रास्वपाले हालसम्म १०४ सिट जित्यो, समानुपातिकमा पनि ५० प्रतिशतभन्दा बढी मत
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को पछिल्लो मतपरिणामले देशको राजनीतिक परिदृश्यमा आमूल परिवर्तनको संकेत गरेको छ । हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित हासिल गर्दै दुई तिहाई बहुमत नजिक पुगेको छ । परम्परागत शक्ति मानिने दलहरू निकै पछि परेका छन् भने ‘घण्टी’ को लहरले देशभरका चुनावी नतिजालाई आफ्नो पक्षमा पारेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म १३५ सिटको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ । जसमा रास्वपा एक्लैले १०४ सिट जितेर इतिहास रचेको छ । बाँकी ३१ सिटको मतगणना जारी रहँदा पनि रास्वपाले नै अग्रता कायम राखेको छ । हालसम्मको नतिजाअनुसार रास्वपाले १०४ सिटमा विजयी भएको छ भने २० सिटमा अग्रता छ । यस्तै, नेपाली कांग्रेसले १५ सिटमा विजयी भएको छ । यस्तै, २ सिटमा अग्रता लिइरहेको छ । नेकपा एमालेले ७ सिट विजयी भएको छ भने ४ सिटमा अग्रता लिइरहेको छ । नेकपा ६ सिटमा विजयी भएको छ । २ सिटमा अग्रता लिइरहेको छ । राप्रपा १ सिटमा विजयी भएको छ । यस्तै, श्रम संस्कृति पार्टी १ सिटमा विजयी भएको छ भने २ सिटमा अग्रता लिइरहेको छ । स्वतन्त्रमा १ सिट विजयी भएको छ । प्रत्यक्षतर्फ मात्र नभई समानुपातिक निर्वाचन प्रणालीमा पनि रास्वपाले अप्रत्याशित जनमत प्राप्त गरेको छ । कुल २६ लाख ३० हजार मतगणना हुँदा रास्वपाले १३ लाख २१ हजारभन्दा बढी मत पाएको छ । यो कुल खसेको मतको ५० प्रतिशतभन्दा बढी हो । यही अनुपात कायम रहेमा समानुपातिकतर्फका ११० सिटमध्ये रास्वपाले ५५ देखि ६० सिटसम्म प्राप्त गर्ने देखिन्छ । यसले गर्दा सदनमा रास्वपाको उपस्थिति अत्यन्तै शक्तिशाली हुने निश्चित भएको छ । प्रतिनिधिसभाको कुल २७५ सिटमध्ये दुई तिहाई बहुमतका लागि १८४ सिट आवश्यक पर्दछ । हालको ट्रेन्डअनुसार रास्वपाले प्रत्यक्षतर्फ करिब १२४ सिट र समानुपातिकतर्फ ६० सिटसम्म जित्ने सम्भावना छ । यसरी हेर्दा रास्वपा १८४ सिटको दुई आँकडा पार गर्दै दुई तिहाई बहुमतको सरकार बनाउने दिशामा दृढताका साथ अघि बढेको देखिन्छ ।
कैलाली–४ मा रास्वपाका कोइराला विजयी, पाए २८ हजार ५५६ मत
कैलाली । कैलाली ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का खेमराज कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । गतबिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामअनुसार रास्वपाका कोइरालाले २८ हजार ५५६ मत प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टले ११ हजार ३०१ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका (नेकपा)का लेखराज भट्टले नौ हजार ४४४, नेपाली कम्युनिष्ट पार्टीका हरिराम चौधरीले पाँच हजार ६०९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कमल रजवारले एक हजार ३५८ मत प्राप्त गरे । एक लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा प्रत्यक्षतर्फ ६१ हजार ९४१ मत खसेको निर्वाचन अधिकृत आचार्यले जानकारी दिए । त्यसमा सदर मत ५८ हजार २८३ र बदर मत तीन हजार ६५८ रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सरकारसँग चित्त नबुझेर एआईजीबाट राजीनामा दिए, रास्वपामा लागेको तीन महिनामै सांसद बने
