दूरसंचार पुर्वाधारमा भएको भौतिक आक्रमणप्रति एनसेल दुःखी
काठमाडौं, ३० जेठ । एनसेलले सल्यान, दाङ्ग, कास्की, झापा, म्याग्दी, धनकुटा, मोरङ्ग, बाग्लुङ्ग र गोर्खा जिल्लामा रहेका कम्पनीको १० वटा बेस स्टेसनमा केही अज्ञात समूहले जेठ २९ गते बिहान आगो लगाई दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याएको घटनाले आफू स्तब्ध र दुःखी भएको जनाएको छ । यी क्षति पु¥याईएका संरचनाले ति जिल्लाका ग्रामिण क्षेत्रमा जनसमुदायलाई आधारभूत तथा आकस्मिक संचार सेवा प्रदान गरिरहेका थिए । यिनमा क्षति पुग्नाले यि जिल्लाका ग्रामिण क्षेत्रका करिब २ लाख ५० हजार ग्राहकलाई प्रत्यक्ष रुपमा र अन्य ठाउँबाट त्यहाँ रहेका आफन्तसँग सम्पर्क गर्ने थुप्रै व्यक्तिहरुलाई संचार बिहीन बनाएको छ । यसले नागरिकको संचारमा पहुँच तथा प्रयोगको आधारभूत अधिकार कुण्ठित हुन पुगेको छ । “जनसमुदायलाई संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध हो । एनसेल सम्बद्ध सबैलाई यस्तो कार्य नगर्न नगराउन हार्दिक अनुरोध गर्दछ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने । साथै, अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न सम्बन्धित सबै निकायमा एनसेलले अनुरोध गरेको छ । “हामी क्षतिको विवरण प्राप्त गर्ने क्रममा रहेका छौं, त्यसैले के कति क्षति भयो भन्ने यकिन भईसकेको छैन,” भट्टचनले भने । यस अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकहरुमा पर्न गएको असुविधा प्रति एनसेलले क्षमा मागेको छ । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्न कम्पनी प्रयत्नशिल रहेको जनाउँदै, एनसेलले ग्राहकमा धैर्य तथा सहयोगका लागि धन्यवाद ज्ञापन गरेको छ । “साथै हामी आफ्ना १ करोड ४० लाख भन्दा बढी ग्राहकहरुलाई प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्न सक्ने यस्ता दुर्घटना प्रति चनाखो रहन सबैलाई अनुरोध गर्दछौं,” एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने ।
बाबुरामको नयाँ शक्तिको आज घोषणा हुदै, राजनीतिक एजेन्डामा फेरि पनि जिते भट्टराईले
काठमाडौं, ३० जेठ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल नामक राजनीतिक दलको आज घोषणा हुदैछ । आज प्रकाशित हुने प्राय सवै दैनिक प्रत्रिकामा ‘ज्याकेट’ तथा इलेक्ट्रोनिक्स संचार माध्यममा पनि ब्यापक विज्ञापन दिएर घोषणा हुन लागेका नयाँ शक्तिले ‘अबको निकास, आर्थिक विकास’ भन्ने मूल नारा तय गरेको छ । पार्टी घोषणासभामा भाग लिनको लागि प्रधानमन्त्री केपी शर्मा ओली सहित सबै राजनीतिक दलका प्रमुख, सवै सांसद, विभिन्न राष्ट्र र कुटनीतिक नियोगका प्रमुख र विभिन्न संघ संस्थाका प्रमुखलाई निमन्त्रणा गरिएको पार्टी प्रवक्ता