ओली हिरासतमा परेपछि एमालेको ‘स्टेरिङ’ सम्हाल्दै बादल
काठमाडौं । नेकपा एमालेले कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिएको छ। अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका लागि हिरासतमा रहेकाले थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । एमाले नेता ऐन महरले अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उनी हिरासतबाट नआउँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी थापालाई दिइएको जानकारी दिए । आज नै एमालेको संसदीय दलको नेतामा थापा चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो । संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए । गत मंसिरमा सम्पन्न एमालेको महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित थापा पार्टीमा दोस्रो वरीयतामा छन् ।
समानुपातिकमा विपन्न खस आर्यलाई प्राथमिकता दिन दायर रिटमा सर्वोच्चले गर्यो कारण देखाऊ आदेश जारी
काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीमा विपन्न खस आर्यलाई प्राथमिकता दिन माग गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार (आज) समानुपातिक निर्वाचन प्रणालीमा विपन्न खस आर्यलाई प्राथमिकता नदिनुको कारणसहित लिखित जवाफ माग गरेको हो । सामाजिक न्यायका अभियन्ता खजान्ती महतो नुनियाँले दर्ता गरेको रिट निवेदनमा समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका अर्जुननरसिंह केसी र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित पद्मा अर्यालसमेतलाई विपक्षी बनाइएको छ । रिटमा समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको व्यावहारिक कार्यान्वयन गरी सामाजिक न्यायको प्रत्याभूति दिलाउने मुख्य उद्देश्य संविधानको भएकाले आर्थिक रुपले विपन्न खस आर्यलाई प्राथमिकता दिन माग गरिएको छ ।
२२ अर्बको संस्थापक सेयरमा सीडीएससीको ‘तगारो’, इप्पान भन्छ– १४ महिनादेखि गैरकानुनी रोक
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले २०८० माघदेखि आईपीओ निष्काशन गरेका कम्पनीको २२ अर्ब रुपैयाँ बढीको संस्थापक सेयर नेप्सेमा सूचीकृत गरिदिन माग गरेको छ । धितोपत्र निष्काशन सम्बन्धी निर्देशिका अनुसार आईपीओ जारी भइसकेपछि कम्पनीको संस्थापक र साधारण सेयर एकैपटक नेप्सेमा सूचीकृत गर्नुपर्ने भएपनि सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले साधारण सेयर मात्रै अभौतिकीकरण गरेर संस्थापक सेयरलाई गैरकानुनी रुपमा १४ महिनादेखि रोकिएकोले त्यसलाई यथाशिघ्र अभौतिकीकरण गरिदिन इप्पानले माग गरेको हो । इप्पानले बुधबार (आज) सीडीएससीलाई पत्राचार गर्दै सबै ऊर्जा कम्पनीको संस्थापक सेयर अभौतिकीकरण गरी नेप्सेमा सूचीकृत गरिदिन आग्रह गरेको हो । सीडीएससीले संस्थापक सेयर र साधारण सेयरका लागि छुट्टाछुट्टै अन्तर्राष्ट्रिय सेक्युरिटीज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन) अनिवार्य हुनुपर्ने गैरकानुनी अडान लिएपछि ३ वटा सोलार ऊर्जा कम्पनीसहित २२ ऊर्जा कम्पनीहरूको २२ अर्ब १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको संस्थापक सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत हुन सकेको छैन । सीडीएससीको गैरकानुनी हठले झण्डै दुई दर्जन ऊर्जा उत्पादक कम्पनीका लगानीकर्ता मर्कामा परेको इप्पानले जनाएको छ । ती कम्पनीका लगानीकर्ताको सरकारप्रतिको विश्वास गुमेको ऊर्जा उद्यमीहरूले बताएका छन् । लगानीकर्ताहरूलाई थप परियोजनामा लगानी गर्नबाट पछि हट्नुपर्ने परिस्थिति सिर्जना गरेको पनि उनीहरूको गुनासो छ । ऊर्जा उत्पादक कम्पनीहरूले