जलविद्युत कम्पनीको सेयर सवैलाई बाढ्न धितोपत्र वोर्डले बाटो खुल्ला गर्यो
काठमाडौं, २७ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीको साधारण सेयर सवै आबेदकले पाउने सम्भावना बढेको छ । धितोपत्र वोर्डले सेयर जारी गर्ने कम्पनी र विक्री प्रबन्धकले सवै आवेदकलाई मर्का नपर्ने गरी सेयर बाँडफाँड गर्न कम्पनी र विक्री प्रबन्धकलाई निर्देशन दिएपछि यस्तो सम्भावना बढेको हो । सोमवार दिउसो बोर्ड, कम्पनी र विक्री प्रबन्धकका प्रतिनिधिविच कुराकानी हुदा बोर्डले यस्तो निर्देशन दिएको हो । ‘धितोपत्र निस्कासन नियमावलीमा आवेदकलाई मर्का नपर्ने गरी सेयर निस्कासन गर्ने कम्पनी र विक्री प्रबन्धकले बाँडफाँडको मोडालिटी तयार पार्न सक्ने ब्यवस्था छ, यही ब्यवस्था अनुसार उहाँहरुले उपयुक्त कदम चाल्न सक्नु हुन्छ, हामीले त्यस्तै निर्देशन दिएका छौं,’ बोर्डका एक अधिकारीले भने । कम्पनीले सवै आवेदकलाई समानुपातिक रुपमा सेयर विक्री गर्ने तयारी गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपक रौनियारले बताएका छन् । उनको योजना अनुसार सेयर बाँडफाँड गर्न बोर्डसँग अनुमति मागिएको थियो । बोर्डले यस्तो निर्देशन दिएपछि कम्पनीलाई समानुपातिक रुपमा सवै आवेदकलाई सेयर दिने बाटो खुलेको छ । कम्पनीले २ अर्ब रुपैयाँ बराबरको साधारण सेयर विक्री खुल्ला गरेकोमा ४५ अर्ब रुपैयाँभन्दा बढीको माग परेको छ । सर्वसाधारणको अत्याधिक माग भएको र कम्पनी सरकारी लगानीको भएकोले सम्भव भएसम्म सवै आवेदकलाई सेयर विक्री गर्ने योजना कम्पनीले बनाएको हो । कम्पनीको सेयर बाँडफाँड आगामी २९ वा ३० पुसमा हुने जानकारी विक्री प्रबन्धक नागरिक लगानी कोषका प्रवक्ता सुशील अर्यालले जानकारी दिए । सेयरको लागि आवेदन दिने सवैलाई सेयर दिने नदिने सम्बन्धमा मंगलवार कम्पनी र आफूहरु बसेर निर्णय गरिने विक्री प्रबन्ध नागरिक लगानी कोषका प्रवक्ता अर्यालले जानकारी दिए ।
चीनले अनुदानमा दिएको इन्धन पनि ल्याउन सकिएन-गोपालबहादुर खड्का
गोपालबहादुर खड्का, कार्यकारी निर्देशक नेपाल आयल निगम सर्बसाधारण उपभोक्ताले पेट्रोलियम पदार्थ कहिलेदेखि किन्न पाउँछन् ? पछिल्लो समयमा पेट्रोलियम पदार्थको आयात केहि बढेको छ । सुरुमा १० देखि १५ प्रतिशत मात्रै आयात भैरहेको थियो । अहिले ३० देखि ३५ प्रतिशतको हाराहारीमा आपूर्ति भैरहेको छ । यो आयात भनेको रक्सौल बाहेकको हो । हामीले ६० प्रतिशत इन्धन रक्सौलबाट ल्याउने गरेका छौं । बिरगञ्ज नाका नखुल्दासम्म समस्याको समाधन हुँदैन । अरु नाकाबाट जति आउनु पर्ने हो त्यो मात्रामा आईरहेको छ । राक्सौलबाहेकका नाकाबाट अलि बढी इन्धन आयात गर्न सकिदैन ? अन्य नाकाबाट धेरै आयात गरियो कुल मागको जम्मा ४० प्रतिशत मात्रै हो । रोक्सौल बाहेकका भारतीय आयल निगमका अन्य डिपोहरुले हाम्रो माग अनुरुप इन्धन दिन सक्दैनन् । ठूलो भनेको बरौनी र रक्सौल डिपो हुन् । अरु डिपोले हामीले मागे जति इन्धन दिदैनन् । बरौनी र रक्सौलमा तेल भरेर अन्य नाकाबाट भित्र्याउन सकिदैन ? रि रुटिङ गरेर ल्याउने भनेको ग्यास मात्रै हो । १८० वटा ग्यास बुलेट रि रुटिङ गरेर सुनौलीबाट ल्यायौं । अहिले फेरी ६५ वटा जति बुलेट रि रुटिङ गरिँदैछ । अरु इन्धन त्यसरी ल्याउन सकिन्न । कुन डिपोले कति इन्धन दिने हो त्यो पहिलो नै निर्धारण गरिएको हुन्छ । जस्तै, बेतालपुर डिपोले हामीलाई दिने इन्धनको मात्रा पहिले नै निर्धारण गरिएको हुन्छ । उसले आफ्नो क्षमता अनुसार तेल दिने हो । उनीहरुको डिपोमै समस्या छ । हामीले धेरै गाडी पठाउने वित्तिकै बेतालपुर डिपोले हामीलाई धेरै तेल दिन सक्दैन् । हामीले अहिले भारतीयहरुलाई रक्सौल बाहेकका डिपोहरुको क्षमता बढाउन अनुरोध गरेका छौं । भारतीयहरुले पनि क्षण भरमै डिपोको क्षमता बढाउन सक्दैनन् । त्यसको पनि प्रक्रिया हुन्छ र समय पनि लाग्छ । यद्यपी हामीले डिपोको क्षमता बढाउन अनुरोध गरेका छौं । त्यस्तो भयो भने केहि सहज हुन्छ । ग्यासको आपूर्तिको अवस्था कस्तो छ ? ३५० वटा जति बुलेटले नेपालमा ग्यास ढुवानी गर्थे । तीमध्ये दुई सय वटा बुलेट रक्सौलको आसपासमा रोकिएर बसेका छन् । बाँकी १५० वटा बुलेटले विभिन्न