सार्क-जापान विशेष कोषसम्बन्धी समझदारी, १ करोड २० लाख रुपैयाँ प्रदान
काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई १ करोड २० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क-जापान विशेष कोष अन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।
मानव सेवा आश्रमले गरायो २ हजार ८०० बढीलाई पारिवारिक पुनर्मिलन
राम थापा काठमाडौं । मानव सेवा आश्रम सडक आश्रित मानवको उद्धारसँगै पारिवारिक पुनर्मिलनको माध्यम बनेको छ । परोपकारी संस्थाका रुपमा वि.सं २०७३ देखि औपचारिक सेवा सुरु गरेको मानव सेवा आश्रममार्फत हालसम्म २ हजार ८०० जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइएको हो । मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यालय रहेको आश्रमका कास्कीसहित २१ जिल्लामा ३० सेवा केन्द्र छन् । सडकबाट उद्धार गरेर आश्रममा ल्याइएका व्यक्तिको पारिवारिक पुनर्मिलनलाई पहिलो प्राथमिकता दिने गरिएको आश्रमका सह-कोषाध्यक्ष सुमिरा लामाले बताए । पारिवारिक पुनर्मिलन सम्भव नभएकालाई आश्रममै राखेर रेखदेख र पालनपोषण गर्ने गरिएको उनको भनाइ छ । ‘सडकबाट बेवारिसे अवस्थामा उद्धार गरिएका व्यक्तिलाई पारिवारिक पुनर्मिलन गराउन सकियो भने त्यो हाम्रो महत्वपूर्ण उपलब्धि हुन्छ,’ सह-कोषाध्यक्ष लामाले भने । मानव सेवा आश्रमले हजारौँको सङ्ख्यामा सडक आश्रित मानवको उद्धार गरेकोमा हालसम्म २२ सयभन्दा बढी उपचारपछि स्वैच्छिक रुपमा आश्रमबाट बाहिरिएको उनले बताए । देशभर रहेका सेवा केन्द्रमा हाल दुई हजारभन्दा बढी अशक्त, बेसहारा र अभिभावकविहीनहरूले आश्रम लिइरहेको उनको भनाइ छ । आश्रमले नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवर्द्धन महाअभियान’ सञ्चालन गर्दै आएको छ । कोही नागरिक सडकमा आश्रित हुनु नपरोस् भनेर झण्डै एक दशकअघि मानव सेवा आश्रम स्थापना गरिएको थियो । छोटो अवधिमै देशका विभिन्न जिल्लामा आश्रममा सेवा केन्द्र विस्तार गरिएको हो । सेवा केन्द्र विस्तारसँगै आश्रमका आफ्नै भवनलगायत संरचना बन्ने क्रम सुरु भएको छ । गण्डकी प्रदेशमा पनि कास्की, बागलुङ, लमजुङ र गोरखा शाखाको भवन निर्माणाधीन अवस्थामा छ । सरकारी निकाय, विभिन्न सङ्घसंस्था र अन्य दाताहरुको सहयोगमा आश्रमका भवन बनिरहेका हुन् । आश्रमले सडक आश्रित मानवहरुको व्यवस्थापन, औषधोपचार र पालनपोषण गर्दै आएको छ । ‘सबैका लागि खाना, नाना र छाना’ को आदर्श वाक्यसहित नेपाललाई सडक आश्रित मानवरहित राष्ट्र बनाउने महाअभियानमा मानव सेवा आश्रम जुटेको हो । आश्रमले तत्कालीन योजनामा आश्रमका भवन निर्माण, सडक आश्रित मानवरहित नेपाल घोषणा, मानवता अध्ययन केन्द्र स्थापना र ज्येष्ठ नागरिक मनोरञ्जन केन्द्र निर्माणलाई अघि सारेको छ । मध्यकालीन योजनामा वि.सं २०८७ भित्र मानव सेवा आश्रमलाई मानवता, परोपकार र सामाजिक विषयको अध्ययन तथा अवलोकन गन्तव्यका रुपमा विकास गर्ने र सातै प्रदेशमा मानसिक स्वास्थ्य लाभ केन्द्र (अस्पताल) स्थापना गर्ने लक्ष्य लिइएको छ ।
