विकासन्युज

नेपालको स्टाटेलाइटका लागि २० कम्पनीले इच्छा देखाए, चाँडै अन्तिम कम्पनीको टुङ्गो लाग्ने

काठमाडौं, ८ पुस। नेपालको आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउन नेपाल दूरसञ्चार प्राधिकरणको  योजनाले मुर्त रुप पाउने भएको छ। प्राधिकरणले गरेको ग्लोवल टेण्डरमा १३ देशका २० कम्पनीले आशयपत्र पेश गरेका छन्। पहिलो चरणको विज्ञापनमा कसैले चासो नदेखाएपछि प्राधिकरणले थप गरेको समयमा यी आवेदन परेका हुन्। टेन्डरको म्याद बुधबार सकिएको छ।   विश्वप्रख्यात अमेरिकी कम्पनी इन्टेल स्याटले पनि नेपाली स्याटेलाइटका लागि आवेदन पेश गरेको छ। त्यस्तै अमेरिकाबाटै पौल स्याट, स्पेस पार्टनरसीप, स्पेस सिस्टम लोरल गरी अरु तीन कम्पनीले इच्छा देखाएका छन्। स्याटेलाइटका लागि विश्वका प्रतिष्ठित सूचना प्रविध सम्बन्धि कम्पनीले आसयपत्र पेश गरेको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले बताए। भारत सरकार स्वामित्वको अन्तरिक्ष कर्पोरेसन लिमिटेड देखि चीनको ग्रेटवाल लगायत तीनवटा कम्पनीले आवेदन दिएको उनले जानकारी दिए। आवेदन गर्ने अन्य कम्पनीमा दक्षिण कोरिया, सिंगापुर, क्यानडा, इजरालय, फ्रान्स, साउदी अरब, मलेसिया र थाइल्यान्डका छन्। सञ्चार मन्त्रालयले दूरसञ्चार प्राधिकरणलाई गत असोजमा स्याटेलाइट स्थापनाका लागि बोलपत्र माग गर्न निर्देशन दिएको थियो। अब प्राधिकरणले मन्त्रालयसँग समन्वय गरि आशयपत्र पेश गर्ने कम्पनीमध्येप बिजनेस मोडालिटी, आर्थिक क्षमता तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा ६ वटालाई सर्टलिस्टिङ गर्ने अर्यालले जानकारी दिए। त्यसमा सर्वोत्कृष्ठ ठहरिने कम्पनीलाई सरकारले नेपाली स्टाटेलाइट पठाउने तयारीको जिम्मा दिनेछ। उक्त कम्पनीले अन्तरिक्षमा नेपाली स्याटलाइट राख्ने बारे सर्भे, डिजाइन, खरिद, स्थापना, सञ्चालन र मर्मतसम्भारलगायत विषयमा सरकारलाई सुझाउनेछ।

शिखर इन्स्योरेन्सको ६० प्रतिशत बोनस शेयर पारित, शेयर पुँजीको १० प्रतिशत नयाँ सेयर निष्काशन गर्ने

काठमाडौं, ८ पुस । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले ६० प्रतिशत बोनस शेयर तथा ३.१५८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । शुक्रबार सम्पन्न कम्पनीको १२ औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । शिखर इन्स्योरेन्सले पारित गरेको ६० प्रतिशत बोनस शेयर बीमा कम्पनीहरुमध्ये हालसम्मकै उच्च रहेको छ । कम्पनीको साधारणसभाले बोनस शेयर वितरण पश्चात संस्थापक शेयर ६० प्रतिशत कायम हुने गरी साधारण शेयरको नयाँ निष्काशन गर्ने निर्णय पनि गरेको छ । सो साधारण सभाले आगामी चार वर्षको लागि सर्वसाधारण शेयर धनीकातर्फबाट दिनेशबज्र बज्राचार्यलाई चयन गरेको छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा २०० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो भने चालु आर्थिक वर्षमा हालसम्म १२० करोड रुपैयाँ बीमा शुल्क आर्जन भएको कम्पनीले जनाएको छ ।