नाकाबाट ढुवानी गरिररहेका छन् । अहिले ग्यासको माग पनि ह्वात्तै बढेको छ । अहिले माग बढि हुने समय पनि हो । तीन चार महिनादेखि नाकामा अवरोध छ, त्यसैले ग्यासको चाँही ठूलै अभाव छ । नाका खुल्यो भने थप बुलेटहरु भाडामा लिएर पनि ग्यास ढुवानी बढाउँछौं । रेगुलर रुपमै आयात गर्ने हो भने चाँही अझै केहि समय लाग्छ । रक्सौल नाका खुलेको कति दिनमा बजारमा आपूर्ति व्यवस्था सहज हुन्छ ? नाका खुलेको एक महिनामा आपूर्ति व्यवस्था सहज हुन्छ । धेरैका सिलिण्डर खाली छन् । पेट्रोल र डिजेल पनि ठूला निर्माण कम्पनीहरुलाई धेरै पहिलेदेखि दिएका छैनौं । त्यसको डिमाण्ड पनि एकै पटक बढ्छ । त्यसकारण पनि नाका सहज भएको एक महिना भित्र मात्रै अतिरिक्त आपूर्ति गरेर सहज बनाउन सकिन्छ । निगमसँग स्टक इन्धन कति छ ? हामीसँग बिहीबारसम्ममा १४ सय किलोलिटर पेट्रोल र ३४ सय किलोलिटर डिजेल छ । हवाई इन्धन चाँही २१ सय किलोलिटर स्टक छ । आपूर्ति वृद्धि हुँदा पनि वितरण सहज भएन भन्ने आरोप पनि लागिरहेको छ नि ? हामीले आयात र वितरणलाई पारदर्शी ढंगले सार्वजनिक गरेका छौं । निगमले आपूर्ति र वितरणको सबै तथ्यांक वेभसाईटमा राखेर सार्वजनिक गर्दै आएको छ । त्यस्ता आरोप मिथ्या हुन् । भारतले नाकाबन्दी गरेपछि चीनबाट इन्धन ल्याउने प्रयास असफल भएको हो ? चीनसँग व्यापार गर्ने हो भने दीर्घकालिन योजना अघि सार्नुपर्छ । भारत बाहेक वैकल्पिक ठाउँबाट पनि इन्धन आओस भन्ने सरकारको चाहना रहेकाले पनि चीनसँगको व्यापारिक सम्झौताको प्रयास भैरहेको छ । उच्चस्तरीय सयन्त्र चीन गएको छ, त्यसको रिपोर्टका आधारमा अघि बढ्ने हो । चीनसँग कुल मागको ३३ प्रतिशत कारोबार गर्ने भन्ने सम्झौता भएको हो । त्यसको गृहकार्यमा लागेका छौं । उत्तरी नाकामा भण्डारण गृहको निर्माण गर्नेबारे पनि कुरा भैरहेको छ । हामीले आफ्नै साधन लगेर इन्धन ढुवानी गर्ने कि भन्ने सन्दर्भ पनि छ । तर त्यो त्यति सहज छैन । त्यसकारण कुनै बिन्दुसम्म चीनले ढुवानी गरिदिने भन्ने हाम्रो माग हो । सक्दा हाम्रै नाकासम्म नभए पनि केरुङसम्म ढुवानी गरिदिनेबारे छलफल भैरहेको छ । केरुङमा चीनको पनि डिपो छैन । हामीलाई पनि ढुवानीका लागि समस्या छ । त्यसैले तत्कालै चीनबाट इन्धन ल्याउन नसकिएको हो । तर सरकारले दीर्घकालिन व्यापार योजना अनुसार काम गर्ने हो भने चीनबाट इन्धन ल्याउन सकिन्छ । अहिलेको संकट मोचनका लागि चीनबाट इन्धन ल्याउन सकिन्न ? अहिलेको संकट मोचनका लागि चीनबाट इन्धन ल्याउन सकिन्न । हामीले एउटा प्रयास गरिसकेका छौं । पहिलो लटको अनुदानको इन्धन मुस्किलले ल्याएका हौं । अहिले दिने भनेको १३ लाख अनुदानको इन्धन पनि मौसमका कारण ल्याउन सकिएको छैन । केरुङमा हिउँ परिरहेको छ, अब हिउ नरोकिएसम्म त्यो अनुदानको इन्धन नेपाल ल्याउन सकिन्न । चीनसँग इन्धन ल्याउन मूल्य कति पर्ने रहेछ ? चीनबाट इन्धन ल्याउँदा भारतीय आयल कर्पाेरेशनसँग लिँदा भन्दा ३५ देखि ४० प्रतिशतसम्म मंहगो पर्छ । यसमा स्थानीय कर र सरकारी कर पनि समावेश गरिएको छ । ढुवानीमा पनि सहुलियत हुने भने मूल्य केहि घट्छ । भारतीय नाका खुल्यो भने चीनसँग इन्धन ल्याउने प्रयास व्यर्थ हुन्छ वा अघि बढ्छ ? अब चाँही ३३ प्रतिशत इन्धन चीनबाट ल्याउनु पर्छ भन्ने नै हो । त्यसैअनुसार सरकारले चीनसँग प्रक्रिया अघि बढाएको हो । हामीले पनि त्यसकै आधारमा व्यापार थालनीको प्रयास गरेका हौं । निगमले आफ्नै प्रयासमा आपूर्ति बढ्यो भन्ने आधार के के छन् ? आयल निगमले नाका खुलाउने होइन । हामीले गर्ने भनेको उपलब्ध भैरहेका नाकाहरुमा ट्यांकरहरु पुर्याउने हो । अन्य विकल्प हुन्छ कि भनेर विभिन्न कम्पनीलाई इन्धन ल्याउन दिने निर्णय गरियो त्यो पनि सफल भएन । हवाई इन्धन भने पेट्रोलिम्याक्सले ल्याएर वितरण गरिरहेको छ । पहिले नेपाल वायु सेवा निगमलाई त्यो जिम्मा दिईएको थियो । पछि निगमले आफ्नो नियमित उडान छाडेर तेल नबोक्ने भन्यो । निजी कम्पनीले इन्धन ल्याउन थालेपछि आन्तरिक उडानका लागि हवाई इन्धन उपलब्ध गराईरहेका छौं । इन्टरनेशनल उडानका लागि भने हवाई इन्धन दिन सकिएको छैन । नाका बन्दीबाट निगमले के पाठ सिक्यो ? पहिलो, भण्डारण क्षमता