काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा रविन्द्रलाल श्रेष्ठ पुनर्नियुक्त भएका छन् ।
कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई जानकारी गराउँदै भदौ ३० गते बसेको सञ्चालक समितिको २३०औँ बैठकले श्रेष्ठलाई पुनः अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाएको हो ।
कम्पनीका अनुसार सञ्चालक समितिको निर्णयबमोजिम श्रेष्ठले अध्यक्षको जिम्मेवारी पुनः सम्हाल्नेछन् ।
श्रेष्ठले व्यवस्थापन विषयमा स्नातक तहको शिक्षा हासिल गरेका छन् । उनले राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा कर्जा असुली तथा ऋण पुनर्संरचना विभागको प्रमुखका रूपमा काम गरेका थिए । उनी वि.सं. २०७४ देखि २०७६ सम्म राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकसमेत रहेका थिए ।
उनले औद्योगिक कर्जा विभागमा कर्जा अधिकृतका रूपमा पाँच वर्ष काम गरेका थिए । त्यसपछि सन् २०११ जनवरीदेखि २०१३ जुलाईसम्म सामाजिक विकास बैंकमा नायब महाप्रबन्धकका रूपमा कार्यरत रहे ।
वि.सं. २०७१ वैशाखमा उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बैंक तथा वित्तीय विज्ञका रूपमा नियुक्त भएका थिए र वि.सं. २०७३ असोजसम्म उक्त जिम्मेवारीमा रहे ।