विकासन्युज

प्रतिनिधिसभा निर्वाचन ५९ दिन बाँकी : आयोगले तोक्यो निर्वाचन अधिकृत

काठमाडौं । निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतका रुपमा तोकेको छ ।      आयोगले आजै ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकेको थियो । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकिएको छ । यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरिएको थियो ।      आयोगका अनुसार यसरी नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि आफ्नो निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनका कार्यक्रम सञ्चालन गर्न आयोगले आग्रह गरेको छ ।      कूल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना निर्वाचित हुने व्यवस्था छ ।   

यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ ।  त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १८२ रुपैयाँ ५३ पैसा कायम गरिएको छ ।      अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४० पैसा र बिक्रीदर ९६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १११ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४३ पैसा तोकिएको छ ।      जापानी येन १० को खरिददर नौ रुपैयाँ १८ पैसा र बिक्रीदर नौ रुपैयाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ५९ पैसा र बिक्रीदर २० रुपैयाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ४० पैसा र बिक्रीदर ३८ रुपैयाँ ५६ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५७ पैसा कायम भएको छ ।      केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५७ पैसा र बिक्रीदर चार रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ ०३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६० पैसा र बिक्रीदर २२ रुपैयाँ ६९ पैसा तोकिएको छ ।      राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८ रुपैयाँ ५६ पैसा, कुवेती दिनार एकको खरिददर ४६८ रुपैयाँ ४६ पैसा र बिक्रीदर ४७० रुपैयाँ ४२ पैसा , बहराइन दिनार एकको खरिददर ३८२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ६१  पैसा , ओमनी रियाल एकको खरिददर ३७४ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ६३ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको  छ ।            राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।   

सोलु हाइड्रोरले पुस २९ गतेदेखि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले २ करोड कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १ अर्ब रुपैयाँको १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० लाख कित्ता विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिनेछ ।  दोस्रो चरणमा कम्पनीले ५ लाख कित्ता सामूहिक लगानी कोष र ३ लाख कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित राखि बाँकी रहेको ८२ लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले माघ ४ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा माघ १४ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

विजय लघुवित्तको एफपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आज पुस २१ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ बिक्री गरेको हो । साविकको नयाँ सारथी र विजय लघुवित्तको मर्जर पश्चात् बनेको विजय लघुवित्तको हाल कायम चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार रुपैयाँ रहेको छ । जसमा संस्थापक सेयरधनी समूहको ७४.३९ प्रतिशत र सर्वसाधारण सेयरधनी समूहको २५.६१ प्रतिशत सेयर स्वामित्व रहेको छ । सोही व्यवस्था बमोजिम सर्वसाधारण सेयरधनी समूहको सेयर स्वामित्व न्यूनतम ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको हो । एफपीओ जारीपश्चात् लघुवित्तको जारी तथा चुक्ता पुँजी ७९ करोड १७ लाख २२ हजार रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तको सेयरमा पुस २४ गतेभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिमा सम्पूर्ण कित्ता बिक्री नभएमा माघ ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

अवार्डले जिम्मेवारी थपेको छ, देश विकासमा अझ सक्रिय हुन्छौं: नबिल बैंकका सीईओ ज्ञवाली

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले विकास नायक अवार्डले आफूहरूलाई थप जिम्मेवारी बोध गराएको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले अवार्डलाई प्रेरणा र दायित्वका रूपमा लिएको बताए । सीईओ ज्ञवालीका अनुसार नबिल बैंकले जलविद्युत् क्षेत्रमा ठूलो लगानी गर्दै आएको छ । ‘हामीसँग ५० अर्ब रुपैयाँभन्दा बढी कर्जा हाइड्रोपावर क्षेत्रमा लगानी भएको छ,’ उनले भने ।  उनले नबिल बैंक देशको प्रमुख करदातामध्ये एक भएको उल्लेख गर्दै धेरै कर तिर्ने र नाफा कमाउने संस्थालाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गरे । ‘समृद्धिलाई अभिशाप होइन, सह्राना गर्न जरुरी छ,’ उनले भने । सीईओ ज्ञवालीले राम्रो काम गर्नेको खुलेर प्रशंसा हुनुपर्ने र गलत काम गर्नेले सजाय पाउनुपर्नेमा जोड दिए । ‘अवार्डले हामीलाई थप जिम्मेवारी दिएको छ । अब यसलाई बहन गर्दै अझ परिस्कृत र जिम्मेवार ढंगले देश विकासमा अग्रसर हुनेछौं,’ उनले बताए । उनले बैंकले आगामी दिनमा अझ परिष्कृत सेवा, दिगो लगानी र राष्ट्र निर्माणमा योगदान बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।

