विकासन्युज

प्रभु बैंक र नेपाल सर्टिफाइङ कम्पनीबीच विद्यूतीय कारोबार सम्बन्धी सम्झौता

३ असार, काठमाडौं, ३ असार । प्रभु बैंक लिमिटेड र नेपाल सर्टिफाइङ कम्पनी प्रालि बीच विद्यूतीय प्रणालीमार्फत् गरिने सूचना आदान(प्रदान विश्वसनीय बनाउनेबारे सम्झौता भएको छ । बैंकका अनुसार विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदानमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन सम्झौता भएको हो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सर्टिफाइङ कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका छन् । समारोहमा बैंक तथा सर्टिफाइङ कम्पनीका अन्य पदादिकारीहरुको समेत उपस्थिति थियो । सूचना आदान प्रदानमा हुने जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाहृय ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवल हुने बैंकले विश्वास लिएको छ ।

धितोपत्र बोर्डले लगानी कर्तालाई भन्यो–लगानी गर्दा सतर्कता अपनाउनुस

काठमाडौं, ३ असार । एक सातामै नेप्से परिसूचक ६४ अंकले बढेपछि नेपाल धितोपत्र बोर्डले लगानी कर्तालाई सतर्कता अपनाउन आग्रह गरेको छ । बोर्डले बिहिबार बजार बन्द भएपछि विज्ञप्ति निकाल्दै लगानी कर्तालाई सचेत बन्न आग्रह गरेको हो । साताको पहिलो दिन आइतबार १५६८ अंकमा रहेको परिसूचक अन्तिम दिन १६३२ अंकमा पुगेको थियो भने ९ अर्ब ३० करोड रुपैंयाँको सेयर खरिद बिक्रि भएको थियो । आर्थिक परिसूचकहरु उत्साहजनक नरहेका बेला सेयर बजार बढेको भन्दै बोर्डले विज्ञप्ति निकाल्दै बजारमा जोखिम बढ्न सक्ने तर्फ संकेत गरेको हो । बोर्डका प्रवक्ता निरज गिरिले भने–सेयर बजारका लगानी कर्ताले सधै सचेत हुनु पर्छ, अहिले बजार निरन्तर बढेको छ, बढिरहेको बजार घट्न पनि सक्छ, हामीले लगानी कर्तालाई सचेत गराउने हो ।बोर्डले सेयर बजारको लगानी जोखिम रहित नहुने तथ्य स्मरण गराउँदै अर्थतन्त्रकै वृद्धिदर सकारात्मक नभएको अवस्थामा बजारको वृद्धिले थप जोखिम निम्त्याएको बताएको छ । लगानी कर्ताको हकहितको संरक्षण गर्ने आफ्नो जिम्मेवारी अनुसार सचेत गराइएको पनि बोर्डले बताएको छ । नेप्सेका सह प्रवक्ता मुराहरी पराजुलीले भने बजार जोखिमको मापन गर्ने आधार नभएको दावी गरे । उनले बजार कति वृद्धि हुँदा जोखिम मान्ने भन्ने तथ्यगत आधार नभएको बताउँदै अधिक तरलता र नयाँ प्रबिधीका कारण बजार बढेको स्पष्ट पारे । सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईले पनि बजार बढ्दा वा घट्दा बोर्डले लगानी कर्तालाई सचेत गराउनु पर्ने बताए ।