खिमलाल देबकोटाले जानकारी दिए । पार्टी घोषणासभामा एकै पटक एक लाख नेता कार्यकर्तालाई सपथ खुवाइने कार्यक्रम छ । त्यसपछिको छलफल सत्रमा पार्टीको विधान र आर्थिक सम्बृद्धिको खाका तयार पारिने प्रवक्ता देबकोटाले जानकारी दिए । प्रतिबद्धता ५ स नयाँ शक्ति नेपालले ‘५ स’लाई आफ्नो प्रतिबद्धता भनेर सार्वजनिक गरेको छ । पहिलो ‘स’मा समतामुलक समृद्धि भनिएको छ । ‘हामीले अहिलेसम्म राजनीतिक अधिकारको लडाई लड्यौं । तर देश अझै पनि गरिबी, बेरोजगारी र परनिर्भरताको साँग्लोले बाँधिएको छ । त्यो साँग्लो चुडाल्नु र देशलाई अन्तरनिर्भर विकास र समृद्धिको शिखरमा पुर्याउनु अवको हाम्रो मुख्य कार्यभार हो । विकासको प्रतिफल सवै बर्ग, क्षेत्र र समुदायमा पुर्याएर समतामुलक समृद्धि हासिल गर्नु हाम्रो दायित्व हो । हामी उर्जाशील दिमाग र कर्मशील हात भएका युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्नेछौं,’ नयाँ शक्तिको समतामुलक समृद्धिको आधारमा उल्लेख गरिएको छ । यस्तै नयाँ शक्तिले समानुपातिक समावेशी सहभागितामुलक लोकतन्त्र, सुशासन÷सदाचार, स्वाधिनता/सार्वभौमिकता र समुन्नत समाजवाद आफ्नो अवधारणा भएको उल्लेख गरेको छ । पार्टीले आफ्नो लागो/ चिन्हको रुपमा रातो झण्डाको विचमा एउटा तारा राखेको छ । विज्ञापन किन ? नयाँ शक्तिले पार्टी घोषणाको प्रचार प्रसारको लागि ब्यापक मात्रामा विज्ञापन गरेको छ । पैसा तिरेर गरिएको यस्तो विज्ञापनले राम्रै चर्चा भएको छ । ‘अहिलेसम्मका राजनीतिक दल प्रतिपक्षमा बस्नको लागि योग्य तर सरकारमा पुगेपछि आर्थिक विकास र समृद्धि हासिल गर्ने कुरामा चुके, यो कार्यभार पूरा गर्ने उद्देश्यले नयाँ शक्ति स्थापना भएको हो,’ नयाँ शक्ति नेपालका अभियान्ता मध्येका एक रामेश्वर खनालले भने । अहिलेसम्म नेपालमा स्थापना भएका कुनै पनि राजनीतिक दलले यसरी विज्ञापन गरेर पार्टी स्थापना भएको जानकारी दिएका थिएनन् । ‘यो हामीले नयाँ प्रयोग गरेका हौं, २/३ बर्ष पहिला डेनमार्कमा बैकल्पिक राजनीतिक शक्ति स्थापना हुदा पनि यस्तै गरी विज्ञापन गरिएको थियो, युरोप र अमेरिकातिर पनि नयाँ पार्टी स्थापना हुदा यसरी विज्ञापन गर्ने चलन छ,’ विज्ञापन किन आवश्यक देखियो भन्ने प्रश्नमा खनालले भने । अब राजनीतिक एजेन्डा नै परिवर्तन हुने डा. भट्टराईको पार्टीले तत्काल कुनै ठूलो उपलब्धी हासिल गर्ने र सरकारको नेतृत्व लिन सक्ने÷नसक्ने यकिन छैन । नयाँ शक्तिमा राजनीतिक पृष्ठभूमी भएका ब्यक्तिहरु विगतमा तत्कालिन माओवादीले संचालन गरेको जनयुद्धमा प्रत्यक्ष÷परोक्ष सहभागी भएका मात्रै छन् । नयाँ शक्तिको नेतृत्व तहमा रहेका अरु चर्चित ब्यक्तिहरु भने पूर्वप्रशासक छन् । यसकारण संगठन निर्माण र राजनीतिक एजेन्डा लागू गर्ने