उत्पादनमूलक उद्योग सञ्चालन गर्न नीतिगत र वित्तीय चुनौती धेरै छन्: विदुषी राणा

काठमाडौं । महिला उद्यमी विदुषी राणाले नेपालमा कुनै पनि उद्योग सुरु गर्नु अघि गम्भीर तयारी आवश्यक पर्ने बताएकी छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले उद्योग स्थापना मात्र होइन, त्यसको निरन्तरतामा पनि विशेष ध्यान दिनुपर्नेमा जोड दिइन् । उनका अनुसार नीतिगत असहजता र कठिन वित्तीय अवस्थाले उद्योग सञ्चालनलाई झनै चुनौतीपूर्ण बनाएको छ । ‘नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्नु अत्यन्तै गाह्रो छ,’ उनले भनिन् । राणाले उत्पादनमूलक उद्योगका लागि बैंकको ब्याजदर अन्य क्षेत्रभन्दा कम हुनुपर्ने आवश्यकता औंल्याइन् । उनका अनुसार नेपाल राष्ट्र बैंकले आधार दरमा ०.५ प्रतिशत प्रिमियममा कर्जा उपलब्ध गराउने नीति ल्याए पनि व्यवहारमा यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ‘नीति कागजमा मात्र सीमित हुँदा उद्योगीले वास्तविक लाभ पाउन सकेका छैनन्,’ उनले गुनासो गरिन् । राणाले उत्पादनमूलक उद्योगलाई प्रोत्साहन गर्न स्पष्ट नीति, सहज वित्तीय पहुँच र दीर्घकालीन सहयोग आवश्यक रहेको धारणा राखिन् ।

तरलता पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल कमजोर छ: अन्जन श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजी पर्याप्त भए पनि निजी क्षेत्रको मनोबल खस्किँदा लगानीको वातावरण अघि बढ्न नसकेको बताएका छन् ।  विकास मिडियाले आयोजना गरेको विकास वहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लगानीको धारणा र व्यवहारमा परिवर्तन आएको उल्लेख गरे ।  ‘पहिले निजी क्षेत्रलाई घाँटी हेरेर हाड निल्नुपर्छ भनिन्थ्यो, तर अहिले समय फेरिएको छ । अब हाड हेरेर घाँटी बनाउनुपर्ने अवस्था आएको छ,’ उनले भने ।  श्रेष्ठका अनुसार कोरोना महामारी, युवा पलायन, विभिन्न किसिमका आन्दोलन र अस्थिरताका कारण समग्र अर्थतन्त्र सुस्त भएको छ । यसले निजी क्षेत्रको लगानी क्षमतामा प्रत्यक्ष असर पारेको उनले बताए । उनले समयमै निर्वाचन सम्पन्न भई राजनीतिक स्थिरता कायम होस् भन्ने निजी क्षेत्रको अपेक्षा रहेको उल्लेख गरे । साथै, निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोणमा अपेक्षित सुधार हुन नसकेकोप्रति उनले असन्तोष व्यक्त गरे । ‘निजी क्षेत्र देश विकासका लागि काम गर्ने पक्ष हो, तर बारम्बार आरोप-प्रत्यारोप लाग्ने गरेको छ,’ उनले भने । उनका अनुसार पहुँचभन्दा परिश्रमका आधारमा अगाडि बढेका धेरै उद्योगी-व्यवसायी देशमै रहेका छन् । श्रेष्ठले पछिल्ला राजनीतिक घटनाक्रमका क्रममा निजी क्षेत्रलाई गलत रूपमा परिभाषित गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसमा सुधार आवश्यक रहेको धारणा राखे ।