बढाउनु पर्ने रहेछ । अहिले हामीसँग ७ देखि १५ दिनसम्मको भण्डारण क्षमता छ । तीन महिनाको भण्डारण क्षमता बढाउने हो भने ठूलो लगानी आवश्यक पर्छ । ४० वर्ष पहिलो जे पुर्वाधार बनाईयो त्यो भन्दा एक किलो लिटर भण्डारण बढाउने पूर्वाधार पनि बनाईएको छैन । म निगममा आएपछि भण्डारण क्षमता बढाउनु पर्छ भनेर प्रस्ताव ल्याएको थिएँ । तर बोर्डबाट अघि बढेन् । अहिले चाँही सरकारले पनि तदारुकता देखाएको छ र त्यसको प्रक्रिया अघि बढिरहेको छ । दोस्रो, एउटै कम्पनीसँग इन्धनका लागि निर्भर हुनु नहुने रहेछ । जस्तै हामीले आईओसीसँग मात्रै इन्धन किन किन्ने ? भारतकै निजी क्षेत्रको रिलायन्स पेट्रोलियमबाट किन नकिन्ने ? तेस्रो एउटै देशसँग मात्रै इन्धन किन्नु पनि गलत रहेछ । त्यसैले अब हामीले इन्धन भण्डारण क्षमता वृद्धि गर्ने, भारतबाट एक भन्दा बढी कम्पनीसँग इन्धन किन्ने र भारतबाहेकका देशसँग पनि इन्धनको कारोबार गर्ने तयारीमा जुटेका छौं । अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य प्रति व्यारेल करिव १२० डलरबाट झरेर ४० डलरमा आईसक्यो, त्यसको लाभ नेपाली उपभोक्ताले कहिले पाउँछन् ? आयल निगम ठूलो नोक्सानीमा नभएको भए उपभोक्ताले त्यसको लाभ पाईसक्ने थिए । अहिले घरेलु बजारमा मूल्य निर्धारण गर्दा ऋणको भार समेत जोडिएको छ । अब ऋण घटेकाले ऋणको भार कटाएर मूल्य निर्धारण गर्न सक्ने अवस्थामा पुगेका छौं । वित्तिय संस्था र बैंकहरुको करिव २४ अर्ब रुपैयाँ ऋण तिरिसकेका छौं । । अब सरकारको १२ अर्ब ऋण बाँकी छ । आपूर्ति नियमित भएपछि मूल्य घटाउनेछौं । अन्तराष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्दा कति रुपैंयाँ पर्छ नेपालमा ? हामीले आईओसीसँग लिएर केहि कर थपेर बेच्ने गरेका हौं । भारतबाट ल्याउँदा ४५ रुपैंयाँ डिजेलको मूल्य पर्छ । त्यसमा १३ प्रतिशत भ्याट, ३० प्रतिशत कर र ऋणको भार पाँच रुपैंयाँ र सडक शुल्क पनि केहि पर्छ । यी सबैलाई हटाउने हो भने मूल्य धेरै घट्छ । निगमले ४५ रुपैयाँमा किनेको पेट्रोल १०५ रुपैंयाँ बेचिरहेको छ । कानुनत निजी क्षेत्रले पनि २० प्रतिशतभन्दा बढी नाफा खाएर व्यापार गर्न पाउँदैन । यसरी संस्थागत रुपमा निगमले किन कालोबजारी गरिरहेको ? यो ४० वर्षदेखिको अभ्यास हो । नाफाका लागि यस्तो गरिएको होइन् । ऋण धेरै भएकाले मूल्य बढाईएको हो । सरकारले नगर भन्यो भने त्यस्तो गर्दैनौं । निगमले ४० वर्षदेखि कालोबजारी गर्दै आएको, यसमा सरकारको पनि समर्थन रहेको बताउनु भयो, नेपाली नागरिक भएकै कारण, नेपालमा बसोबास गरेकै कारण संसारमा सबैभन्दा महँगो पेट्रोलियम पदार्थ किन्नु पर्ने वाध्यता कहिलेसम्म रहला ? इन्धनमा मात्रै होइन्, सबै क्षेत्रमा यस्तै छ । आयात गरिने प्रयाः सबै बस्तुको मूल्य अरु देशको तुलनामा नेपालमा महँगो छ । ९८ प्रतिशत सरकारी लगानी रहेको नेपाल आयल निगमलाई कसरी अगाडी बढाउने भन्ने सरकारको कुरा हो । निगमले स्वतन्त्र रुपमा व्यापार गर्न पाईरहेको छैन । सरकारले हामीलाई पनि स्वायत्तता दियो भने प्रतिस्पर्धामा गएर उचित मूल्य निर्धारण हुन्छ । अहिलेको मूल्य निर्धारण र वितरण प्रणालीमा तपाई आफै सन्तुष्ठ हुने ठाउँ छ ? निगममा सुधार गर्नु पर्ने धेरै काम छन् । मैले निगमको नेतृत्व सम्हालेदेखि नै सुधारका धेरै प्रयासहरु गरेको छु । कुन बस्तुमा अनुदान दिने र कुनमा नदिने भन्ने निर्धारण हुनु आवश्यक छ । तपाईको व्यक्तिगत कारणले पनि निगममा भ्रष्टाचार र अनियमितताले संस्थागत रुप लिएको आरोप लागिरहेको छ नि ? यसमा कुनै सत्यता छैन । आपूर्ति असहज भएकाले ब्ल्याक मार्केटबाट तेल आएर बजारमा बिक्री भैरहेको हो । १० देखि १५ प्रतिशत मात्रै आपूर्ति भैरहेको थियो पहिले । अर्काे च्यानलबाट तेल आएर बजारमा वितरण भैरहेको थियो । सडकमा गुड्ने गाडी हेर्दा सहजै अनुमान गर्न सकिने विषय हो । त्यसको सत्यतथ्य समाचार सम्प्रेषण भएन् । अहिले मात्रै ३५ प्रतिशतको हाराहारीमा इन्धन आउन थालेको हो । विकास निर्माणको ठूला परियोजना र ठूला कर्पोरट हाउसहरुलाई तेल ल्याउन दिने सरकारी निर्णय भएको थियो । त्यो किन कार्यान्वन भएन ? हो, यदि निजी क्षेत्रले आफूलाई आवश्यक तेल आफै ल्याउन तयार छ भने ल्याउन प्रक्रिाय पुरा गरेर ल्याउन दिने भन्ने सरकारको निर्णय छ । तर कुनै पनि कर्पोरेट हाउस तथा ठूला परियोजनाले आफै तेल ल्याउन आयल निगममा सम्पर्क गरेका छैनन् ।
