विकासन्युज

एस एण्ड एस गार्मेन्टको तातो न्यानो कपडा व्यापार मेला

काठमाडौं, ७ पुस । एस एण्ड एस गार्मेन्ट प्रालिद्धारा उत्पादित कपडाहरुको मेला पौष ९ गते शनिबार कुलेश्वरस्थित गौतम श्री कम्प्लेक्समा हुने भएको छ । स्वदेशमै रोजगारीको अवसर सृजना गर्दै नेपालमै उत्पादित गुणस्तरीय कपडाको प्रयोग गराउने उद्देश्यका साथ कपडा व्यापार मेला गर्न लागिएको एस एण्ड एस गार्मेन्टका बजार प्रबन्धक रामेश्वर रिमालले बताए । जाडो तथा गर्मीका लागि कपडा उत्पादन गर्दै आएको एस एण्ड एस गार्मेन्टले स्कुल, कलेज, संघ सस्थाहरुका लागि पनि अर्डर अनुसारका कपडा तयार गर्दै आएको छ । नेपालमा उत्पादन गरिएको गार्मेन्ट प्रयोग गर्न प्रोत्साहित गर्ने उद्देश्यका साथ सर्वसाधारणलाई मेलामा सहभागि हुन गार्मेन्टले आब्हान गरेको छ । उक्त मेला बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म हुने गार्मेन्टले बताएको छ । यस अघि पनि गार्मेन्टले पहिलो र दोस्रो व्यापार मेला गरिसकेको छ ।

नेपाल बङ्गलादेश बैंकले धितोपत्र बोर्डमा दियो ८० प्रतिशत हकप्रदको लागि निवेदन

काठमाडौं, ७ पुस । नेपाल बङ्गलादेश बैंकले ८० प्रतिशतको हकप्रद सेयर ल्याउन गत सोमबार धितोपत्र बोर्डमा निवेदन दिएको छ । बैंकले ३ अर्ब २० करोड रूपैयाँको ३ करोड २० लाख कित्ता हकप्रद सेयर ल्याउन लागेको हो । हाल बैंकको चुक्ता पूँजी ४ अर्ब एक करोड रूपैयाँ रहेको छ । बैंकको हकप्रदमा बिक्री प्रवन्धकको काम ग्लोबल आइएमइ क्यापिटल लिमिटेडले गरिरहेको छ ।

नबिल बैंकद्धारा सुरक्षाकर्मीको सम्मान

काठमाडौं, ७ पुस । नबिल बैंकले कान्तिपथ शाखाका सुरक्षक यदुनाथ पोखरेललाई नगद ५० हजार सहित प्रशंसा पत्र प्रदान गरेको छ । बैंक संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालले जि. फोर. एस. सेक्युरिटि सर्भिसेज नेपाल प्रा. लिबाट बैंकको कान्तिपथ शाखामा पोखरेललाई प्रशंसा पत्र प्रदान गरेका छन् । सम्मानित पोखरेलले १० नोभेम्बर २०१६ मा बैंकको कान्तिपथ शाखाको एटीएम बुथमा भएको गतिविधिमा शंका लागि तुरुन्त खवर गरेको र उक्त गतिविधिमा संलग्न व्यक्तिहरु उपर निगरानी राखी उनीहरु बसेका होटल पत्ता लगाई संदिग्ध व्यक्तिहरुलाई पक्राउ गर्न बहादुरी पूर्वक सहयोग गर्नुका साथै एटीएमको सुरक्षामा महत्वपूर्ण योगदान पु¥याएकाले सम्मान गरिएको बैंकले जनाएको छ । बैंकका संचालक समितिका अध्यक्ष पौड्यालले बैंकको यस प्रकारको सम्मानले सुरक्षा कार्यमा संलग्न सम्पूर्ण व्यक्तिहरुलाई आफनो कार्यमा अझ दत्तचित्त भई काम गर्न र कुनैपनि शंकास्पद गतिविधिलाई निगरानी गरी बैंक र ग्राहकको सुरक्षामा अझ बढि सचेत हुन आग्रह गरेका छन् । सम्मानित पोखरेलले बैंकको यस्तो कदमले अझ थप हौसला प्राप्त भएको र अझ बढि जिम्मेवारी पूर्वक काम गर्ने जिम्मेवारी थपेको बताएका छन् ।

सिटिजन्स बैंकको एटिएम सेवा अब ललितपुरको भैंसेपाटीमा पनि

काठमाडौं, ७ पुस । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बिहीबारबाट ललितपुर स्थित भैंसेपाटी शाखाबाट एटिएम सेवा सञ्चालनमा ल्याएको छ । उक्त एटिएम सेवा विस्तार पछि बैंकको कुल एटिएम संख्या ५३ पुगेको छ । बैंकले आफ्नो ५८ वटा शाखा र ७२ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ४ लाख १७ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । हाल बैंकको उपत्यका भित्र २७ वटा तथा उपत्यका बाहिर २६ वटा एटिएम सञ्चालनमा रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अम्बिका पौडेलले दिए एनबी इन्स्योरेन्स कम्पनीबाट राजीनामा, अरुण फाइनान्सको नेतृत्व गर्दै

