नाइमाले गर्यो ट्राफिक र यातायात कार्यालयलाई करिब ३० लाखको सहयोग
काठमाडौं । नेपाल अटोमोबील इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएशन (नाइमा) ले ट्राफिक र यातायात कार्यालयलाई सहयोग गरेको छ । नाइमाले जेनजी आन्दोलनका क्रममा प्रभावित यातायात व्यवस्था विभाग र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई करिब ३० लाख रुपैयाँ बराबरको सहयोग गरेको हो । नाइमाको यो सहयोगले सेवाग्राहीको बढी भीड लाग्ने दुई महत्त्वपूर्ण सरकारी कार्यालयको भौतिक स्वरूपमा सुधार आएको छ । नाइमाले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई १२ लाख ८४ हजार रुपैयाँ बराबरको अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ । ट्राफिक कार्यालयलाई दुई थान डेस्कटप कम्प्युटर, एक थान प्रिन्टर, एसी, फर्निचर तथा फर्निसिङका सामग्रीहरू र कार्यालयका लागि आवश्यक पर्दाहरू उपलब्ध गराइएको हो । यी सामग्रीले ट्राफिक प्रहरीको दैनिक कार्यसम्पादन र अभिलेख व्यवस्थापनमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ । ‘ट्राफिक कार्यालयमा हामीले १२ लाख ८४ हजार बराबरको सहयोग गरेका हौं,’ नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले भने । यातायात व्यवस्था विभागको भवन मर्मतसम्भारका लागि नाइमाले १६ लाख ९३ हजार रुपैयाँ बराबरको सहयोग गरेको छ । यो रकमबाट कार्यालय भवनका सम्पूर्ण पुराना झ्याल–ढोकाहरू विस्थापित गरी नयाँ युपीभीसीका झ्याल–ढोका जडान गरिएको छ । ‘यातायात कार्यालयको भवनमा माथिदेखि तलसम्मका सबै सिसा, झ्याल र ढोका हामीले नै हालिदिएका हौं,’ उनले थपे, ‘यसले कार्यालयको मुहार नै फेरिएको छ ।’ यो सहयोग हाललाई एक पटकका लागि भएको र परियोजना सम्पन्न गरी हस्तान्तरण गरिसकिएको नाइमाले जनाएको छ । ‘हाम्रो तर्फबाट यो सहयोगको काम सकियो र हामीले ह्यान्डओभर गरिसक्यौं,’ नाइमाका कार्यकारी निर्देशक दुलालले भने, ‘तर भविष्यमा कुनै आपतकालीन अवस्था आइपरेमा हामी फेरि पनि सहकार्य गर्न तयार छौं । ’ नाइमाले उपलब्ध गराएको सहयोग सामग्री बुधबार (आज) नाइमाकी अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ र कार्यकारी निर्देशक दुलालसहितको टोलीले हस्तान्तरण गरेको थियो । हस्तान्तरण कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले आपतकालीन अवस्थामा नाइमाबाट प्राप्त सहयोग अत्यन्तै महत्त्वपूर्ण रहेको बताए । उक्त सहयोगकै कारण विभागले पुनः आफ्नै कार्यालयबाट सेवा सञ्चालन गर्न सक्षम भएको उल्लेख गर्दै उनले नाइमाप्रति आभार व्यक्त गरे । यस्तै, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक नवराज अधिकारीले नाइमाबाट प्राप्त संस्थागत तथा सदस्यहरूद्वारा गरिएको आपतकालीन सहयोगको उच्च प्रशंसा गरे । स्थापनाको छोटो समयमै नाइमाले ट्राफिक प्रहरीसँग दीर्घकालीन सहकार्य र साझेदारी स्थापना गर्न सफल भएको उल्लेख गर्दै उनले ट्राफिक शिक्षा र व्यवस्थापनमा नाइमालाई भरपर्दो सहयात्रीको रूपमा चित्रण गरे । कार्यक्रममा नाइमा अध्यक्ष वैद्यले संकटको घडीमा सानो भए पनि सहयोग गर्न पाएकोमा गर्व लागेको बताइन् । सार्वजनिक सेवा प्रवाहमा संलग्न निकायहरूसँग सहकार्य गर्नु नाइमाको कार्यगत अवधारणा रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सहकार्यलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता जनाइन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक : संक्षिप्त महाधिवेशनमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संक्षिप्त महाधिवेशनको तालिकामा छलफल सुरु गरेको छ । मंसिर १५ मा सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिकाअनुसार महाधिवेशन सम्पन्न गर्न असम्भव भएकोले कार्यतालिकामा परिवर्तन गर्नेगरी छलफल सुरु गरिएको हो । पार्टीले मंसिर १५ गते सार्वजनिक गरेको कार्यतालिकाअनुसार पुस १६ गतेदेखि वडा अधिवेशन सुरु गरी ६ तहको अधिवेशन सम्पन्न गरेर पुस २६ देखि २८ सम्म केन्द्रीय महाधिवेशन गर्ने योजना बनाएको थियो । तर हालसम्म क्रियाशील सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणको काम पूरा हुन सकेको छैन । सदस्यता वितरणमा ढिलाइ भएकोले प्रारम्भिक कार्यतालिका प्रभावित भएको छ । यसलाई मध्यनजर गर्दै बैठकमा अब वडा अधिवेशनको मिति केही पर सार्ने र तीन तहको अधिवेशन मात्र सम्पन्न गर्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । अघिल्लो केन्द्रीय समिति बैठकमा नेता डा. शेखर कोइरालाले संक्षिप्त महाधिवेशनमा छलफल गर्न चाहेका थिए । तर त्यतिबेला उक्त प्रस्ताव सुन्ने मुडमा नेताहरू नभएकोले प्रस्ताव छायाँमा परेको थियो । नयाँ कार्यतालिकाअनुसार वडा अधिवेशन पुस २० गते, क्षेत्रीय अधिवेशन पुस २३ र २४ गते र केन्द्रीय महाधिवेशन पुस २६ देखि २८ गतेसम्म सम्पन्न गर्ने तयारी भइरहेको महामन्त्री गगनकुमार थापाले जानकारी दिए । बैठकमा सहभागी नेताहरूले क्रियाशील सदस्यता वितरण, अधिवेशन संचालन प्रक्रिया र समय व्यवस्थापनबारे विभिन्न धारणा राखेका थिए । केही सदस्यहरूले कार्यतालिका समयमै पूरा गर्ने चुनौतीलाई समेत औंल्याएको एक नेताले जानकारी दिए । केही सदस्यहरूले तीन तहको अधिवेशनबाट कार्यतालिकालाई सरल बनाउने पक्षमा विचार व्यक्त गरेका थिए । संक्षिप्त मोडेलमै कांग्रेसको १५ औं महाधिवेशन, निर्वाचन अगाडि तीन तहको अधिवेशन कांग्रेसमा शेखर समूहले ल्यायो ‘मध्यमार्गी’ प्रस्ताव
नेपाल क्लियरिङ हाउसको वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान गरिएको हो । नेपाल क्लियरिङ हाउसले मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंक तथा सबैभन्दा बढी डिजिटल सरकारी कारोबार गर्ने बैंकका रूपमा पुरस्कृत गरिएको हो । उक्त सम्मान बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालले ग्रहण गरेका थिए । यस उपलब्धिप्रति राष्ट्रिय वाणिज्य बैंकले सम्पूर्ण व्यावसायिक मर्चेन्टहरू, ग्राहक महानुभावहरू तथा समग्र कर्मचारीहरूप्रति हार्दिक आभार प्रकट गर्दछ । बैंकले भविष्यमा पनि डिजिटल बैंकिङ प्रवर्द्धन, सुरक्षित तथा प्रभावकारी भुक्तानी प्रणालीको विस्तार र ग्राहक–केन्द्रित सेवामा थप प्रतिबद्ध भएर अघि बढ्नेछ । डिजिटल कारोबारलाई सहज, सरल र सुरक्षित बनाउने उद्देश्यसहित राष्ट्रिय वाणिज्य बैंकले गरेको निरन्तर प्रयासको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको बैंकको विश्वास रहेको छ ।
वाल्डो क्यासिनोमा जुवा खेलाउने भारतीय गिरोहका नाइकेसहित ६ जना प्रहरी हिरासतमा
