विकासन्युज

टेलिकमले दिँदै आएको निःशुल्क सेवा बिहीबार राति १२ बजेसम्म

विकासन्युज / काठमाडौं, बैशाख १७ । गत शनिबार आएको भूकम्पका कारण आहत भएका उपभोक्तालाई राहत पुगोस् भन्ने उद्देश्यले बैशाख १२ गते दिनको १२ बजे देखि दिँदै आएको निःशुल्क सेवा बैशाख १७ गते रातको १२ बजेसम्ममात्र कायम रहने जनाएको छ । टेलिकमले सो अवधिमा जिएसएम तथा सिडिएमए नेटवर्कबाट भएका सम्पुर्ण अन्तरदेशीय तथा अन्तर्राष्ट्रिय कलहरु तथा एसएमएस र डाटा निःशुल्क उपलब्ध गराएको थियो । बिहीबार राति १२ बजेपछि सम्पूर्ण सेवाको नियमानुसार महसुल लाग्ने र रिचार्ज कार्डको उपलब्धता सहज नभए सम्मको अवधिको लागि ब्यालेन्स सकिए तापनि कल तथा एसएमएस सुविधा उपलब्ध हुने, तर पछि पैसा काटिने टेलिकमले जनाएको छ । साथै ल्यान्डलाइन टेलिफोनको बैशाख महिनाको न्यूनतम महसुलमा थप १०० कल निःशुल्क गरिएको र विभिन्न क्षेत्रहरुमा इन्टरनेट चलाउनका लागि कम्पनीले सञ्चालन गरिरहेको वाइफाइ हटस्पट सेवा बैशाख ३१ गते सम्मको लागि निःशुल्क रुपमा उपलब्ध हुने व्यवस्था मिलाइएको छ ।

भूकम्पका कारण करदाता सेवा कार्यालयको भवन भत्किँदा ४ कर्मचारीको ज्यान गयो

विकासन्युज /  काठमाडौं, वैशाख १७ । बैशाख १२ र १३ गते गएको विनाशाकारी भूकम्पमा परीआन्तरिक राजस्व विभागअन्तर्गतको करदाता सेवा कार्यालय महाराजगञ्जमा कार्यरत तीन जना अधिकृत र एक जना नायव सुव्वाको  निधन भएको छ । कार्यालयमा कार्यरत रहेकै अवस्थामा  भूकम्पमा परी कर अधिकृतहरु मुक्ति पण्डित, विजय साह, कमला तिमल्सिना र नासु भास्कर सापकोटाको निधन भएको हो । सो घटनापछि  विभागको स्टाफ वैठक वसी कर्मचारीको मृत्युमा गहिरो दुःख व्यक्त गर्नुका साथै आपूर्ति व्यवस्थालाई सहज बनाउन र राहत तथा पुनस्थापना कार्यमा सक्दो सहयोग गर्न अन्तर्गतका कार्यालयहरुलाई  निर्देशन दिइएको छ । सेवा कार्यालय  संचालनमा रहेको भवन भूकम्पबाट पूर्णरुपले क्षतिग्रस्त भई कार्य संचालन गर्न नसकिने अवस्थामा रहेको हुँदा तत्काल कार्य संचालन गर्नका लागि हाल आन्तरिक राजस्व कार्यालय काठमाडौं क्षेत्र नं. ३ को नयाँभवन डाइमण्ड टावर (होटल ग्याङजोङसंगै रहेको) मा तत्कालका लागि कार्यालय संचालन गर्ने  तयारी थालिएको छ ।