दर्जन कम्पनीलाई ढाटेर पैसा उठायो सिडिएसले, थप २ कम्पनीले मात्रै सदस्यता पाउने
काठमाडौं, २६ पुस । सिडिएल एण्ड क्लियरिङले दिनै नसक्ने सेवाको लागि पनि रकम उठाइ रहेको पाइएको छ । निक्षेप सदस्य (डिपी) को अनुपतिपत्र दिन नसक्ने भएपनि शुल्क लिएर दर्ता गर्ने कार्य भने भइरहरको हो । bikashnews.com निक्षेप सदस्यता लिनको लागि नाम दर्ता गर्दा नै सिडिएसले सदस्यता शुल्क लिने गरेको छ । सिडिएसले यसरी शुल्क लिएर नाम दर्ता गरेपनि सदस्यता पाउने नपाउने भने कुनै ग्यारेन्टी हुदैन । सिडिएसले अहिले प्रयोगमा ल्याइरहेको सफ्टवयरको सीमाको कारण उसले थप सदस्यलाई सेवा दिन नसक्ने भएपनि आफ्नै बेवसाइटमा पाइप लाइनमा रहेका भनेर १० कम्पनी र बेवसाइटमा नदेखाइ थप केही कम्पनीसँग पनि रकम लिएको छ । सिडिएसले निक्षेप सदस्यता दिनको लागि प्रतिकम्पनी १ लाख ७० हजार रुपैयाँ शुल्क लिने गरेको छ । यसमध्ये १ लाख ५० हजार रुपैयाँ सदस्यता शुल्क र २० हजार रुपैयाँ सफ्टवयर जडान शुल्क लिने गरिएको छ । सिडिएसले नयाँ सदस्य बन्न चाहने सवै कम्पनीको दर्ता गर्ने, लामो समयसम्म सदस्या दिने नदिने विषयमा कुनै निर्णय नदिने र सदस्यता दिन नसके त्यस्तो रकम कसरी फिर्ता गर्ने भन्नेमा कुनै प्रष्ट पार्न सकेको छैन । अहिले नेपाल बंगलादेश बैंक, आसुतोष ब्रोकरेज एण्ड सेक्युरिटीज, सेन्चुरी कमर्शियल बैंक, कुमारी बैंक, मिदास स्टक ब्रोकिङ्ग कम्पनी, एनसीसी बैंक, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, नेपाल बैंक, त्रिशुल सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट र कैलाश विकास बैंकले निक्षेप सदस्यताको लागि निवेदन लिएर पाइप लाइनमा बसेका सिडिएसको बेबसाइडमा उल्लेख गरिएको छ । यी १० कम्पनीले मात्रै १ लाख ७० हजार रुपैयाँका दरमा शुल्क बुझाउदा १७ लाख रुपैयाँ जम्मा भएको छ । यस्तो रकम सिडिएसले बैंकमा राखिरहेको छ । यसवाहेक केही कम्पनीसँग शुल्क लिइएको स्रोतले जानकारी दियो । तर यस्ता कम्पनीको नाम भने पाइप लाइनमा देखाइएको छैन । सिडिएसको बेवसाइटमा नदेखाइएका थप ५ कम्पनीसँग रकम लिइएको स्रोतले जानकारी दिएको छ । यसो हुदा सदस्यता दिने नदिने टुङ्गो नहुदै सिडिएसले साढे २५ लाख रुपैयाँ उठाइसकेको स्रोतले जानकारी दिएको छ । सदस्यता दिन्छ त सिडिएसले ? सदस्यताको लागि सिडिएसमा निवेदन दिएका कम्पनीहरुले सदस्यता पाउने कुनै निश्चित छैन । सिडिएसले पहिला ५० निक्षेप सदस्यले मात्रै चलाउन मिल्ने सफ्टवयर खरिद गरेको छ । यसअघि नै ४८ कम्पनीलाई सदस्यता दिइसकिएको छ । सफ्टयरको क्षमता विस्तार नगरी थप २ भन्दा बढी कम्पनीलाई सदस्यता दिन सकिने अवस्था छैन । सिडिएसले प्रत्यके कम्पनीसँग १ लाख ७० हजार रुपैयाँ लिएर १० कम्पनीलाई अहिले नै पाइप लाइनमा राखेको छ । पाइप लाइनमा नदेखाइएका थप केही कम्पनीसँग पनि पैसा लिइएको बुझिएको छ । यस्ता कम्पनीले सदस्यता पाउने कुनै निश्चित छैन । सदस्यताको लागि धेरै निवेदन आएकोले सफ्टवयरको क्षमता विस्तारको पहल भएको सिडिएसका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताको भनाइ छ । सफ्टवयरको क्षमता विस्तारको लागि धितोपत्र वोर्डसँग अनुमति माग गरिएको गुप्ताले जानकारी दिए । तर नयाँ सदस्य २० भन्दा कम कम्पनी भएमा लाग्ने खर्चको अनुपातमा आम्दानी कम हुने भएकोले सिडिएसले सफ्टवयरको क्षमता विस्तार नगर्ने र नयाँ अहिले पाइप लाइनमा भएका भनिएका कम्पनीले सदस्यता नपाउने सिडिएसकै एक अधिकारीले जानकारी दिए । सदस्यता दिइएन भने पैसा के हुन्छ ? सामान्यतः सदस्यता पाउनको लागि निवेदन दिदा निवेदन शुल्क मात्रै लिनु पर्ने हो । निक्षेप सदस्य बन्नको लागि अनुमतिपत्र धितोपत्र वोर्डवाट लिनु पर्ने कानुनी ब्यवस्था छ । अनुमतिपत्र लिनको लागि बोर्डमा निवेदन दिदा ५ हजार रुपैयाँ निवेदन दस्तुर बुझाउनु पर्छ । अनि वोर्डले सदस्यता दिन उपयुक्त ठानेमा कम्पनीलाई बोलाएर ५० हजार रुपैयाँ शुल्क बुझाएर अनुमति पत्र