विकासन्युज

नेपाली कांग्रेसको विशेष महाधिवेशन : बन्दसत्र भोलि बिहान ८ बजे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र सोमबार (भोलि) बिहान ८ बजेबाट सुरु हुने भएको छ ।  विशेष महाधिवेशन पक्षधर नेता मनोजमणि आचार्यले बन्दसत्र भोलि बिहान ८ बजेबाट प्रारम्भ हुने जानकारी दिए । उनले बन्दसत्रमा सहभागी प्रतिनिधिहरूलाई समयमै उपस्थित हुन अनुरोधसमेत गरेका छन् । महाधिवेशनस्थलमै हुने बन्दसत्रमा पार्टीको समसामयिक राजनीतिक अवस्था, संगठनात्मक संरचना तथा भावी कार्यदिशाबारे छलफल हुने जनाइएको छ । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद र बहस जारी रहेका बेला सुरु हुन लागेको बन्दसत्रलाई महत्त्वपूर्ण मानिएको छ ।  बन्दसत्रका निर्णयहरूले पार्टीको आगामी रणनीति र आन्तरिक राजनीतिमा निर्णायक प्रभाव पार्ने नेताहरूको अपेक्षा छ ।

हामी कांग्रेस पनि बदल्छौं, देश पनि बदल्छौं : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो देशको बिग्रिएको मौसमलाई सफा गर्नुपर्ने बेला आएको दाबी गरेका छन् ।  आइतबार (आज) विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले अब देशको आकाश धुम्मिन नदिने बताए । ‘विशेष महाधिवेशन कांग्रेसलाई बलियो बनाउने होइन, प्रधान मुद्दा देशलाई बलियो बनाउने हो,’ उनले भने । शर्माले अब कांग्रेस जलेका भवन जोड्ने र बिग्रिएका मन जोड्ने काममा लाग्ने प्रणसमेत गरे ।  उनले नेतृत्वको एउटा मिसन हुनुपर्ने बताएका छन् । उनका अनुसार उचाइ प्राप्त गरेपछि सम्मानजनक बर्हिगमन पनि गर्नुपर्छ ।  शर्माले अबको कांग्रेसको मूलमन्त्र सद्भाव, सुशासन र समुन्नति भएको बताए । उनले काठमाडौंबाट जिल्ला फर्किँदा आफ्नो गाउँ र ठाउँमा सद्भाव बोकेर जान कार्यकर्तालाई आग्रहसमेत गरे ।  शर्माले सभापति शेरबहादुर देउवालाई आफूले सम्मानजनक बहिर्गमन गर्न आग्रह गरेको भएपनि उनले नसुनेकोमा दुखेसोसमेत पोखे ।  शर्माले देउवाले आफ्नो सुझाव मानेको भए यस्तो अवस्था नआउने पनि दावी गरे ।

पहिले निद्राबाट उठ्नूहोस्, जागृत बन्नूहोस् : महेश आचार्य

काठमाडौं । नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपाली कांग्रेसका नेताहरूलाई उठ्न र जागृत हुन आग्रह गरेका छन् ।  कांग्रेसको काँधमा अहिले ठूलो जिम्मेवारी आएको दाबी पनि आचार्यको  छ ।  सुतेको कांग्रेसले देश बनाउन नसकेको अवस्थामा अब नवीन कांग्रेस बनाउन सबै जाग्नुपर्ने उनको आग्रह रहेको छ । ‘अब कांग्रेस न हिजोको जस्तो हुनेछ न त आजको जस्तो हुनेछ । अब नेपाली कांग्रेस नदीजस्तो सलल बग्ने हुनुपर्छ,’ आचार्यले भने ।   पूर्वअर्थमन्त्रीसमेत रहेका आचार्यले सूचना प्रविधिको माध्यमबाट देशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए  ।

सहकारी क्षेत्रको नियमन ठूलो चुनौती बनेको गुनासो, मन्त्रीले भने : सहकारी अभियान सुदृढ बनाउनु साझा दायित्व हो