राजनीतिक कला प्रदर्शनमा नयाँ शक्ति कत्तिको सफल हुन्छ, यो भने प्रतिक्षाकै विषय भएको छ । डा. भट्टराई यसअघि पनि राजनीतिक रुपमा एजेन्डाले जितेका र ब्यक्तिगत रुपमा हारेका ब्यक्ति हुन् । अहिलेको शान्ति प्रक्रिया, संविधान निर्माण र गणतन्त्र स्थापना जस्ता मुद्दा डा. भट्टराई कै हुन् । तत्कालिन माओवादीको चर्चित हापुरे बैठकमा डा. भट्टराईले नै राजनीतिक दलहरुसँग मिलेर राजतन्त्र विरुद्ध एकताबद्ध हुनुपर्ने प्रश्ताव राखेका थिए । त्यसपछि नै माओवादी आजको अवस्थासम्म आइपुगेको हो । तर डा. भट्टराईकै एजेन्डाले जितेपनि उनी भने पार्टी नै छोडेर हिड्नुपर्ने अवस्थामा पुगे । यस्तै उनी अर्थमन्त्री बनेको समयमा पनि अर्थतन्त्रको एउटा पाटो उनले सफलतापूर्वक संचालन गरे । राजस्व संकलनमा उनले ऐतिहासिक उपलब्धी हासिल गरे । तर जनतावाट राजस्व उठाएर सरकारी ढुकुटीमा थुपारे पनि सो रकमलाई पुन जनताकै हितमा खर्च गर्ने कार्य भने उनी पनि चुके । हो, बजेट खर्च गर्ने कार्यमा अर्थमन्त्रीको मात्रैको भूमिकाले सम्भव छैन । तर पहल र समन्वय अर्थमन्त्रीले नै गर्नुपर्ने हो । आफ्नै पार्टीका अध्यक्षले सरकारको नेतृत्व लिएको अवस्थामा डा. भट्टराईले यो कुराको दोष अरुलाई थोपर्न पाउदैनन् । उनी प्रधानमन्त्री बनेको समयमा पनि काठमाडौं उपत्यका विस्तार गरेर उनले दुरगामी र सकारात्मक काम गरेका थिए । तर त्यसैको उपजस्वरुप २०७० को संविधानसभा निर्वाचनमा उनको पार्टीले उपत्यकामा एक सिट पनि जितेन । उनकी श्रीमती तथा तत्कालिन एनेकपा माओवादी नेतृत्व हिसिला यमीको समेत जमानत जफत हुने अवस्था आयो । यहाँनेर पनि भट्टराईको एजेन्डाले जित्यो तर उनी र उनको पार्टीले चुनाब हार्यो । अब उनी र उनको पार्टी नयाँ शक्तिले जिते वा हारेपनि देशको राजनीतिक एजेन्डा नै परिवर्तन हुने भएको छ । अबका सवै राजनीतिक दलको प्रमुख एजेन्डा आर्थिक विकास हुने देखिएको छ । राजनीतिक एजेन्डामा जित्दै आएका डा. भट्टराईले यो विषयमा फेरि पनि जितेका छन् । अबको निश्चित एउटा कुरा के हो भने परम्परागत कम्युनिष्ट दल र प्रतिपक्षमा बस्नको लागि मात्रे बन्ने राजनीतिक दलको भविष्य छैन । बाबुराम भट्टराईको नयाँ शक्तिले जितेपनि वा हारे पनि अव सवै राजनीतिक दलको मुख्य मुद्दा भनेको आर्थिक विकास र समृद्धि हुने देखिएको छ ।
शाइन रेसुङ्गा र गौमुखी गाभिए, पूँजी ८६ करोड ८४ लाख