लिन लगाउछ । धितोपत्र वोर्ड सिडिएसको पनि नियामक निकाय हो । बोर्डवाट अनुमति पत्र पाएपछि मात्रै सदस्यता लिनको लागि सिडिएसमा निवेदन दिन पाइन्छ । आफ्नै नियामक निकायवाट अनुमतिपत्र लिएर आएको कम्पनीसँग सिडिएसले भने लाग्ने सम्पूर्ण रकम निवेदन दर्ता गर्दा नै लिने गरेको छ । कारणबस सदस्यता नदिइएमा त्यस्तो कम्पनीले बुझाएको सवै पैसा फिर्ता गरिने दाबी सिडिएसका प्रमुख कार्यकारी अधिकृत देबप्रकाश गुप्ताले गरे । ‘सदस्यता नपाउने कम्पनीले बुझाएको पैसाको सावा ब्याज नै फिर्ता हुन्छ,’ गुप्ताले भने । पहिला पनि यसैगरी रकम लिने गरिएकोले अहिले पनि यस्तै गरिएको गुप्ताको भनाइ छ । सावा ब्याज नै फिर्ता गर्ने हो भने अहिले पैसा लिइरहनुको कुनै औचित्य भने देखिदैन ।
माघ २ देखि राष्ट्रिय पुननिर्माण अभियान, रानीपोखरी र बुङमतिबाट काम थाल्ने
काठमाडौं, २४ पुस । सरकारले माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण अभियान थाल्ने भएको छ । १८ औं भूकम्प सुरक्षा दिवसका अवसर पारेर सरकारले राष्ट्रिय पुननिर्माण अभियानको सुभारम्भ गर्न लागेको हो । ऐतिहासिक महत्वको रानीपोखरी र बुङमतिबाट राष्ट्रिय पुननिर्माण अभियानको थालनी हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहान ११ बजेर ५६ मिनेटमा रानीपोखरी पुननिर्माणको उद्घाटन गरेर राष्ट्रिय पुननिर्माण अभियान घोषणा गर्नेछिन । गत बैशाख १२ गते ११ बजेर ५६ मिनेटमै महाभूकम्प आएको थियो । त्यस्तै अपरान्ह ४ बजे प्रधानमन्त्री केपी ओलीले ललितपुरको अर्काे ऐतिहासिक स्थल बुङमतिको पुननिर्माण गुरु योजनाको सुभारम्भ गर्नेछन् । सोही अवसरमा कार्यबिनायक नगरपालिका र बुङमति पुननिर्माण समितिका बिचमा हस्ताक्षर समेत गराईनेछ ।सरकारले माघ २ गतेदेखि भूकम्पपछिको पुननिर्माण तथा नवनिर्माणको कामलाई राष्ट्रव्यापी बनाउनेछ । शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रमेश प्रसाद सिंहका अनुसार पुननिर्माणका लागि ५० हजार दक्ष निर्माणकर्मीहरुको आवश्यकता पर्छ । हालसम्म बिभागले १२ हजार ५ सय दक्ष निर्माणकर्मीहरुलाई तालिम प्रदान गरिसकेको छ । हाल बिभिन्न १६ वटा संघ संस्थाहरुले दक्ष निर्माण कर्मी उत्पादनको तालिम प्रदान गरिरहेका छन् । विभागले एउटा भवन निर्माणमा न्युनतम दुई जना दक्ष निर्माणकर्मी आवश्यक पर्ने गरि कार्ययोजना तयार पारेको छ । सेभ द चिल्ड्रेनले ६ हजार, एनआरएनले एक हजार घर निर्माण गरिदिने भन्दै विभागसँग सम्झौता गरिसकेका छन् । त्यस्तै अन्य पाँच वटा संघ संस्थाले पनि थप तीन हजार घर बनाईदिने भन्दै विभागसँग सम्झौता गरिसकेका छन् । विभागले बैशाख १२ गतेको भूकम्प पश्चात मुलुकका २१७ वटै नगरपालिकाहरुमा भूकम्प प्रतिरोधी भवन कार्यान्वयन गराउने प्रस्ताव अघि सारेको छ ।
यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभावः १३ दिनमै १ लाख २० हजार कमाइ
काठमाडौं, २४ पुस । यार्सागुम्बा संकलकले १३ दिनमै एक लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्यययनले यस्तो देखाएको हो । ‘यार्सागुम्बा संकलनको लागि हरेक वर्ष डोल्पामा मात्रै चालीस हजारभन्दा बढी मानिसहरु संकलनका लागि जाने र उनीहरु सरदर तेह्र दिन संकलन क्षेत्रमा बस्ने गरेको देखिएको छ,’ यार्सागुम्बाले नेपाली अर्थतन्त्रमा पारेको प्रभाववारे अध्ययनमा उल्लेख गरिएको छ । गत बर्ष मात्रै औपचारिक तवरले नै यार्सागुम्बा संकलन गर्न डोल्पा जिल्लामा ५३ हजार जना प्रवेश गरेका थिए । यस्तै दार्चुलामा यस वर्ष संकलकहरुको संख्या २५ हजारभन्दा बढी रहेको अनुमान छ । आर्थिक वर्ष २०७०÷७१ मा रुकुममा मात्रै २० हजारभन्दा बढी मानिसहरु यार्सागुम्बा संकलन गर्न गएका थिए । यसैगरी जुम्ला, मनाङ्ग, दार्चुला, लगायत यार्सागुम्बा पाइने दर्जनौ ठाउँमा हरेक वर्ष हजारौंको संख्यामा मानिसहरु यार्सागुम्बा संकलन गर्न जान्छन् । यसरी यार्सागुम्बाका कारण न्यून आय भएका, पिछडिएका, दलित, जनजाति सहित धेरैलाई आंशिक रोजगारी सृजना भएको देखिएको अध्ययनमा उल्लेख गरिएको छ । संकलकहरुका लागि खाद्य तथा अन्य सामाग्री आपूर्ति, होटल व्यवसाय तथा व्यापारको सिलसिलामा पनि उल्लेख्य रोजगारी