ब्राजिलले एक वर्षमा न्यून आय भएका पाँच लाख परिवारलाई घर बनाइदिने

ब्रासिलिया, ७ पुस । ब्राजिलको सरकारले यहाँका न्यून आय भएका नागरिकका लागि कम्तीमा पनि पाँच लाख वटा घर निर्माण गर्ने भएको छ । ब्राजिलका राष्ट्रपति माइकेल टेमरले सन् २०१७ मा ती घर निर्माण गर्ने घोषणा गरेका छन् । ब्राजिलको साओ पाओलो राज्यको मोगिदास सहरमा ती घरहरू निर्माण गरिने र त्यहाँ आवास नगरका रूपमा सो नगरको विकास गरिने छ । यस योजनाबाट करिब ५ लाख परिवार लाभान्वित हुन पाउने भएका छन् । सरकारले ती गरिबहरूका लागि आवासको व्यवस्था गर्ने बारेमा यसअघि नै सार्वजनिक घोषणा गरेको थियो । त्यस्तै यसअघि पनि सरकारले यस्तो आवास क्षेत्रको विकास गरिसकेको छ । यस योजनाबाट यस वर्षसम्ममा कम्तीमा पनि १ लाख ७० हजार परिवार लाभान्वित भएका छन् । राष्ट्रपति माइकेलले बुधबारको एक औपचारिक समारोहमा सम्बोधन गर्दै भने– म यसैवर्ष मात्र घर पाएका १ लाख ७० हजार र अर्कोवर्ष अर्थात् सन् २०१७ भरिमा घर पाउन लागेका पाँच लाख परिवारलाई पनि बधाई दिन चाहन्छु । ब्राजिलको सरकारले सन् २००९ देखि मेरो घर मेरो जीवन (माइ हाउस माइ लाइफ) नामक आवास कार्यक्रमको सुरुवात गरेको थियो । तत्कालीन सरकारको सो कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएको छ । सरकारी तथ्याङ्कअनुसार यस कार्यक्रमबाट ब्राजिलका कम्तीमा पनि एक करोड २२ लाख नागरिक लाभान्वित भइसकेका छन् । रासस÷सिन्हवा

बुटवल पावर कम्पनीको २७ प्रतिशत लाभांश पास, ५७ मेगावाट क्षमतामा दुई जलविद्युत योजना बनाउने निर्णय

काठमाडौँ, ८ पुस । बुटवल पावर कम्पनी (बीपीसी) लिमिटेडले सेयरधनीलाई २७ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई आव ०७२/७३ को खुद मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश र खुद मुनाफा तथा सञ्चित कोषबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीले आव ०७२/७३ मा खुद मुनाफा ५७ करोड ५९ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको तुलनामा उक्त मुनाफा १९.९ प्रतिशतले बढी रहेको कम्पनीका अध्यक्ष पद्मज्योतिले जानकारी दिए । साथै कम्पनीले लमजुङमा ३० मेगावाट क्षमताको न्यादी र पाँचथरमा ३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । निजी क्षेत्रको अग्रणी विद्युत् उत्पादन कम्पनी बीपीसीको शुक्रबार राजधानीमा सम्पन्न २४ औँ वार्षिक साधारणसभाले कम्पनी तथा सहायक कम्पनीमार्फत ती आयोजना निर्माण सुरु गर्न लागेको जानकारी दिएको छ । कम्पनीले १०० मेगावाट क्षमताको तल्लो मनाङ र ८.५ मेगावाट क्षमताको चिनोखोला जलविद्युत् आयोजना समेत अगाडि बढाउने भएको छ । कम्पनीबाट १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत् केन्द्र र ९.४ मेगावाट क्षमताको आँधीखोला जलविद्युत् केन्द्र सञ्चालनमा छन् । कम्पनीले सहायक तथा सम्बद्ध कम्पनीमार्फत ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् आयोजना र चार मेगावाटको खुदी जलविद्युत् आयोजनामा समेत लगानी गरेको छ । ती आयोजना हाल सञ्चालनमा छन् ।

प्रभु बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित

काठमाडौं, ८ पुस । प्रभु बैंक लिमिटेडको १५औं वार्षिक साधारण सभाले बैंकको ४० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावलाई पारित गरेको छ । हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद बिक्रीपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड रुपैयाँ पुग्ने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सम्पन्न उक्त वार्षिक साधारण सभाबाट सञ्चालक समितीको प्रतिवेदन सहित गत आ.व.०७२/०७३को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिएको छ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने, एक्विजिसन(प्राप्ति) तथा खरिद गर्ने प्रक्रिया अगाडि बढाउनको लागि सञ्चालक समिती लाई अख्तियारी दिने निर्णय गरेको छ । उक्त सभाले ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । जसमा संस्थापक शेयधनीहरुको तर्फबाट देवीप्रकाश भट्टचन, पुष्पबहादुर प्रधान, अम्बिका शर्मा लामिछाने र रमेश सिंह खड्का रहेका छन् । सर्वसाधारण शेयरधनीहरुको तर्फबाट कुसुम लामा र दक्ष पौडेल (सुभाष)निर्वाचित भएका छन् । साथै आजै बसेको नव निर्वाचित संचालक समितिको बैठकले देवी प्रकाश भट्टचनलाई अध्यक्षमा सर्व सहमतिका साथ चयन गरेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेप्से परिसूचक ५५.९४ अंकले ओरालो लाग्दा कारोबार रकममा भने ४७.३८ प्रतिशत वृद्धि