काठमाडौं, ३० जेठ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड र प्यूठानको बिजुवारमा केन्द्रिय कार्यालय रहेको गौमुखी विकास बैंक लिमिटेड एकापसमा गाभिएका छन् । प्यूठानको विजुवारमा आयोजित मर्जर एकिकृत कारोवार शुभारम्भ समारोहको नेपाल राष्ट्र बैंकका गर्भनर डा। चिरञ्जिवी नेपालले सुभारम्भ गरेका हुन् । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका प्रमुख रेवती प्रसाद नेपालले ग्रामिण क्षेत्रमा बैंकले पुर्याएको योगदानको प्रसंसा गर्दे वित्तीय पहुंचमा बैंकहरुले विशेष जोड दिनु पर्ने औंल्याएका थिए । नेपाल उद्यमीहरुको लागी स्वर्णभूमी भएकाले उद्यमशिलताको विकासमा जोड दिंदै परनिर्भर अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रुपान्तरण गरि सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिने उनले बताए । बैंकहरु घर घरमा अवसर लिएर आएको हुंदा सोको सदुपयोग गर्न पनि उनले आग्रह गरे । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले समग्र बैंकको वारेमा जानकारी गराएका थिए । बैंकका अध्यक्ष थानेश्वर पौडेलले असल बैंकको पहिचानमा कुनै सम्झौता नगरिने प्रतिवद्धता व्यक्त गरेका थिए । साविकको गौमुखी विकास बैंकका अध्यक्ष नारायण बैद्य, नेपाल पत्रकार महासंघ, प्यूठानका अध्यक्ष गिरु प्रसाद भण्डारी, प्यूठान उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष केदारमान कक्षपती र जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख जिल्ला अधिकारीले शुभकामना व्यक्त गरेका थिए । उक्त समारोहमा बैंकले स्वर्गद्धारी मन्दिरलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार प्रदान गरेको थियो । १० जिल्ला कार्यक्षेत्र रहेको बैंकको मर्जरपछि नाम पनि शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड नै रहनेछ । बैंकको शाखा सञ्जाल २६ पुगेको छ । बैंकको चुक्ता पूंजी ८६ करोड ८४ लाख पुगेको छ भने निक्षेप ८ अर्व ४ करोड कायम भएको छ । बैंकले ७ अर्व २४ करोड कर्जा लगानी गरेको छ भने बैंकको ग्राहक संख्या १ लाख २६ हजार रहेको छ । बैंकमा २१७ कर्मचारी रहेका छन् । २०७४ आषाढ मसान्तसम्म पुर्याउनु पर्ने चुक्ता पूंजी १ अर्व २० करोड बैंकले बोनश शेयरको माध्यमवाट पुरयाउने लक्ष्य लिएको छ भने थप मर्जर तथा एक्विजिशनका लागी समेत खुल्ला रहेको बैंकले जनाएको छ ।
मेलम्चीको पानी वितरणका लागि ३५० किमी पाइप ओच्छ्याइयो
काठमाडौं, २८ जेठ । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले जानकारी दिए । “थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९।५ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उनले भने । चुच्चेपाटीमा ढिला हुँदा सडकमा समस्या महाङ्कालचौर–चुच्चेपाटी–चाबहिल खण्डमा आइपुगेपछि पाइप ल्याउन ढिला भएकाले एक महिनाभन्दा बढी समय काम रोकिँदा सडक अवरोध भएको स्थानीयवासीको गुनासो छ । स्थानीय सन्तोष घिमिरे ५०० मिटर पाइप बिच्छ्याउन महिनौँ लगाइदिँदा घाम लाग्दा सडक धुलाम्ये र पानी पर्दा हिलाम्ये भएर हिँडडुल एवम् सटरमा व्यापार व्यवसायमा पनि समस्या आएको बताउछन्। आयोजना प्रमुख खत्रीले १।