विकासन्युज

संकटमा प्रविधि : अमेरिकी हवाई आक्रमणपछि भेनेजुएलामा स्टारलिङ्कको निःशुल्क इन्टरनेट

काठमाडौं । एलन मस्कको स्टारलिङ्कले अमेरिकी हवाई आक्रमण र राष्ट्रपति निकोलस मादुरोको पक्राउपछि भेनेजुएलामा प्रयोगकर्ताहरूलाई फेब्रुअरी ३ तारिखसम्म निःशुल्क ब्रडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । उपग्रह इन्टरनेट सेवा प्रदायक कम्पनीले आइतबार जारी गरेको विज्ञप्तिमा बदलिँदै गइरहेका अवस्था र नियामक आवश्यकताहरूको निगरानी गरिरहेको बताउँदै सक्रिय तथा निष्क्रिय दुवै खातामा अग्रिम रूपमा सेवा क्रेडिट थपिँदै गरेको जनाएको छ । ‘स्थानीय रूपमा सेवा खरिद उपलब्ध हुने समयरेखा अहिलेसम्म तय भइसकेको छैन। यदि र जब यससम्बन्धी कुनै अपडेट हुन्छ, ती आधिकारिक स्टारलिङ्क च्यानलमार्फत प्रत्यक्ष रूपमा जानकारी गराइनेछ,’ विज्ञप्तिमा उल्लेख छ । एयरोस्पेस कम्पनी स्पेसएक्सको सहायक कम्पनी स्टारलिङ्कले लो–अर्थ–अर्बिट उपग्रहमार्फत इन्टरनेट सेवा प्रदान गर्छ र प्रयोगकर्ताले सेवामा जडान हुन छुट्टै उपकरण खरिद गर्नुपर्छ । स्टारलिङ्कको वेबसाइटमा रहेको उपलब्धता नक्सामा भेनेजुएलालाई ‘छिट्टै उपलब्ध हुँदै’ भनेर देखाइएको छ, जसले कम्पनीले त्यहाँ औपचारिक रूपमा सेवा सुरु नगरेको संकेत गर्छ, यद्यपि केही प्रयोगकर्ता पहिल्यै सक्रिय रहेको संकेत पनि दिएका छन् । देशमा निःशुल्क इन्टरनेट सेवाको विस्तारले हालै भएका अमेरिकी हवाई आक्रमण र मादुरोलाई पक्राउ गरी मुद्दा चलाउन अमेरिका लैजान गरिएको स्थल कारबाहीपछि उत्पन्न अवस्थाबीच कनेक्टिभिटी उपलब्ध गराउन सहयोग पु‍र्याउन सक्ने अपेक्षा गरिएको छ । मादुरोमाथि लागुऔषध तस्करी गिरोह र निर्वाचन धाँधलीसहितका आरोप छन् । सरकारी विज्ञप्तिअनुसार जनवरी ३ मा अमेरिकाले सञ्चालन गरेको कारबाही मुख्यतया भेनेजुएलाको राजधानी काराकासका क्षेत्रहरूमा केन्द्रित थियो । साथै मिरान्डा, आरागुआ र ला ग्वाइरा राज्यहरू पनि आक्रमणको चपेटामा परेका थिए । हवाई आक्रमणपछि काराकासका केही क्षेत्रमा विद्युत् आपूर्ति र इन्टरनेट सेवा अवरुद्ध भएको रिपोर्टहरू आएका थिए । स्थानीय सञ्चारमाध्यमहरूले सप्ताहन्तमा मिरान्डा क्षेत्रमा पनि सेवा अवरोध भएको बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको संक्रमणकालीन व्यवस्थापन अमेरिकाले हेर्ने बताएका छन्, तर सत्ता शून्यताको चिन्ताबीच त्यसको विस्तृत विवरण अझै स्पष्ट छैन । राष्ट्रपतिले शनिबार मादुरोको पक्राउपछि उपराष्ट्रपति डेल्सी रोड्रिगेजले शपथ लिएको घोषणा गरेका छन् । साथै नेतृत्वले ‘अनुशासनमा नआए’ भेनेजुएलामाथि दोस्रो आक्रमण गर्ने चेतावनी पनि दिएका छन् । यसैबीच संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले अमेरिकी कारबाहीको वैधानिकताबारे छलफल गर्न जनवरी ६ मा बैठक बोलाउने योजना बनाएको छ । ब्राजिल र स्पेनजस्ता अमेरिकी सहयोगी राष्ट्रसहित विभिन्न देशहरूले सैन्य कारबाहीको निन्दा गरेका छन् । भेनेजुएला स्टारलिङ्क प्रयोग भएको पहिलो द्वन्द्वग्रस्त क्षेत्र भने होइन । युक्रेनमा पनि रूसको आक्रमणले क्षतिग्रस्त इन्टरनेट र सञ्चार सञ्जालको सट्टा उपग्रह सेवा उपलब्ध गराउन स्टारलिङ्क प्रयोग गरिएको थियो । युक्रेनमा सुरुमा स्टारलिङ्कले ठूलो मात्रामा आफ्नै खर्चमा सेवा उपलब्ध गराएको थियो भने सन् २०२३ जुनदेखि अमेरिकी रक्षा मन्त्रालयसँगको सम्झौताअन्तर्गत यसको सञ्चालनको खर्च वहन हुँदै आएको छ । स्टारलिङ्कले भेनेजुएलामा कति प्रयोगकर्ता छन् वा सेवा उपलब्ध गराउन कति लागत लागिरहेको छ भन्ने विवरण सार्वजनिक गरेको छैन ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका अध्यक्ष सुरेशलाल श्रेष्ठले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव तथा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो । भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा योगदान पुर्‍याएकोप्रति अर्थमन्त्री खनालले नेपाल सरकारको तर्फबाट सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई धन्यवाद ज्ञापन गरेका छन् । अर्थ मन्त्रालयका अनुसार सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको योगदानसहित हालसम्म सो कोषमा १३ करोड ३५ लाख ६५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

