विकासन्युज

पुनःनिर्माणका लागि मेची महाकाली साइकल यात्रा

भीमदत्तनगर, २ असार । भूकम्पपछिको पुनःनिर्माणमा युवा पुस्तालाई प्रेरणा दिने उद्देश्यले सैनिक आवासीय महाविद्यालयका दुई विद्यार्थीले सुरु गरेको मेची महाकाली साइकल यात्रा बुधबार समापन भएको छ । ‘युवा उठौँं, पुनः निर्माणमा जुटौँ’ भन्ने नाराका साथ गत जेठ २१ गते झापाको मेचीपुलबाट धनुषाका युवराज कार्की र इटहरीका विकल खनाल मेची महाकाली साइकल यात्रामा निस्केका थिए । दुवैले पश्चिमको महाकाली नदीमा पुगेर यात्रा समापन भएको जानकारी दिए। “यात्राका क्रममा विभिन्न कलेज/स्कुलमा पुनः निर्माणमा जुट्न मोटिभेड गराउँदै हिँड्यौँ”, खनालले भने “धेरै ठाउँमा सकारात्मक बुझाइ पायौँ ।” उनीहरु धरानस्थित सैनिक महाविद्यालयमा प्रवीणता तहमा अध्ययनरत विद्यार्थी हुन् । दुवै यात्रीलाई यात्राका क्रममा आवासको व्यवस्था नेल्टा नामक संस्थाले मिलाएको थियो । रासस

मनमैजुमा सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौं, २ असार । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मनमैजुको मालपोत कार्यालयमा एक्सटेन्सन काउण्टर सञ्चालन गरेको छ । यो बैंकको उपत्यकामा तेश्रो एक्सटेन्सन काउन्टर हो । बैंकले उक्त काउन्टरबाट राजश्व संकलन लगायत त्यस क्षेत्रमा वसोवास गर्ने ग्राहकवर्गहरुमा आफ्नो सेवा पुर्याउनेछ । आर्थिक वर्ष २०७२/७३ को चैत्र मसान्तसम्ममा सेञ्चुरी बैंकले २६ अर्ब एक करोड निक्षेप संकलन गरेर २२ अर्ब ८३ करोड कर्जा परिचालन गरेको छ । बैंकले सो अवधीमा ३४ करोड ५० लाख सञ्चालन मुनाफा तथा २३ करोड २४ लाख खुद नाफा कएमो थियो । हालसम्म बैंकले ३१ वटा शाखा, २८ वटा एटीएम, ८ वटा शाखारहित बैंकिङ्ग र २ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

बीजी मल मोबाइल एक्स्पो सुरु, पहिलो दिनमै ५ हजारभन्दा बढी अवलोकनकर्ता

काठमाडौं, १ असार । बुधबारदेखि नयाँ बसपार्कको बिजी मलमा मोबाइल एक्स्पो सुरु भएको छ । ‘हरेक मोबाइलको खरिदमा हात खाली नजाने उपहार’ योजनासहित बीजी मलले मोबाइल एक्स्पो सुरु गरेको हो । एक्स्पोको मिस नेपाल अस्मी श्रेष्ठ, बीजी मलका अध्यक्ष बासु गिरी र मोबाइल बितरक संघका अध्यक्ष माधव रिजालले एकसाथ उद्घाटन गरे । असार ११ गतेसम्म चल्ने एक्स्पोमा उद्घाटनकै दिन अवलोकनकर्ताको बाक्लो भिड लागेको छ । ‘हात खाली नजाने उपहार योजनाका साथमा हामी हाम्रा ग्राहकहरु माझ आएका छौं, पहिलो दिन ५ हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थितीले हामीलाई उत्साहित बनाएको छ’ मलका अध्यक्ष गिरीले भने । उनका अनुसार एसएलसी दिएर बसेका विद्यार्थीले एक्स्पोमा आकर्षक उपहार पाउने छन् । ‘अत्यावश्यक वस्तुका रुपमा मोवाइलको प्रयोग बढ्दै गएको र युवा पुस्ताको विशेष अकर्षण रहेका कारण हामीले नेपालका अधिकांस मोबाइल बितरकसंगको सहकार्यमा एक्स्पो आयोजना गरेका हौं । यसले हाम्रा ग्राहकलाई बीजी मलसम्म डोर्याउने हाम्रो अपेक्षा छ’ बीजी मल अध्यक्ष गिरीले थपे । एक्स्पो अवधिमा ग्राहकले बिजी मलका सबै फेन्सी पसलबाट सामान गरि गर्दा २० प्रतिशत छुट पाउने छन् भने उक्त अवधिमा मलमा आउने ग्राहक मध्ये २ जनाले दैनिक रुपमा लक्की ड्रमार्फत स्मार्टफोन पाउने छन् । त्यस्तै, १० हजार रुपैंयाँभन्दा बढीको सामान खरिद गर्ने ग्राहकले अनिवार्य रुपमा आकर्षक उपहार पाउने बताइएको छ । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने ग्राहक मध्ये २ जनाले नगद फिर्ता पाउने छन् । एक्स्पो अवधिमा एसएलसी दिएर बसेका विद्यार्थहरुले विशेष उपहार पाउने छन् । सबै ब्राण्डका मोबाइल एकै छाना मुनी किन्न सकिने आधिकारिक शोरुमहरु रहने एक्स्पोमा १ हजार देखि ९९ हजार रुपैंयासम्मका मोबाइल सेटहरु राखिएका छन् । एक्स्पो अवधिमा मोबाइल खरिद गर्ने मध्ये १ जोडीले २ रात ३ दिनको पोखरा ट्रिपको मज्जा लिन पाउने मलले जनाएको छ ।

महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा

पोखरा, १ असार । महिन्द्राको अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपाली बजारमा भित्र्याएको छ । महिन्द्रा ग्रुप अन्तर्गतको महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको फार्म इक्वीप्मेन्ट सेक्टर (एफइएस) तथा अग्नि ग्रुपले एउटा नयाँ प्लाटफर्ममा आधारित महिन्द्रा अर्जुन नोभो ६०५ डीआई ट्रयाक्टर नेपालमा भित्र्याएको हो । नयाँ प्लाटफर्ममा ५५ देखि ७५ हर्सपावरको रेन्जमा उपलब्ध हुनेछ भने हाल उक्त प्रोडक्ट ६० हर्सपावर क्याटेगोरीमा रहेको छ । नयाँ अर्जुन नोभो ६०५ डीआई महिन्द्राको देशभरीका कृषकहरुलाई टेक्नोलोजी–मूखी कृषि समाधानहरु प्रदान गर्ने लक्ष्य अनुरुप रहेको कम्पनीको दावी छ । नोभो सार्वजनिक गर्ने कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा दक्षिण एशियाका हेड अफ इन्टरनेशनल अपरेसन्स् तथा उपाध्यक्ष संजय जादवले भने– “महिन्द्रा ट्रयाक्टर सेग्मेन्टमा उत्पादन संख्याको आधारमा संसारकै अग्रणी कम्पनी हो । नयाँ महिन्द्रा अर्जुन नोभो ६०५ डीआईको अनावरण सँगै कृषकहरुको कमीले कृषि आधुनिकीकरण बढेको छ भने  गैर–कृषि प्रायोजनहरुमा पनि ट्रयाक्टरको प्रयोग बढ्दै छ ।” अग्नि ग्रुपका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठले भने –“एड्भान्स्ड सिंक्रोमेश १५ फर्वार्ड् प्लस ३ रियर ट्रान्समिशनका तथा सबैभन्दा उत्कृष्ट फ्यूल एफिसिएन्सीका साथै २२०० केजीको लिफ्ट क्षमता जस्ता विभिन्न वर्गमै पहिलो फिचर्स प्रस्तुत गरेको छ । यस अनावरणले उच्च हर्स पावर क्याटेगरीलाई अघि बढाई एउटा ट्रेन्ड सेट गर्नेछ ।’ अग्नि इन्कर्पोरेटेडले सन् १९९१ देखि महिन्द्राको आयात कर्ताका रुपमा रहँदै आएको छ ।

