विकासन्युज

खेत जोत्दाजोत्दै प्रेमनाथको हत्या, दुई महिना पुग्न लाग्दा पनि दोषी अझै फरार

काठमाडौं । गत माघ १६ गते सिरहा नगरपालिका–७ स्थित मैनाबत्ती खोला किनारमा भएको एक हत्या घटनाका दोषी प्रहरीले अझै पत्ता लगाउन सकेको छैन । खेत जोतिरहेका बेला सिरहा नगरपालिका–१ का ४५ वर्षीय प्रेमनाथ यादवको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेका थिए । मृतक यादवका दुई नाबालक छोरा छन् । घरको मुख्य सहाराकै हत्यापछि परिवार विचल्लीमा परेको छ । कक्षा १० मा अध्ययनरत जेठो छोरो रामजनम यादवले आफ्नो र भाइको भविष्य अन्योलमा परेको बताए ।  ‘हाम्रो सहारा बुवा नै हुनुहुन्थ्यो, अब हाम्रो भविष्य अन्योलमा परेको छ,’ उनले भने । घटनाको ५४ दिन बितिसक्दा पनि मुख्य दोषीको पहिचान हुन नसक्दा पीडित परिवारमा निराशा र आक्रोश बढेको छ ।  मृतकका भाइ अभयनाथ यादवले प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै भन्नुभयो, ‘प्रहरीले अनुसन्धान भइरहेको छ मात्रै भन्छ, तर अहिलेसम्म दोषी पत्ता लागे नलागेका बारेमा कुनै जानकारी दिन सकेको छैन ।’ प्रहरीले सुरुमा घटनाका प्रत्यक्षदर्शी रामविलास यादव र रामप्रसाद महरालाई नियन्त्रणमा लिएर सोधपुछ गरे पनि २३ दिनपछि उनीहरूलाई रिहा गरेको थियो । पीडित पक्षले हत्यामा संलग्नलाई यथाशीघ्र कारबाही गरी न्यायको माग गरेका छन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वासुदेव पाठकले घटनाको अनुसन्धान भइरहेको बताए । उनका अनुसार हालसम्म शङ्कास्पद १४ जनालाई अनुसन्धानको दायरामा ल्याएर सोधपुछ गरिएको छ । प्रहरीले यस घटनाको गम्भीरतालाई हेरेर केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)सँगको समन्वयमा अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरी उपरीक्षक पाठकले भने, ‘अनुसन्धानका क्रममा केही महत्वपूर्ण सूचना प्राप्त भएका छन् । शङ्कास्पद व्यक्तिहरू प्रहरीको निगरानीमा छन् । दोषी चाँडै पक्राउ पर्नेमा हामी विश्वस्त छौं ।’  