काठमाडौं, ७ पुस । एनबी इन्स्योरेन्स कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले राजीनामा दिएका छन् । तर उनको राजीनामा सञ्चालक समितिले स्वीकृत गरेको छैन । स्रोतका अनुसार मंसिर १७ गते कम्पनीको १८ औं र १९ औं साधारणसभा सम्पन्न भएपछि पौडेलले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । आफू अन्य काममा व्यस्त भएको जनाउँदै पौडेलले राजीनामा गरेको बताएका छन् । सञ्चालक समितिले पौडेललाई राजीनामा फिर्ता गर्न सुझाव दिएको छ । बीमा समितिले समस्याग्रस्त घोषणा गरेको र बन्द अवस्थामा रहेको एनबी इन्स्योरेन्स कम्पनीलाई सञ्चालनमा ल्याउने र सामान्य अवस्थामा फर्काउन पौडेलले महत्वपूर्ण योगदान गरेको बताइएको छ । पौडेलको राजीनामा स्वीकृत गरि सो ठाँउमा आईएमई ग्रुपका हेमराज ढकाल आउन सक्ने अनुमान गरिएको छ । सम्बद्ध स्रोतका अनुसार अम्बिका पौडेलसहित आईएमई ग्रुपमा आवद्ध व्यक्तिहरुले समस्याग्रस्त अरुण फाइनान्समा प्रमोटर सेयर लिएका छन् । विहीबार मात्र पौडेल अरुण फाइनान्सको अध्यक्षमा चयन भएका छन् । राष्ट बैंकले समस्या ग्रस्त घोषणा गरेको यो फाइनान्सले नयाँ नेतृत्व पाए लगतै समस्याग्रस्त सूचिबाट हटाउने तयारी गरेको छ । संसद्बाट पारित हुने अन्तिम चरणमा रहेको बैक तथा वित्तीय संस्था सम्बन्धि विधेयकमा एउटै व्यक्ति बैंक र बीमा कम्पनीको सञ्चालक समितिमा बस्न नपाउने व्यवस्था गरेकोले पौडेलले इन्स्योरेन्स कम्पनीबाट राजीनामा दिएको बताईएको छ ।

रिलायन्स फाइनान्स र ज्योति विकास बैंकको साधारणसभा क्रमशः पुस २६ र २८ गते

काठमाडौं, ७ पुस । रिलायन्स फाइनान्सको सातौँ वार्षिक साधारणसभा यही मंसिर २६ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस ११ गतेदेखि पुस १९ गतेसम्म कम्पनीको बुक क्लोज गर्ने भएको छ । ज्योति विकास बैंकको आगामी वार्षिक साधारणसभा यही मंसिर २८ गते हुने भएको छ । सो प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २८ गतेसम्म बैंकको बुक क्लोज हुने भएको छ ।

सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत

काठमाडौं, ७ पुस । सूर्योदय लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । बिहीबार मात्रै उक्त संस्थाको सो मात्राको सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचिकृत भएको हो ।

पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन, अब पुरानै मूल्यमा इन्धन पाइने

काठमाडौं, ७ पुस । व्यवस्थापिका संसदको उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएको छ । बिहिबार बसेको सो समिति अन्तर्गत गठिन उप समिति बैठकले नेपाल आयल निगमले हालै वृद्धि गरेको मुल्य कार्यान्वयन नगर्न निर्देशन दिएको हो ।‘उपभोक्ताको ढाड सेक्ने गरि आफैले बनाएको कार्यबिधीको समेत उल्लंघन गर्दै पेट्रोलियम पदार्थको वृद्धि गरिएको मुल्य घटाउन निर्देशन गरिन्छ’, समिति बैठकको निर्णय सुनाउँदै उप समिति सभापति सुभाषचन्द्र ठकुरीले विकासन्युजसँग भने । नेपाल आयल निगमले पुस ४ गते राती १२ बजेदेखि लागु हुने गरि पेट्रोल, डिजेल र मट्टितेलमा समायोजन गरी चार रुपैयाँ ५० पैसा मूल्य वृद्धि गरेको थियो । नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ ५० पैसा, डिजेल ७७ रुपैयाँ ५० पैसा र मट्टितेल ७७ रुपैया ५० पैसाका कारोबार भैरहेको थियो । समितिको निर्णय कार्यान्वयन भएमा पेट्रोलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ, डिजेल ७३ रुपैयाँ र मट्टितेल ७३ रुपैयाँमा पाइनेछ । बिहिबारको बैठकमा बाणिज्य सचिव प्रेम कुमार राई सहभागी थिए । बढेको मुल्य कार्यान्वयन नगर्न संसदिय समितिले दिएको निर्देशन कार्यान्वयनबारे बुझ्न निगमका कार्यकारी प्रमुख गोपाख खड्काको मोबाइल स्विच अफ थियो । निगम प्रवक्ता भानुभक्त खनालले भने यसबारे आफुलाई केहि थाहा नभएको प्रतिक्रिया दिए ।