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको ३३ औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले सहकारी अभियान देशको अर्थतन्त्रको बलियो खम्बा भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती समाधान गर्दै अभियानलाई प्रभावकारी बनाउनु सरकार मात्र नभई सम्पूर्ण सरोकारवालाको साझा दायित्व भएको बताए । उनले सहकारीलाई पारदर्शी, उत्तरदायी र विश्वासयोग्य बनाउँदै आर्थिक समृद्धिमा यसको भूमिकालाई अझ सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए । साधारण सभामा सहकारी विभागका रजिस्ट्रार सुशील ढकालले सहकारी अभियानसँग हातेमालो गर्दै देखिएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी क्षेत्रको नियमन अहिले सबैभन्दा ठूलो चुनौती बनेको बताउँदै नियमन प्रणालीमा एकरूपता र स्पष्टता ल्याउन जरुरी रहेकोमा जोड दिए । सहकारीप्रति जनविश्वास कायम राख्न प्रभावकारी अनुगमन र नीतिगत सुधार अपरिहार्य रहेको उनको भनाइ थियो । उद्घाटन कार्यक्रममा महासंघका सल्लाहकार केशव बडाल, दीपकप्रकाश बाँस्कोटा खगराज अधिकारी, देवन्द्रराज कडेल, लिलामणि पौडेल, गणेश शाह र उषा झाले सहकारी अभियानलाई सशक्त रूपमा अगाडि बढाउन महासंघले खेल्नुपर्ने नेतृत्वदायी भूमिकाबारे धारणा राखे । उनीहरूले वर्तमान अवस्थामा सहकारी क्षेत्रमाथि बढ्दै गएको दबाब, विश्वासको संकट तथा नीतिगत अस्पष्टताका बीच महासंघको सशक्त नेतृत्व अपरिहार्य रहेको औँल्याए । कार्यक्रममा महासंघका कार्यवाहक अध्यक्ष रमेश पोखरेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरे । उपाध्यक्ष खेम पाठकले स्वागत मन्तव्य राखे भने उपाध्यक्ष डीबी बस्नेतले महासंघको विनियम संशोधन प्रस्ताव पेश गरे । उपाध्यक्ष इन्दिरा पन्तले महासंघको भावी कार्यक्रम तथा बजेट प्रस्तुत गरिन् । महासंघका महाप्रबन्धकले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाले सहकारी क्षेत्रको सुदृढीकरण, नीतिगत सुधार, पारदर्शिता र विश्वास पुनःस्थापनाका लागि महासंघले अझ प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ । सभाले सहकारी अभियानलाई थप मजबुत बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा यसको योगदान विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।

कांग्रेस बलियो बनाउने अभियान सुरु भयो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कांग्रेस बलियो बनाउने अभियान सुरु भएको बताएका छन् ।  विशेष महाधिवेशनले कांग्रेसलाई अझ बलियो बनाउन लाग्नुपर्नेमा उनले जोड दिए ।  उनका अनुसार विगतमा सबै आन्दोलन कांग्रेसले गरेको थियो तर भदौ २३ र २४ गते कांग्रेसलाई युवाहरूले सचेत बनाए । उक्त आन्दोलनले कांग्रेसलाई सच्याउन चुनौती दिएको पौडेलको दाबी छ ।  सोही आन्दोलनको म्यान्डेटअनुसार विशेष महाधिवेशनले नेतृत्व लिन पर्नेमा पौडेलको जोड छ ।

राजनीतिक दल, उम्मेदवार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण छ : आयोग

काठमाडौं । निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल, उम्मेदवार र मतदताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने बताएका छन् ।      निर्वाचनमा सुरक्षाकै कारण राजनीतिक दल र उम्मेदवारले जनतासँग मात माग्न र मतदताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका हुन् । उनले एकीकृत सुरक्षा योजनाअनुसारका चारैसुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गरे ।       'राजनीतिक दल, उम्मेदवार वा पक्षधरहरुले जनता र मतदातासमम्म आफ्ना विचार वा प्रचार लैजान निर्भयतापूर्वक विश्वस्त भएर लाग्नसक्ने स्थिति छ । सुरक्षाकै कारण मतदातासमक्ष उहाँहरु जान नसक्ने अवस्था छैन', उनले भने, 'यसका लागि सुरक्षा निकायले चनाखो भएर काम गरिरहेका छन् । सरकारले स्रोत, साधन उपलब्ध गराएकै छ ।'  