राजीनामा दिनु पर्नेबारे के भन्छन् गभर्नर पौडेल ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी) (रास्वपा)ले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने दिन नजिकिएसँगै अहिले राजनीतिक नियुक्तिको विषय चर्चामा छ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार गठनको तयारी भइरहँदा रास्वपाले राजनीतिक नियुक्ति लिएका निकाय तथा संस्थामा कार्यरत व्यक्तिहरुले मार्ग प्रशस्त गर्नुपर्ने धारणा सार्वजनिक भइरहेको छ । यद्यपि रास्वपाको आधिकारिक धारणा भने सार्वजनिक भइसकेको छैन । तर, रास्वपाका नेताहरूले यस्ता खालका धारणा राख्दै आएका छन् ।  रास्वपाले संवैधानिक निकाय, सार्वजनिक संस्थान, कूटनीतिक नियोग र विभिन्न बोर्डहरूमा  राजनीतिक रुपमा नियुक्त हुँदै आएका व्यक्तिहरूलाई हटाएर नयाँ नियुक्ति गर्ने तयारी थालेको पनि बुझिएको छ । रास्वपाका नेताहरूले बालेन शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकमै यसबारे निर्णय हुने बताउँदै आएका छन् ।  सोही कारण रास्वपाले नयाँ सरकार गठन हुनुअघि नै त्यस्ता पदमा रहेका व्यक्तिहरूलाई नैतिकताका आधारमा स्वैच्छिक पदत्याग गर्न आग्रह गरिएको छ । रास्वपाको बुझाइमा यस्ता नियुक्तिको संख्या करिब ११ सय छन् ।    यसैबीच राजनीतिक नियुक्ति हुने नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको धारणा पनि सार्वजनिक भएको छ । एक टेलिभिजन अन्तर्वार्तामा उनले आफ्नो राय राखेका छन् ।  उनले भनेका छन्, ‘अहिलेसम्म त्यस्तो कुनै दबाब र औपचारिक पत्र आएको छैन । नियुक्तिहरू कानुनअन्तर्गत नै रहेको हुन्छ । हामीले आफ्नो काम गर्ने हो । रास्वपाको आग्रहलाई मैले यसलाई सहज रूपमा लिएको छु । त्यसमा पनि विभिन्न मतहरू हुन्छन् । अहिलेसम्म प्रधानमन्त्रीबाट आएको छैन । प्रधानमन्त्री नियुक्त भएपछि के आउँछ, हामीले हेर्ने भनेको अफिसियल स्टेटमेन्ट हो ।’  उसले अघिल्लो सरकारले ती मानिसहरूलाई योग्यता र क्षमताका आधारमा नभएर, राजनीतिक आस्था, पहुँच र कतिपय अवस्थामा आर्थिक लेनदेनका आधारमा नियुक्ति दिएको बताउँदै त्यस्ता व्यक्तिलाई हटाउने योजना रास्वपाको छ ।  उसो त रास्वपाले अर्थमन्त्रीका रूपमा डा. स्वर्णिम वाग्लेलाई अगाडि सार्ने तयारी गरिरहेको छ । डा. वाग्ले र गभर्नर पौडेल कुनै समयका असल साथी र सहकर्मी हुन् । धेरैले पौडेललाई वाग्लेको शिष्यका रूपमा बुझ्छन् तर पछिल्लो समय दुईबीचको सम्बन्धमा दरार आएको बुझाइ अधिकांशको छ । यद्यपि त्यस्तो विवाद सार्वजनिक रूपमा देखिएको र सुनिएको छैन ।

गाडी भाडा नबढे यातायात ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । इन्धनको मूल्य लगातार बढ्दै गएपछि सार्वजनिक यातायात क्षेत्र थप संकटमा परेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । महासंघले बुधबार (आज) प्रेस विज्ञप्ति गर्दै सरकारले चाँडो निर्णय नगरे सेवा बन्द गर्नुपर्ने वा स्वघोषित रूपमा भाडा बढाएर सेवा सञ्चालन गर्न बाध्य हुने चेतावनी दिएको हो ।  नेपाल आयल निगमले गत चैत २ गतेदेखि लागू हुनेगरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य बढाएपछि यातायात व्यवसायीहरू आर्थिक दबाबमा परेको महासंघको भनाइ छ । महासंघका अनुसार मूल्य अझै बढ्न सक्ने संकेतले व्यवसायी झनै चिन्तित बनेका छन् ।  महासंघले इन्धन मूल्यवृद्धिको असरलाई ध्यानमा राख्दै यातायात व्यवस्था विभागले पनि भाडा समायोजनका लागि सरकारलाई सिफारिस गरिसकेको जनाएको छ । विभागले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत, तराई क्षेत्रमा मालवाहक सवारीमा ८.८१ प्रतिशत र पहाडी क्षेत्रमा १४.२९ प्रतिशत भाडा बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा  प्रस्ताव गरिसकेको छ । तर, पटक-पटक अनुरोध गर्दा पनि मन्त्रालयले हालसम्म कुनै निर्णय नगरेको महासंघले जनाएको छ ।  ‘अब धेरै दिन घाटामा सेवा सञ्चालन गर्न सकिँदैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तत्काल भाडा समायोजन नगरे देशभरका यातायात सेवा प्रभावित हुन सक्छन् ।’ यो पनि पढाैं- गाडी भाडा र जोर–बिजोर प्रणालीबारे विभागले मन्त्रालयमा पठायो प्रतिवेदन

