एनसेलद्वारा नागरिकको संचारमा पहुँच र प्रयोगको आधारभूत अधिकारको सम्मान गर्न आग्रह
काठमाडौं, ३१ जेठ । एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याउने कार्य गरेको घटनाको भत्सर्ना गरेको छ । संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केहि अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएका छन् । यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको छ । “हामी सम्बन्धित सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गर्दछौं । यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पु¥याएको हुन सक्छ,” एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने । एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जनाएको छ । “अप्रत्यासित घटनाबाट सेवा अवरुद्ध भई ग्राहकमा पर्न गएको असुविधा प्रति हामी क्षमाप्रार्थी छौं । यथासक्य छिटो नेटवर्क पुनस्र्थपना गरी सेवा सुचारु गर्ने प्रयास भईरहेको छ । यस क्रममा धैर्यधारण गरी सहयोग प्रदान गरिरहनु भएकोमा हामी आभार तथा धन्यवाद व्यक्त गर्दछौं,” भट्टचनले भने । बेस स्टेशन जस्ता दूरसंचार पूर्वाधारको सुरक्षाका लागि थप सुरक्षाको व्यवस्थापन गरिरहेको एनसेलले जनाएको छ । कम्पनीले सरकारलाई अत्यावश्यक सेवा ऐनले समेत नागरिकको अत्यावश्यक सेवाको रुपमा लिएको संचार सेवाको निर्वाध संचालनका लागि सहयोग गर्न अनुरोध गरेको छ । “हामीले घटनाका विवरण लगायतका जानकारी नेपाल दूरसंचार प्राधिकरण र अन्य सरकारी निकायलाई दिईसकेका छौं । साथै सरकारबाट प्राप्त सहयोगको प्रतिबद्धताकालागि आभार पनि व्यक्त गर्दछौं,” भट्टचनले भने । साथै यस्ता खाले गैरकानूनी कृयाकलापले देश र जनता कसैलाई पनि सहयोग नपुग्ने जनाउँदै एनसेलले सबैलाई जिम्मेवार भएर काम गर्न र कसैलाई पनि उकास्ने काम नगरी विधिको पालनाका लागि सहयोग गर्न अपिल गरेको छ । टावरमा भएको क्षतिको विवरण प्राप्त गर्ने क्रम जारी रहेको जनाउँदै एनसेलले यि घटनाले के कति क्षति भयो अहिले यकिन भईनसकेको जनाएको छ । एनसेलले १ करोड ४० लाख ग्राहकलाई मोबाईल सेवा प्रदान गर्दै आईरहेको छ ।
चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो, सम्बन्ध नयाँ उचाईमा पुगेको दावी
काठमाडौँ, ३१ जेठ । चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमणको निम्ता दिएका छन् । उनले नेपाल भ्रमणको निम्तो सम्बन्धी पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन । चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका साथै चीन सरकारका उच्च पदाधिकारीसँग भेटघाट गरेको छ । उपराष्ट्रपति पुनले चौथो चीन साउथ एसिया एक्स्पो र २४औँ कुन्मिङ मेला भएको स्थान दियान्ची अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रको अवलोकन गरेका