एकैदिन सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुन प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि सोमबार प्रतितोला १८५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । आइतबार चाँदी प्रतितोला ४ हजार ५ सय रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

काठमाडौं । बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरू ठगीमा परेको गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरूमा नेपालबाट बेलायत आउन चाहनेहरूको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ ।  कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको छ । 'ठगी गर्नेहरू कतिपय नेपाली मूलका व्यक्तिहरू नै रहेको बुझिएको छ भने चिनेजानेकै नेपालीहरूमार्फत तेस्रो मुलुकका व्यक्तिहरूसँगको सम्पर्कमा पुगी ठगीमा परेकाहरूको गुनासो पनि आएको छ,' विज्ञप्तिमा उल्लेख छ ।  यस्ता अपराधहरू नेपाल र बेलायत दुवै मुलुकमा दण्डनीय हुने हुनाले समस्या परेको खण्डमा नेपालका अनुसन्धान गर्ने निकायहरू तथा बेलायतमा रहेका स्थानीय प्रहरी एवं नेशनल एण्टी फ्रड नेटवर्क (एक्सन फ्रड) मा उजुरी गर्न समेत दूतावासको सुझाव छ । बेलायतका लागि कार्यवाहक नेपाली राजदूत विपिन दुवाडीले प्रमाणसहित आउने पीडितको न्यायका लागि सहजीकरण गर्न दूतावास तयार रहेको बताए । समस्यामा परेका नेपालीलाई दूतावासको इमेल वा +४४–७४०४९३९२७४ मा सम्पर्क गर्नसमेत दूतावासले आग्रह गरेको छ ।