काठमाडौं, ८ पुस । यो साता सेयर बजारमा नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५५.९४ अंकले ओरालो लागेर अन्तिम दिन १४७५.४१ अंकमा पुगेको छ । साताको अन्तिम दिन बाहेक अन्य दिन नेप्से परिसूचक ओरालो लागेको थियो । साताभर जम्मा दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५६ कम्पनीको ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४७ दशमलब ३८ प्रतिशतले बढी हो । गत साता पनि १५३ कम्पनीहरुको कारोबार भएको थियो । २१ हजार ५१९ कारोबारबाट दुई अर्ब ८५ करोड १४ लाख ३५ हजार रुपैयाँ बराबरका ३६ लाख ३२ हजार दुई सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । साताभर बजारमा कारोबार भएका प्राय सबै परिसूचक ओरालो लागेका छन् । बजारमा कारोबार भएका बीमा समूहको परिसूचक सबैभन्दा बढी अंक ४०३ अंकले ओरालो लागेको छ । त्यस्तै, जलविद्युत, बाणिज्य बैंक, होटल, विकास बैंक र वित्त समूहको परिसूचक क्रमशः १०३.८२, ६२.२६, ५७.९५, २५.८७ र २२.६९ अंकले ओरालो लागेका छन् । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १२.५५ अंकले घटेर ३१८.७६ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी एभरेष्ट बैंकक ६६ करोड ७१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा र कारोबार संख्याको आधारमा पनि एभरेष्ट बैंक नै अग्रस्थानमा रहेको छ ।

भारतबाट थप ८० मेगावाट विद्युत् आयात हुने, नेपाललाई लोडसेडिङ मुक्त गर्ने तयारी

काठमाडौं, ८ पुस । सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ । ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमण्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभिभिएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो । मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्न र काठमाडौं उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको घोषणालाई नरन्तरता दिनसमेत थप विद्युत् आयात बाट सहज हुने छ । भारतले उपलब्ध गराउने थप विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरिनेछ । सो अन्तरदेशीय प्रसारण लाइनअन्तर्गत मुजफ्फरपुरमा थप एक सय एमभिएको ट्रान्सफर्मर जडान कार्य गत मङ्सिर २८ देखि ३० गतेसम्म दुई दिन लगाएर सम्पन्न भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइनलाई १३२ केभी क्षमताका व्याट्री चार्ज गरिसकिएको छ । भारतबाट हाल सोही प्रसारण लाइनमार्फत ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १६० मेगावाट विद्युत् आयात गरिनेछ । उक्त विद्युत्को खरिददर प्रतियुनिट भारतीय मुद्रा ३.६६ रहनेछ । सो विद्युत्को खरिद दर रु ५.६७ पैसा रहेको छ । विद्यमान बजार मूल्यका आधारमा भारतबाट आयात गरिएको विद्युत्को मूल्य सस्तो रहेको बताइन्छ । विद्युत् आयातसम्बन्धी सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र एनभिभिएनका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार गर्गबीच हस्ताक्षर भएको छ । यस्तै ढल्केबर सवस्टेसनको काम पनि अन्तिम चरणमा रहेकाले सो कार्य सम्पन्न हुनेबित्तिकै थप विद्युत् आयातका लागि पहल गरिने बताइएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मुलुकमा जारी ऊर्जा सङ्कट समाधान गर्ने लक्ष्यका साथ सरकारले थप विद्युत् आयात गर्ने सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिए । प्राधिकरण र एनभिभिएनबीच लेऊ अथवा देऊ ‘टेक अर पे’ मान्यताका आधारमा विद्युत् खरिद सम्झौता भएको हो । भारतीय नोडल एजेन्सी एनभिभिएनसँग जनवरी, २०१७ देखि मे २०१७ सम्मका लागि प्रारम्भिक चरणमा विद्युत् खरिद सम्झौता गरिएको हो । मुलुकभर हाल एक हजार २८६ मेगावाट विद्युत् माग रहेको छ । नदीमा जलस्तर घटेका कारण आन्तरिक उत्पादन घट्न थालेको अवस्थामा भारतबाट थप विद्युत् आयात गरेर ऊर्जा सङ्कट निवारण गर्न लागिएको प्रवक्ता अधिकारीको भनाइ छ । यस्तै कुशाहा–कटैया, रक्सौल–परवानीपुर प्रसारण लाइनको समेत स्तारोन्नतिको काम जारी रहेका कारण निकट भविष्यमा नै ती प्रसारण लाइनबाट थप ५०/५० मेगावाट विद्युत् आयात गर्ने समझदारीसमेत नेपाल र भारतबीचमा भएको छ । यस्तै टनकपुरबाट समेत थप ४० मेगावाट विद्युत् आयात गर्ने सम्बन्धमा भारतीय पक्षसँग कुराकानी भएको छ । मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्ने लक्ष्यका साथ सरकारले ५६० मेगावाट विद्युत् आयात गर्ने तयारी गरेको छ । गत आवमा भारतबाट ३४७ मेगावाट विद्युत् आयात गरिएको थियो । यस्तै आन्तरिक उत्पादनमा रहेको कुलेखानीलाई हाल नचलाइकन राखिएको छ । विद्युत् अत्यधिक माग हुने समयमा सो आयोजनाबाट पनि विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको भनाइ छ । कालीगण्डकी, मध्यमस्र्याङ्दीजस्ता आयोजनालाई पनि साँझको समयमा मात्रै सञ्चालन गर्ने गरी व्यवस्था मिलाइएको छ । आगामी माघ र फागुनमा विद्युत्को माग बढी रहने भएकाले लोड व्यवस्थापन गर्न प्राधिकरणलाई वैकल्पिक स्रोतको आवश्यकता परेको हो । यस्तै ऊर्जा सचिव उपाध्याय र उनका भारतीय समकक्षी पिके पुजारीबीच भएको द्विपक्षीय छलफलका क्रममा नेपालले माग गरेअनुसार नै विद्युत् उपलब्ध गराउन र नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले सहयोग गर्ने सहमति भएको छ । नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता (पिटिए) भएको सन्दर्भमा त्यसलाई पूर्णरुपमा कार्यान्वयन गर्ने र पछिल्लोपटक भारत सरकारले तयार पारेको विद्युत् खरिदसम्बन्धी निर्देशिकामा देखिएको असहमतिका बारेमा समेत दुई ऊर्जा सचिवबीच छलफल भएको थियो । छलफलका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनसमेत शीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजाने सहमति भएको छ । वापकोश नामक परामर्शदाता कम्पनीले सो आयोजनाको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा हाल अध्ययनको क्रममा रहेको छ । रासस