थिए । मेलामा रहेका १०० भन्दाबढी कक्षको अवलोकनपछि उनले उद्घाटन वक्तव्य दिएका थिए । उनले सो अवसरमा चीन र दक्षिण एसियाबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा जनस्तरको आदानप्रदानका लागि एक्स्पो महत्वपूर्ण हुने बताए । बेइजिङस्थित नेपाली राजदूतावासद्वारा प्रकाशित प्रेस विज्ञप्तिअनुसार उपराष्ट्रपति पुनले एक क्षेत्र एक सडक पहलकदमीबाट क्षेत्रीय विकासमा सहयोग गर्नुका साथै हाम्रा आर्थिक सम्बन्ध बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उपराष्ट्रपति पुन, चीनका उपप्रधानमन्त्री वाङ तथा अन्य दक्षिण एसिया र दक्षिणपूर्व एसियाका उच्च नेताहरुले एक्स्पो र व्यापार मेलाको संयुक्तरुपमा उद्घाटन गरेका थिए । उपराष्ट्रपति पुनले ११औँ चाइना साउथ एसिया बिजिनेस फोरमलाई सम्बोधन गर्दै २१औँ शताब्दीको एसियाली सपना पूरा गर्न चीन र दक्षिण एसियाका देशबीच सहयोगमा जोड दिए । उनले सहभागी प्रतिनिधिमण्डलहरु र व्यवसायीलाई नेपाल आएर विभिन्न प्राकृतिक स्रोतहरुमा ठूलो स्तरमा लगानी गर्न आह्वान पनि गरेका थिए ।
७४ हजार भूकम्प पीडितसँग अनुदान सम्झौता, एक हप्ता भित्रै ५० हजार पाउने
काठमाडौं, ३० जेठ । सरकारले ७४ हजार ४ सय ८१ जना भूकम्प पीडितसँग अनुदान सम्झौता सम्पन्न गरेको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरका अनुसार यसरी अनुदान सम्झौता सम्पन्न गरिएका पीडितहरुको बैंक खातामा एक हप्ताभित्रै निजी घर निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता वापतको ५० हजार जम्मा हुनेछ । सरकारले भूकम्पका कारण पूर्णरुपमा घर क्षति भएका पीडितलाई तीन किस्तामा दुई लाख रुपैंयाँ उपलब्ध गराउँदैछ । प्राधिकरणका अनुसार उपत्यका बाहिरका भूकम्प अतिप्रभावित ११ जिल्लामा सम्बन्धीत गाउँ विकास समितिका सचिव र पीडितबिच अनुदान सम्झौता भएको हो । रामेछापमा ३१ हजार ८ सय ४ जनासँग अनुदान सम्झौता भएको छ भने दोलखामा १५ हजार पाँच सय ९४ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । त्यस्तै धादिङमा २० हजार ९८ परिवार र नुवाकोटमा सात सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । गोरखामा चार हजार ८ सय ५०, सिन्धुपाल्चोकमा तीन हजार, काभ्रेमा ९ सय ५० र सिन्धुलीमा ११ सय परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । त्यस बाहेक ओखलढुंगामा १४ हजार दुई सय २, रसुवामा दुई सय ८ र मकवानपुरमा १० परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ । प्राधिकरणका प्रवक्ता राम प्रसाद थपलियाका अनुसार रामेछाप र ओगंलढुंगामा सम्झौता अन्तिम चरणमा पुगिसकेको छ । रामेछापको ४३ र ओखलढुंगाको ४६ गाबिसमा अनुदान सम्झौता सम्पन्न भैसकेका छन् । बाँकी ११ जिल्लामा भने द्रुतगतिमा अनुदान सम्झौता अघि बढिरहेको प्रवक्ता थपलियाले बताए ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्लामा