मौजुदा कानुनअनुसार ३ वर्षसम्म संस्थापक सेयर बिक्री गर्न नपाउने गरी लकइन गरिएको हुन्छ । ३ वर्षपछि कम्पनीले बैंकको ऋण चुक्ता गरेको अवस्थामा मात्रै संस्थापक सेयर विक्री गर्न पाउँछन् । त्यति हुँदा पनि सीडीएससीले गैरकानुनी रूपमा दोहोरो आइजीनको कुरा निकालेर सेयर सूचीकृत नगर्नु लगानीकर्तामाथिको अन्याय भएको उद्यमीहरूको भनाइ छ । दोहोरो आइजीन कायम गरेर मात्रै संस्थापक सेयर सूचीकृत गर्ने सीडीएससीको अडानपछि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले यस्तो व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेको थियो । जबर्जस्ती यस्तो व्यवस्था कार्यान्वयन गरेमा गैरआवासीय नेपालीबाट नेपालमा थप लगानी नआउने पनि संघले चेतावनी दिएको थियो । दोहोरो आइजीनले लगानीकर्ताको सम्पत्ति बन्धक हुने भन्दै यसले भोलिका दिनमा नेपालको लगानी वातावरण नै बिगार्न सक्नेतर्फ एनआरएनएले सीडिएससीको ध्यानाकर्षण गराएको थियो । इप्पानका अनुसार आर्थिक वर्ष (आव) २०८१/८२ मा ८ वटा ऊर्जा कम्पनीको ३ अर्ब ५२ करोड २६ लाख ५५ हजार २०० रुपैयाँ बराबरको ३ करोड ५२ लाख २६ हजार ५५२ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ । त्यसैगरी, आव २०८२/८३ मा १४ कम्पनीको १८ अर्ब ६० करोड १४ लाख ७२ हजार ६०० रुपैयाँ बराबरको १८ करोड ६० लाख १४ हजार ७२६ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी रहेको छ । २२ कम्पनीको कुल २२ अर्ब १२ करोड ४१ लाख २७ हजार ८०० रुपैयाँ बराबरको २२ करोड १२ लाख ७१ हजार २७८ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत हुन बाँकी छ ।
नबिल बैंकको ८ प्रतिशत लाभांश दरको अग्राधिकार सेयरको दोस्रो बजारमा कारोबार सुरु
काठमाडौं । नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’को धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु भएको छ । प्रति सेयर अंकित मूल्य १०० रुपैयाँ रहेको चुक्ता मूल्य ५ अर्ब रुपैयाँ भएको पाँच करोड कित्ता सेयरको यही २०८२ चैत्र १६ गते सोमबारदेखि कारोबार सुरु भएको हो। धितोपत्रको दोस्रो बजारमा कारोबार हुने यस प्रकारको अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानीकर्ताबीच मात्रै खरिद बिक्री हुनेछ । साथै सर्वसाधारण लगानीकर्ता, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी (धितोपत्र दलाल व्यापारी, मर्चेन्ट बैंकर लगायत) र सामूहिक लगानी कोषले यो अग्राधिकार सेयर खरिद बिक्री गर्न नपाउने व्यवस्था छ । नेपाल राष्ट्र बंैक तथा नेपाल धितोपत्र बोर्डले अविमोच्य असञ्चिति अग्राधिकार शेयरसम्बन्धी नीतिगत व्यवस्था गरेपश्चात यस किसिमको अग्राधिकार सेयर जारी गर्ने स्वीकृति नेपाल धितोपत्र बोर्डबाट पहिलोपटक नबिल बैंकले प्राप्त गरेको थियो । उक्त उपकरण जारी गरेपश्चात अतिरिक्त प्राथमिक पुँजीका माध्यमबाट पुँजीगत आधार बलियो भई बैंकको जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने बैकले विश्वास लिएको छ । नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नेपाल टेलिकमले थ्रीजी सेवा बन्द गर्ने, ग्राहकलाई निःशुल्क फोरजी सिम लिन आग्रह