सृजना भएको अध्ययनमा उल्लेख गरिएको छ । यार्सागुम्बाको आम्दानीले हिमाली क्षेत्रका वासिन्दाका लागि आवश्यक खाद्यान्न सामाग्री खरीद, भौतिक पूर्वाधार निर्माण तथा शिक्षा र स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको छ । हालको प्रति गोटा यार्सागुम्बाको औसत मूल्य ८ सयका हिसाबले पनि प्रति व्यक्ति दैनिक नौ हजार दुई सय आय आर्जन गर्ने देखिएको छ । प्रत्येक संकलकले औसत वार्षिक १ लाख २० हजार रुपैयाँ आय आर्जन गर्ने देखिन्छ भने औसत परिवार संख्या पाँच जनाको हिसाबले पनि यार्सागुम्बा संकलन तथा व्यापारबाट मात्रै प्रतिपरिवार वार्षिक करीब ६ लाख रुपैयाँ आम्दानी गर्ने अध्ययनमा उल्लेख छ । यसरी यार्सागुम्बाले ग्रामीण जीवनस्तर उकास्न सकारात्मक भूमिका खेलेको देखाइएको छ । यार्सागुम्बाले गर्दा हिमाली जिल्लाका सदरमुकामहरु र गाँउहरुमा समेत घर घडेरीको मूल्य उल्लेख्य रुपले बढेको छ । यार्सागुम्बाको संकलन गर्न पाटनमा प्रवेश गर्न लाग्ने दस्तुर उठाएर स्थानीय निकायहरुले पनि राम्रो आम्दानी गरेको देखिन्छ र तदनुरुप स्थानीयस्तरमा विकास निर्माणका केही कामहरु पनि भएको छ । मनाङ्गको टंकीमनाङ्ग गाउँमा स्थानीय निकायले यार्सागुम्बा संकलनको लागि पूर्जी दिएवापत उठाइएको ३ करोड रुपैयाँ उपयोग गरी १ सय ६० किलोवाट क्षमताको मनाङ्ग सामुदायिक लघु जलविद्युत आयोजना समेत निर्माण गरिएको छ । यार्सागुम्बा संकलनका महिनाहरुमा हिमाली जिल्लाका सदरमुकामहरुमा आर्थिक गतिविधिमा एक्कासी विस्तार आउने गरेको अध्ययनको ठहर छ । यार्सागुम्बाको संकलनका लागि विभिन्न ठाउँबाट आएका हजारौं मानिसहरु हिमालतर्पm यार्सागुम्बा टिप्न जानु अघि सदरमुकाममा बन्दोवस्तीका सामानहरु किन्ने गर्छन् । त्यसैगरी काठमाडौंलगायत तिब्बतबाट व्यापारीहरु तथा तिनीहरुका एजेन्टहरु यार्सागुम्बा खरीद गर्न सदरमुकाममा आउने गर्छन् । सदरमुकाममा यार्सागुम्बाको ठूलो परिमाण र मूल्यको कारोवार हुने तथा अन्य आर्थिक गतिविधिमा विस्तारका कारण ठूलो मात्रामा नगद कारोवार हुने गर्दछ । त्यसकारण अन्य महिनाहरुको तुलनामा यार्सागुम्बाको मौसममा सदरमुकाम स्थित बैंकहरुले नेपाल राष्ट्र बैंकबाट बढी परिमाणमा नगद माग गर्ने गरेका राष्ट्र बैंकको भनाइ छ । यार्सागुम्बाको संकलनबाट हिमाली तथा उच्च पहाडी भेगका वासिन्दाहरुको आयआर्जन तथा रोजगारीका अवसरहरुमा अभिवृद्धि भएको पाइन्छ । त्यस्तै, पर्यटन, होटल, बैंक तथा वित्तीय संस्थाहरु लगायत आर्थिक क्रियाकलापमा विस्तार भएको पाइन्छ । यद्यपी, यार्सागुम्बाको बढ्दो संकलनसँगै उच्च पहाडी तथा हिमाली भेगमा शिक्षा, स्वास्थ्य तथा शान्ति सुरक्षाको स्थितिमा प्रतिकूल प्रभाव पनि पर्ने गरेको छ । कतिपय विद्यालयका विद्यार्थीहरु र शिक्षकहरु समेत उल्लेख्य संख्यामा यार्सागुम्बाको संकलनमा जाने गर्दा जेठ–असारमा विद्यालय नै बन्द हुने गरेको छ । उच्च हिमाली भु–भागमा यार्सागुम्बा खोज्दै गर्दा भिरबाट लड्ने तथा हिउँको दरारहरुमा परेर धेरैले ज्यानै गुमाएका घटनाहरु पनि छन् । कतिपय गाउँलेहरु उच्च हिमाली भेगमा कैंयौ हप्ता यसको खोजी गर्दा रित्तै हात फर्कन परेका पनि छन् भने हिउँले पुरिएको चिसो माटोमा कुहिनाले टेक्दै खोस्रदै यार्सागुम्बा खोज्दा चिसो र लेक लागेर बिरामी पर्ने गरेका छन् । कतिपय यार्सागुम्बा संकलक÷गाउँलेहरु जोर्नी दुख्ने तथा श्वासप्रश्वासको समस्या लिएर फर्कने गरेका छन् भने कतिपयले निकै विरामी परेर एवम् स्वास्थ्य उपचार उपलब्ध नहुँदा ज्यानै समेत गुमाउने गरेका छन् ।
वर्तमान सरकारले कुनै पनि संस्थान निजीकरण नगर्ने