काठमाडौं उपत्यका सबै भन्दा महंगो, खाद्यान्न र तरकारीको भाउ छोई नसक्नु

काठमाडौं, २ असार । काठमाडौं उपत्यका शहर देशकै सबै भन्दा महंगो क्षेत्रका रुपमा दर्ज भएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको चालु आर्थिक वर्षको बैशाख मसान्तसम्मको अध्ययन प्रतिवेदनले काठमाडौंको मुल्य वृद्धि अत्याधिक रहेको देखाएको हो । काठमाडौंको मुल्य वृद्धिदर ११ दशमलब ५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा काठमाडौंको मूल्य वृद्धिदर जम्मा ६ दशमलब ८ प्रतिशत मात्रै थियो । तराई मधेशमा चलेको लामो आन्दोलन र भारतीय नाका बन्दीले आपुर्ति व्यवस्थामा असहजता उत्पन्न भएपछि काठमाडौं उपत्यका महंगो शहरका रुपमा स्थापित भएको केन्द्रिय बैंकको अध्ययन प्रतिवेदनले उजागर गरेको छ । अघिल्लो वर्ष पहाडमा ११ प्रतिशत रहेको मुल्य वृद्धिदर यो वर्ष घटेर ७ दशमलब ७ प्रतिशतमा झरेको छ । तराईको मुल्य वृद्धिदर पनि ६ दशमलब ९ प्रतिशतबाट बढेर ८ दशमलब ६ प्रतिशत पुगेको छ । खाद्यान्न र तरकारी छोई नसक्नु केन्द्रिय बैंकले तयार पारेको प्रतिवेदन अनुसार २०७३ वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९ दशमलब ६ प्रतिशत रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क वृद्धिदर १० दशमलब ४ प्रतिशत देखाएको छ । दाल तथा गेडागुडीको मूल्य सबैभन्दा बढी २३ दशमलब ४ प्रतिशत बढेको छ । त्यस्तै, तरकारीको मूल्य २० दशमलब १ प्रतिशतले बढेको छ । त्यसैगरी, लत्ता कपडा तथा जुत्ता, घरायसी सामान तथा सेवा र मदिराजन्य पेय पदार्थको मूल्यमा क्रमशः १७ प्रतिशत, १६ दशमलब ४ प्रतिशत र १५ दशमलब ९ प्रतिशतले वृद्धि भएको छ । घर भाडा तथा शिक्षा सम्बन्धी खर्चमा वृद्धि हुन गएकोले उपभोक्ता मुद्रास्फीति पुनः केही बढ्न गएको केन्द्रिय बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

भारतको युनिबिक कुकिज नेपाली बजारमा

काठमाडौं, २ असार । भारतीय बजारमा प्रसिद्ध युनिबिक कुकिज नेपाली बजारमा भित्रिएको छ । युनिबिक कुकिजदाई टुंचे टुचें ट्रेडिंग कन्सर्नले युनिबिक कुकिज नेपाली बजारमा भित्र्याएको हो । कम्पनीका प्रोप्राइटर त्रिकाल तुलाधरले गुणस्तरीय बस्तुको बजार भित्र्याएको दावी गरेका थिए । कार्यक्रममा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा उपलव्ध श्रोत र साधनको अधिकतम सदुपयोग गर्न सके मुलुकको द्रुत आर्थिक विकास हुने बताएका थिए । उनले निजी क्षेत्र नै विकासको सम्वाहक भएको बताउँदै युवा उद्यमीहरुले यसको नेतृत्व गर्नु पर्ने धारणा राखे । कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको आर्थिक विकासको लागि सरकार र सरोकारवालासंग सहकार्य गर्दै अघि बढने बताए । त्यस्तै,  युवा उद्यमी मञ्चका उपाध्यक्ष दिपेश काजी तुलाधरले युवा उद्यमी मञ्चले युवाहरुको उद्यमशिलता उजागर गर्न सहयोग गर्ने बताएका थिए ।

होण्डाको नयाँ बाइक होण्डा हर्नेट १६० आर अब नेपाली बजारमा

काठमाडौं, २ असार । होण्डा मोटर्सको नयाँ बाइक होण्डा हर्नेट १६० आर नेपाली बजारमा आएको छ । नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ (एसटिसि)ले बिहीबार नेपाली बजारमा उक्त बाइक सार्वजनिक गरेको हो । बिहीबार कम्पनीले नेपाली राष्ट्रिय फुटबल टिमका स्ट्राइकर नवयुग श्रेष्ठलाई नयाँ होन्डा हर्नेट १६० आर पुरस्कार पनि प्रदान गरेको छ । होन्डा सीबीहर्नेट १६० आर सीबीहर्नेट बाट विकसित स्ट्रिट नेकेड स्पोटर्स बाईक हो । यो बाइकबाट उच्च गतिमा रोमाञ्चक यात्रा गर्न सकिन्छ। एचइटी (होण्डा इको टेक्नोलोजी) भएको हर्नेट बाईकमा सजिलो र आरामदायी हुनुका साथ रमाईलो यात्रागर्न सकिने कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा स्याकार ट्रेडिङले एक महिना लामो हाइ स्पिड र एकसाइटिङ स्किल बेस्ड फुटसल प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा उपत्यका भित्रका ५० फुटसल खेलाडीहरुले आफ्नो स्पीड र ट्यालेन्ट हर्नेट १६० आरसँगको टेस्ट गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।कम्पनीका अनुसार प्रतियोगितामा जम्मा चार चरणहरु हुनेछन् जसमा पहिलो सेलेक्सन राउन्ड हुनेछ र यसमा स्पीड र फोकसको टेस्ट हुनेछ । साथै, कम्पनीले प्रतियोगिताको अन्तमा विजेतालाई एक लाख रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरेको बताएको छ ।

