सूर्यज्योति लाइफले ल्यायो ५० करोडको ‘अल्फा प्लस सूर्यज्योति फण्ड’

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नै नाममा ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ सञ्चालनमा ल्याएको छ ।

कम्पनीका अनुसार फण्ड सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डबाट कोष दर्ता तथा निष्काशनको दर्ता प्रमाणपत्र प्राप्त भइसकेको छ । फण्डको समग्र व्यवस्थापन तथा लगानी कार्यान्वयनको जिम्मेवारी फण्ड व्यवस्थापकका रूपमा अल्फा प्लस भेन्चर्स लिमिटेडले सम्हाल्नेछ ।

कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नै नाममा विशेष फण्ड सञ्चालन गर्ने यो पहल पहिलोपटक भएको जनाएको छ । ५० करोड रुपैयाँ आकारको फण्डमार्फत दीर्घकालीन तथा योजनाबद्ध लगानीका लागि नयाँ अवसर पहिचान गर्ने कम्पनीको योजना छ ।

फण्डले उत्पादन तथा प्रशोधन, ऊर्जा तथा जलविद्युत्, वित्तीय तथा लगानी सेवा, विद्युतीय व्यापार तथा सूचना प्रविधि, पर्यटन तथा मनोरञ्जन, स्वास्थ्य तथा वेलनेस, रियल इस्टेट, पूर्वाधार विकास, कृषि, होटल तथा रेष्टुरेन्ट र खनिज उत्खनन तथा प्रशोधनलगायतका क्षेत्रमा लगानीका अवसर खोज्नेछ ।

यस्तै, लगानी समिति तथा स्वीकृत लगानी नीतिअनुसार प्रचलित कानुनले निषेध नगरेका अन्य सम्भावनायुक्त निजी क्षेत्रका क्षेत्रमा समेत फण्डमार्फत लगानी गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ५० करोड रुपैयाँको यस फण्डले सूर्यज्योति लाइफको लगानी पोर्टफोलियो विस्तार गर्न सहयोग पुग्नेछ । साथै, यसले कम्पनीको दीर्घकालीन वित्तीय रणनीतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

सूर्यज्योति लाइफले बीमित, अभिकर्ता तथा अन्य सरोकारवालाको हितलाई केन्द्रमा राख्दै दीर्घकालीन वित्तीय स्थायित्व, पारदर्शिता र जिम्मेवार लगानी अभ्यासलाई प्राथमिकता दिँदै आएको जनाएको छ । ‘अल्फा प्लस सूर्यज्योति फण्ड’ पनि यही उद्देश्यअनुसार सञ्चालनमा ल्याइएको कम्पनीको भनाइ छ ।

Share News