काठमाडौं, २३ पुस । कुनै पनि सरकारी संस्थान/उद्योग निजीकरणमा नजाने भएका छन् । सरकारले सबै सरकारी संस्थानलाई कुनै न कुनै रुपमा सञ्चालन गरेरै छाड्ने अठोट लिएको हो । बिहिबार उद्योग मन्त्रालयको प्रतिवद्धता सार्वजनिक गर्दै उद्योग मन्त्री सोम प्रसाद पाण्डेले भने –कुनै पनि सरकारी संस्थान/उद्योग निजीकरणमा जाँदैनन्, कुनै न कुनै रुपमा सरकार आफैंले सञ्चालन गर्छ । संसारका पूँजी वादी र समाजवादी सबै मुलुकले उदोग सञ्चालन गरिरहेको बताउँदै उनले कुनै पनि सरकार संस्थानबाट सरकारले हात नझिक्ने घोषणा गरे । उनले नेपाल औषधी, कृषि औजार कारखाना र बुटवल धागो उद्योग चालु आर्थिक बर्ष भित्रै सञ्चालन गर्ने योजना सहित मोडालिटी तयार भैरहेको पनि स्पष्ट पारे । ‘आफैं उद्योेग सञ्चालन नगर्ने संसारमा कुनै पनि मुलुक छैनन्, जनताका न्युनतम आवश्यकतासँग जोडिएका सबै कुरा सरकार आफैं सञ्चालन गर्छ ।’ अर्थमन्त्रालयसँग समेत सरकारी उद्योग तथा संस्थानहरु सञ्चालनका लागि आवश्यक छलफल भैसकेको र बजेटको अभाव नहुने उनले बताए । भारतीय नाका बन्दी र राष्ट्रिय आवश्यकताका कारण सरकार आफैंले उद्योग सञ्चालन गर्नु पर्ने महशुस गरेको उनले बताए । मन्त्रालयका सचिव तथा बिभागीय प्रमुखहरुलाई छेउमा राखेर प्रतिवद्धता सार्वजनिक गरेका मन्त्री पाण्डेले १२ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका हुन् । यस्ता छन प्रतिवद्धता विद्यमान नीति, ऐन, नियम, संसोधन तथा परिमार्जन, विदेशी लगानी तथा प्रबिधी हस्तान्तरण ऐन, कम्पनी ऐन २०६३, नेपाल गुणस्तर चिन्ह ऐन २०३७ को संसोधन विधेयकको तयार पारि फागुन मसान्त भित्रै मन्त्रीपरिषदमा पठाउने, खानी तथा खनिज पदार्थ नियमावली संसोधनका लागि मन्त्री परिषदमा पेश गर्ने, वौद्धिक सम्पति संरक्षण सम्बन्धी नितीको प्रारम्भिक मस्यौदालाई छलफलमा लैजाने, नेपाल एक्रिडिएसन ऐन २०७१ को बिधेयक मस्यौदा तयार गरी यसै बर्षको चैत्र मसान्त भित्र मन्त्रीपरिदपमा पेश गर्ने, दैलेखेको प्राकृतिक ग्यासको विस्तृत सम्भाव्यता अध्ययन फागुन भित्रै सुरु गर्ने लगायतका कार्यक्रममा रहेका छन् । त्यस्तै, रामेछापको ठोसे र फुल्चोकीको फलाम खानी उत्खनन गर्ने पनि मन्त्रालयको योजना रहेको छ । प्रस्तावित सातवटा संघिय प्रदेशमा एक हजार रोपनी क्षेत्रफलमा फैलिएका एक एक वटा औद्योगीक क्षेत्र निर्माणको गृहकार्य थाल्ने महत्वकांक्षी योजना पनि मन्त्रालयले अघि सारेको छ । झापाको दमक, रुपन्देहीको बुटवल, कञ्चनपुरको दैजी र पोखरामा औद्योगीक क्षेत्र विस्तारको काम पनि तत्काल थाल्ने प्रतिवद्धतामा उल्लेख गरिएको छ ।
इन्भेष्टमेन्ट बैंकको नयाँ सेयर फागुनमा, बोनस सेयर २०७३ जेठमा मात्र
काठमाडौं, २३ पुस । नेपाल इन्भेष्टमेन्ट बैंकले आगामी फागुन पहिलो सातासम्ममा ८० लाख कित्ता साधारण सेयर निश्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता ६०१ रुपैयाँ मूल्य तोकेर नयाँ सेयर निश्काशन गर्ने भएको छ । बैंकले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको सेयरमा प्रिमियम मूल्य ५०१ रुपैयाँ जोडेर बिक्री गर्न लागेको हो । बैंकले प्रिमियम मूल्यबाट ४ अर्ब ८० लाख रुपैयाँ अतिरिक्त आम्दानी गर्नेछ । हाल बैंकको संचित कोषमा ३ अर्ब ९० करोड रुपैयाँ छ । प्रिमियम मूल्यमा सेयर निश्काशन गरेपछि बैंकसँग शून्य लागत पर्ने र लाभांश वितरण गर्नु नपर्ने पुँजी ८ अर्ब ७० करोड रुपैयाँ हुनेछ । यसले बैंकको नाफा वृद्धिमा उल्लेख्य सहयोग गर्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले नयाँ साधारण सेयर निश्काशन गर्न लागेको हो । बैंक तथा वित्तीय संस्थाहरुले कुल सेयरको कम्तिमा ३० प्रतिशत सेयर सर्बसाधारणलाई दिनुपर्ने व्यवस्था गरेको थियो । हाल यस बैंकको २० प्रतिशत सेयर मात्र सर्वसाधारणलाई बिक्री गरिएको छ । नयाँ सेयर निश्काशनपछि बैंकको चुक्ता पुँजी ७ अर्ब १४ करोड रुपैयाँ हुनेछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । बोनस सेयर वितरण २०७३ सालमा मात्र बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ३३ प्रतिशत बोनस सेयर र १.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकको उक्त प्रस्तावलाई राष्ट्र बैंकले शर्तसहित स्वीकृत दिएको थियो । उक्त निर्णय साधारणसभाबाट पनि अनुमोदन भईसकेको छ । तर सेयरधनीले तत्काल लाभांश पाउने छैनन् । २०७२ मसान्तसम्ममा नियमअनुसार सर्बसाधारण सेयरको हिस्सा ३० प्रतिशत बनाउन दिएको निर्देशन पालना नभएको भन्दै राष्ट्र बैंकले इन्भेष्टमेन्ट बैंकको लाभांश वितरणमा रोक लगाएको छ । सर्बसाधारण सेयरधनीको हिस्सा ३० प्रतिशत बनाएपछि मात्र घोषित लाभांश वितरण गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । बैंकले सेयरधनीलाई ८ करोड २८ लाख ६८ हजार २७२ रुपैयाँ नगद र १ अर्ब ५७ करोड ४४ लाख ९७ हजार १५५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने निर्णय साधारणसभाबाट समेत अनुमोदन गरिसकेको छ । नयाँ सेयर निश्काशन कार्य सम्पन्न नभएसम्म पुराना सेयरधनीले बोनस सेयर पाउने छैनन् । कम्पनी सचिव सुधीर श्रेष्ठका अनुसार फागुनको पहिलो सातासम्म साधारण सेयर निश्काशन हुनेछ । उक्त सेयर बाँडफाँड गर्न करिव ३ महिना लाग्ने भएकोले पुराना सेयरधनीले २०७३ जेठ महिनामा मात्र बोनस सेयर पाउने भएका छन् ।