ग्लोबल आइएमई बैंकद्वारा पौभा कलाको दिव्य रङ्ग, दर्शन समावेश २०८३ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा पौभा कलाको दिव्य रङ्ग र दर्शन सहितको तस्वीरहरु समावेश नयाँ वर्ष २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक प्रा. डा. सन्दुक रुइटले संयुक्तरुपमा उक्त २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेका हुन् । पौभा कला नेवार जातिको मौलिक चित्रकला हो । क्यालेण्डरमा विशेषगरी काठमाडौं उपत्यकामा बस्ने नेवाः समुदायसँग गहिरो सम्बन्ध रही आएको पौभा कलाको दुर्लभ चित्रहरु समावेश गरिएको छ । थान्कासँग मिल्दोजुल्दो देखिए पनि पौभाको आफ्नै विशिष्ट पहिचान र दार्शनिक गहिराई रहेको छ ।  बैंकले विगत केही वर्षदेखि नेपाली कला, साहित्य, संस्कृति र सभ्यताको संरक्षण तथा प्रवर्द्धनका आफ्नो क्यालेण्डरमा मौलिक चित्रहरु समावेश गर्ने गरेको छ । बैंकले २०७९ मा नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्र, २०८० मा मण्डला चित्रकला, २०८१ मा विभिन्न समयमा स्वदेश फर्काइएका प्राचित कलाकृति र २०८२ मा पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्वीर समावेश गरी क्यालेण्डर प्रकाशन गरेको थियो । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गसहित बैंकका उच्च व्यवस्थापनका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।   

नक्कली सुन देखाएर ठगी गर्ने वाईबा पक्राउ

काठमाडौं । नक्कली सुन देखाएर १४ लाख रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सोमबार सिन्धुलीका ३८ वर्षीय विजय लामा भन्ने धनवीर वाईबालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार झोला भित्र लुकाई गरी राखेको पहेँलो रङको बिष्कुट आकारको ५४७.६९० ग्रामको सुन जस्तो देखिने पहेँलो धातु, बिल १ थान, चेकबुक १ थान, राहदानी १ थान, मोबाइल ३ थान, सुनको मुद्रा १ थान र नगद १ हजार २० रुपैयाँसहित प्रहरीले वाइबालाई नियन्त्रणमा लिएको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए ।     

प्रधानमन्त्रीले साइत हेरेर सपथ लिने परम्परा मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले साइत हेरेर सपथ लिने परम्परामाथि टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री, मन्त्रीलगायतले साइत देखाएर शपथ लिने विषयमाथि टिप्पणी गरेका हुन् । उनले यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन नपरेको उल्लेख गरेका छन् । ‘उनले लेखेका छन्, ‘यो साइत देखाएर सपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन, हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय नै थिएन । तर, इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो त ।’ बालेन्द्र शाह (बालेन)ले साइत हेरेर सपथ लिने विषय सार्वजनिक भएपछि उनले शुक्रबार १२ः३४ बजे प्रधानमन्त्रीको शपथ लिने तयारी गरेका हुन् ।  उनको सपथमा सात वटा शंख एकसाथ बजाइनेछ भने १०८ जना बटुकहरूले स्वस्ति वाचन गर्ने तयारी छ । शपथ ग्रहण समारोहमा १६ जना भिक्षुहरूले अष्ठमंगल पाठ गरी कार्यक्रमलाई धार्मिक विधिअनुसार सम्पन्न गर्ने तयारी गरिएको छ ।   