देश विकासमा ‘विकास नायक’हरूको योगदान महत्वपूर्ण छः अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आ–आफ्नो क्षेत्रका धुरन्धर व्यक्तित्वहरूलाई विकास नायकका रूपमा सम्मान गरिएको बताउँदै समाज र देश विकासमा उनीहरूले पुर्‍याएको योगदान बलियो रहेको बताएका छन् । विकास मिडियाले आयोजना गरेको विकास बहस तथा विकास नायक अवार्ड वितरण कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । अर्थमन्त्री  खनालले राजनीतिक संस्कार, सुशासन र विकास क्षेत्रबाट ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उद्योग क्षेत्रबाट गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा, कृषि क्षेत्रबाट फस्ट च्वाइस फुड्स लिमिटेडका अध्यक्ष कृष्ण प्रसाद पौडेल, ऊर्जा क्षेत्रबाट आरएम ग्रुपका अध्यक्ष कृष्ण आचार्य, स्वास्थ्य सेवा क्षेत्रबाट धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. रामकण्ठ माकजु श्रेष्ठ, सूचना प्रविधि क्षेत्रबाट आईएमई ग्रुपका संस्थापक हेमराज ढकाललाई विकास नायक २०८२ सम्मान गरेका थिए ।   यस्तै, श्रृजनशील र निष्ठापूर्ण व्यापार व्यवसायबाट सानिमा ग्रुपका सञ्चालक जीवा लामिछाने, शिक्षा क्षेत्रबाट नेपाल विश्वविद्यालयका उपकुलपति प्रा.डा. अर्जुन कार्की, र कला तथा मनोरञ्जन क्षेत्रबाट अभिनेत्री सुरक्षा पन्त विकास नायकबाट सम्मानित भएका हुन् । 'विकास नाकय अवार्डबाट सम्मानित व्यक्तिहरुलाई व्यक्तिगत रुपमा म आफै पनि चिन्दछु । उहाँहरुले आ आफ्‌नो धेरै महत्वपूर्ण कामहरु गर्नु भएको छ । जिम्मेवार  सञ्चार गृहले उहाँरुको काम र र प्रभावका रिपोटिङ गर्नु, उहाँहलाई सम्मान गर्नु सकारात्मक कार्य हो-उनले भने । अर्थमन्त्री खनालले पछिल्लो समय युवाहरूमा असन्तुष्टि विभिन्न समयमा विभिन्न रूपमा प्रकट भइरहेको उल्लेख गरे । उनका अनुसार आम नागरिकलाई सुशासन दिन सक्ने, सीमित स्रोत र सम्पत्तिको अधिकतम उपयोग गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो । ‘म आफैँसँग पनि विकासका सबै सूत्रहरू छैनन्,’ उनले स्पष्ट पारे, ‘तर सही नेतृत्व र सही निर्णयले देशलाई सही दिशामा अघि बढाउन सकिन्छ ।’ उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा नागरिकहरूले आफ्नो संवैधानिक अधिकार प्रयोग गरी असल सरकार निर्माणका लागि मत व्यक्त गर्न आग्रह गरे ।  ‘कस्तो व्यक्ति सत्तामा पुग्नुपर्छ भन्ने निर्णय गर्ने अधिकार जनताकै हातमा छ । फागुन २१ गतेको निर्वाचनबाट जिम्मेवार र सक्षम सरकार निर्माणका लागि आफ्नो मत प्रकट गर्नुहोला,’ उनले आग्रह गरे । अवार्डबाट व्यक्ति तथा संस्थाहरूले आ-आफ्नो क्षेत्रमा दीर्घकालीन प्रभाव पार्ने काम गरेको मूल्याङ्कनका आधारमा ‘विकास नायक, २०८२’का लागि छनोट गरेको विकास नायक छनोट समितिका संयोजक कृष्णहरि बास्कोटाले बताए ।