काठमाडौं, ३० जेठ । सनराइज बैंक लिमिटेडले शाखारहित बैंकिङ्ग सेवा डोटी जिल्ला जिल्लाको बानडुङग्रीसेन बजारमा शुरू गरेको छ । बैंकले बैंकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने रणनीति अनुसार सो स्थानमा पाँचौ शाखारहित बैंकिङ्ग सेवा सञ्चालन गरेको हो । सो शाखारहित बैंकिङ्गको उद्घाटन बनलेक गा.वि.स.का सचिव लक्ष्मी कान्त रोश्याराले शनिबार एक समारोहकाबीच उद्घाटन गरेका हुन् । सो अवसरमा बैंकका बजार व्यवस्थापन प्रमुख रबिना आचार्यले बैंकले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पार्दै शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि शेर बहादुर बलायरलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे । उक्त मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्र्तगत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ५३ वटा शाखा र ६७ वटा एटिएमद्धारा आधुनिक एवं सर्वसुलभ सेवाहरु प्रदान गर्दै विज्ञप्तिमा आएको छ । यस अघि काभ्रेको मंगलटार, झापाको बाहुनडाँगी, महोत्तरीको कान्तिबजार र मोरङ्गको डाँगीहाटमा बैंकका चारवटा शाखारहित बैंकिङ्ग सेवाहरू सञ्चालनमा रहेको बैंकले जनाएको छ ।
आधिकारिक ट्रेड युनियनका महासचिवमा देवकोटा
काठमाडौं, ३० जेठ । नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले निजामती कर्मचारी आधिकारिक ट्रेड युनियनको महासचिवमा अध्यक्ष सुबोधकुमार देवकोटालाई पठाउने निर्णय गरेको छ । आधिकारिक ट्रेड युनियनका महासचिवमा अध्यक्ष देवकोटालाई पठाउने सर्वसम्मत निर्णय भएको र आवश्यक छलफल गरेर अन्य छ सदस्यको नामावली पनि छिट्टै टुङ्ग्याइने सङ्घका केन्द्रीय सदस्य विश्वबन्धु रेग्मीले जानकारी दिए। यही जेठ १९ गते भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी सङ्गठन पहिलो र ट्रेड युनियनको निर्वाचनमा नेपाली काँग्रेस निकट सङ्घ दोस्रो भएको थियो । निर्वाचनमा नेकपा (माओवादी केन्द्र) निकट नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन तेस्रो भएको थियो । नेपाल निजामती कर्मचारी नियमावलीअनुसार केन्द्रमा तीन सङ्गठन निर्वाचित भएका अवस्थामा पहिलो हुनेले अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र आठ सदस्य, दोस्रो हुनेले महासचिव र छ सदस्य, तेस्रो हुनेले सचिव र दुई सदस्य पाउने आधिकारिक ट्रेड युनियनको निर्वाचन कार्यालयका प्रवक्ता सन्तोषकुमार गिरीले बताए। निर्वाचन कार्यालयले यही जेठ २४ गते निर्वाचित सङ्गठनलाई पत्र पठाएर १५ दिनभित्र संस्थाको बहुमतबाट पारित गरी आआफ्ना सङ्गठनका तर्फबाट नामावली पठाउन आग्रह गरे पनि आजसम्म कसैले नाम नपठाएको प्रवक्ता गिरीले जानकारी दिए। पचहत्तर जिल्ला र ४२ विभागका गरी ११७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका निजामती कर्मचारीले मतदान भाग लिएका थिए । निर्वाचनमा खसेको कुल मतको १० प्रतिशत मतसीमा ल्याउनुपर्ने व्यवस्था गरिएकाले नेपाल मधेसी निजामती कर्मचारी मञ्च चौथो भएर पनि केन्द्रमा निर्वाचित हुन सकेन । आधिकारिक ट्रेड युनियनको केन्द्रीयस्तरमा १६ सदस्यीय कार्यसमिति र जिल्ला तहमा छ सदस्यीय कार्यसमिति हुने व्यवस्था छ । ट्रेड युनियनको कार्यकाल चार वर्षको हुनेछ । रासस
गत वर्षको तुलनामा साइबर अपराध दोब्बर
काठमाडौं, ३० जेठ । साइबर अपराध गर्नेको सङ्ख्या गत वर्षको तुलनामा चालु आव सकिन एक महिना बाँकीमै दोब्बर बढेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार आव २०७१/०७२ का तुलनामा आव २०७२/०७३ मा अपराध बढेको देखिएको छ । सोमध्ये आव ०७१/०७२ मा तीन सय नौ उजुरी परेकामा आव ०७२/०७३ मा ६५० परेको छ जुन आव ०७१/०७२ का तुलनामा दोब्बरभन्दा बढी हो । महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपतिकुमार रायले साइबर अपराधमध्ये सबैभन्दा धेरै फेसबुकमा हुने गरेको जानकारी दिए । उनले भने, “साइबर अपराधमा आएका उजुरीमध्ये करिब ९० प्रतिशत अपराध फेसबुकबाट हुने गरेको पाइएको छ ।” फेसबुक, ट्विटर, बैंकिङ, अनलाइन, एटिएम लगायतको क्षेत्रमा बढी साइबर अपराध हुँदै आएको छ । चलचित्र प्रतिलिपि अधिकार हनन गर्ने एक, केटीका नाममा फेसबुक आइडी बनाएर पैसा माग्ने दुई र सरकारी बेकसाइट ह्याक गर्ने चार जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । महाशाखामा परेको चालु आवमा हालसम्म परेका उजुरीमध्ये २० उजुरीमा मुद्दा चलाइसकिएको रायले बताए । महाशाखाका प्रवक्ता सहकुल थापाले दैनिक सातदेखि दश उजुरी महाशाखामा पर्ने गरेको जानकारी दिँदै साइबर अपराधसम्बन्धी अनुसन्धान गर्ने प्राविधिक एकाइको आवश्यकता अत्यन्त जरुरी रहेको बताए । रासस
कृषि विकास बैंकको सेयर संरचना फेरिएकोले नयाँ पुँजी वृद्धि योजना बनाएका हौ-लीलाप्रकाश सिटौला
कृषि विकास बैंकको पुँजी वृद्धि योजना यतिबेला बजारमा चर्चाको विषय बनेको छ । १० अर्ब रुपैयाँ चुक्ता पुँजी भन्दै आएको कृषि विकास बैंकलाई नेपाल राष्ट्र बैंकले नयाँ निर्देशन दिएको छ । सरकारले लगानी गरेको ६ अर्ब ४३ करोड अभिमोच्य, असंचिती अग्राधिकार सेयरलाई ‘सेयर पुुँजी’को रुपमा गणना गर्न नमिल्ने निर्णय केन्द्रीय बैंकले गरेपछि कृषि विकास बैंकले पुँजी वृद्धि सम्वन्धि नयाँ योजना पेश गरेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकको पूर्व कार्यकारी निर्देशकसमेत रहनु भएका र हाल कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत लीलाप्रकाश सिटौलासँग गरिएको विकास वहस यस अंकमा । लीलाप्रकाश सिटौला, प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक लिमिटेड तपाई प्रमुख कार्यकारी अधिकृत हुनु भएको ढेड वर्ष भयो । यो अवधिमा तपाईको नेतृत्वमा बैंकले के के उपलब्धि हासिल गर्यो ? सबैभन्दा ठूलो काम जनशक्ति व्यवस्थापनतर्फ भएको छ । विगतमा प्रयास गरिएका तर सफल नभएका, प्रक्रिया अगाडि बढाईएका तर टुंगोको नपुगेका काम यो अवधिमा सम्पन्न भएका छन् । खुला प्रतिस्प्रर्धाबाट जनशक्ति भर्ना गरिएको छ । आन्तरिक प्रतिस्पर्धा गराएर प्रमोशनका काम सम्पन्न भैकेका छन् । हामीले लोकसेवालाई समेत सामेल गराएर निष्पक्ष ढंगबाट कर्मचारी छनौट गरेका छौ । १७७ जना नयाँ कर्मचारीलाई भर्ती गरेर काममा खटाएका हौं । ती सबै प्रतिष्पर्धी र उच्च क्षमतायुक्त छन् । बैंक भित्रका कर्मचारीको आन्तरिक व्यवस्थापन र कन्ट्रोल मेकानिजम पनि बनाइएको छ । एकाउण्टलाई थप व्यवस्थाति गरिएको छ । केन्द्रीय बैंकका नीति नियमहरुको पूर्ण पालना नभैरहेको अवस्था थियो । अहिले धेरै हदसम्म नियम परिपालना गरिएको छ । ट्रेजरी व्यवस्थापन लगायतका कतिपय निर्देशिका, जोखिम व्यवस्थापन, कम्प्लायन्स मेनेजमेन्ट र व्यवसाय विस्तारका सवालमा पनि नयाँ सिद्धान्त अनुसार काम गर्ने प्रक्रिया अघि बढिसकेको छ । अब कृषि विकास बैंक पुरानो शैलीले अहिलेको प्रतिष्पर्धी बजारमा अघि बढ्न सक्दैन भनेर नयाँ सिद्धान्त अघि सारेका छौं । हाम्रा कार्यक्रम र गतिबिधि सिद्धान्तका आधारमा हुनुपर्छ भनेर बृहत, सघन, दिगो र सामाजिक अभिमुखीकरणसहितको बैंकिङको अवधारणा ल्याएका छौं । बैंकलाई संस्थागत ढंगले अघि बढाउने प्रयास गरिएको छ । ४२÷४३ साल देखिका करका सवालहरुको दायित्व पुरा गरेका छौं । कर्मचारीको दीर्घकालिन दाहित्व व्यवस्थापन भएको थिएनन् । त्यसको पनि उचित व्यवस्थापन गरिसकेका छौं । व्यवसाय विस्तारका सवालमा दिगो नाफाको प्रत्याभुति गराउने अभियान थालेका छौं । लगानीकर्ताले दिगो ढंगले प्रतिफल पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो । गत आव र चालु आवमा पनि बोनस सेयर जारी गरेका छौं । पूूँजी वृद्धि सम्बन्धि नयाँ योजना केन्द्रिय बैंकलाई बुझाईकसेका छौं । दुई बर्षभित्रै केन्द्रिय बैंकले तोकेको पुँजी पुर्याउँछौं । पुँजी वृद्धिको योजना, कर चुक्ता, आन्तरिक व्यवस्थापन, कर्मचारी व्यवस्थापन, कन्ट्रोल मेकानिजम, व्यवसाय विस्तार, कर्पाेरेट गभर्नेन्स व्यवस्थापन पनि काम गरिसकेका छौं । यसले बैंकले ठिक ढंगले अघि बढेको भन्ने देखाउँछ । नयाँ पुँजी वृद्धिको योजनामा के के छन् ? पहिले पनि हाम्रो पुँजी केन्द्रिय बैंकले तोके भन्दा बढी नै थियो । पछि केन्द्रिय बैंकले अभिमोच्य अग्राधिकार सेयरलाई चुक्ता पुँजी मानिँदैन भनेपछि हाम्रो करिव साढे ६ अर्ब रुपैंयाँ चुक्ता पुँजीमा गनिएन । त्यसपछि हामीले क्यापिटल प्लान बनाउन सुरु गरेका हौं । यो बर्ष १५ प्रतिशत बोनस सेयर