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा ओलखढुङ्गाबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विश्वराज पोखरेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर निर्वाचित भएका हुन् । उनले नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेललाई पराजित गर्दै ५ मतले निर्वाचित भएका हुन् । अन्तिम नतिजा घोषणा भने हुन बाँकी नै रहेको छ । लुइँटेलले १३ हजार ९४८ मतामात्र पाएका छन् । नेपाली कम्युनिस्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएर तेस्रो भएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेर चौथो स्थानमा सीमित बनेकी छन् । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले २०७९ मा पदबाट राजीनामा दिएका थिए । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी धीरजप्रताप सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल असन्तुष्ट बन्दै पदबाट राजीनामा दिएका थिए । महानिरीक्षकको दौडमा रहेका उनलाई पाखा लगाउँदै तत्कालीन सरकारले सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको थियो । वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले पनि धिरजप्रताप सिंहकै पक्षमा फैसला गरेपछि उनले राजीनामा दिएका थिए । मंसिरमा राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरे लगत्तैबाट उनी चुनावी अभियानमा जुटेका थिए । उनले पार्टीबाट टिकट पाएपछि ओखलढुङ्गामा सिर्जनात्मक ढङ्गबाट प्रचारप्रसार गरेका थिए । २०२३ सालमा ओखलढुंगामा जन्मिएका पोखरेल २०४९ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । इन्स्पेक्टर हुँदा उनले काठमाडौं उपत्यकाका तीन जिल्लाको अनुसन्धान गर्ने मुख्य जिम्मेवारी पाएको अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेका थिए । एसपी हुँदै उनी प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा, जिल्ला प्रहरी परिसर काठमाडौंको ट्वाइसी भएर काम गरे। एसएसपी हुँदा जिल्ला प्रहरी परिसर काठमाडौंको कमाण्ड सम्हाले । उनले ट्राफिक प्रहरी, विमानस्थल सुरक्षा, लागूऔषध नियन्त्रण ब्यूरो जस्ता युनिटको नेतृत्व गरे । उनले लाइबेरिया र हाइटीमा दुई वर्ष मिसनमा काम गरेको अनुभव पनि उनीसँग छ । प्रहरी बाहेक उनीसँग थप दुई क्षेत्रको अनुभव छ । २०३९ सालमा रुम्जाटार माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि उनी काठमाडौं छिरे । नेपाल ल क्याम्पसबाट २०४६ सालमा बीएल उत्तीर्ण गरे । अनि लोकसेवा पास गरेर न्याय सेवा अन्तर्गत डिट्ठाको जागिरे भए । डिट्ठा हुनुअघि पोखरेलले विकास सेवातर्फको खरिदारमा स्थायी नाम निकालेका थिए । विकास सेवामा पनि काम गरेका उनले प्रहरी सेवा बाहेक न्याय र विकासतर्फ गरी ७ वर्ष काम गरेको अनुभव छ । समग्रमा प्रहरीमा २९ वर्ष सहित उनले ३६ वर्ष सरकारी सेवाका तीन क्षेत्रमा काम गरेका छन् ।
महोत्तरी–३ मा रास्वपाका उज्ज्वलकुमार झा निर्वाचित
जलेश्वर । महोत्तरी ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार उज्ज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृत माधवप्रसाद अधिकारीका अनुसार उनले ३२ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाल सङ्घीय समाजवादी पार्टीका मुहमद रिजवानले पाँच हजार ९६९ मत ल्याए । स्वतन्त्र उम्मेदवार रामआधार कापरले चार हजार ७९० मत, नेपाली कांग्रेसका उम्मेदवार बजरङ्ग नेपालीले चार हजार ३२४ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चारवटा निर्वाचन क्षेत्र रहेको महोत्तरीको निर्वाचन क्षेत्र–१ र २ मा यसअघि नै क्रमशः रास्वपाकै प्रमोदकुमार महतो र दीपककुमार साह निर्वाचित भइसकेका छन् भने बाँकी रहेको क्षेत्र नं ४ मा पनि रास्वपाकै उम्मेदवार गौरी कुमारी फराकिलो मतान्तरले अगाडि रहेका छन् ।