लगानी कोष र नेपाल बैंकबीच सम्झौता

काठमाडौं, १ असार । नागरिक लगानी कोष र नेपाल बैंक लिमिटेडबीच कोषको रकम बैंकको केन्द्रीय खातामा एबिबिएसमार्फत सिधै जम्मा गर्ने व्यवस्थाका लागि एक सम्झौता भएको छ । बैंकका सबै कार्यालयबाट एबिबिएसमार्फत रकम सङ्कलन तथा ट्रान्सफर गर्ने कार्यलाई थप सरल र सुविधायुक्त बनाउन दुई संस्थाबीच बुधबार उक्त सम्झौता भएको हो । सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले हस्ताक्षर गरेका छन् । कोषका कार्यकारी निर्देशक पोखरेलका अनुसार २०७३ साउनदेखि कोषको रकम केन्द्रीय खातामा जम्मा हुनेछ । सम्झौताअनुरुपको कार्य सुरु भएपछि नेपालभर बैंकका शाखामा कोषको नाममा रहेका सबै खाता बन्द गरी पाँच वटा खातामात्र सञ्चालनमा रहनेछन् । यसभन्दा अगाडि कोषको खाता बैंकको २०० भन्दा बढी खातामा जम्मा हुँदै आएको थियो । रासस

ग्लोबल आइएमईले प्यासिफिक बैंकलाई एक्विजिसन गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं, १ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लामा कार्यक्षेत्र रहेको प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्विजिसन गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । आषाढ १ गते बुधबार हस्ताक्षर भएको समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल र प्यासिफिक डेभलपमेन्ट बैंकका तर्फबाट अध्यक्ष भेष बहादुर पौडेल हस्ताक्षर गरेका छन् । दुवै बैंकबीच एक्विजिसन सम्बन्धी सम्पूर्ण काम कारबाही ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । लमजुङ जिल्लालाई कार्यक्षेत्र बनाई एक जिल्ले विकास बैंकको रुपमा विगत ७ वर्षदेखि कारोबार गर्दै आईरहेको प्यासिफिक डेभलपमेन्ट बैंकको कुल चुक्ता पूँजी ११ करोड रुपैयाँ रहेको छ । प्यासिफिक बैंकलाई ग्लोबल आइएमईले एक्विजिसन गरेपछि बैंकको कुल चुक्ता पूँजी ६ अर्व २७ करोड, कुल निक्षेप ७१ अर्ब, कर्जा लगानी ६१ अर्ब रुपैयाँ र ९४ वटा शाखा कार्यालय पुग्ने विज्ञप्तिमा जनाइएको छ । ग्लोबल आईएमई बैंकले यसअघि कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाइनान्ससँग सफल मर्जर गरिसकेको बैंकले जनाएको छ ।

सिजि नेक्स्ट जेनको नयाँ सोरुम अब ललितपुरको पुल्चोकमा

काठमाडौं, १ असार । सिजि नेक्स्ट जेनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु गरेको छ । सिजि नेक्स्ट जेन सुजुकी व्राण्ड सेन्टर ललितपुरको पुल्चोकमा सञ्चालनमा आएको छ । सिजि नेक्स्ट जेनका प्रमुख प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र मारुती सुजुकी ईन्डियाका कार्यकारी निर्देशक शसांक श्रीवास्तवद्वारा समुदघाटन गरिएको हो । नेपालको लागी अधिकारिक बिक्रेता सिजी मोटोकर्पले नेपाली अटो बजारमा सबै भन्दा ठूलो बजार हिस्सा ओगट्न सफल भएको छ । ग्राहकले गाडी किन्दा धेरै गर्व महशुस गर्नका साथ उच्च सेवाको आकांक्षा राखेको हुन्छ । गा्रहकको यो मनसायलाई ध्यानमा राखी सीजी मोटो कर्पले सिजि नेक्स्ट जेन सुरु गरेको छ । सिजि नेक्स्ट जेन सोरुममा नेपालको कुशल सेल्स प्रतिनिधीले ग्राहकलाई विश्व स्तरीय सेल्स अनुभव प्रदान गर्नेछन् । कम्पनीका अनुसार सिजि नेक्स्ट जेन मार्फत ग्राहक वर्गले प्रिमियम माहोल साथ उच्च स्तरीय सेवा प्राप्त गर्नेछन् । सिजि नेक्स्ट जेनको कार्यकारी निर्देशक करण चौधरीका अनुसार गा्रहकलाई उच्च अनुभव र विश्व स्तरीय सेवा प्रदान गर्न कम्पनीले उच्च प्राथमिकता राखेको हुनाले सिजि नेक्स्ट जेन अरु कम्पनीको सोरुम भन्दा फरक हुने विश्वास राखेको छ । कम्पनीले आगामी दुई बर्षभित्रमा मुलुकका प्रमूख शहरहरु खासगरी वुटवल, पोखरा, नारायणघाट र विराटनगर लगायतका स्थानमा सुजुकी नेक्स्ट जेनेरेसन व्राण्ड सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ ।