ज्योति विकास बैंकद्वारा चार जिल्लाका स्वास्थ्य संस्थामा बेबी वार्मर जडान

काठमाडौं । ज्योति विकास बैंकले प्रदेशका विभिन्न जिल्लाका स्वास्थ्य चौकी तथा अस्पतालहरूमा नवजात शिशुको शारीरिक तापक्रम सन्तुलनमा राख्न प्रयोग हुने बेबी वार्मर (न्यानो नानी) मेसिन उपलब्ध गराएको छ । दुर्गम क्षेत्रसम्म सुरक्षित प्रसूति सेवाको पहुँच विस्तार गर्ने उद्देश्यसहित बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्तो पहल गर्दै आएको हो । बैंकको पहलमा सङ्खुवासभा जिल्लाको सिलिचोङ गाउँपालिका–१२ स्थित सिसुवाखोला हेल्थ पोस्ट र मकालु गाउँपालिका–५ स्थित नुम प्राथमिक स्वास्थ्य केन्द्रमा बेबी वार्मर जडान गरिएको छ । यस्तै, खोटाङको जालपा वडा–१२ स्थित पुजनसेवा नगर अस्पताल र पाँचथरको फालेलुङ गाउँपालिका–२ स्थित एकतीन हेल्थ पोस्टमा पनि सो उपकरण जडान गरिएको बैंकले जनाएको छ । उपकरण हस्तान्तरण कार्यक्रममा सम्बन्धित स्वास्थ्य संस्थाका पदाधिकारी, स्थानीय प्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो । सोही अवसरमा अस्पतालका डाक्टर, नर्स तथा कर्मचारीलाई विज्ञमार्फत बेबी वार्मर सञ्चालनसम्बन्धी विशेष तालिमसमेत प्रदान गरिएको थियो । बैंकका अनुसार हालसम्म देशभर ७० वटा बेबी वार्मर जडान गरिसकिएको छ । यसअघि विभिन्न चरणमा जडान गरिएका ६६ वटा बेबी वार्मरमार्फत हरेक वर्ष करिब २ हजार ४४२ भन्दा बढी नवजात शिशुले सेवा पाउँदै आएका छन् । हालसम्म करिब १२ हजार २१० भन्दा बढी शिशु प्रत्यक्ष रूपमा यस सेवाबाट लाभान्वित भइसकेका छन् । स्वास्थ्यप्रद जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने मान्यतालाई आत्मसात् गर्दै नवजात शिशुको अकाल मृत्यु न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले बैंकले यो कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । जीवनरक्षक स्वास्थ्य क्षेत्रमा बैंक तथा वित्तीय संस्थामध्ये अग्रस्थानमा रहेर काम गर्ने संस्थाका रूपमा ज्योति विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । बैंकले खुद मुनाफाबाट सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाको तुलनामा ५० प्रतिशत बढी रकम छुट्याउँदै आएको जनाएको छ । साथै, गएको आर्थिक वर्षमा बैंकले करिब ४१ करोड रुपैयाँ कर तिरेर राष्ट्रप्रति आफ्नो दायित्व निर्वाह गरेको जनाएको छ ।

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता, कर्मचारी र ग्राहकलाई उपचारमा छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ ।  पौष १८ गते भएको उक्त सम्झौताअनुसार नेपाल बैंकमा कार्यरत कर्मचारी, उनीहरूका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहक, बैंकका क्रेडिट कार्ड होल्डर तथा अवकाश प्राप्त कर्मचारीहरूले मेडिकेयर हस्पिटलमा उपचार गर्दा बिल रकममा १० प्रतिशत छुट पाउनेछन् । सम्झौता पत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र मेडिकेयर हस्पिटल लिमिटेडको तर्फबाट व्यवस्थापन प्रबन्धक रोशन ओझाले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि नेपाल बैंकका कर्मचारी, अवकाश प्राप्त कर्मचारी तथा बैंकसँग आबद्ध ग्राहकहरू मेडिकेयर हस्पिटलले प्रदान गर्ने विभिन्न स्वास्थ्य सेवामा सहुलियत दरमा उपचार सुविधा लिन सक्नेछन् । बैंकले यस किसिमका सहकार्यबाट आफ्ना कर्मचारी र ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्य राखेको जनाएको छ ।

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ ।      विभागले काठमाडौंको गैरीगाँउस्थित युवराज ट्रेड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ ‘क’ बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।      विभागले अन्य १६ वटा फर्मलाई भने निर्देशनात्मक कारबाही गरेको छ । विभागले स्थानीय प्रशासन, जनप्रतिनिधिसहितको सहभागितामा बजारमा स्वच्छता कायम गर्न निरन्तर अनुगमन तथा निरीक्षण गर्दै आएको छ ।   