दियौं । यसै वर्ष दुई बराबर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरियो । यसले हाम्रो पुँजी पाँच अर्ब ९० करोड ६४ लाख पुग्छ । बाँकी दुई बर्षमा प्रति वर्ष २०/२० प्रतिशत बोनस सेयर दिन्छौं । यसले दुई वर्षपछि हाम्रो पुँजी आठ अर्ब ५० करोड पुग्छ । चालु आर्थिक वर्षभित्रै हकप्रद सेयर जारी गर्ने निर्णय गर्नु भएको छ, त्यो सम्भव छ ? निर्णय गर्ने भनेको काम गर्ने जस्तै हो । कम्पनी रजिष्टारको कार्यालय, धितोपत्र बोर्ड, नेप्से सबैसँग अनुमति लिनुपर्छ । यी काम गरिसक्ने भएपछि त काम गरे जस्तै हो नि । समय सिमा र अन्य प्राबिधिक काम मात्रै बाँकी हुन्छ । जेठको तेस्रो साता विज्ञप्ति निकालेर यहि वर्ष हकप्रद जारी गर्छाै भन्नुभयो, असारमा कसरी सम्भव छ ? बैधानिक रुपमा लाग्ने समय लाग्छ नै । हामीले निर्णय गरिसकेका छौं । डकुमेन्ट जनताको हातमा कहिले पुग्छ भनेर खोज्ने हो भने केहि समय लाग्छ । चाँडै हकप्रद सेयर जारी हुन्छ । हकप्रद सेयर जारी गरेपछि पुँजीको आधार बढि हुन्छ, आगामी वर्षहरुमा २०/२० प्रतिशत बोनस सेयर कसरी दिनुहुन्छ ? बैंकले हचुवाका भरमा निर्णय गर्दैन । हाम्रा आफ्ना अनुमानका आधारहरु छन् । १५ प्रतिशत बोनस यसपाली दिएर पनि केहि प्रतिशत रकम राखेका छौं । अहिले ४४ करोड जति वितरण योग्य पुँजी छ हामीसँग । त्यस बाहेक अरु धेरै मेकानिजम छन् । अर्काे साल सजिलै २० प्रतिशत बोनस सेयर दिन्छौं । त्यसपछि के गर्ने भन्ने सवाल आउँछ । हामी आरामले २० प्रतिशत बोनस दिन सक्छौं । हाम्रो क्यापिटल प्लान भनेको नाफा कमाउने योजनामा आधारित पनि छ । कति कमाउँछौं र कति बाढ्छौं भन्ने दृष्टिकोणबाट पुँजी वृद्धि योजना ल्याएका हौं । यो बैंकको नाफा कम छैन । बैशाखसम्म एक अर्ब ९९ करोड रुपैयाँ नाफा कमाएका थियौं । असार मसान्तसम्ममा तीन अर्ब ४ करोड पुर्याउनु पर्नेछ । गत वर्षको यहि अवधिमा एक अर्ब ८० करोेड नाफा थियो । दुई अर्ब ८१ करोडको लक्ष्य बनाएका थियौं गत बर्ष । यस बर्ष ३ अर्ब ४ करोडको नाफा कमाउने लक्ष्य छ । अहिलेसम्म एक अर्ब ९९ करोड नाफा कमाई सकिएको छ । गत वर्ष र यस वर्षको नाफा हेरेर आगामी वर्षको नाफाको नाफाको लेखाजोखा राम्रोसँग गरिएको छ । यसलाई आधार मान्ने हो भने २० प्रतिशत भन्दा बढि बोनस दिन सक्ने देखिन्छ । अर्काे आर्थिक वर्षमा नाफा घट्यो भने पनि बोनस बाँढ्न समस्या हुन्न । अर्काे बर्षको टार्गेट निश्चित जस्तै छ । १८ प्रतिशत कर्जा लगानी बढाउँछौं, १५ प्रतिशत निक्षेप बढाउँछौं । त्यसका आधारमा अर्काे बर्षको नाफा कमाउने योजना प्रष्टै देखिन्छ । केन्द्रिय बैंकले कम्तिमा ८ अर्ब रुपैयाँ बनाउँन सबै वाणिज्य बैंकलाई निर्देशन दियो । तर कृषि विकास बैंकको चुक्ता पुँजी १० अर्ब पुँजी छ भनेर त्यतिबेला योजना पेश नै गरेन । अहिले फेरी कुरा मिलेन, किन ? हाम्रो