आयो एसएलसीको नतिजा

काठमाडौं, २ असार । परिक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको एसएलसी परिक्षाको परिक्षफल प्रकाशित गरेको छ । यसै वर्षदेखि परिक्षा नियन्त्रण कार्यालयले एसएलसीको परिक्षाफल ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३ दशमलब ६ भन्दा माथि देखी ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् । यस्तै, ३ दशमलब २ भन्दा माथी देखि ३ दशमलब ६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तिण भएका छन् । २ दशमलब ८ भन्दा माथी देखि ३ दशमलब २ जीपीएमा ४८ हजार ६ सय ११ जना, २ दशमलब ४ भन्दा माथी देखि २ दशमलब ८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ भन्दा माथी देखि २ दशमलब ४ जीपीएमा ९४ हजार ७ सय १६ र १ दशमलब ६ भन्दा माथी देखी २ दशमलब ४ जीपीएमा १ लाख ४ हजार २ सय ७८ जना पास भएका छन् । एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परिक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परिक्षा रद्ध गरिएको छ । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । परिक्षा नियन्त्रण कार्यलयले दिएको जानकारी अनुसार डि र ई ग्रेड पाउने परिक्षार्थीले बढीमा दुई विषयमा पुनस् परिक्षा दिन पाउने छन् । ग्रेड वृद्धीका लागि पुनस् परिक्षा साउन २१ गतेदेखि हुनेछ । यसमा नियमित तर्फ १ लाख ८ हजार ३ सय २६ जनाले परिक्षा दिन पाउने छन् ।  

मेलम्चीको पानी वितरण गर्न २२ किमी पाइप बिच्छ्याइयो

काठमाडौं, २ असार । मेलम्चीको पानी उपत्यकामा आएपछि ग्राहकलाई बाँड्न २२ किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले थोक वितरण प्रणाली र उपत्यकाका नौ स्थानमा बन्ने पानी ट्याङ्कीमार्फत ग्राहकका घरघरमा पानी वितरणका लागि ३५० किमी पाइप बिच्छ्याउने काम पनि सम्पन्न गरेको प्रवक्ता लीलाप्रसाद ढकालले राससलाई जानकारी दिए । “पानी वितरणका लागि ६५० किमी पाइप बिच्छ्याउनु पर्नेमा आधाभन्दा बढी काम सम्पन्न भएको छ, बाँकी काम पनि सुरुङ निर्माण हुनु अघि नै सम्पन्न गरिनेछ, मेलम्चीको पानी सुन्दरीजलमा खस्ने बित्तिकै वितरण गर्न सञ्जाल निर्माण गरी सक्छौँ”– उनले भने । सुन्दरीजलदेखि महाँकालचौरसम्म ९.६ किमी पाइप बिच्छ्याउनुपर्नेमा ९.५ किमी सम्पन्न भइसकेको निर्देशनालयले जनाएको छ । थोक वितरण प्रणालीका लागि ६१ किमी पाइप बिच्छ्याइनु पर्नेमा हालसम्म २२ किमी काम सम्पन्न गरेको आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले बताए । “थोक वितरण प्रणालीको सुन्दरीजल–आरुबारी–महाँकालचौरसम्म कालिका कन्स्ट्रक्सन र महाँकालचौर–चुच्चेपाटीदेखि तलको भागमा भारतको जिन्डल कम्पनीले पाइप बिच्छ्याउने काम गरिरहेका छन्, सुन्दरीजल–आरुबारी–महाँकालचौरको ९।६ किमी पाइपमा हप्ता दिनभित्र ट्रकबाट पानी हालेर परीक्षण गरिनेछ”–उनले भने । पाइप बिच्छ्याउँदा सडकमा समस्या भएपछि निर्देशनालयले आगामी हप्ता सोमबार सडक विभागसँग सम्झौता गरी सडक निर्माणलाई पनि समन्वयात्मक रुपमा लैजाने भएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सडक विस्तार गर्ने स्थान र नयाँ सडक बन्ने स्थानमा निर्माणकै क्रममा पाइप बिच्छ्याउने काम सँगसँगै भइरहेको आयोजना प्रमुख खत्रीले जानकारी दिए। रासस

