थ मन्त्रालयबाट स्वीकृति पाएपछि मात्रै सेयरधनीलाई नगद लाभांश वितरण गरिनेछ ।
कम्पनी सचिव जीवनाथ सापकोटाले लाभांश प्रस्तावबारे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराएका छन् ।