रास्वपा विपिन आचार्यले चुनावमा गरे १६ लाख २९ हजार खर्च
काठमाडौं । दाङको क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निर्वाचित विपिनकुमार आचार्यले चुनावी खर्चको विवरण बुझाएका छन् । उनले मंगलबार निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च बुझाएका हुन् । उनी रास्वपाका सहमहामन्त्री समेत रहेका आचार्यले बुझाएको चुनावी खर्च विवरणमा १६ लाख २९ हजार ५६२ रुपैयाँ खर्च भएको उल्लेख छ । आचार्यले नेकपा एमालेका महासचिव शंकर पोखरेल लगायतका पराजित गरेका थिए । उनले ४३ हजार ८२२ मत पाएका थिए भने पोखरेलले १५ हजार ५५८ मत पाएका थिए ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ अधिकांश नयाँ अनुहार
काठमाडौं । मुलुकको विशिष्ट परिस्थितिमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ अधिकांश नयाँ अनुहार निर्वाचित भएका छन् । सोमबार सम्पन्न उक्त प्रणालीतर्फको मतगणना परिणामअनुसार सरकार बनाउने हैसियतमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट मात्रै १२५ सदस्य निर्वाचित भएका छन् । यसअघिको संसद्मा उक्त दलको २१ सदस्य रहेकामा तीमध्ये १२ जना दोहोरिएका छन् भने यसपटक निर्वाचितमध्ये ११३ जना नयाँ छन् । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमा रास्वपाले १२५, नेपाली कांग्रेसले १८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नौ, नेपाली कम्युनिष्ट पार्टीले आठ, श्रम संस्कृति पार्टीले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित हासिल गरेको छ । एक स्थानमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । अधिकांश नयाँ अनुहार जितेको रास्वापाबाट झापा निर्वाचन क्षेत्र नं १ बाट निशा डाँगी, क्षेत्र नं २ बाट इन्दिरा राना मगर, क्षेत्र नं ३ बाट प्रकाश पाठक, क्षेत्र नं ४ बाट शम्भुप्रसाद ढकाल र क्षेत्र नं ५ बाट बालेन्द्र शाह निर्वाचित भएका छन् । मोरङ क्षेत्र नं १ बाट यज्ञमणि न्यौपाने, क्षेत्र नं २ बाट कृष्णकुमार कार्की, क्षेत्र नं ३ बाट गणेश कार्की, क्षेत्र नं ४ बाट सन्तोष राजवंशी, क्षेत्र नं ५ बाट आशा झा र क्षेत्र नं ६ बाट रुबिना आचार्य निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । सुनसरी निर्वाचन क्षेत्र नं २ बाट लालविक्रम थापा, क्षेत्र नं ३ बाट अशोककुमार चौधरी, क्षेत्र नं ४ बाट दीपककुमार साह, ओखलढुङ्गा क्षेत्र नं १ विश्वराज पोखरेल, उदयपुर क्षेत्र नं १ बाट पारशमणि गेलाल र क्षेत्र नं २ बाट सूर्यबहादुर तामाङ निर्वाचित भएका छन् । सप्तरी क्षेत्र नं १ बाट पुष्पाकुमारी चौधरी, क्षेत्र नं २ बाट रामजी यादव, क्षेत्र नं ३ बाट अमरकान्त चौधरी र क्षेत्र नं ४ बाट सीताराम साह, सिराहा क्षेत्र नं १ बाट बब्लु गुप्ता, क्षेत्र नं २ बाट शिवशङ्कर यादव, क्षेत्र नं ३ बाट शम्भुकुमार यादव र क्षेत्र नं ४ बाट तपेश्वर यादव निर्वाचित भएका छन् । धनुषा क्षेत्र नं २ बाट रामविनोद यादव, क्षेत्र नं ३ बाट मनिष झा र क्षेत्र नं ४ बाट राजकिशोर महतो, महोत्तरी क्षेत्र नं १ बाट प्रमोदकुमार महतो, क्षेत्र नं २ बाट दीपकुमार साह, क्षेत्र नं ३ बाट उज्ज्वलकुमार झा र क्षेत्र नं ४ बाट गौरीकुमारी विजयी भएका छन् । सर्लाही क्षेत्र नं १ मा नितिमा भण्डारी (कार्की), क्षेत्र नं २ मा रविन महतो, क्षेत्र