चिसो बढ्दा मौसमी फ्लुका बिरामी बढ्यो

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ ।  कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो मौसमले शरीरको ताप सन्तुलन र रक्तसञ्चार प्रणालीमै प्रत्यक्ष असर पार्ने भएकाले यो समयमा टाउको दुखाइको समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् । उनी भन्छन्, 'जाडोमा शरीरको तापक्रम घट्दा रक्तनलीहरू सङ्कुचित हुन्छन् । यसले टाउकोतर्फ जाने रक्तप्रवाहमा कमी ल्याउछ । त्यसैले धेरै मानिसले टाउको भारी भएको, च्यापिएको जस्तो भएको वा निरन्तर दुखेको अनुभव गर्छन् ।' उनका अनुसार जाडो मौसममा देखिने टाउको दुखाइको अर्को प्रमुख कारण शरीरमा पानीको कमी (डिहाइड्रेसन) हो । 'जाडोमा तिर्खा कम लाग्छ, त्यसैले मानिसले पानी कम पिउछन् । तर शरीरलाई पानीको आवश्यकता जाडोमा पनि उत्तिकै हुन्छ । पानीको कमी हुँदा टाउको दुखाइ पहिलो सङ्केतका रूपमा देखिन सक्छ,' उनी भन्छन् । चिसो हावाले घाँटी र काँध क्षेत्रका मांसपेशीमा प्रत्यक्ष असर पार्ने हुँदा टाउको पछाडिबाट सुरु भएर अगाडितर्फ फैलिने दुखाइ देखिने गरेको चिकित्सकहरूको अनुभव छ । विशेषगरी मोटरसाइकल चलाउँदा घाँटी नछोप्ने, राति चिसोमा सुत्ने तथा लामो समय एउटै आसनमा बस्ने व्यक्तिमा यस्तो समस्या बढी देखिने गरेको डा खड्का बताउँछन् । 'यो दुखाइ समयमै ध्यान नदिए विस्तारै दीर्घरूप लिन सक्छ,' उनी भन्छन् । त्यसैगरी जाडो मौसममा नाक बन्द हुने, अनुहार भारी महसुस हुने, आँखाको वरिपरि च्यापिएको जस्तो दुख्ने तथा टाउकोको अगाडिको भाग दुख्ने समस्या जाडोमा बढ्ने गर्छ ।साइनसमा सङ्क्रमण वा एलर्जी भएका व्यक्तिमा समयमै उपचार नगरे टाउको दुखाइ लामो समयसम्म रहने र कहिलेकाहीँ जटिल अवस्थासमेत आउन सक्ने चिकित्सकको भनाइ छ । यसैगरी माइग्रेनका बिरामी पनि जाडो मौसममा बढी प्रभावित हुने गरेका छन् । तापक्रमको अचानक परिवर्तन, चिसो हावा, निन्द्राको गडबडी तथा मानसिक तनावले माइग्रेन ट्रिगर गर्ने चिकित्सकहरू बताउँछन् । डा. खड्का भन्छन्, 'माइग्रेन हुँदा एकातर्फ मात्र टाउको दुख्ने, बान्ता आउने, उज्यालो र आवाज सहन नसक्ने लक्षण देखिन्छ । जाडो मौसम माइग्रेनका बिरामीका लागि निकै संवेदनशील समय हो ।' चिकित्सकका अनुसार जाडोमा घाम कम ताप्दा भिटामिन ‘डी’को कमी हुने र यसले मांसपेशी दुखाइ, थकान तथा टाउको दुखाइलाई थप बढाउने गर्दछ । उच्च रक्तचाप भएका व्यक्ति, दीर्घरोगी, वृद्धवृद्धा तथा लामो समय मोबाइल र कम्प्युटर प्रयोग गर्नेहरू जाडो मौसममा टाउको दुखाइको उच्च जोखिममा पर्ने समूहमा पर्छन् । डा. खड्काले सामान्य टाउको दुखाइलाई बेवास्ता नगर्न आग्रह गर्दै भन्छन्, 'बारम्बार टाउको दुख्ने, औषधि खाँदा पनि निको नहुने, दृष्टि धमिलो हुने, बान्ता आउने वा ज्वरोसँगै टाउको दुख्ने लक्षण देखिएमा ढिलाइ नगरी चिकित्सकको परामर्श लिनुपर्छ ।' उनी भन्छन्, 'सही कारण पहिचान गरी समयमै उपचार गरेमा जाडो मौसममा देखिने अधिकांश टाउको दुखाइ नियन्त्रण गर्न सकिन्छ ।' टाउको दुखाइबाट बच्न चिकित्सकहरूले पर्याप्त पानी पिउने, न्यानो कपडा लगाएर घाँटी र कान छोप्ने, बिहानको घाम ताप्ने, लामो समय एउटै आसनमा नबस्ने तथा घाँटी र काँधको हल्का व्यायाम गर्ने सुझाव दिएका छन् । जाडो मौसममा सानो लापरबाहीले स्वास्थ्य समस्या निम्त्याउन सक्ने भएकाले दैनिक जीवनशैलीमा सचेतता अपनाउन चिकित्सकहरूले आग्रह गरेका छन् । रासस