४० मिटर चौडाइको डक्टाइल पाइप चीनबाट ल्याउन ढिला भएकाले समय बढी लागे पनि हाल काम सम्पन्न भएर सडक बनाउन सुरु भएको बताउछन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी उपत्यकामा वितरण गरिन्छ । पानी विसं २०७३ असोजभित्र सुन्दरीजलमा ल्याउने सम्झौता इटालियन सुरुङ निर्माण कम्पनी सीएमसीसँग गरिए पनि गत वर्ष वैशाखको भूकम्प र असोजपछिको नाकाबन्दीले एक वर्ष ढिला हुने भएको छ । मेलम्ची खोलाको पानी ल्याइसकेपछि याङ्ग्री र लार्के खोलाबाट पनि दैनिक १७/१७ करोड लिटरका दरले थप ३४ करोड पानी ल्याउने सरकारको योजना छ । रासस
जस्मिन पेन्ट्स सगरमाथाको चुचुरोमा
काठमाडौं, २८ जेठ । जस्मिन पेन्ट्सको झण्डा सगरमाथाको चुचुरोमा फहराइएको छ । २०५१ साल स्थापित मनकामना ग्रुपको जस्मिनको लोगो अंकित झण्डा नवाङ नर्बु शेर्पा(माइला)ले सगरमाथाको शिखरमा पुर्याएका हुन् । उनले जेठ ६ गते सगरमाथाका शिखरमा पुर्याएका थिए । ‘नेपाली मनको नेपाली रङ्ग’ नारासहित अघि बढेको कम्पनीले स्वदेशी रङ्ग उत्पादक कम्पनीमध्ये आफुलाई दोश्रो नम्बरको कम्पनी भएको दावी गर्दै आएको छ । जस्मिन पेन्ट्सको ७५ वटै जिल्लामा बजार सञ्जाल रहेको कम्पनीका निर्देशक मधुसुधन अर्यालले बताए । चितवनमा रहेका उद्योग मार्फत उत्पादित रंगलाई कम्पनीले देशभर उपलब्ध गराउँदै आएको छ । कम्पनीले निर्यातको सम्भाव्यताको समेत अध्ययन गरिरहेको निर्देशक अर्यालले बताए ।
६६ करोडको लागतमा चारवटा पक्की पुल निर्माण सुरू
कञ्चनपुर, २८ जेठ। कञ्चनपुरको दोदा, बल्मा नदी र घटाल थान क्षेत्रमा ६६ करोड रूपैयाँको लगानीमा चारवटा पक्की पुल निर्माणको कार्य सुरु गरिएको छ । तीनवर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी ठेक्का प्रक्रियामार्फत चालु आवदेखि पुल निर्माण कार्य हुन थालेको हो । दोदा नदीको देखतभूली–पर्सिया र बेलौरी नगरपालीकाको भकुन्डा–बेलौरी जोड्नका लागि २११ मिटरका दुईवटा पक्की पुल निर्माण कार्य भइरहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर ज्ञानेन्द्र कलौनीले बताए । “दैजी–बेलडाँडी जोड्नका लागि बल्मा नदीमा रु आठ करोडको लागतमा झन्डै सय मिटर लम्बाइको पक्की पुल र धार्मिकस्थल घटाल थान जोड्नका लागि रु १८ करोडको लागतमा २०० मिटर लम्बाइको पुल निर्माण कार्य भइरहेको छ”, उनले भने । दोदा नदीमा पुल नहुँदा बर्सातका बेला देखतभूली र शङ्करपुरका बासिन्दाको सदरमुकामसँग सम्बन्ध विच्छेद हुँदै आएको थियो । पुल निर्माणको कार्यले यातायात सेवासँगै आवतजावतमा सहजता हुने शंकरपुरका रामप्यारा चौधरीले बताए । यसैगरी, दैजी–बेलडाँडीको बल्मा नदीमा पुल नहुँदा बेलडाँडीलगायत क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए । धार्मिक क्षेत्र घटाल थानमा पुल निर्माण सँगै दर्शनार्थीलाई सहजता हुने भएको छ । रासस