सिन्धु फलफूल र पञ्चकन्या त्रिदेव डेरीलाई विभागको डण्डा
काठमाडौं । नियमित रुपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १३ वटा फर्ममाथि अनुगमन गरेको छ । अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले २ वटा फर्मलाई जरिवाना गरेको छ । विभागले सिन्धु फलफूल तथा फ्रेस सेन्टर मध्यपुर थिमीलाई २० हजार रुपैयाँ र पञ्चकन्या त्रिदेव डेरी पसल नयाँ बानेश्वरलाई १० हजार रुपैयाँ जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम ती २ फर्ममाथि जरिवाना गरिएको हो । यस्तै, विभागले थप ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय सरोकारवाला तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ ।
अफ्रिकन स्वाइन सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरे
काठमाडौं । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुर पालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका क्षेत्रमा पालिएका केही बङ्गुरमा ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भाग नीलो हुने, खाना नखाने र अचानक मृत्यु हुने जस्ता लक्षण देखिएपछि परीक्षण गरिएको थियो । नमूना सङ्कलन गरी गरिएको र्यापिड किट परीक्षणमा अफ्रिकन स्वाइन फिभर पोजेटिभ देखिएको कार्यालयले जनाएको छ । थप पुष्टि गर्न नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, पोखरा पठाइएको कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले जानकारी दिए । कार्यालयले रोगको शङ्का देखिएको क्षेत्रमा अनुगमन बढाएको छ । साथै रोग फैलिन नदिन किसानलाई बङ्गुर पालनस्थल सफा राख्ने, फार्ममा नियमित रूपमा चुन, ब्लिचिङ पाउडर, फर्मालिन लगायतका औषधि प्रयोग गरी निसङ्क्रमण गर्ने, बिरामी बङ्गुरलाई छुट्टै राख्ने र फार्ममा जैविक सुरक्षा अपनाउन आग्रह गरिएको उनले बताए । शङ्कास्पद अवस्थामा बङ्गुरको नमूना प्रयोगशालामा परीक्षण गराउन, मरेका बङ्गुरलाई गहिरो खाडल खनेर गाड्न वा जलाउन, घरपालुवा बङ्गुरलाई जङ्गली बङ्गुरसँग सम्पर्क हुन नदिन तथा होटल वा भान्साबाट निस्कने फोहर खुवाउन नहुने उनको भनाइ छ । पर्वतका विभिन्न पालिकामा गरी ४० भन्दा बढी व्यावसायिक बङ्गुर फार्म रहेका छन् । अहिले सदरमुकाम आसपास यो रोग पुष्टि भएको र आवश्यक सतर्कता नपनाएमा अन्य क्षेत्रमा सङ्क्रमण बढ्ने खतरा रहेकोले कृषकहरुलाई सचेत हुन आग्रह गरिएको छ ।
तीन महिनापछि पोखरा–जोमसोम हवाई सेवा सञ्चालन
मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत तीन महिनादेखि बन्द रहेको (पोखरा–जोमसोम) हवाई सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । तर, (पोखरा–जोमसोम) हवाई सेवा सञ्चालनका लागि सोमबार तारा एयरलाइन्सको उडान र मङ्गलबार तारा एयरलाइन्स र समिट एयरलाइन्सको उडान तालिका तय गरिएको भए पनि प्रतिकूल मौसमका कारण हवाई उडान सुरु हुन नसकेको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । यसअघि (पोखरा—जोमसोम) हवाई उडान गर्दै आइरहेको निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले डिसेम्बर ४ तारिखदेखि मार्च १ तारिखसम्म हवाई सेवा बन्द गर्ने निर्णय गरेको थियो । यसैगरी यहाँ उडान भर्दै आइरहेको अर्को निजी वायुसेवा कम्पनी समिट एयरलाइन्सले पनि डिसेम्बर १ देखि फेब्रुअरी १ सम्म पोखरा–जोमसोम हवाई उडान सेवा बन्द गर्ने निर्णय गरेको थियो । हिउँदयामको अत्यधिक चिसो, सम्भावित हिमपात र प्रतिकूल मौसमका कारण बन्द गरिएको पोखरा–जोमसोम हवाई उडान सेवा निजी वायुसेवा कम्पनीले जनाएअनुसार तोकिएको समयभन्दा केही ढिला गरी सञ्चालनमा ल्याइएको हो । यहाँ नियमित रूपमा उडान गर्दै आइरहेको तारा एयरलाइन्स कम्पनीले मार्च १ तारिखदेखि हवाई उडान सुचारु गर्ने जनाएपछि फागुन २१ गतेको निर्वाचनका कारण एक हप्ता ढिलो गरी सञ्चालनमा ल्याउन लागेको हो । यसैगरी यहाँ उडान भर्ने गरेको निजी वायुसेवा कम्पनीले पनि फेब्रुअरी १ तारिखदेखि ९पोखरा–जोमसोम¬० हवाई सेवा सञ्चालनमा ल्याउने जनाएता पनि निर्वाचनको समय परेकाले एक महिना बढी ढिलो गरी सञ्चालनमा ल्याएको हो । मौसम प्रतिकूलता तथा पर्यटकीय अफसिजनका कारण उडान स्थगित भएको पोखरा-जोमसोम हवाई सेवा तीन महिनापछि सञ्चालनमा आइसकेको जोमसोम नागरिक उड्डयन कार्यालयका प्रमुख दीपक पोखरेलले जानकारी दिए । उनका अनुसार सोमबारदेखि हवाई सेवा सञ्चालनमा ल्याउने सबै तयारी भइरहेकोमा खराब मौसमका कारण सोमबार र मङ्गलबार निजी वायुसेवा कम्पनीका टुइनेटर जहाजहरूले उडान भर्न सकेको छैन । तीन महिनापछि सोमबार तारा एयरको जहाज र मङ्गलबार तारा र समिट एयरलाइन्सको उडान तालिका रहेकोमा प्रतिकूल मौसमका कारण हवाई उडान हुन नसकेको नागरिक उड्डयन प्रमुख पोखरेलको भनाइ छ । मङ्गलबार पोखराबाट जोमसोमका लागि तारा एयरलाइन्सको दुई उडान र समिट एयरलाइन्सको तीन उडान तय भएकोमा मौसम प्रतिकूलताका कारण उडान रद्द हुन पुगेको बताए । मौसम खुलेमा पोखरा–जोमसोम हवाई सेवा नियमित हुने प्रमुख पोखरेलले उल्लेख गरे । वसन्त ऋतुको आगमनसँगै मुस्ताङमा पर्यटकीय चहलपहल हुने भएकाले बर्सेनि यहाँ उडान भर्ने निजी वायुसेवा कम्पनीले पुस र माघ महिना पूरै उडान बन्द गरेर फागुन महिनामा पुनः हवाई उडान सेवा सञ्चालन गर्ने गरिन्छ । यस वर्ष पर्यटकीय याम सुरु भएको भए पनि फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण पर्यटकको आगमन हुन नसकेको हो । मुक्तिनाथ दर्शनका लागि मुस्ताङमा अधिकांश भारतीय पर्यटकहरू पोखरा–जोमसोम हवाई मार्गबाट आउने गरेकोमा सिमानाका बन्द भएकाले पनि हवाई सेवा प्रभावित भएको हो । तारा एयरलाइन्स जोमसोमका स्टेसन इञ्चार्ज सुचन लालचनले निर्वाचनका कारण पर्यटकको आगमन प्रभावित भएको भए पनि अब निर्वाचन सकिएका हवाई यात्रा गर्ने पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरे । निर्वाचन सकिएकाले पोखरा–जोमसोम हवाई सेवाका लागि हवाई यात्रुहरूले धमाधम टिकट बुकिङ गर्न थालेको उनको भनाइ छ । मुस्ताङमा बर्सेनि डेढ लाख विदेशी पर्यटक भित्रिने गरेकोमा ७० प्रतिशत विदेशी पर्यटक भारतीय दर्शनार्थी रहेको छ । पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि विगतको तुलनामा पोखरा–जोमसोम हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ । पछिल्लो समय भारतीय पर्यटक बेनी–जोमसोम सडकमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने भएकाले हवाई उडान घट्दै गइरहेको छ । कुनै समय मुस्ताङमा निजी वायुसेवा कम्पनीले दैनिक १८ वटासम्म उडान भर्ने गरेका थिए । पछिल्लो समय यहाँ दैनिक १० वटाभन्दा बढी उडान हुन सकेको छैन । मुस्ताङमा पोखरा–जोमसोम हवाई उडानका लागि तारा एयरलाइन्स र समिट एयरलाइन्सको जहाजले मात्रै उडान भर्दैआइरहेका छन् । नेपाल वायुसेवा कम्पनीको जोमसोममा टिकट बुकिङ कार्यालय सञ्चालनमा रहे पनि लामो समयदेखि नेपाल वायुसेवा कम्पनीको हवाई उडान सेवा सञ्चालन हुन सकिरहेको छैन ।
काठमाडौं उपत्यकामा चल्ने सवारीसाधन अब सायरी लेख्न नपाइने
काठमाडौं । के तपाईंले काठमाडौं उपत्यकामा सडकमा सञ्चालन आएका सवारीसाधनमा सायरी तथा कविता देख्नु भएको छ ? यदि त्यस्तो कविता वा सायरी देख्नु भएको छ भने अबदेखि देख्न पाउनु हुनेछैन । काठमाडौंलगायत देशभरका सडकमा सञ्चालनमा रहेका सवारीसाधनमा कविता सायरी नदेख्ने कमै नेपाली होलान् । ठूला-ठूला मालवाहक ट्रक र सार्वजनिक यातायातमा सायरी र कविता लेखिएका हुन्छन् । अब भने काठमाडौं उपत्यकाका सडकमा सञ्चालन हुने निजी तथा सार्वजनिक यातायातमा समेत कविता, सायरी तथा टुक्का देख्न पाइनेछैन । सवारीसाधनमा रंगरोगन तथा स्टीकर र झल्लर राख्‍नसमेत नपाइने काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको हो । काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीसाधनहरुमा रंगरोगन, स्टीकर, सायरी, झल्लर जस्ता सामग्री राखेर चलाएको सवारीसाधनलाई ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको छ । सवारीसाधनमा रंगरोगन, स्टीकर, सायरी, झल्लर सामग्रीहरू नराखी चलाउन उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोधसमेत गरेको छ ।
मध्यपूर्व द्वन्द्व : एसियामा इन्धन संकट, चारदिने कार्यसप्ताह र विद्यालय बन्द
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण ऊर्जा आपूर्ति प्रभावित भएपछि एसियाली देशहरूमा इन्धन अभाव बढ्दै गएको छ । यसले सरकारहरूलाई इन्धन प्रयोगमा कडा प्रतिबन्ध लगाउन र नागरिकलाई आत्तिएर अत्यधिक खरिद नगर्न आग्रह गर्न बाध्य बनाएको छ । भियतनामले केही पेट्रोलियम पदार्थमा आयात शुल्क घटाएको छ र निर्यातका लागि अझै सम्झौता नभएको तेल घरेलु रिफाइनरीलाई बिक्री गर्नुपर्ने निर्णय गरेको छ । देशको नागरिक उड्डयन प्राधिकरणले अप्रिलको सुरुवातदेखि जेट इन्धनको अभाव देखिन सक्ने चेतावनी दिएको छ, किनभने आपूर्तिकर्ताहरूले डेलिभरी ढिल्याइरहेका छन् वा ‘फोर्स मेज्योर’ (सम्झौता वा करारमा प्रयोग हुने कानुनी शब्द, जसको अर्थ मानिसको