काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको असोज ६ गते बसेको बैठकले असोज २८ गते बिहान ११ बजे काठमाडौंस्थित सिल्भरओक ब्याङ्क्वेटमा २६औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजी २६ अर्ब २२ करोड ५८ लाख ६१ हजार रुपैयाँको करसहित २.१० प्रतिशतका दरले ५५ करोड २१ लाख ३३ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव पारित गर्नेछ ।
यस्तै, सभाले गत आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा सहायक कम्पनी कुमारी क्यापिटल र केबिएल सेक्युरिटीजको वित्तीय विवरणसहित बैंकको एकीकृत वित्तीय विवरण पारित गर्नेछ ।
सभाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ ।
लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।