नं ३ मा नरेन्द्र साह कलवार र क्षेत्र नं ४ मा अमरेशकुमार सिंह, रौतहट क्षेत्र नं १ मा राजेशकुमार चौधरी, क्षेत्र नं ३ मा रवीन्द्र पटेल र क्षेत्र नं ४ मा गणेश पौडेल निर्वाचित भएका छन् । सोही पार्टीबाट बारा क्षेत्र नं १ बाट गणेश धिमाल, क्षेत्र नं २ बाट चन्दनकुमार सिंह, क्षेत्र नं ३ बाट अरबिन्द साह र क्षेत्र नं ४ बाट रहबर अन्सारी, पर्सा क्षेत्र नं १ बाट बुद्धिप्रसाद पन्त, क्षेत्र नं २ बाट सुशीलकुमार कानु, क्षेत्र नं ३ बाट रामाकान्तप्रसाद चौरसिया र क्षेत्र नं ४ बाट टेकबहादुर शाक्य निर्वाचित भएका छन् । दोलखा क्षेत्र नं १ बाट जगदीश खरेल, रामेछाप निर्वाचन क्षेत्र नं १ बाट कृष्णहरि बुढाथोकी, सिन्धुली क्षेत्र नं १ बाट धनेन्द्र कार्की र क्षेत्र नं २ बाट आशिष गजुरेल, धादिङ क्षेत्र नं १ बाट आशिका तामाङ र क्षेत्र नं २ बाट बोधनारायण श्रेष्ठ, नुवाकोट क्षेत्र नं १ बाट विक्रम तिमिल्सिना र क्षेत्र नं २ बाट अचुत्तम लामिछाने निर्वाचित भएका छन् । रास्वपाबाटै काठमाडौं क्षेत्र नं १ बाट रन्जु न्यौपाने, क्षेत्र नं २ बाट सुनिल केसी, क्षेत्र नं ३ बाट राजुनाथ पाण्डे, क्षेत्र नं ४ बाट पुकार बम, क्षेत्र नं ५ बाट सस्मित पोखरेल, क्षेत्र नं ६ बाट शिशिर खनाल, क्षेत्र नं ७ बाट गणेश पराजुली, क्षेत्र नं ८ बाट विराजभक्त श्रेष्ठ, क्षेत्र नं ९ बाट डोलप्रसाद अर्याल र क्षेत्र नं १० बाट प्रदीप विष्ट, भक्तपुर क्षेत्र नं १ बाट रुकेश रन्जित र क्षेत्र नं २ बाट राजीव खत्री, ललितपुर क्षेत्र नं १ बाट बुद्धरत्न महर्जन, क्षेत्र नं २ बाट जगदीश खरेल र क्षेत्र नं ३ बाट तोसिमा कार्की विजयी भएका छन् । काभ्रेपलाञ्चोक क्षेत्र नं १ बाट मधुकुमार चौलागाई र क्षेत्र नं २ बाट बदनकुमार भण्डारी, सिन्धुपाल्चोक क्षेत्र नं १ बाट भरतप्रसाद पराजुली, मकवानपुर क्षेत्र नं १ बाट प्रकाश गौतम र क्षेत्र नं २ बाट प्रशान्त उप्रेती, चितवन क्षेत्र नं १ बाट हरि ढकाल, क्षेत्र नं २ बाट रवि लामिछाने र क्षेत्र नं ३ बाट सोविता गौतम निर्वाचित भएका छन् । गोरखा क्षेत्र नं १ मा सुधन गुरुङ र क्षेत्र नं २ मा कविन्द्र बुर्लाकोटी, लमजुङ क्षेत्र नं १ मा धर्मराज केसी, कास्की क्षेत्र नं १ मा खडकराज पौडेल, क्षेत्र नं २ मा उत्तमप्रसाद पौडेल र क्षेत्र नं ३ मा बिना गुरुङ, तनहुँ क्षेत्र नं १ मा स्वर्णिम वाग्ले र क्षेत्र नं २ मा श्रीराम न्यौपाने निर्वाचित भएका छन् । सोही पार्टीबाट स्याङ्जा क्षेत्र नं १ मा धनन्जय रेग्मी, क्षेत्र नं २ मा झविलाल डुम्रे, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नं १ मा राजन गौतम, क्षेत्र नं २ मा मनिष खनाल, बागलुङ क्षेत्र नं १ मा सुशील खड्का र क्षेत्र नं २ मा सोम शर्मा तथा पर्वत क्षेत्र नं १ मा सागर भुसाल विजयी भएका छन् । गुल्मी क्षेत्र नं १ मा सागर ढकाल र क्षेत्र नं २ मा गोविन्द पन्थी, पाल्पा क्षेत्र नं २ मा माधवबहादुर थापा, अर्घाखाँची क्षेत्र नं १ मा हरिप्रसाद भुसाल, रुपन्देही क्षेत्र नं १ मा सुनिल लम्साल, क्षेत्र नं २ मा सुलभ खरेल, क्षेत्र नं ३ मा डा लेखजङ्ग थापा, क्षेत्र नं ४ मा कन्हैया बनिया र क्षेत्र नं ५ मा तौफिक अहमद खान निर्वाचित भएका छन् । कपिलवस्तु क्षेत्र नं १ मा मोहनलाल आचार्य र क्षेत्र नं २ मा विक्रम थापा, प्यूठान क्षेत्र नं १ मा सुशान्त वैदिक, दाङ क्षेत्र नं १ मा देवराज पाठक, क्षेत्र नं २ मा विपिनकुमार आचार्य र क्षेत्र नं ३ मा कमल सुवेदी, बाँके क्षेत्र नं १ मा कमल सुवेदी र क्षेत्र नं ३ मा खगेन्द्र सुनार र बर्दिया क्षेत्र नं १ मा ठाकुरसिंह थारू र क्षेत्र नं २ मा श्रीधर पोख्रेल, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नं १ मा विक्रम खनाल र क्षेत्र नं २ मा नरेन्द्रकुमार गुप्ता निर्वाचित भएको आयोगले जनाएको छ । सुर्खेत निर्वाचन क्षेत्र नं २ मा रमेशकुमार सापकोटा, सुदूरपश्चिम प्रदेशको कैलाली क्षेत्र नं १ मा कोमल ज्ञवाली, क्षेत्र नं २ मा केपी खनाल, क्षेत्र नं ३ मा जगतप्रसाद जोशी, क्षेत्र नं ४ मा खेमराज कोइराला र क्षेत्र नं ५ मा आनन्दबहादुर चन्द, बैतडी क्षेत्र नं १ मा हरिमोहन भण्डारी, डडेल्धुरा क्षेत्र नं १ मा ताराप्रसाद जोशी, कञ्चनपुर क्षेत्र नं १ मा जनकसिंह धाँमी, क्षेत्र नं २ मा दीपकराज बोहरा र क्षेत्र नं ३ मा ज्ञानेन्द्रसिंह महता निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट प्रत्यक्षमा निर्वाचित १८ मध्ये चार जनाबाहेक सबै नयाँ अनुहार छन् । सो पार्टीबाट पाँचथर क्षेत्र नं १ मा नरेन्द्रकुमार केरुङ, इलाम क्षेत्र नं १ मा निश्कल राई, तेह्रथुम क्षेत्र नं १ मा सन्तोष सुब्बा, सोलुखुम्बु क्षेत्र नं १ मा प्रकाश सिंह कार्की, रौतहट क्षेत्र नं २ मा फिरदोश आलम, रसुवा क्षेत्र नं १ मा मोहन आचार्य, मनाङ क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ क्षेत्र नं १ मा योगेश गौचन थकाली निर्वाचित भएका छन् । यस्तै, पाल्पा क्षेत्र नं १ मा सन्दीप राना, कपिलवस्तु क्षेत्र नं ३ मा अभिषेकप्रताप शाह, मुगु क्षेत्र नं १ मा खड्ग शाही, हुम्ला क्षेत्र नं १ मा जयपति रोकाया, जाजरकोट क्षेत्र नं १ मा खडकबहादुर बुढा, दैलेख क्षेत्र नं १ मा बासना थापा, सुर्खेत क्षेत्र नं १ मा विष्णुबहादुर खड्का, बाजुरा क्षेत्र नं १ मा जनकराज गिरी, अछाम क्षेत्र नं १ मा भरतकुमार स्वार र डोटी क्षेत्र नं १ मा भरतबहादुर खड्का निर्वाचित भएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तर्फबाट विजयी नौ मध्ये तीन जना नयाँ अनुहार छन् । सो पार्टीबाट निर्वाचित प्रत्यक्षतर्फको सांसद सदस्यमा ताप्लेजुङ क्षेत्र नं १ मा क्षितिज थेबे, इलाम क्षेत्र नं २ मा सुहाङ नेम्वाङ, सङ्खुवासभा क्षेत्र नं १ मा अर्जुनकुमार कार्की, धनकुटा क्षेत्र नं १ मा राजेन्द्रकुमार राई, बाँके क्षेत्र नं २ मा मोहम्मद इश्तियाक राई, दैलेख क्षेत्र नं २ मा लक्ष्मीप्रसाद पोखरेल, अछाम क्षेत्र नं २ मा यज्ञबहादुर बोगटी, बझाङ क्षेत्र नं १ मा ऐनबहादुर महर र दार्चुला क्षेत्र नं १ मा गणेशसिंह ठगुन्ना विजयी भएको आयोगले जनाएको छ । नेपाली कम्युनिष्ट पार्टीबाट निर्वाचित आठमध्ये तीन जना सङ्घीय संसद्मा नयाँ अनुहार रहेका छन् । सो पार्टीबाट धनुषा क्षेत्र नं १ मा मातृकाप्रसाद यादव, सिन्धुपाल्चोक क्षेत्र नं २ मा युवराज दुलाल, रुकुम (पूर्वीभाग) क्षेत्र नं १ बाट पुष्पकमल दाहाल ‘प्रचण्ड’, रोल्पा क्षेत्र नं १ बाट वर्षमान पुन, सल्यान क्षेत्र नं १ बाट रमेशकुमार मल्ल, डोल्पा क्षेत्र नं १ बाट धनबहादुर बुढा, कालिकोट क्षेत्र नं १ बाट महेन्द्रबहादुर शाही र रुकुम (पश्चिम भाग) क्षेत्र नं १ बाट गोपाल शर्मा