सिद्धार्थ, एकता र नेपालबीच एकिकृत कारोवार, चुक्ता पूँजी १ अर्ब १४ करोड
काठमाडौं, २८ जेठ । सिद्धार्थ डेभलपमेण्ट बैंकसँग एकता विकास बैंक र नेपाल आवास फाईनान्स एक आपसमा गाभिएका छन् । शुक्रबार देखि सिद्धार्थ डेभलपमेण्ट बैंकले एकिकृत कारोबार शुभारम्भ गरेको छ । मर्जर पछि नयाँ संस्थाको नाम सिद्धार्थ डेभलपमेण्ट बैंक नै रहेको छ । एकिकृत कारोबार शुभारम्भ समारोहको समुद्घाटन अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले बैंकको केन्दि लिमिटेडको केन्द्रीय कार्यालय तीनकुनेमा गरेका हुन् । सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड, नेपाल राष्ट्र बैंकले वित्तीय संस्थाको लागि आवश्यक न्यूनतम चुक्त्ता पूँजीको व्यवस्था गरे पश्चात राष्ट्र बैंकको पूँजी योजनालाई स्वागत गर्दै मर्जर सम्झौता गर्ने पहिलो विकास बैंक रहेको बैंकले जनाएको छ । कम्पनीका अनुसार मर्जर पश्चात बैंकको चुक्त्तापूँजी एक अर्ब चौध करोड रुपैयाँ, ३३ शाखा कार्यालय, १२ अर्ब निक्षेप, १० अर्ब कर्जा लगानीको साथमा सिद्धार्थ डेभलपमेण्ट बैंक लिमिटेड देशकै दोस्रो ठूलो विकास बैंक भएको छ ।
कलर्सको पि५० बजारमा, मुल्य ७४९५ रुपैंयाँ
काठमाडौं, २८ जेठ । कलर्स मोबाइलले एक्स फ्याक्टर प्राइड सिरिज अन्तर्गत प्राइड पि५० स्मार्टफोन बजारमा भित्र्याएको छ । नयाँ मोबाइलमा अन्य एण्ड्रोइड फोनमा भन्दा अहिले सम्म कै नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो रहेको कम्पनीले जनाएको छ । यो फोन हालसम्मकै ठुलो फोन भएको पनि कम्पनीले दावी गरेको छ । ५० प्रतिशत कम इन्टरनेट डाटा खर्च हुने कलर्स लाइट यसमा रहेको छ । कलर्स एक्स फ्याक्टर प्राइड पि५० मा ५ इन्चको ठुलो एचडि आइपिएस स्क्रिनका साथ २२०० एमएएचको ब्याट्री प्रयोग गरिएको छ । साथै यसमा १ जिबी ¥याम प्लस ८ जिबी रोम, ३२ जिबीसम्म बढाउन सकिने मेमोरो कार्ड रहेको छ । १ दशमलब ३ गेगाहर्ज क्वाड कोर प्रोसेसर एवं पछाडी ५ मेगापिक्सल र अगाडी २ मेगा पिक्सल क्षमताको क्यामरा रहेका छन् । नयाँ एण्ड्रोइड ओपेरटिङ सिस्टम मार्शमल्लो ललिपप ६ दशमलब शुन्य संचालन प्रणाली, दुई वटा सिम र ओटिएले चल्ने खालको छ । पि ५० को बजार मुल्य मात्र भने सात हजार ४ सय ९५ रुपैंयाँ पर्छ । कलर्स मोबाइलका बजार प्रबन्धक राजजंग थापाले नयाँ मोबाइलले उपभोक्ताको मन जित्ने अपेक्षा व्यत्त गरे । टेलिटक प्रालिका प्रमुख कार्यकारी अधिकृत सन्जय अग्रवालले पनि पि५० ले स्मार्ट फोनका पारखीहरुलाई नयापनको अभाष दिने बताए । नेपालमा कलर्स मोबाइल प्रयोगकर्ताहरुको संख्या २० लाख रहेको कम्पनीको दावी छ ।