त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन
काठमाडौं । तनहुँको आबुखैरेनी गाउँपालिका-५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ-मुग्लिन सडक खण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०:४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो । उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका-२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ख२४९५ नम्बरको ‘गणपति डिलक्स’ लेखिएको बस हुन सक्ने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्रवण कुमार विकले जानकारी दिए । सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय साराङघाटबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा दुई र इलाका प्रहरी कार्यालय आबुँखैरेनीबाट प्रहरी निरीक्षकको नेतृत्वमा १२ जनाको टोली घटनास्थलमा खटिएको छ । घटनास्थलमा बस नदी किनारमा पुरिएको अवस्थामा देखिए पनि पूर्ण रूपमा यकिन हुन नसकेको प्रनाउ विकले बताए । हाल पुरिएको बस उत्खनन गर्ने कार्य तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
आज नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह प्रक्षेपण हुँदै
काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, स्वदेशी प्रविधि परीक्षण तथा कृत्रिम बौद्धिकतामा आधारित ‘डाटा’ प्रशोधनका लागि प्रयोग गरिनेछ । उपग्रहको सञ्चालन ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका सचिव डा.रवीन्द्र प्रसाद ढकालले मुनाल उपग्रह ‘आइएसआरओ’को ‘एसएलभी-सिक्स टू’ पनि ‘रकेट’मार्फत ‘राइडसेयर पेलोड’ का रूपमा आज बिहान १०:१७ बजे (भारतीय समय) अर्थात् नेपाल समय अनुसार १०:३२ बजे प्रक्षेपण हुनेछ भन्ने जानकारी गराए । ढकालले यो प्रक्षेपण भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट गरिनेछ ।
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण, हरिले बनाए नयाँ कीर्तिमान
काठमाडौं । ‘शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन,’ कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किनुभएका हरि बुढामगरले भने, ‘म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण म आफैँ छु ।’ समुद्री सतहदेखि ४ हजार ८९२ मिटर अग्लो माउन्ट भिन्सनको सफल आरोहण गरेसँगै पूर्व गोर्खासमेत रहनुभएका हरि बुढामगरले विश्वको सातै महादेशका अग्ला चुचुराको आरोहण पुरा गरेका छन् । ४६ वर्षअघि रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका हरि विश्व समुदायकै लागि एक साहसको पर्याय बनेका छन् । आफ्नो आरोहण अनुभव सुनाउँदै उनले भने, ‘यो उपलब्धि प्राप्त गर्नु धेरै कठिन थियो । तीव्र हावा र कठ्याङ्ग्रिँदो चिसोले मेरा औँला जमिरहेका थिए । मेरो अनुहारमा एक प्रकारको चिसोको जलन भइरहेको थियो । घरीघरी म आफैँ माथि शंका गर्थेँ । भगवानमा विश्वास नगर्ने म हामी सफल होऊँ भनेर मनमनै प्रार्थना गरिरहेको हुन्थेँ ।’ बुढामगरले तिव्र गतिको हावा र त्यो चिसोले आफूलाई उचाइमा पुग्नबाट रोक्न सक्दैन भन्ने आत्मविश्वासले कठिन चुनौती पुरा गर्न सफल भएको बताए । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको स्मरण गर्दै उनले हरेक काममा चुनौती हुने तर त्यसलाई पार गर्न आत्मविश्वास आवश्यक हुने बताए । निरन्तर र अथक प्रयासले मात्र यो सम्भव भएको उनको बुझाइ छ । ‘यो एक अद्भुत अनुभूति हो । म बयान गर्नै सक्दिन कि हामीले यो कसरी सम्भव तुल्यायौँ । तर, सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौँ । म धेरै भावुक छु । अपाङ्गता भएको व्यक्तिको रूपमा मैले यो असम्भव काम सम्पन्न गरेको छु,’ उनले भने, ‘हिमालको पानी पिएको नेपालीले गरेको यो कामले नेपालको शिर उँचो बनाउने काममा केही योगदान पक्कै गर्छ भन्ने लागेको छ । मलाई यो कामका लागि हौसला र निरन्तर सहयोग गर्ने सबैलाई मनैदेखि धन्यवाद दिन चाहन्छु ।’ मगरले यसअघि १९ मे २०२३ मा सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९०), २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१) को सफल आरोहण गरेका थिए । त्यसैगरी उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४), १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्याङ्क (४,८०९ मिटर) को सफल आरोहण गरेका छन् र गत बुधबार अन्टार्टिकाको माउन्ट भिन्सनको सफल आरोहण गरे । योसँगै उनले दुवै खुट्टाको घुँडामुनिका भाग गुमाएर पनि सातै महादेशका अग्लो चुचुरो आरोहण गर्ने नयाँ कीर्तिमान बनाएका छन् । सेभेन समिटको रूपमा रुसको माउन्ट एल्ब्रस (५६४२ मिटर) आरोहणसमेत समावेश गरिएको भएपनि यो अहिले पहुँच योग्य नभएका कारण उनले फ्रान्सको मोन्ट ब्ल्याङ्क आरोहण गरेका थिए । यसलाई गिनिज वर्ल्ड रेकर्डले समेत मान्यता दिएको बताइएको छ । कृत्रिम खुट्टाको भरमा अन्टार्टिकाको माउन्ट भिन्सन चढेर नेपाली झण्डा फहराएका हरिले हरेक खतरा पार गरेपछि एक सुन्दर समय आउने उदाहरण विश्व सामु प्रस्तुत गरेका छन् । माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति साट्दै उनले भने, ‘आँखाले देखेजति क्षितिज सम्मै सबैतिर हिउँ नै हिउँ, यो चमत्कारिक र स्वर्गजस्तै लाग्थ्यो ।’ आफूलाई धेरै पटक यस्ता चुनौतीपूर्ण काम तपाईँ जस्ता व्यक्तिले गर्ने होइन भन्ने गरेको स्मरण गर्दै उनले भने, ‘तपाईंको शारीरिक अवस्थाकै कारण तपाईंलाई कसैले केही गर्न सक्दैन भन्छन् भने मलाई देखाउनुहोस्/हेर्नुहोस् ।’ उनले आफ्नो यो सफलताले विश्वभर अपाङ्गता भएका व्यक्तिको जीवन परिवर्तनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे । सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहितलाई साथमा लिएर उनले २४ घण्टानै उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविरतर्फ लागेका थिए । उनको आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको हो । रोल्पाको थवाङ गाउँपालिकास्थित मिरुल गाउँमा जन्मिएका पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धमा पैदल गस्ती जाने क्रममा एक भूमिगत बम विस्फोटबाट दुबै खुट्टा गुमाएका थिए । १५ वर्षसम्म उनले ब्रुनाइ, कोसोभो, फकल्याण्ड र अन्य ठाउँमा काम गर्दै पाँच महादेशमा गोर्खा सैनिकको रूपमा काम गरेका थिए । तीन सन्तानका पिता हरि, हाल परिवारसहित बेलायत क्यान्टबरी केन्टमा बस्दै आएका छन् । गत वर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका उनी ‘प्राइड अफ ब्रिटेन बेलायत’ गौरव अवार्डका विजेता समेत हुन् । दुबै खुट्टा गुमाएपछि चरम निराशा र मदिरा सेवनले आत्महत्याको प्रयास सम्म गरेका उनले ती दिन स्मरण गर्दै आफूलाई स्काइ डाइभिङको मौकाले जीवनमा नयाँ परिवर्तन ल्याएको बताए । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका मानिस उच्च साहस र दृढ विश्वासी छन् भन्ने सन्देश दिन सफल भएको सुनाए । उनले आफ्नो सफलता अपाङ्गता भएका समुदायलाई समर्पित गरेको बताए । आफ्नो सफलताको खुसी बाँड्न उनी माघ १ गते काठमाडौं आउँदैछन् । त्यसपछि बेलायत फर्केर बेलायतका प्रधानमन्त्रीलाई भेट्ने योजना रहेको उनले सुनाए ।
आज पहाडी र हिमाली भू-भागमा मौसम सफा, तराईमा हुस्सु
काठमाडौं । नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू-भागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू-भागका केही स्थानहरूमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कांग्रेस विशेष महाधिवेशनको पक्षमा २ हजार ६६२ प्रतिनिधि, कुन प्रदेशबाट कति ?