विजयी भएका छन् । यस निर्वाचनदेखि उदाएको श्रम संस्कृति पार्टीबाट विजयी तीनै जना नयाँ अनुहार हुन् । सो पार्टीबाट भोजपुर क्षेत्र नं १ मा ध्रुवराज राई, सुनसरी क्षेत्र नं १ बाट हर्कराज राई र खोटाङ क्षेत्र नं १ बाट आरेन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जुम्ला क्षेत्र नं १ मा ज्ञानबहादुर शाही पुरानै सांसद हुन् । म्याग्दी क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार महावीर पुन नयाँ अनुहारका रुपमा विजयी भएका छन् । समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा यही फागुन २१ गते सम्पन्न निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । आज अपराह्न २ बजेसम्म एक करोड पाँच लाख मतगणना भइसकेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर केसीका अनुसार समानुपातिकतर्फको मतगणना आज साँझसम्म सकिने अनुमान गरिएको छ । जारी मतगणनाअनुसार हालसम्म छवटा राजनीतिक दलले कुल गणना मतको तीन प्रतिशत मत कटाएका छन् । समानुपातिकतर्फ ११० सिटका लागि ५७ राजनीतिक दलले प्रतिस्पर्धा गरेका थिए । रासस
यी हुन् निर्वाचनमा पराजित ७ पूर्वगृहमन्त्री
काठमाडौं । चैत्र २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ७ पूर्व गृहमन्त्रीहरू पराजित भएका छन् । विभिन्न सरकारमा सहभागी भएका पूर्वगृहमन्त्रीहरू पराजित भएसँगै यसपटकको संसदमा नदेखिने भएका हुन् । दुई पटक गृहमन्त्री बनेका नारायणकाजी श्रेष्ठ सर्लाही- ३ मा पराजित भए । उनले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट उम्मेदवारी दिएका थिए । सर्लाही- ३ मा नरेन्द्र साहले ४६ हजार ८ सय ९० मत प्राप्त गर्दै विजयी भएका हुन् । श्रेष्ठले १३ हजार ३ सय ३८ मत प्राप्त गरे । श्रेष्ठ पहिलोपटक विसं २०६८ साउन ४ गतेबाट भदौ ३ गतेसम्म र दोस्रो पटक विसं २०७९ चैत १२ गतेदेखि विसं २०८० फागुन २१ गतेसम्म गृहमन्त्री भएका थिए । रुकुम-पश्चिमबाट पूर्वगृहमन्त्री जनार्दन शर्मा पनि पराजित भएका छन् । गतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)बाट उम्मेदवार दिएका शर्मालाई नेकपाका उम्मेदवार गोपाल शर्माले हराएका हुन् । शर्माले १४ हजार ३ सय ४६ मत पाउँदा शर्माले २१ हजार ६ सय ९ मत पाएका थिए । शर्मा विसं २०७४ असार १२ गतेदेखि असोज ३१ गतेसम्म गृहमन्त्री भएका थिए । त्यस्तै, जाजरकोटबाट पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । उनलाई नेपाली कांग्रेसका खड्गबहादुर बुढाले हराएका हुन् । बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मत प्राप्त गरे । बस्नेत विसं २०७२ असोज १ गतेबाट विसं २०७३ साउन २० गतेसम्म गृहमन्त्री भएका थिए । सुनसरी- ३ बाट पूर्वगृहमन्त्री विजयकुमार गच्छदार पनि पराजित भए । उनी रास्वपाका अशोक चौधरीसँग पराजित भएका हुन् । चौधरीले ४७ हजार ४२१ मत प्राप्त गर्दा गच्छदारले २० हजार ५०१ मत पाए । गच्छदार विसं २०६८ भदौ १२ गतेदेखि विसं २०६९ फागुन ३० गतेसम्म गृहमन्त्री भएका थिए । कांग्रेसका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री विमलेन्द्र निधि पनि यसपटकको निर्वाचनमा पराजित बनेका छन् । उनी रास्वपाका मनिष झासँग पराजित भएका हुन् । झाले ४३ हजार ९८८ मत प्राप्त गर्दा निधिले १६ हजार ६५२ मत पाए । निधि विसं २०७३ साउन २० गतेदेखि विसं २०७४ जेठ २४ गतेसम्म गृहमन्त्री भएका थिए । त्यसैगरी, नेकपाका नेता भीमबहादुर रावल पराजित भएका छन् । उनी नेपाली कांग्रेसका भरतकुमार स्वारसँग पराजित भएका हुन् । रावलले रावल १० हजार २३३ मत ल्याउँदा स्वारले १० हजार ७५९ मत प्राप्त गरे । रावल विसं २०६६ असार ३ गतेदेखि २०६७ माघ २२ गतेसम्म गृहमन्त्री भएका थिए । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्रीसमेत भइसकेका छन् । ओली विसं २०५१ मङ्सिर १४ गतेदेखि विसं २०५२ असोज ५ गतेसम्म गृहमन्त्री भएका थिए । झापा ५ बाट उम्मेदवार बनेका ओली रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजित भएका हुन् । उनले १८ हजार ७३४ मत प्राप्त गर्दा शाहले ६८ हजार ३४८ मत प्राप्त गरे ।
संसदमा यातायात क्षेत्रको प्रवेश : तीन व्यवसायी विजयी
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभामा यसपटक यातायात तथा अटोमोबाइल क्षेत्रबाट तीन जना व्यवसायी निर्वाचित भएका छन् । देशका विभिन्न निर्वाचन क्षेत्रबाट तीनै जना यातायात व्यवसायी चुनावी होमिएका थिए । विजयी हुनेमा मध्यपश्चिम यातायात प्रालिका अध्यक्ष विष्णुबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट चुनावी मैदानमा होमिएका खड्काले २६ हजार ८९७ मत ल्याउँदै जित हासिल गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले १८ हजार ८९० मत प्राप्त गरे । निर्वाचित खड्का कांग्रेस नेता पूर्णबहादुर खड्काका भाइ समेत हुन् । त्यस्तै काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेशकुमार सापकोटा सुर्खेत क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सापकोटाले ३० हजार ८२६ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले १६ हजार ३९२ मत प्राप्त गरे । यसैगरी अटोमोबाइल व्यवसायी पारशमणि गेलाल उदयपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रास्वपाबाट उम्मेदवार बनेका उनले ३० हजार ५९० मत ल्याउँदै जित हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका राजेशकुमार राई ११ हजार ६०६ मतमा सीमित भए । गेलाल लामो समयदेखि अटोमोबाइल व्यवसायमा सक्रिय छन् । उनी नेपालका लागि स्काइवेल गाडीको आधिकारिक बिक्रेता जी मोटर्सका सञ्चालक हुन् । यसअघि उनले रेनो, निसान, बीवाइडी लगायत ब्राण्डका शोरुम सञ्चालन गरेका थिए । स्नातकोत्तर तहसम्म अध्ययन गरेका गेलाल रास्वपाको केन्द्रीय उद्योग तथा वाणिज्य विभागका सचिव समेत हुन् । यद्यपि सबै व्यवसायी सफल हुन सकेनन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर भने चुनावमा पराजित भएका छन् । नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका उनी ५ हजार २९६ मतसहित चौथो स्थानमा रहे । उक्त क्षेत्रमा रास्वपाका केपी खनाल १६ हजार २४८ मतसहित विजयी भए । यसैबीच गण्डकी यातायातका संरक्षक भागवतप्रकाश मल्ल भने स्याङ्जा क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको तर्फबाट चुनावी मैदानमा होमिएका थिए तर विजयी हुन सकेनन् । रास्वपाका झवि लाल डुम्रे विजयी भएका छन् । उनी २५ हजार ३५४ मत प्राप्त गर्दै निर्वाचित भए भने मल्लले २० हजार ८३० मत पाएका छन् । यातायात तथा अटोमोबाइल क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र पूर्वाधार विकासका एजेण्डासहित चुनावी मैदानमा उत्रिएका यी व्यवसायीहरूको संसद् प्रवेशले आगामी दिनमा यातायात क्षेत्रसँग सम्बन्धित नीतिगत बहसलाई थप सशक्त बनाउने अपेक्षा अटो क्षेत्रले गरेको छ ।