कानुन मिचेर साधारणसभा गर्दै जलविद्युत लगानी तथा विकास कम्पनी, सेयर आवेदकले उजुरी गरेमा स्थगित हुने
जलविद्युत लगानी तथा विकास कम्पनीको सञ्चालक समिति काठमाडौं, २२ पुस । जलविद्युत लगानी तथा विकास कम्पनीले प्रक्रिया मिचेर चौथो साधारणसभा आव्हान गरेको छ । कम्पनीले धितोपत्र निष्काशन निर्देशिका २०६५ विपरिद साधारणसभा आव्हान गरेको छ भने धितोपत्र बोर्डले समेत सो निर्देशिका उल्लघंन गर्दै साधारण सभाका लागि स्विकृति दिएको देखिन्छ । निर्देशिकाको दफा न. ३२ मा ‘सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गरिसकेको संगठित संस्थाले नयाँ सेयरधनी समेत समावेश नभई साधारण सभा गर्न नहुने’, उल्लेख गरिएको छ । सो दफालाई पुष्टि गर्दै लेखिएको छ–‘तर बाध्यात्मक अवस्था परि साधारणसभा गर्नु परेमा सो साधारणसभा नयाँ लगानी कर्ताहरुको हित विपरिद नहुने प्रतिवद्धता सहित साधारणसभा गर्नुको कारण, औचित्य, साधारण सभामा छलफल हुने बिषयहरु खुलाई बोर्डमा निवेदन दिएमा बोर्डले साधारण सभा गर्न अनुमति दिन सक्नेछ ।’ निर्देशिकामा उल्लेखित यो बुँदाका अनुसार कम्पनीले साधारणको आयोजनाका लागि बोर्डबाट पूर्व स्वीकृति लिनुपर्छ । तर कम्पनीले मंसिर २६ गते गोरखा पत्रमा सार्वजनिक सूचना प्रकाशित गर्दै पुस २४ गतेका लागि साधारणसभा डाकेको छ । सार्वजनिक सूचना जारी गर्नु पूर्व नै बोर्डबाट स्विकृति लिनु पर्ने व्यवस्था विपरिद कम्पनीले साधारण सभाको चार दिन अघि अर्थात पुस २० गते मात्रै अनुमतिका लागि बोर्डमा निवेदन दिएको छ। जलविद्युत लगानी तथा विकास कम्पनीले पुस २४ गते चौथो साधारणसभा डाकेको छ तर उसले सो साधारण सभाका लागि पुस २१ गते मात्रै अनुमति पाएको छ । मंसिर २६ गते साधारण सभाको सूचना निकालेर पुस २० गते नियामक निकायमा अनुमतिका लागि निवेदन दिनु आफैंमा बिरोधा भाषपूर्ण कदम हो । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराई भन्छन–‘धितोपत्र बोर्डको यस्तो कामले लगानी कर्ताको हित पनि गर्दैन र संस्थागत सुशासन पनि स्थापित हुन्न ।’ उता, धितोपत्र बोर्डले भने राम्रो प्रवद्र्धक कम्पनी र जिम्मेवार सञ्चालकहरु भएकाले गल्ती नदोहोर्याउने सर्त राखेर लगानी कर्ताको अहित नहुने मौखिक प्रतिवद्धताका आधारमा अन्तिम समयमा साधारणसभा नरोकेको बताएको छ । बोर्डका निर्देशक डा. नबराज अधिकारीले भने–‘प्रवद्र्धक कम्पनी र जिम्मेवार सञ्चालकहरु रहेकाले गल्ती नदोहोर्याउने तथा लगानी कर्ताको अहित नगर्ने मौखिक प्रतिवद्धता जनाएपछि साधारणसभा नरोकेका हौं ।’ डा. अधिकारीकै भनाईलाई मान्ने हो भने बोर्डले कम्पनीको साधारण सभा रोक्न सक्ने स्पष्ट कानुनी आधार देखिन्छ । तर बोर्डले सरकारी स्वामित्व र सरकारी कर्मचारी सञ्चालक समितिमा रहेको हवाला दिँदै साधारणसभा नरोकेको बताईरहेको छ । डा. अधिकारीले अगाडी थपे–‘सरकारका जिम्मेवार निकाय सञ्चालक समितिमा छन, त्यसैले रोक्नु भन्दा अघि बढाउनु राम्रो ठान्यौं ।’ साधारण सभा गर्ने अनुमति माग्दै पत्र आएको भोली पल्टै स्विकृति दिने बोर्डको निर्णय नै संकास्पद देखिएको छ । ‘२० गते पत्र आयो, २१ गते स्विकृति दिईयो अनि २४ गते साधारण सभा छ, यस्तो पनि हुन्छ’, स्रोतले भन्यो । कम्पनीले कात्तिक १२ गते देखि १९ गतेसम्म दुई अर्ब बराबरको साधारण सेयर निष्काशन गरेको थियो । सो क्रममा ३५ अर्ब भन्दा बढिको आवेदन परेको छ । ती लगानी कर्ताको हित विपरिद कम्पनीले नियम मिचेर साधारण सभा गर्न लागेको देखिन्छ । सेयर आवेदकले साधारण सभा रोक्न निवेदन दिएको खण्डमा सो साधारण सभा रोकिन सक्ने स्रोत बतायो ।