ओखलढुंगामा रास्वपाका विश्वराज पोख्रल ५ मतले विजयी
काठमाडौं । ओखलढुंगामा रास्वपाका उम्मेदवार विश्वराज पोख्रेल विजयी भएका छन् । उनले १३ हजार ९५३ मत ल्याएर विजयी भएका हुन् । उनी ५ मतले विजयी भएका हुन् । कांग्रेस उम्मेदवार कुमार लुइँटेलले १३ हजार ९४८ मतप पाएका छन् । तेस्रोमा रहेका नेपाली कम्युनिष्ट पार्टीका अम्विरबाबु गुरुङले ११ हजार २९६ मत ल्याएका छन् भने एमाले उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत प्राप्त गरेकी छिन् ।
डोल्पामा नेकपाका धनबहादुर बुढा विजयी
कर्णाली । एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का धनबहादुर बुढा विजयी भएका छन् । बुढाले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार लङ्कबहादुर रोकायलाई एक हजार ४०६ मतान्तरमा छ हजार ८०२ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार ३९६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । त्यसैगरी, नेपाली कांग्रेसका कर्णबहादुर बुढाले दुई हजार ९४७ र राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत प्राप्त गरेका छन् । डोल्पामा नौ दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यहाँ २५ हजार पाँच कुल मतदाता सङ्ख्या रहेको यो निर्वाचन क्षेत्रमा १६ हजार ४३७ मत खसेको थियो ।
ओली नेतृत्वबाट हट्नुपर्ने माग राख्दै एमाले मकवानपुरका अध्यक्षले दिए राजीनामा
काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ मा नेकपा एमालेले लज्जास्पद हार व्यहोरेपछि नेकपा एमाले मकवानपुर जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पदबाट राजीनामा दिएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पोखरेलले जनमतको कदर र पार्टीको खराब नतिजाको नैतिक जिम्मेवारी लिँदै आजकै मितिदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले पार्टीको केन्द्रीय नेतृत्वलाई समेत जिम्मेवारी लिएर राजीनामा दिन र पार्टी पुनर्गठनको बाटो खुला गर्न आग्रह गरेका छन् । पार्टीले भोगेको अनपेक्षित पराजयपछि पार्टीभित्र नतिजाको जिम्मेवारी लिने र नेतृत्वलाई दबाब दिनुपर्ने उनको भनाइ छ । नेतृत्वको कार्यशैलीप्रति कडा प्रहार गर्दै उनले लेखेका छन्, ‘यो परिणामको वास्तविक कारण पहिचान गर्न नसकी गोलमटोल भाषामा मात्र व्यक्त हुने, इष्र्या र घमण्डपूर्ण प्रवृत्तिबाट समस्याको समाधान सम्भव हुँदैन ।’ पोखरेलले नेकपा माले हुँदै एमालेको ४५ वर्षे यात्रामा अहिले पार्टीले भोगेको परिणामबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरेका छन् ।
मुगुमा कांग्रेसका शाही विजयी
कर्णाली । मुगुमा नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाही प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले पाँच हजार ६१७ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयले जनाएको छ । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार शाहीका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार पूर्णबहादुर रोकायलाई ६१६ मतान्तरमा पाँच हजार ६१७ मत ल्याएर विजयी भएका हुन् । रोकायले पाँच हजार एक मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का चन्द्रबहादुर शाहीले दुई हजार ४४० र राष्ट्रिय स्वतन्त्र पार्टीका भुवन टमटाले ३७१ मत प्राप्त गरेका छन् । मुगुमा सात दलका उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । यो निर्वाचन क्षेत्रमा ३६ हजार ६०५ कुल मतदाता रहेकामा २२ हजार १६८ मत खसेको थियो ।