उद्योग वाणिज्य महासंघ बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बागमती प्रदेशको अध्यक्षमा दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका श्रेष्ठले आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । बागमती प्रदेश महासंघलाई भौतिक संरचना सम्पन्न बनाउने, जिल्ला नगर उद्योग वाणिज्य संघ र वस्तुगत संघहरूको क्षमता विकासमा केन्द्रित हुने, साना तथा मझौला उद्यम व्यवसायलाई लक्षित गरी प्रदेशको आर्थिक र औद्योगिक नीति निर्माणमा केन्द्रित हुने जस्ता एजेण्डासहित श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिने उद्घोष गरेका हुन् । उनले बागमती प्रदेशका भूगोलका उद्योग वाणिज्य संघहरू, सबै वस्तुगत संघहरू तथा एसोसियट सदस्यहरुलाई स्थानीय तह र प्रदेश सरकारसँग जोडेर कर प्रणाली र लेखा प्रणालीदेखि नापतौल सम्मका विषयमा आफूले काम गर्ने प्रतिवद्धता जनाएका छन् । बजार अनुगमनमा नाममा व्यवसायीहरूले पाउने दुःख र हैरानी सधैँका लागि अन्त्य गर्न बजार अनुगमनको स्पष्ट मापदण्ड बनाउनका लागि सम्बन्धित उद्योग वाणिज्य संघहरूसँग स्थानीय प्रशासनले सहकार्य गर्नुपर्ने नीतिगत प्रबन्ध गर्ने आफ्नो योजना रहेको पनि श्रेष्ठले बताएका छन् । २०६२ सालबाट व्यवसायिक यात्रा प्रारम्भ गरेका उनी नेपाल वितरक संघको कार्यसमिति सदस्य हुँदै अध्यक्षसम्म भएका थिए । उनले २०७४ देखि २०७६ सम्म वितरक संघको अध्यक्ष भएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरेका थिए । उनी उद्योग वाणिज्य संघ काठमाडौंको संस्थापक हुन् । आफू संस्थापक सदस्य रहेको यस संघको हाल उनी महासचिव छन् । यति मात्रै होइन, अन्तर्राष्ट्रिय रुपमा नेपालको औद्योगिक र व्यवसायिक क्षेत्रको प्रतिनिधित्व गर्दै उनी ‘नेपाल–माल्टा चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्री’को एक्जुकेटिभ मेम्बर (कार्यकारी सदस्य) छन् । पोखरा विश्व विद्यालयबाट एमबीए उत्तीर्ण गरेका श्रेष्ठले प्रदेश सरकारसँग उद्योगी व्यवसायीका कुराहरुमा ‘स्ट्रङ लविङ’ गर्ने र समस्या समाधानमा दिनरात केन्द्रित हुने प्रतिवद्धतासहित आफूले अध्यक्षमा उम्मेदवारी घोषणा गरेको जनाएका छन् । 

चिकित्सकलाई मेडिकल काउन्सिलको आग्रह : कार्यरत संस्थामा मात्र प्रमाणपत्र राखौँ

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले काउन्सिलमा दर्ता रहेका दर्तावाला चिकित्सकहरूलाई आफू कार्यरत स्वास्थ्य संस्थामा मात्र काउन्सिलबाट प्रदान गरेको चिकित्सक दर्ता प्रमाणपत्र राख्न आग्रह गरेको छ । केही चिकित्सकहरू आफू संलग्न नरहेको स्वास्थ्य संस्थामा समेत काउन्सिलबाट प्रदान गरेको चिकित्सक दर्ता प्रमाणपत्र राखेको पाइएकाले त्यसो नगर्न आग्रह गरेको हो ।  काउन्सिलले आफ्ना दर्तावाल चिकित्सकहरूलाई केन्द्रित गर्दै जारी गरेको सूचनामा भनिएको छ,‘आफू संलग्न नरहेको क्लिनिक वा अस्पतालमा नाम र प्रमाणपत्र राखिँदा सर्वसाधारणमा अन्योल सिर्जना हुन सक्ने र यसले व्यावसायिक आचारसंहिता उल्लङ्घनको पत्र उठाउन सक्ने हुनाले, आफ्ना विवरणहरूको दुरुपयोग हुन नदिन र भविष्यमा आइपर्न सक्ने कानुनी वा प्रशासनिक जटिलता सिर्जना हुने हुँदा आफू कार्यरत नरहेका पुराना संस्थाहरूबाट आफ्ना विवरणहरू तुरुन्त हटाउन भनेको छ ।’ काउन्सिलले साइनबोर्ड, विज्ञापन वा दर्ता पुस्तकमा आफ्नो नाम र दर्ता नम्बरको सही प्रयोग भए, नभएको तर्फ सचेत रहन पनि आग्रह गरेको छ ।