काठमाडौं । काठमाडौंको ठमेलस्थित छाया सेन्टरमा रहेको वाल्डो क्यासिनोमा अवैध रूपमा जुवा खेलाउने भारतीय गिरोहका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै अवैध क्यासिनो खेलाउने कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी परिसरको हिरासतमा राखिएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै परिसरका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले भारतीय क्यासिनो इभेन्ट गिरोहका नाइके सुरेश महाजनसहित प्रमोद मोरिया, दिनेश वर्मा, विक्रम सिंह, चिजा खड्का र भवानी पाण्डे पक्राउ गरिएको बताए । उनले नेपाली नागरिकलाई समेत अवैध क्यासिनोको आवरणमा ठगी कार्यमा संलग्न थप ७ जनाको पहिचान भइसकेको जानकारी दिँदै खोजि कार्य भइरहेको समेत बताए । उनकाअनुसार क्यासिनोमा छापाका क्रममा जुवा खेल्न प्रयोग हुने तास, सेन्सर जडित उपकरण, लेन्सलगायत सामग्री बरामद प्रहरीले बरामद गरेको छ । अवैध जुवा खेलाउने गिरोहका मुख्य नाइके सुरेश महाजन भारतीय नागरिक रहेको समेत बताए । उनका अनुसार आचार्य ‘क्यासिनो इभेन्ट ग्रुप’ तथा ‘बीपी एण्ड महाकाय ग्रप’का सञ्चालक समेत रहेको खुलेको छ । उक्त ग्रुपले नेपाल, भारत, श्रीलंका, भियतनाम र कम्बोडियालगायत देशहरूमा क्यासिनो इभेन्टका नाममा अवैध जुवा खेलाउँदै आएको समेत जानकारी दिए । बीपी एण्ड महाकाय ग्रुप अन्तर्गत क्यासिनो प्लेयर्स मंसिर २५ गते मात्र करिब ७० जना नेपाल आएका थिए भने सो ग्रुपद्वारा सञ्चालन गरिएको इभेन्टमा अन्य ग्रुपहरू समेत सामेल हुँदा जम्मा करिव २ सय जना भारतबाट नेपाल आएको खुलेको प्रहरीले जनाएको छ । जुवा खेल्न आउनेहरुका लाग हवाई टिकटदेखि खाना र बसोवासको सम्पूर्ण व्यवस्था महाजनले नै मिलाएको देखिएको बताए । जुवामा हुण्डीमार्फ कारोबार हुने तथ्य समेत प्रहरीले फेला पारेको छ । क्यासिनोमा अवैध जुवा खेलाएर क्यासिनो पर्यटनमा नकारात्मक प्रभाव परेको छ । उनले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको समेत जानकारी दिए ।
हुलाकले किन राख्यो १० रुपैयाँको टिकटमा स्व. ओमप्रकाश गोयलको फोटो ? यस्तो छ कारण
काठमाडौं । सेवा नै परम धर्म हो भन्ने जीवन–दर्शनलाई आत्मसात गर्दै आफ्नो सम्पूर्ण जीवन उद्योग–व्यापार र समाजसेवामा समर्पित गरेका व्यक्ति हुन्– स्वर्गीय ओमप्रकाश गोयल । उनी एक सफल उद्यमी मात्र नभई एक कर्मठ समाजसेवी पनि हुन् । स्वर्गीय फूलचन्द गोयल र माता स्वर्गीय सरस्वती देवी गोयलका पुत्रका रूपमा विसं २०२१ सालमा भारतको हरियाणामा जन्मिएका थिए । हरियाणाबाटै म्याट्रिक उत्तीर्ण गरी विसं २०१८ सालमा नेपाल आएका उनले झापाको भद्रपुरलाई आफ्नो कर्मयात्राको प्रारम्भिक थलो बनाए । सगरमाथा राइस मिलमा एक कर्मचारीको रूपमा आफ्नो यात्रा सुरु गरेका उनले छोटो समयमै आफ्नो लगनशीलताले २०२० सालमा भद्रपुर बजारबाटै आफ्नै व्यवसायको जग हालेका थिए। करिब ११ वर्ष किराना पसल सफलतापूर्वक सञ्चालन गरेपछि २०३१ सालमा गोयलले झापाको हडिया बुधबारेलाई आफ्नो स्थायी कर्मथलो बनाए । त्यहाँ उनले स्थापना गरेका ‘गोयल राइस मिल’ आज ५० वर्षपछि पनि निरन्तर सञ्चालनमा छ । व्यापारमा आफूलाई स्थापित गराएपछि उनले आफ्नो आम्दानीको ठूलो हिस्सा समाजसेवामा समर्पित गर्न थालेका थिए । बुधबारे बजारमा उनले गरेका सामाजिक कार्यहरू आज पनि स्मरणीय छन् । जसमा उनले आफ्नै खर्चमा हनुमान मन्दिर निर्माण गरे । साथै उनले दुईवटा एम्बुलेन्स खरिद गरे । यो एम्बुलेन्स सेवा निजी क्षेत्रबाट सञ्चालित नेपालकै पहिलो थियो, जुन स्वास्थ्य सेवामा एउटा नयाँ अध्याय थियो । बुधबारेको पुरानो राम जानकी मन्दिर निर्माणदेखि विभिन्न विद्यालय, बाल विकास केन्द्र, नेत्रज्योति संघ र गौशाला निर्माण तथा व्यवस्थापनमा उनको योगदान छ । नेपानीजस्ता आधारभूत क्षेत्रमा उनले गरेको पहलकदमीले बुधबारे क्षेत्रको मुहार फेर्न भूमिका खेल्यो । गोयल ग्रुपको स्थापना आफ्नो व्यावसायिक दायरालाई फराकिलो बनाउँदै गोयलले विसं २०४७ सालमा काठमाडौंमा गणपति धुलन उद्योग स्थापना गरे । त्यसपछि गोयल ग्रुपको स्थापना गरी आफ्नो व्यवसायलाई संस्थागत रूप दिए । उनले काठमाडौंको शंखमूलस्थित शन्तु परमेश्वर धाम भवन निर्माण, चन्द्रगिरीस्थित वेद विद्याश्रम स्थापनाका लागि भूमिदान तथा पशुपति गौशालामा धर्मशाला निर्माण जस्ता काममा समेत सहयोग गरे । उनले उनी धागो, पशुदाना, ह्यान्डिक्राफ्ट, घिउ–तेल, र केमिकल लगायतका अनेकौं उद्योगहरू स्थापना गरी स्थानीय उत्पादनलाई बजारीकरण गर्दै घरेलु उद्योगको विकासमा योगदान पुर्याए । गोयलको विसं २०६४ साल चैत्र १४ गते हृदयघातका कारण निधन भयो । उनको सम्झनामा स्थापित ‘गोयल फाउन्डेसन’ले महाभूकम्प, बाढीपहिरो जस्ता राष्ट्रिय विपत्तिहरूमा पीडितहरूको उद्धार, राहत र पुनः स्थापनामा सक्रिय भूमिका खेल्दै आएको छ । फाउन्डेसनमार्फत सञ्चालित बैंक, बीमा, हाउजिङ, जलविद्युत लगायतकामा हजारौंले रोजगारी पाएका छन् । नेपालको सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र धार्मिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारले २०७८ सालमा उनलाई मरणोपरान्त ‘प्रबल जनसेवा श्री (चतुर्थ)’ बाट विभूषित गर्यो‍ । मंगलबार (हिजो) सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले २०८१ चैत्र १७ गतेको निर्णयअनुसार गोयलको तस्बिर अंकित १० रुपैयाँ दरको हुलाक टिकट प्रकाशनमा ल्याएको छ ।
पर्यटनले रोजगारी र स्थानीय अर्थतन्त्र चलायमान बनाइरहेको छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित 'लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन' विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले सो धारणा राखेका हुन् । उनले नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्र रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन तथा स्थानीय जीविकोपार्जनमा महत्वपूर्ण आधार रहँदै आएको बताए । साथै, उनले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । 'पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदै गएको छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग गरेको छ,' उनले भने । पर्यटन क्षेत्रमा महिलाहरूको सहभागिता बढ्दै गएको र यसले महिलाहरूलाई आत्मनिर्भर बन्न सघाएको चर्चा गर्दै अध्यक्ष ढकालले उद्योग वाणिज्य महासंघले महिलाहरूको उद्यमशीलता विकास तथा नेतृत्व विकासमा थुप्रै नीतिगत सुधार गरेको जानकारी दिए । महासंघको नेतृत्वमा महिला सहभागिता अभिवृद्धि गर्न विधान संशोधन गरी महिला सहभागिता अभिवृद्धिका लागि पहल गरिएको समेत उनले जानकारी दिए । अध्यक्ष ढकालले नेपालमा थुप्रै सम्भावनाहरू रहेको उल्लेख गर्दै नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्ने बताए । साथै, उनले नेपालमै आन्तरिक पुँजी परिचालन गरेर पनि पूर्वाधार निर्माण तथा अन्य उद्यमशील कार्य गर्न सकिन्छ भन्ने सोचका साथ महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिए । उनले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्थापन दुवैका लागि कम्पनीले सहयोग गर्ने बताए । नेपालमा लैङ्गिक उत्तरदायी र दिगो पर्यटन प्रवर्द्धनका लागि एकेडेमी अफ इनोभेसन फर इकोनोमिक डेभलपमेन्ट नेपालको आयोजनामा तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रमको संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजनाको सहकार्यमा कार्यक्रम आयोजना गरिएको थियो ।
कर्जा सहज बनाउन ग्लोबल आइएमई बैंकले डीएआई–उदय परियोजनासँग सहकार्य गर्ने
काठमाडौं । ग्लोबल आइएमई बैंक र डीएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरूलाई वित्तीय पहुँचका लागि सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्र राज रेग्मी तथा परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् । समझदारीपश्चात कोशी प्रदेशमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजरूपमा कर्जा प्रवाह हुने र लगानीको अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीहरूको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ । यस सम्झौताअनुसार डीएआई–उदय परियोजनाले छनौट गरेका उद्यम तथा व्यवसायहरूले ग्लोबल आइएमई बैंकको कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजरूपमा कर्जा पाउनेछन् । नेपाल सरकार तथा स्विट्जरल्याण्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डीएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ । डीएआई– उदय परियोजनाले कोशी प्रदेशमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आईटी, पर्यटन तथा उत्पादनमूलक उद्योग लगायतका व्यवसायहरूलाई कर्जाको उपलब्धता तथा व्यवसायिक उन्नतिको लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ । ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरू प्राप्त गरिसकेको छ ।
नेप्से परिसूचक सामान्य अंकले बढ्यो, ३ अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक एक दशमलव ३७ अंकले बढेर दुई हजार ५८५ दशमलव ८७ को बिन्दुमा कायम भएको हो । बुधबार ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ । बुधबारको कारोबारमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी पाँच पाँच दशमलव ३२ प्रतिशतले बढेको छ । सबैभन्दा बढी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य चार दशमलव २६ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा सबैभन्दा बढी एसवाई प्यालन नेपाल लिमिटेडको रु १४ करोड ४९ लाख ३५ हजार ३८३ बराबरको सेयर किनबेच भएको छ । कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी तेह्रथुम पावर कम्पनी लिमिटेडको दुई लाख ६२ हजार ५८५ कित्ता सेयर खरिदबिक्री भएको छ ।