सुदूरपश्चिममा वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा दूधको उपलब्धता बढेर प्रतिव्यक्ति वार्षिक १२० देखि १३० लिटरसम्म पुगेको छ । दूध उत्पादनमा व्यवसायीकरण भएसँगै यसको उपलब्धता बढेको हो । करिब डेढ दशक अघिसम्म दूधको उपलब्धता योभन्दा कम थियो । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव शङ्कर साहले भने, 'पहिले घरायसी प्रयोजनका लागि मात्रै दूध उत्पादन हुँदै आएको थियो, पछिल्ला वर्षमा व्यावसायिक रूपमा उत्पादन भइरहँदा उपलब्धता दर पनि बढेको हो ।' उनका अनुसार प्रदेशमा करिब ६० देखि ७० हजार किसान दूध उत्पादनमा संलग्न रहेकामा यो व्यवसायबाट १० देखि १२ हजारले प्रत्यक्ष रोजगारी पाएका छन् । प्रदेशका सबै नौ जिल्लामा गरी १० लाख गाई र पाँच लाख भैँसीपालन भइरहेको मन्त्रालयले जनाएको छ । पालिएका गाईभैँसीबाट वार्षिक तीन लाख ५५ हजार मेट्रिकटन दूध उत्पादन भइरहेको सचिव साहले जानकारी दिए । नेपालमा प्रतिव्यक्ति वार्षिक ९२ लिटर दूध उपलब्धता हुनुपर्ने मानसिक रहेपनि देशको औसत उपलब्धता ९० लिटर मात्र रहेको मन्त्रालयका सचिव साहले बताए । 'प्रदेश दूधको उपभोगमा पनि आगाडि छ । यहाँ दूधको उपभोगमा आगाडि देखिनुमा घरेलु उपभोग प्रमुख हो । अधिकांश परिवारमा दूधबाट घरमै घ्यू, दही, मोही र अन्य परिकार बनाउने चलन छ', उनले भने । यहाँको दूध र दुग्ध परिकारलाई ‘ब्रान्डिङ’ गरेर बजारमा लैजान सकिएमा सुदूरपश्चिमले दुग्धजन्य उत्पादनका लागि पहिचान बनाउन सक्ने कृषि प्राविधिकको भनाइ छ । घ्यू, दही, छुर्पी, पनिरलगायत परिकारलाई स्थानीय स्वाद र संस्कृतिसँग जोडेर प्रवर्द्धन गर्न सकिएमा प्रदेशको आर्थिक रुपान्तरणमा टेवा पुग्ने मन्त्रालयका सचिव साहले विश्वास व्यक्त गरे । प्रदेशलाई परम्परागत रूपमा कृषि र पशुपालनमा निर्भर क्षेत्रका रूपमा लिने गरिएको बताउँदै उनले पहाडी भूगोल, ग्रामीण जीवनशैली र परम्परागत खाद्य संस्कृतिले यहाँको दुग्ध उत्पादनलाई देशका अन्य प्रदेशभन्दा फरक र विशिष्ट बनाएको उल्लेख गरे । भौगोलिक कठिनाइ, सीमित पूर्वाधार र बजार पहुँचको समस्या हुँदाहुँदै पनि यो उत्पादन परिमाणलाई प्रदेशको ठूलो उपलब्धि मानिएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले बताए । दूध उत्पादन पहिलेभन्दा बढ्दै गए पनि व्यवस्थित बजारीकरणमा समस्या रहेको उनको भनाइ छ । उनले भने, 'प्रदेशभरि ३३ वटा डेरी उद्योग सञ्चालनमा आइसकेका छन्, उत्पादित केही परिमाणको दूध पूर्व चितवन र भक्तपुरसम्म पुग्ने गरेको छ ।' दूध प्रशोधन उद्योग, पाउडर प्लान्ट, चिस्यान प्रविधि (कोल्ड चेन) नहुनु, सहज ढुवानीको समस्या, मूल्य निर्धारणको अस्पष्टतालगायत कारणले सहज व्यवस्थापनमा समस्या हुँदै आएको हमालले बताए । रासस

पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले आज राजा पृथ्वीनारायण शाहले नेपाल निर्माण गरेको दिन भएको बताएका छन् ।  पार्टीको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विचारले चल्ने दावी गरे । भण्डारीले हरेक आन्दोलनको नेता भएको कांग्रेसले त्यो इतिहास अहिले कायम गर्न नसकेको गुनासो गर्दै भने, ‘अब हामीले त्यो इतिहास जोगाउनुपर्छ ।’  अब नयाँ पुस्ता नै देशको नेता हुनुपर्ने आग्रह उनको छ । ‘तपाईंहरूजस्तै युवा पृथ्वीनारायणले बनाएको यो देश फेरि नयाँ पुस्ताले समृद्ध बनाउनुपर्छ,’ उनले भने ।