यस्ता छन् सेयर बजार बढ्नुका कारण

काठमाडौं, १ असार । पछिल्लो केहि दिनदेखि नेप्सेले लगातार नयाँ रेकर्ड कायम गरिरहेको छ । कारोबार रकम दुई अर्ब नाघ्ने देखि नेप्से परिसूचक समेत दैनिक नयाँ उचाईमा पुगिरहेको छ । आइतबारदेखि बुधबारसम्ममा नेप्से परिसूचक ५२ अंकले बढेको छ भने ७ अर्ब २५ करोडको कारोबार भैसकेको छ । अर्थतन्त्र खुम्चिएर शुन्य दशमलब ७७ प्रतिशतको वृद्धिदरमा सिमित हुँदा पनि बजार निरन्तर उकालो लागेपछि सेयर बजारका जानकारहरुकै मत पनि बाझिन थालेको छ । नियामक निकाय नेपाल धितो पत्र बोर्डले लगानी कर्ता सचेत हुनुपर्ने बताएको छ भने नेप्सेले बजार बढ्नुलाई स्वभाविक मानेको छ । सेयर बजार विश्लेषक पनि बजार बढ्नुलाई अस्वभाविक मान्दैनन् । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का सह प्रवक्ता मुराहरी पराजुली भन्छन–‘बजारमा जोखिम मापनको आधार के हो ? कति बढ्यो भने जोखिम मान्ने ? त्यसकारण बजारलाई जोखिम उन्मुख भन्न मिल्दैन् ।’ उनले अहिले सेयर बजार खुम्चिनु पर्ने कुनै कारण नरहेको बताउँदै भने–सिडिएसले कारोबारलाई सहज बनाएको छ, तरलता बढेकाले सस्तो ब्याजदरमा ऋण लिएर लगानी कर्ता सेयर बजारमा आएका छन्, आत्तिनु पर्ने अवस्था छैन् ।उता, नियामक निकायका रुपमा रहेको धितो पत्र बोर्डले भने लगानी कर्ता सचेत हुनु पर्ने बताउन थालेको छ । ‘बजार बढ्नु राम्रो हो तर सेयर बजारका लगानी कर्ता जहिल्यै सचेत हुनु पर्छ, अहिले त बजार निरन्तर बढिरहेको छ, त्यसकारण पनि लगानी कर्ताले बिशेष ध्यान पुर्याउनु पर्छ’, बोर्डका प्रवक्ता निरज गिरिले भने । बजारमा बढेको तरलता, सिडिएस प्रबिधीले ल्याएको सहजताले सेयर बजार बढेको तथ्य भने गिरि पनि स्विकार गर्छन् । बैंक तथा वित्तिय क्षेत्रको परफरमेन्स सन्तोषजनक रहेको तथा रेमिटेन्स आप्रवाह नघटेकाले सेयर बजार बढेको पनि उनले बताए । बजार विश्लेषक रविन्द्र भट्टराई पनि सेयर बजार बढ्नुलाई स्वभाविक नै मान्छन् । उनको विश्लेषणमा यो परफरमेन्स पुस मार्केट नभएर डिमाण्ड पुल मार्केट हो । त्यसकारण पनि बजार दैनिक बढिरहेको उनको निष्कर्ष छ । सेयरको मुल्य बढेका कारण पुराना लगानी कर्ता आकर्षित भएको र त्यसले नयाँलाई समेत बजारमा तानेको भट्टराई बताउँछन् । बुधबार मात्रै बजार ६ दशमलब ३२ अंकले बढेर नेप्से परिसूचक १६२० दशमलब ५७ अंकमा पुगेको छ । यो दिन १३५ कम्पनीको १७ लाख ९२ हजार कित्ता सेयर एक अर्ब ३९ करोडमा कारोबार भएको हो ।