एसएलसी परीक्षाको नतिजा अपराह्न ३ बजे प्रकाशित हुँदै, रिजल्ट यसरी हेर्न सकिनेछ

भक्तपुर, असार  २ गते । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०७२ सालको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको नतिजा बिहीबार सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले परीक्षाफल सार्वजनिक गर्ने अन्तिम तयारी भएको जानकारी दिँदै भने, “बिहीबार मध्याह्न बोर्ड बैठक आह्वान गरेका छौँ, प्राविधिक समस्या नआएमा बिहीबार अपराह्न ३ बजे शिक्षा विभागमा पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गर्छौैँ ।” गत चैत १८ गतेदेखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा यस वर्षदेखि अक्षराङ्क अर्थात् ग्रेडिङ प्रणालीमा हुनेछ । परीक्षामा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पूरकतर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी भएको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए । नौ ग्रेडिङमा परीक्षाफल एसएलसीको ८२ वर्षे इतिहासमा यस वर्षदेखि ग्रेडिङ पद्धति लागू भएको छ । विभिन्न नौ ग्रेडिङमा परीक्षाफल प्रकाशन गरिने परीक्षा नियन्त्रक काप्रीले जानकारी गराए । उनले ९० देखि १०० प्रतिशत ल्याउने ‘ए प्लस’, ८० देखि ९० प्रतिशत ‘ए’, ७० देखि ८० प्रतिशत ‘बी प्लस’, ६० देखि ७० प्रतिशत ‘बी’, ५० देखि ६० प्रतिशत ‘सी प्लस’,४० देखि ५० प्रतिशत ‘सी’, ३० देखि ४० ‘डी’ प्लस, २० देखि ३० ‘डी’ र १० देखि २० प्रतिशत ल्याउनेलाई ‘इ’ ग्रेडिङमा राखिएको जानकारी दिए । नियमित, प्राविधिक र पूरक परीक्षामा संलग्न सबै विद्यार्थीको नतिजा अक्षराङ्क पद्धतिअनुसार प्रकाशन गरिनेछ । पहिलो लेटर ग्रेडिङ र अन्तिम एसएलसी भएका कारण यो नतिजाप्रति धेरैको चासो रहेको छ । वेबसाइट www.moe.gov.no, www.doe.gov.np, www.slcresult.soce.gov.np, www.slc.nt.ntc.net.np नेपाल टेलिकमको PQM\N, CDMA, Postpaid,Prepaid मार्फत १६०० नं डायल गरी प्राप्त सन्देशअनुसार नतिजा प्राप्त गर्न सकिने छ । त्यसैगरी sms बाट नजिता थाहा पाउन PQM\N, CDMA, Postpaid,Prepaid  मोबाइलको मेसेज बक्समा गएर  slc<space>  सिम्बोल नं र अल्फाबेट टाइप गरी १६०० एसएमएस पठाउन सकिनेछ । परीक्षा नियन्त्रण कार्यालयले मौका परीक्षाको पनि व्यवस्था गरेको छ । ‘लेटर ग्रेडिङ’ प्रणालीमा नतिजा प्रकाशन हुने र कोही पनि विद्यार्थी अनुत्तीर्ण नहुने भनिए पनि ‘डी’ र ‘इ’ गे्रड ल्याउने विद्यार्थीका लागि साउनमा मौका परीक्षा सञ्चालन गरिने भएको छ । मौका परीक्षा दिनैपर्ने अनिवार्य व्यवस्था भने नगरिएको र स्वेच्छिक रुपमा मौका परीक्षा दिन चाहनेले परीक्षा दिन सक्ने छ ।