काठमाडौँ। राष्ट्रिय मानव अधिकार आयोगले उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी) सन्तोष खड्कालाई बयानका लागि बोलाएको छ ।
पूर्वप्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई आइतबार भेटघाट गर्न नदिएपछि आयोगले खड्कालाई सोमबार पत्र लेख्दै बयानमा बोलाएको हो। आयोगले एसएसपी खड्कालाई असोज १३ गते मंगलबार उपस्थित हुन पत्राचार गरेको हो ।
कार्यालयका प्रमुख सन्तोष खड्काले सम्माति मानव अधिकार आयोगलाई सम्मान गरेर उपस्थित भइ बयान दिने बताए । 'हामीले राज्यका लागि आफ्नो कर्तव्य निभाएका हौँ,'उनले भने,' प्रहरीले थप सुरक्षा प्रदान गर्न र उद्धार गरेर सुरक्षित स्थानमा ल्याएर राखिएको हो ।'
राज्यको काम नागरिकलाई सुरक्षा दिने काम रहेकाले सुरक्षा प्रदान गरिएको उनको भनाइ छ । प्रहरीले आफ्नो काम, कर्तव्य र भूमिका निभाएको खडकाले उल्लेख गरे ।
'मानवअधिकार आयोगले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई जानकारी नगराइ अनुगमनमा गएका छन्,' उनले विकासन्युजसँग भने,' हाम्रो भूमिका राज्यले निभाउनु पर्ने काम मात्र हो ।'
अहिले जबरालाई थप सुरक्षा प्रदान गरिएको उनले बताए ।' उहाँले आफैँ सुरक्षाका लागि निवेदनसमेत पेश गर्नु भएको छ,' उनले भने ।