पुँजी १० अर्ब नै हो । सरकारले लगाएको पैसा चुक्ता पुँजी नै हो । पछि केन्द्रिय बैंकले सरकारले लगानी गरेको पैसा नभएर जनताले नै हालेको पैसा चाहियो भन्यो । केन्द्रिय बैंकले वित्तीय व्यवस्थालाई ठिक गर्नका लागि पुँजीको कम्पोनेन्ट तोक्यो । हामी पुँजी बढाउन सक्ने अवस्थामा थियौं । त्यसैले केन्द्रीय बैंकमा लबिङ गर्न गएनौं । राष्ट्र बैंकले भनेअनुसार पुँजी वृद्धि योजना पेश गरेका छौं । बैकको पछिल्लो वित्तीय रिपोर्टमा १० अर्ब चुक्ता पुँजी भनिएको छ, दुई वर्षपछि कति पुग्छ ? तेश्रो त्रैमासिक रिपोर्ट प्रकाशित गर्दासम्ममा बैंकको प्रबन्ध पत्र र नियमावली यथावत छ । अब यो परिवर्तन हुन्छ । त्यसपछि हाम्रो पुँजीको संरचना पनि परिवर्तन हुन्छ । र बैंकको सेयर पुँजी ३ अर्ब ९३ करोड मात्र हुन्छ । त्यसैले ५० प्रतिशत हकप्रद सेयर पाउँछ । बोनस सेयर पनि त्यसले मात्र पाउँछ । अभिमोच्य, असंचिती र अग्राधिकार सेयर भनेको के हो ? नन कन्भर्टिबल, रिडिङ गर्न नसकिने र अग्राधिकार सेयर भनेर बुझ्नु पर्छ । सामान्यतया यस्तो सेयर कन्भर्ट गर्न सकिन्न । यो रिडिङ पनि हुँदैन । यसले बोनस र लाभांशमा जहिले पनि अरु भन्दा पहिले अधिकार पाउँछ । यसको रिटर्न फिक्स हुन्छ । यस्ता लगानी कर्ताले ६ प्रतिशत बोनस वा लाभांश पाउँछन् । अग्राधिकार सेयर भनेको अरुले नपाउने अवस्थामा पनि फिक्स लाभांश पाउने सेयर हो । त्यो पनि अरु भन्दा पहिले नै पाउँछ । साधारण सेयर तीन अर्ब ९३ करोडमा सरकारको ५१ प्रतिशत हो ? यसले कति लाभांश पाउँछ ? अग्राधिकार सेयर भएकाले ६ प्रतिशत मात्रै बोनस पाउँछ । जनताको सेयरले भने हामीले बाडेको जति नै लाभांश पाउँछन् । हामीसँग डिबेञ्चर पनि छ । त्यसको फिर्ता गर्नु पर्ने निश्चित अवधि हुन्छ । त्यसको पैसा पनि हामी फिर्ता गर्दैछौं । यस्तो द्वैध प्रकारको सेयरको आवश्यकता किन परेको हो ? कम्पनीका आफ्नै आवश्यकताहरु हुन्छन् । कम्पनीले क्यापिटल प्लान बनाउँदा बजारमा कस्ता कस्ता पुँजी छन् भन्ने अध्ययन गरेर बनाउँछन् । पहिले हाम्रो पुँजी योजना केन्द्रिय बैंकले तोके अनुसार थिएन् । त्यतिबेला एसियाली विकास बैंकले तोकेको मापदण्ड पुर्याउन प्रिफरेन्स सेयर सरकारले दिएको हो । यो रिडिङ चैं हुँदैन तर तिमी नचलाई राख्न पाउँछौं भनेर दिएको पैसा हो । यसले नाफा हुने वित्तिकै निरन्तर फाइदा पाइन्छ भनेर यस्तो लगानी अघि सारिएको हो । सामान्य ढंगले चल्ने संस्थाका लागि यस्तो पुँँजी ठिक हुन्छ भनेर ल्याइएको हो । बैंकको व्यवासायीक योजना के के छन ? व्यवसायिक योजना भनेको इण्डष्ट्रीलाई हेरेर बनाईन्छ । डिपोजिट बढाउने, निष्क्रिय कर्जा घटाउने, ब्याज आम्दानी बढाउने, ब्याज खर्च घटाउने, नाफा बढाउने योजना छन् । पाँच वर्षे व्यवसायीक योजना बनाएका छौं । त्यसका आधारमा बार्षिक योजना बनाउँछौं ।