काठमाडौं । नेपाल टेलिकमले आफ्नो सेवालाई थप आधुनिक र गुणस्तरीय बनाउने उद्देश्यका साथ निकट भविष्यमा थ्रीजी सेवालाई क्रमिक रूपमा बन्द गर्ने प्रक्रिया अगाडि बढाएको छ । पुरानो प्रविधिलाई हटाएर नयाँ र द्रुत गतिको फोरजी सेवामा पूर्ण रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको कम्पनीले हाल थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकहरूलाई आफ्नो सिम कार्ड परिवर्तन गर्न एसएमएस र भ्वाइस कलमार्फत औपचारिक जानकारी गराइरहेको छ । ग्राहकहरूले आफ्नो पुरानो थ्रीजी सिमलाई कुनै पनि शुल्क नतिरी अर्थात् निःशुल्क रूपमा फोरजी सिममा साट्न सक्ने टेलिकमले जनाएको छ । नयाँ सिम लिनका लागि ग्राहकहरूले आफ्नो पायक पर्ने नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । सिम परिवर्तन गर्दा ग्राहकले आफ्नो पहिचान खुल्ने आधिकारिक कागजातहरू जस्तै, नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी वा सवारी चालक अनुमतिपत्र मध्ये कुनै एकको प्रतिलिपि साथमा लैजानुपर्ने प्रावधान राखिएको छ । सिम फोरजी प्रविधिको हो वा होइन भन्ने थाहा पाउनका लागि *444# डायल गर्न सकिन्छ । यसबाट फोरजी सेवा सक्रिय गर्नुका साथै उच्च गुणस्तरको भोल्टी सेवासमेत सहजै सक्रिय गर्न सकिने टेलिकमले जनाएको छ । कम्पनीले थ्रीजी प्रयोगकर्तालाई फोरजीमा लैजाने कार्यलाई अहिले निकै तीव्र बनाएको छ । थ्रीजीको तुलनामा फोरजी प्रविधिमा मोबाइल इन्टरनेटको गति उच्च हुनुका साथै सेवाको गुणस्तरमा समेत उल्लेख्य सुधार आउने भएकाले यसबाट ग्राहकहरूले थप उत्कृष्ट डिजिटल अनुभव र फाइदा प्राप्त गर्ने विश्वास नेपाल टेलिकमले लिएको छ।
एमालेको संसदीय दलको नेतामा बादल
काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले थापालाई निर्विरोध चयन गरेको हो । संसदीय दलमा अर्का सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि अन्तिममा थापा नै निर्विरोध भएको संसदीय दलका निर्वाचन प्रमुख निरज आचार्यले जानकारी दिए ।
कांग्रेसले भन्यो : पूर्णबहादुरले लेटरप्याडको दुरुपयोग गरे, कारवाही हुन्छ
काठमाडौं । नेपाली कांग्रेसले पूर्णबहादुर खड्काले उपसभापतिको हवाला दिँदै पार्टीको लेटरप्याडको दुरुपयोग गरेको बताएको छ । बुधबार नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो बताएको हो । बैठकले भनेको छ, ‘विभिन्न संचारमाध्यम तथा सामाजिक संजालहरुमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८२ चैत्र १४ गते अनाधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकोले सचेत गराइने निर्णय पनि गरेको छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्यक्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) र प्रचलित नेपाल कानुन बमोजिम कारवाही प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ ।’ खड्काले पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ भएपछि उपसभापतिको रुपमा सरकारले गलत गरेको वक्तव्य जारी गरेका थिए ।
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको अनुरोध
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इमेल ठेगाना अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको पान अपेड अप्सनमा ट्याप गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सकिनेछ । साथै ग्राहकहरूले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा प्यान अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ई–टीडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको छ । उक्त प्यान अद्यावधिक भएपश्चात् निजहरूको करकट्टीको विवरण ई–टीडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य गर्ने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराएको कारणले ई–टीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याज करमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने बेहोरासमेत बैंक सम्पूर्ण ग्राहकहरूमा जानकारी गराएको छ । साथै बैंकले आफ्नो खातामा ईमेल ठेगाना समेत अद्यावधिक गर्न अनुरोधसमेत गरेको छ ।