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भइरहेको कांग्रेसको विशेष महाधिवेशनको पक्षमा २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा आजदेखि सुरु भएको महाधिवेशनको पहिलो दिन आज ८ वटा ‘स्टल’ बाट नाम दर्ता प्रक्रिया थालिएको थियो । आज बिहान ९ बजेदेखि महाधिवेशन प्रतिनिधिले नाम दर्ता सुरु गरेका विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशबाट ४२५, मधेस प्रदेशबाट ४४६, बागमती प्रदेशबाट ४३२, गण्डकी प्रदेशबाट २९६, लुम्बिनी प्रदेशबाट ३९८, कर्णाली प्रदेशबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १४८, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट १७८ र भातृ, शुभेच्छुक एवं जनसम्पर्क समितिबाट १९५ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन् । संयोजक पाण्डेयका अनुसार नाम दर्ता प्रक्रिया सोमबार बिहान ८ बजेदेखि पुनः थालिनेछ । विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा सुरु हुने बताइएको छ ।
नाडा निर्वाचन विवाद अदालतमा, नवनिर्वाचित कार्यसमितिको पदस्थापन रोकियो
काठमाडौं । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) को हालै सम्पन्न ४९औं साधारण सभा तथा निर्वाचन विवाद उच्च अदालतमा पुगेको छ । निर्वाचन प्रक्रिया धाँधली भएको र विधानविपरीत अध्यक्षको चुनाव गराइएको भन्दै परेको मुद्दामा पाटन उच्च अदालतले पुस २५ गतेका लागि निर्वाचन रोक्न अन्तरिम आदेश दिएको हो । असन्तुष्ट पक्षका सुनिल रिजालका अनुसार नाडाको परम्परा र विधानको मर्मअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनुपर्नेमा सो प्रावधानलाई मिचेर सिधै अध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको थियो । ‘सुरुमा हाम्रो मुख्य मुद्दा वरिष्ठ उपाध्यक्षलाई अध्यक्ष बनाइएन भन्ने थियो । त्यसपछि कानुन विपरीत साधारण सभा र निर्वाचन गरियो । सोही मुद्दाअन्तर्गत अदालतले यो फैसला गरेको हो,’ उनले भने । वरिष्ठ उपाध्यक्षको पदका लागि हुनुपर्ने चुनावलाई अध्यक्ष पदको चुनावमा परिणत गर्नु स्वतः गैरकानुनी रहेको असन्तुष्ट पक्षको दाबी छ । निर्वाचन प्रक्रियामा गम्भीर धाँधली भएको र सर्वसम्मतको नाममा सिन्डिकेट खडा गरिएको आरोप समेत लगाइएको छ । उम्मेदवारी दर्ताका क्रममा ढोका बन्द गरेर अन्य प्रतिस्पर्धीलाई प्रवेश नदिइएको, र उम्मेदवार बन्न चाहने कार्यसमितिका सदस्यलाई प्रवेश रोकिएको समेत असन्तुष्ट पक्षको आरोप छ । ‘उम्मेदवारी दिने दिन ढोका थुनेर अरूलाई छिर्नै दिइएन । एउटा ढोका त हामी आफैले ठेलेर छिर्यौं, तर अर्को ढोकाबाट छिर्न दिइएन,’ एक सदस्यले भने । उम्मेदवारी दर्ताका क्रममा राष्ट्रिय परिचयपत्रलाई मान्यता नदिइ अनिवार्य रूपमा नागरिकता मागिएको र कतिपय व्यवसायीसँग उनीहरूको व्यवसायको आधिकारिक परिचयपत्र मागेर उम्मेदवार बन्नबाट