संसदमा पुगे ४ ऊर्जा व्यवसायी
काठमाडौं । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ४ ऊर्जा उद्यमी संसदमा प्रवेश गरेका छन् । चारै जना ऊर्जा उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका श्रीराम न्यौपाने तनहुँ-२, भरतप्रसाद पराजुली सिन्धुपाल्चोक-१, जगदीश खरेल दोलखा तथा दीपककुमार साह विजयी भएका हुन् । रास्वपाका ऊर्जा तथा जलस्रोत विभाग प्रमुखसमेत रहेका श्रीराम न्यौपानेले तनहुँ-२ मा ३२ हजार ६८७ मत प्राप्त गर्दै विजय हासिल गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर भण्डारीले १४ हजार १३५ मत पाए । नागढुङ्गा सुरुङमार्ग आयोजनाका पूर्व आयोजना निर्देशकसमेत रहेका न्यौपाने सुरुङ निर्माण र ऊर्जा क्षेत्रका विज्ञका रूपमा परिचित छन् । यसैगरी, ऊर्जा उद्यमी भरतप्रसाद पराजुली २४ हजार ४१२ मतसहित सिन्धुपाल्चोक-१ बाट विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपाका माधव सापकोटाले १७ हजार ३२७ मत प्राप्त गरे । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का केन्द्रीय सदस्यसमेत रहेका पराजुली एकीकृत व्यापार कम्पनी तथा ब्रम्हायणी हाइड्रोपावरका अध्यक्ष हुन् । उनी लामो समयदेखि ऊर्जा क्षेत्र र सामाजिक कार्यमा सक्रिय छन् । यस्तै, दोलखाबाट जगदीश खरेल ३२ हजार ३७६ मतसहित निर्वाचित भएका छन् । उनी ऊर्जा उद्यमी कुमार खरेलका भाइ हुन् । उनको श्रीस्कार हाइड्रोपावर कम्पनी छ । खरेलका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार ४४९ मत प्राप्त गरे । खरेलले १४ हजार ९२७ मतान्तरले जित हात पारेका हुन् । सो क्षेत्रमा नेकपाका विशाल खड्काले १३ हजार ६५ मत तथा नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २९८ मत प्राप्त गरेका छन् । यसैगरी, सुनसरी-४ बाट दीपककुमार साह ४२ हजार ७७१ मतसहित विजयी भएका छन् । ऊर्जा व्यवसायीसमेत रहेका साहले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारे । कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे भने नेकपा एमालेका जगदिशप्रसाद कुसियैतले ८ हजार ६३१ मत र नेकपा (माओवादी) का महमद महफुज अन्सारीले ३ हजार ४३२ मत प्राप्त गरे । शाह इन्जिनियर, ऊर्जा विशेषज्ञ र समुदाय सशक्तीकरणका पहलकर्ता पनि हुन् । उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट मेकानिकल इन्जिनियरिङमा स्नातक र प्राकृतिक स्रोत विकासमा स्नातकोत्तर छन् । २३ वर्षभन्दा बढी समयदेखि उनी जलविद्युत् परियोजनाहरूमा इन्जिनियर, विशेषज्ञ र व्यवस्थापकको रूपमा सक्रिय छन् । उनले जलविद्युत् आयोजना सञ्चालन, मर्मतसम्भार, प्राविधिक निरीक्षण र नीति-व्यवस्थापनमा अनुभव हासिल गरेका छन् । ऊर्जा क्षेत्रका विज्ञ तथा व्यवसायीहरू संसदमा प्रवेश गरेसँगै ऊर्जा नीति, जलस्रोत विकास तथा पूर्वाधार निर्माणका विषय संसदमा थप प्राथमिकतामा पर्ने अपेक्षा गरिएको छ ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौंं । जवाफदेहिता निगरानी समितिले गत ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग’ प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ । समितिले आयोगको समग्र प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, मिडियालगायत आम नागरिकको सुसूचित हुन पाउने अधिकारको सम्मान गर्न माग गरेको हो । समितिका संयोजक राजुप्रसाद चापागाईंले मंगलबार प्रेस विज्ञप्ति जारी गरी उक्त आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, 'प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने भन्ने कुरा सरकारको तजबिजको विषय होइन प्रतिवेदनबारे जानकारी पाउने आम नागरिकको संविधानप्रदत्त अधिकार हो भने छानबिन प्रतिवेदनलाई यथाशीघ्र सार्वजनिक जानकारीमा ल्याउनु सरकारको दायित्व हो ।'
सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने
काठमाडौं । सरकारले ६ अर्ब रूपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयकाअनुसार सरककारले विकास ऋणपत्र बोलकबोल मार्फत ५ वर्षका लागि ६ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । विकास ऋणपत्र २०८७ नाम दिइएको उक्त ऋणपत्रको बोलकबोल २६ फागुनमा हुनेछ भने निष्कासन २७ फागुनमा हुनेछ । ऋणपत्रमा बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले बोलकबोल पेस गर्न सक्नेछन् । ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय हुने कार्यालयले जनाएको छ । बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिनेछ । उक्त ब्याजदर र त्यसभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध हुनेछ ।
कांग्रेसमा केसी, एमालेमा बादल उदाउँदै
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम लगभग स्पष्ट हुँदै जाँदा परम्परागत दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको संसदीय दलको नेतृत्व अब कसले सम्हाल्ने भन्ने नयाँ बहस सुरु भएको छ । निर्वाचन परिणामले देखाएको असामान्य राजनीतिक चित्रका कारण अहिले राजनीतिक वृत्तमा यो विषय सबैभन्दा बढी चर्चामा रहेको छ । यस पटकको निर्वाचनले दशकौंदेखि स्थापित राजनीतिक समीकरणलाई नै हल्लाइदिएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जस्ता शीर्ष नेताहरू प्रत्यक्ष निर्वाचनमै पराजित भएपछि संसद्भित्रको नेतृत्व संरचना नै बदलिने संकेत देखिएको हो । सामान्यतया संसद्मा सबैभन्दा प्रभावशाली नेताहरू नै संसदीय दलको नेतृत्वमा रहने अभ्यास रहँदै आएको भए पनि यस पटकको परिणामले त्यो परम्परा तोडिने सम्भावना देखाएको छ । प्रत्यक्ष निर्वाचनमा पार्टीका प्रमुख नेताहरू पराजित भएपछि दुवै दलभित्र अब संसद्मा रहेका नेतामध्ये कसले नेतृत्व लिने भन्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ । औपचारिक रूपमा संसदीय दल गठन गर्ने प्रक्रिया भने प्रत्यक्ष र समानुपातिक दुवैतर्फको अन्तिम परिणाम सार्वजनिक भएपछि मात्रै अघि बढ्नेछ । तर परिणाम आउने क्रमसँगै पार्टीभित्र अनौपचारिक छलफल, सम्भावित नामहरूको चर्चा र विभिन्न अनुमानहरू भने तीव्र रूपमा बढ्न थालेका छन् । राजनीतिक विश्लेषक पर्शुराम घिमिरेका अनुसार यो अवस्था केवल संसदीय दलको नेता चयनको विषय मात्र होइन, परम्परागत दलहरूको नेतृत्व संरचनामा सम्भावित पुस्तान्तरण र शक्ति पुन:सन्तुलनको संकेत पनि हो । शीर्ष नेतृत्व नै संसद् बाहिर रहने परिस्थितिले पार्टीहरूभित्र नयाँ अनुहार र नयाँ शक्ति केन्द्र