नियन्त्रणभन्दा बाहिरका अप्रत्याशित घटनाका कारण कुनै पक्षले आफ्नो सम्झौतागत दायित्व पूरा गर्न नसक्ने अवस्था हो।) धारा प्रयोग गरेर सम्झौता रद्द गर्न सक्ने सम्भावना देखिएको छ। थाइल्याण्डमा सरकारले ऊर्जा माग घटाउन आपत्कालीन उपायका रूपमा सरकारी निकायहरूलाई (वर्क–फ्रम–होम) गर्ने व्यवस्था अपनाउन निर्देशन दिएको छ र अत्यावश्यक बाहेकका विदेश भ्रमणहरू स्थगित गरेको छ । लगभग सबै तेल आयात गर्ने फिलिपिन्सले भने सरकारी कार्यालयहरूका लागि अस्थायी रूपमा चार दिनको कार्यसप्ताह लागू गरिसकेको छ । त्यहाँ लिफ्ट प्रयोगमा सीमा लगाइएको छ र एयर–कन्डिसनरको तापक्रम कम्तीमा २४ डिग्री सेल्सियसमा राख्न भनिएको छ । पाकिस्तानले पनि कार्यसप्ताह घटाएको छ, विद्यालयहरू बन्द गरेको छ र प्रधानमन्त्री शहबाज शरीफले सोमबार राति टेलिभिजन सम्बोधनमार्फत घोषणा गरेका एक दर्जनभन्दा बढी मितव्ययी उपायअन्तर्गत मन्त्रिपरिषद्का सदस्यहरूको तलब अस्थायी रूपमा रोकेको छ । भारतले आपत्कालीन अधिकार प्रयोग गर्दै उद्योगहरूका लागि प्रयोग हुने तरल पेट्रोलियम ग्यास (एलपीजी) घरेलु प्रयोगका लागि मोड्ने निर्णय गरेको छ । इमके ग्लोबल फाइनान्सियल सर्भिसेज लिमिटेडकी अर्थशास्त्री माधवी अरोराका अनुसार अहिले समस्या केवल मूल्यको मात्र नभई मुख्यतः आपूर्तिको हो। उनका अनुसार भारतको आपत्कालीन ऊर्जा भण्डार पनि तीव्र रूपमा घट्दै गएको छ । ‘अभावको अवस्थामा कुनै पनि सरकारले उद्योगभन्दा पहिले आफ्ना नागरिकलाई प्राथमिकता दिन्छ,’ उनले भनिन्, ‘तर उद्योगहरू प्रभावित हुँदा अन्ततः आर्थिक वृद्धिमा पनि असर पर्छ ।’ फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि मध्यपूर्व र त्यसबाहिर अस्थिरता फैलिएको छ । तेल र ग्यास उपभोक्ताहरूलाई इरानले ऊर्जा पूर्वाधारमाथि आक्रमण गर्न सक्ने र विश्वको झण्डै पाँचौं हिस्सा तेल तथा तरल प्राकृतिक ग्यास बोक्ने होर्मुज जलडमरू बन्दजस्तै हुन सक्ने चिन्ताले आपूर्ति अवरुद्ध हुने डर बढेको छ। एक दर्जनभन्दा बढी देशहरू तानिएको यस संघर्षका कारण कच्चा तेल, प्राकृतिक ग्यास र डिजेलजस्ता उत्पादनसहित विश्वव्यापी ऊर्जा मूल्य तीव्र रूपमा बढेको छ। पर्सियन खाडीका प्रमुख उत्पादकहरूले उत्पादन घटाउनुपरेपछि सोमबार कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब १२० डलरसम्म पुगेको थियो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध ‘छिट्टै समाधान हुने’ बताएपछि मूल्य केही घटेको थियो । यसको असर एसियाभर देखिन थालेको छ । विमान कम्पनीहरूले टिकट मूल्य बढाउन थालेका छन् र आवश्यक परे जहाज ग्राउन्ड गर्ने विकल्पसहित आपत्कालीन योजना बनाइरहेका छन् । सञ्चालन निरन्तर राख्न मद्दत गर्ने उद्देश्यले विमान कम्पनीहरूलाई इन्धन अधिभार लगाउन र आन्तरिक उडानको भाडा सीमा समायोजन गर्न दिने प्रस्ताव पनि गरिएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार राष्ट्रिय ध्वजावाहक कम्पनी भियतनाम एयरलाइन्सको सञ्चालन