वञ्चित गराइएको पनि निवेदक पक्षको आरोप हो । असन्तुष्ट पक्षका अनुसार अदालतले सम्पूर्ण कागजात अध्ययन गरेपछि मात्रै अन्तिम निर्णय दिनेछ । ‘अदालतको आदेश निर्वाचनको परिणाम मात्र रोक्नु भन्ने हो, अन्तिम फैसला होइन । साधारण सभा र निर्वाचन प्रक्रियामा त्रुटि छ कि छैन भनेर अदालतले सबै कागजपत्र मागेको छ । यदि प्रक्रियामा गल्ती भेटिएमा त्यसपछि मात्रै अदालतले थप निर्णय गर्नेछ,’ उनले भने । विवादित साधारण सभा र त्यसपछि गराइएको निर्वाचन दुवै विषयलाई समेटेर एउटै रिट निवेदन दायर गरिएको थियो । अदालतले सोही निवेदनमाथि सुनुवाइ गर्दै दुवै विषयसँग सम्बन्धित कागजात मागेको हो । ‘हाम्रो रिट एउटै हो, जसमा साधारण सभादेखि निर्वाचनसम्मका सबै विषय समेटिएका छन्,’ ती सदस्यले भने । निवेदक पक्षले मतदाता नामावलीमा नक्कली सदस्य र प्रबन्धकहरू खडा गरी मतदान गरिएको दाबी समेत गरेको छ । ‘यदि नामावलीमा भएका व्यक्तिहरूलाई बोलाएर छानबिन गर्ने हो भने ९० प्रतिशत नक्कली मतदाता भेटिन्छन् । त्यसपछि उनीहरू जालसाजीको मुद्दामा फस्नेछन्,’ ती सदस्यले भने । यद्यपि निर्वाचित पक्षले गल्ती स्वीकार गरी सहमतिका लागि प्रस्ताव गरेमा सहकार्य गर्न सकिने सम्भावना पनि रहेको असन्तुष्ट पक्षले बताएका छन् । अदालतले निर्वाचित पक्षलाई गत ४७औं वार्षिक साधारण सभा र निर्वाचनसम्बन्धी सम्पूर्ण कागजात, मतदाता नामावली, निर्वाचन कार्यतालिका, निर्णयपुस्तिका लगायतका प्रमाणहरू पेश गर्न आदेश दिएको छ । निर्वाचित पक्षले अबको एक/दुई दिनभित्र कागजात बुझाउने तयारी गरिरहेको छ । हाल पदस्थापन रोकिएको र अदालतले कागजात अध्ययन गर्ने प्रक्रियामा रहेकाले नाडाको नयाँ नेतृत्वको भविष्य अदालती प्रक्रिया र दुई पक्षबीचको सम्भावित सहमतिमा निर्भर देखिएको छ । नाडाको ४७औं साधारण सभामा वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने सहमति भएको थियो । तर तत्कालीन समयमा सीडीओ कार्यालयले कार्यान्वयन नगरेपछि असन्तुष्ट पक्षले अदालत पुगेको थियो ।
कांग्रेस दास र लाशहरूको पार्टी होइन : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्ररेस कुनै दास र लाशको पार्टी नभएको बताएका छन् । थापाले नेपाली कांग्रेसमा अब कुनै तानाशाही नचल्ने दाबीसमेत गरे । उनले भने, ‘अब नेपाली कांग्रेसमा कोही ठूलो–सानो हुँदैन । मञ्चमा बस्ने र भुइँमा बस्ने बीचमा फरक व्यवहार हुँदैन ।’ थापाले नव युवापुस्ता व्यक्तिगत रूपमा आफूहरूसँग नरिसाएको बताए । ‘नव युवापुस्ता हाम्रो कार्यशैलीसँग रिसाएको हो,’ थापाले दाबी गर्दै भने । भाद्र २३ र २४ पछि कांग्रेस सुधारिनुपर्छ भन्नेहरू आज भृकुटीमण्डपमा आएको र सुधारिन नचाहनेहरू बाहिर रहेको मत उनको छ । अर्को प्रसंगमा थापाले पार्टीभित्र नेपोबेवी हावी भएको बताए । अब नेपाली कांग्रेस त्यो चरणबाट मुक्त हुनुपर्ने उनको भनाइ छ ।