मेलम्चीको पानी कलङ्की, स्वयम्भू र महाराजगन्जमा तत्काल वितरण नगरिने

काठमाडौं, ८ पुस । मेलम्चीको पानी चक्रपथभित्रकै केही स्थानमा तत्काल वितरणका लागि नयाँ वितरण सञ्जाल नबन्ने भएको छ । आगामी वर्ष असोजमा मेलम्चीको पानी उपत्यकामा आएपछि कलङ्की, स्वयम्भू र महाराजगन्जको पूर्वी भागमा वितरण गर्न नसकिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । चक्रपथभित्रको केही भागमा बजेट अभाव हुँदा पहिलो चरणमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याएर नयाँ सञ्जाल निर्माण गर्न नसकिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले जानकारी दिए । “नयाँ सञ्जाल निर्माण गर्न नसकिए पनि यी स्थानमा पुरानो वितरण प्रणालीबाट पानी वितरण गरिन्छ, नयाँ सञ्जाल निर्माणका लागि पनि केही महिनामा ठेक्का आह्वान हुँदैछ, दुई वर्षभित्रमा नयाँ पाइपलाइन बिच्छ्याइन्छ”–उनले भने । चक्रपथ बाहिर गोकर्णेश्वर, जोरपाटी, ललितपुरको कुसुन्ती, नखिपोट, भनिमण्डल, भक्तपुरको टिग्नी र कटुञ्जे क्षेत्रमा पाइप बिच्छ्याउने काम भइरहेको छ । कपन, बौद्ध र बालाजु क्षेत्रभन्दा माथिको भागमा पनि पाइप बिच्छ्याउनका लागि बोलपत्र आह्वान हुँदैछ । यी क्षेत्रमा पनि दुई वर्षमै पाइप बिच्छ्याएर पानी वितरण गरिने निर्देशनालयले जनाएको छ । विसं २०८० सम्म याङ्ग्री र लार्केको गरी दैनिक ५१ करोड लिटर पानी आउने बेलामा उपत्यकाको सबै भागमा पाइपको नयाँ वितरण सञ्जाल बिच्छ्याई पानी वितरण गर्ने योजना छ । त्यसबेलासम्म २४ घन्टा नै पानी वितरण गर्ने गरी गृहकार्य भइरहेको प्रवक्ता ढकालले बताए । रासस