खर्च मासिक ५० देखि ६० प्रतिशतसम्म बढ्न सक्छ । वैश्विक उड्डयन परामर्श कम्पनी बीएए एण्ड पार्टनर्सका संस्थापक लिनस बेन्जामिन बाउरका अनुसार एसियाली विमान कम्पनीहरू पश्चिमी प्रतिस्पर्र्धीहरूको तुलनामा मध्यपूर्वका अवरोधबाट संरचनात्मक रूपमा बढी प्रभावित हुन्छन्। धेरै एसियाली कम्पनीहरूले इन्धनको जोखिम व्यवस्थापन (हेजिङ) पनि कम गर्ने भएकाले लागतको झट्का छिट्टै नाफा–नोक्सानमा देखिन्छ। जमिनमा पनि संकटको प्रभाव देखिन थालेको छ । मनिलादेखि हानोइसम्म पेट्रोल पम्पहरूमा लामो लाइन लागेका छन् । भियतनामको उद्योग तथा व्यापार मन्त्रालयले नागरिक र व्यवसायलाई अवैध रूपमा पेट्रोल भण्डारण नगर्न आग्रह गर्दै सार्वजनिक यातायात प्रयोग गर्ने वा छोटो दूरी साइकलमा यात्रा गर्ने जस्ता इन्धन बचत उपाय अपनाउन अनुरोध गरेको छ । थाइल्याण्डले आयातित कच्चा तेलको माग घटाउन बायोफ्युल मिश्रणको प्रयोग बढाउने योजना बनाएको छ । ऊर्जामन्त्री अत्तापोल रेकपिबूनका अनुसार घरपरिवारलाई बढ्दो ऊर्जा लागतबाट जोगाउन मे महिनासम्म एलपीजीको मूल्य स्थिर राखिनेछ । यातायात मन्त्री पिफाट राचाकिटप्राकर्नले पनि सम्भावित इन्धन अभावबारे बढ्दो चिन्ताका बीच नागरिकलाई आत्तिएर अत्यधिक खरिद नगर्न आग्रह गरेका छन् । थाइ मिडियाले म्यानमार सीमाना नजिकका पेट्रोल पम्पहरूमा ‘म्यानमारका सवारीसाधनलाई इन्धन छैन’ भन्ने सूचना टाँसिएको दृश्य देखाएका छन्। म्यानमारमा सैन्य सरकार अन्तर्गत इन्धन आपूर्तिबारे चिन्ता बढेपछि पछिल्लो एक सातादेखि त्यहाँ पेट्रोल पम्पहरूमा लामो लाइन लागिरहेको छ । उता फिलिपिन्स सरकारले सार्वजनिक यातायात सञ्चालकहरूलाई अनुदान दिने आश्वासन दिएको छ । फिलिपिन्सकी ऊर्जा सचिव शेरोन गारिनका अनुसार देशसँग भण्डारणमा रहेको वा बाटोमा रहेको कच्चा तेल अप्रिलसम्म पुग्ने पर्याप्त छ । सरकारले निजी कम्पनीहरूसँग मिलेर अमेरिका, अस्ट्रेलिया र अफ्रिकाबाट तेल आपूर्ति गर्ने विषयमा वार्ता गरिरहेको छ । ‘प्रश्न केवल हामी त्यसका लागि कति मूल्य तिर्न तयार छौं भन्ने मात्र हो,’ उनले भनिन् । उता भियतनामले भेनेजुएलाबाट कच्चा तेल आयात गर्ने सम्भावनाबारे पनि विचार गरिरहेको स्थानीय समाचार वेबसाइट भीएनएक्सप्रेसले उपव्यापारमन्त्री गुयेन सिन्ह न्हात तानलाई उद्धृत गर्दै जनाएको छ । (ब्लूमबर्गबाट अनुदित तथा सम्पादित) अन्य सामग्रीहरू : इरानको भविष्य मोज्तबा खामेनेईको हातमा, के उनले सत्ता चलाउन सक्लान् ? मध्यपूर्वको रापमा विश्व अर्थतन्त्र : केन्द्रीय बैंकहरूको ‘अग्निपरीक्षा’ र मुद्रास्फीति बढाउने जोखिम इरान : शून्यमा सत्ता, संकटमा शासन खाडी संकट गहिरिँदै : बीमा कम्पनीहरू पछि हट्दा विश्व ऊर्जा बजार त्रसित इरान र इजरायल : मित्रतादेखि कट्टर दुश्मनीसम्म, यस्तो छ नालीबेली
ग्यास अभावले भारतका होटल र रेस्टुरेन्ट व्यवसाय जोखिममा
काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण इन्धन आपूर्तिमा अवरोध आएपछि भारत सरकारले प्राकृतिक ग्यास र खाना पकाउने ग्यासको वितरण कडा बनाएको छ । सरकारी आदेशपछि देशभरका रेस्टुरेन्ट तथा होटलहरूले ग्यास आपूर्ति रोकिँदा व्यापक रूपमा व्यवसाय बन्द हुन सक्ने चेतावनी दिएका छन् । भारत विश्वकै सबैभन्दा धेरै जनसङ्ख्या भएको देश हो र तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) को चौथो ठूलो क्रेता मानिन्छ । त्यस्तै खाना पकाउन प्रयोग हुने तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को दोस्रो ठूलो आयातकर्ता पनि भारत नै हो, जसको ठूलो हिस्सा मध्यपूर्वबाट आउने गर्दछ । पेट्रोलियम मन्त्रालयले मङ्गलबार जारी गरेको आदेशमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण होर्मुज जलडमरूमध्य हुँदै हुने एलएनजी ढुवानीमा अवरोध आएको उल्लेख गरेको छ । मन्त्रालयका अनुसार नयाँ व्यवस्था लागू गरेर प्राथमिकता क्षेत्रहरूमा ग्यासको समान वितरण र निरन्तर उपलब्धता सुनिश्चित गर्ने उद्देश्य राखिएको छ । सरकारले घरपरिवार, यातायात क्षेत्र र एलपिजी उत्पादनलाई ग्यास आपूर्तिमा पहिलो प्राथमिकता दिन आदेश दिएको छ । यसबाहेक मल कारखाना र चिया उद्योगजस्ता अन्य क्षेत्रले उपलब्धताका आधारमा आफ्नो आवश्यकताको करिब ७० देखि ८० प्रतिशत मात्रै ग्यास पाउनेछन् । आपूर्ति सन्तुलन मिलाउन पेट्रोकेमिकल उद्योग र विद्युत् उत्पादन केन्द्रहरूमा दिइने ग्यास पूर्ण वा आंशिक रूपमा कटौती गरिने जनाइएको छ । ग्यास आपूर्तिमा कटौती सुरु भइसकेको भन्दै केही भारतीय उद्योगहरूले उत्पादनमा असर पर्न सक्ने चेतावनी दिइसकेका छन् । सिरेमिक र टाइल उत्पादन गर्ने धेरै कम्पनीले ग्यास अभावका कारण उत्पादन प्रभावित हुन सक्ने बताएका छन् । यसैबीच घरपरिवारलाई एलपिजी आपूर्तिमा प्राथमिकता दिने अर्को सरकारी आदेश सोमबार जारी भएपछि रेस्टुरेन्ट र होटल व्यवसायीहरू थप चिन्तित बनेका छन् । भारतको नेसनल रेस्टुरेन्ट एसोसिएसनले सरकारी निर्णयपछि देशभरका एलपिजी आपूर्तिकर्ताहरूले रेस्टुरेन्टहरूमा ग्यास आपूर्ति रोक्न सक्ने सङ्केत दिएको जनाएको छ । संस्थाका अनुसार रेस्टुरेन्ट उद्योग सञ्चालनका लागि मुख्य रूपमा व्यावसायिक एलपिजीमा निर्भर रहने भएकाले आपूर्तिमा कुनै अवरोध आए व्यापक रूपमा व्यवसाय बन्द हुने जोखिम छ । 'रेस्टुरेन्ट उद्योग मुख्यतया आफ्नो सञ्चालनका लागि व्यावसायिक एलपिजीमा निर्भर छ', सङ्घले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'यसमा अवरोध आए धेरैजसो रेस्टुरेन्टहरू विनाशकारी रूपमा बन्द हुन सक्छन् ।' दक्षिण भारतको प्रविधि केन्द्रका रूपमा चिनिने बेङ्गलुरुमा होटल उद्योग सङ्घका प्रमुख पीसी रावले पनि स्थिति चिन्ताजनक भएको बताए । उनका अनुसार ग्यास आपूर्ति प्रभावित भइसकेको छ र धेरै साना रेस्टुरेन्ट तथा होटलमा एकदेखि दुई दिनका लागि मात्र ग्यास मौज्दात बाँकी छ । 'अवस्था डरलाग्दो छ', रावले भने, 'अब धेरै प्रतिष्ठानहरूले परिस्थितिलाई ध्यानमा राख्दै आफ्नो मेनु घटाउने वा परिवर्तन गर्नेबारे सोच्न थालेका छन् ।' रासस