उदाउने सम्भावना बढाएको घिमिरेको दाबी छ । शीर्ष नेतृत्व प्रत्यक्ष निर्वाचनमै पराजित भएर संसद् बाहिर रहने अवस्था बनेपछि दुवै दलभित्र नेतृत्वको नयाँ समीकरण बन्ने संकेत देखिएको छ । संसद्भित्र रहेका वरिष्ठ नेताहरू, समानुपातिक सूचीका अगुवा व्यक्तिहरू तथा पार्टीभित्र प्रभावशाली मानिने नेताहरूबीच संसदीय दलको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय अब निर्णायक बहसको विषय बन्ने देखिएको छ । यस कारण पनि यस पटकको निर्वाचन परिणाम केवल सिटको गणितमा सीमित नभई संसद्भित्रको नेतृत्व संरचना, दलहरूको आन्तरिक शक्ति सन्तुलन र आगामी राजनीतिक दिशालाई समेत प्रभावित गर्ने मोडको रूपमा हेरिएको छ । कांग्रेसमा केसीको सम्भावना नेपाली कांग्रेसको संसदीय दलको नेतामा समानुपातिक सूचीमा पहिलो नम्बरमा रहेका पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसीको सम्भावना बलियो देखिएको कांग्रेस नेताहरू बताउँछन् । कांग्रेसका पहिलो प्रवक्तासमेत रहेका केसीको संसदीय अनुभव लामो रहेको छ । विगतमा मन्त्री, संसदीय समिति तथा पार्टी संगठनमा सक्रिय भूमिका खेलेका केसीलाई संसदीय दलको नेतृत्वका लागि स्वाभाविक दावेदारका रूपमा हेरिएको छ । प्रत्यक्ष निर्वाचनमा कांग्रेसका शीर्ष तहका धेरै नेता पराजित भएपछि समानुपातिक सूचीका वरिष्ठ नेताहरूको भूमिका झनै महत्त्वपूर्ण बनेको छ । यस्तो अवस्थामा पूर्वसहमहामन्त्रीसमेत रहेका वरिष्ठ नेता केसी दलको नेता हुनसक्ने विषयलाई अन्यथा ठान्न नहुने नेताहरूको दाबी छ । एमालेमा रामबहादुर थापाको चर्चा यता नेकपा एमालेको संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापाको नाम चर्चामा रहेको एमाले नेताहरू बताउँछन् । २०६३ सालको अन्तरिम संसदबाट संसदीय यात्रा सुरु गरेका थापा माओवादी पृष्ठभूमिबाट एमालेमा आएका प्रभावशाली नेता हुन्। एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा थापा शीर्ष स्थानमा रहेकाले उनी प्रतिनिधिसभा सदस्य बन्ने सम्भावना लगभग निश्चित मानिएको छ । प्रत्यक्षतर्फ एमालेका उच्च तहका धेरै नेता पराजित भएकाले समानुपातिकतर्फबाट आउने नेतामध्ये थापा नै संसदीय दलको नेतृत्वमा पुग्न सक्ने अनुमान गरिएको छ । संसदमा घट्दै स्थापित दलको उपस्थिति यसपटकको निर्वाचन परिणामले प्रतिनिधिसभामा परम्परागत ठूला दलहरूको उपस्थिति उल्लेख्य रूपमा घट्ने देखिएको छ । कुल २७५ सदस्यीय प्रतिनिधिसभामा नेपाली कांग्रेस र नेकपा एमाले दुवैको संख्या अपेक्षाभन्दा निकै कम रहने तथ्यांकले देखाएको छ । नेपाली कांग्रेसले प्रत्यक्ष निर्वाचनतर्फबाट हालसम्म १८ सिट जितेको छ भने समानुपातिक प्रणालीबाट करिब २० जना सांसद बन्ने अनुमान गरिएको छ । यस अनुसार कांग्रेसको प्रतिनिधिसभामा कुल संख्या करिब ३८ पुग्ने देखिन्छ । त्यस्तै, नेकपा एमालेले प्रत्यक्षतर्फ केवल ९ सिट जितेको छ । समानुपातिक सूचीबाट करिब १६ जना सांसद बन्ने सम्भावना रहेको छ । यस आधारमा एमालेको प्रतिनिधिसभामा कुल संख्या करिब २५ पुग्ने देखिएको छ । यसरी हेर्दा संसदमा कांग्रेस र एमाले दुवै दलको उपस्थिति विगतको तुलनामा निकै कमजोर हुने स्पष्ट संकेत देखिएको छ । निवर्तमान प्रतिनिधि सभाको सबैभन्दा ठुलो दलको रूपमा कांग्रेसका ८८ जना र दोस्रो दल एमालेका ७९ जना सदस्य रहेका थिए ।