भूकम्प पीडितका लागि मेगा बैंकको राहत कोष, सेवामा विशेष छुट सुविधा

विकासन्युज/ काठमाडौं, बैशाख १७ । मेगा बैंक नेपाल लिमिटेडले महाभूकम्प पीडित नेपालीका लागि राहत कोष सञ्चालन स्थापना गरेको छ । महाभूकम्प पीडितहरुलाई तत्काल राहत पुर्याउने उद्देश्यले ‘मेगा अर्थक्वेक ग्रान्ट अकाउन्ट’ (मेगा) नामक चल्ती खाता स्थापना गरेको मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए । यस खातामा जम्मा हुने सम्पूर्ण रकम भूकम्प पीडितहरुको उद्धार, उपचार, राहत, पुनस्र्थापना, भौतिक संरचनाहरुको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले खडा गरेको “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष” मा जम्मा गरिने सिइओ शाहले जनाए । बैंकले आफ्नो यस सहयोग अभियानमा सहभागी हुन बैंकका शेयरधनी, ग्राहकवर्ग तथा शुभेच्छुकहरुलाई अपिल गरेको छ । राहत रकम आफूलाई पायक पर्ने स्थानमा मेगा बैंकका कुनै पनि शाखाहरुमा खाता नम्बर ००१००१०२८६५९१ ‘डी’ मा स्वेच्छिक रुपमा रकम जम्मा गर्न सकिने बताइएको छ । गत शनिबार आएको महाभूकम्पले मुलुकभरनै मानवीय तथा भौतिक रुपमा गरेको अपुरणीय क्षतिप्रति मेगा बैंकले गहिरो दःख समेत प्रकट गरेको छ । महाभूकम्पबाट मेगा बैंक समेत प्रभावित भएको छ । काठमाडौँको टेकु शाखा, सिन्धुपाल्चोक जिल्लाको चौतारा शाखा र रसुवा जिल्लाको स्याफ्रूबेसी शाखा संचालन गर्ने अवस्थामा नरहेको बैंकले जनाएको छ । तर, ती शाखाहरुमा एटीम सेवा भने संचालनमा रहेको छ । तीन वटा बाहेक अन्य शाखा भने यथावत रुपमा संचालन रहेको बैंकले जनाएको छ । यसैगरी, महाभूकम्पका बेला सर्वसाधारणलाई राहत मिलोस भन्ने उद्देश्यले बैंकले आगामी एक महिनाभित्र विशेष छुट तथा सुविधा समेत उपलब्ध गराउने भएको छ । देशभित्र गरिने १ लाखसम्मको रेमिट्यान्स कारोबार पूर्णरुपमा निःशुल्क गरिएको छ भने मेगा बैंकको एटीएमहरुबाट नेपाली रुपैयाँमा जारी गरिएको एटीएम कार्ड प्रयोग गरी नगद भुक्तानी लिएको कारोबार शुल्कमा पूर्णरुपमा छुट गरिएको छ । यसका साथै, नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी स्थापना गरिएका कुनै पनि खातामा हुने कारोबारको शुल्कमा सदैव पूर्ण रुपमा छुट प्रदान गरिने मेगा बैंकले जनाएको छ ।

भूकम्प प्रभावित जिल्लामा अहिलेसम्म २६ करोड ३० लाख रुपैयाँ पठाइयो

विकासन्युज काठमाडौं, १७ बैशाख । सरकारले भूकम्प प्रभावित विभिन्न जिल्लामा अहिलेसम्म २६ करोड ३० लाख रुपैयाँ नगदसहित खाद्यपदार्थ पठाएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री बामदेव गौतमको सचिवालयले दिएको जानकारीअनुसार अहिलेसम्म १६ ओटा ट्रक र ५ ओटा हेलिकप्टरबाट १ हजार ३ सय ३६ क्विन्टल चामल, १ सय ८७ क्विन्टल चिनी, १ हजार ८ सय क्विन्टल चिउरा, ९ हजार कार्टुनमा  बिस्कुट र चाउचाउ पठाइएको छ । यस्तै, भुजिया, दालमोठ, सिमी, नुन र पिउने पानी पनि पठाइएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, टेन्ट ४ हजार ७ सय थान, त्रिपाल १ लाख १८ हजार थान, कम्बल ३ सय थान, ब्ल्यांकेट २ सय १० थान, सोलार लाइट ३ हजार ५ सय २८ थान र ९ बोरा लत्ता कपडा पठाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५५ सय नाघ्यो, ८ हजार भन्दा बढी घाइते

विकासन्युज काठमाडौं, १७ बैशाख । महाभूकम्प गएको छैटौं दिन  बिहीबार बिहान ७ बजेसम्म भूकम्पमा परी ज्यान गुमाउनेको संख्या  ५५ सय ३०  पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो विपत्तिमा परी ८३ सय ५ जना  घाईते घाइते भएका छन् । हालसम्म सबेभन्दा धेरै सिन्धुपाल्चोक जिल्लामा १५ सय ८७ जनाको ज्यान गइसकेको छ भने काठमाडौमा १ हजार ८९ जनाको शव फेला परेको छ । उपत्यकाका ३ जिल्लामा गरी   १५ सय १९ वटा शव उत्खनन गरिएको र २५ सय ७४ जना घाइतेको उपचार भइरहेको छ । अन्य घाइतेलाई डिस्चार्ज गरिसकिएको प्रहरलिे जनाएको छ । मुख्य भूकम्पको केन्द्रविन्दु गोरखा जिल्लामा हालसम्म ४०५ जनाको ज्यान गइसकेको छ । हालसम्मको मानवीय क्षतिको विवरण उपत्यका  मृतक  १५१९ घाईते  २५७४ (अन्य डिस्चार्ज गरिएको) काठमाडौ १०८९ ललितपुर   १६९ भक्तपुर     २६१ पूर्व क्षेत्र  मृतक  ५२,  घाईते २६० भोजपुर  २ सुनसरी  ७ सोलु  २२ ओखलढुंगा  १८ ताप्लेजुंग  १ मोरङ्  २ मध्य क्षेत्र मृतक ३५४४ घाईते ४२८३ रामेछाप  २४ सिन्धुपाल्चोक  १५८७ धनुषाा १ मकवानपुर  ३३ रसुवा  ३०४ दोलखा ६० चितवन  ६ नुवाकोट  ७०७ धादिङ  ५२७ सिन्धुली  ९ बारा  ५ पर्सा  ५ सर्लाही  १ रौतहट  १ काभ्रे २७४ पश्चिम क्षेत्र  मृतक ४१३ घाईते ११६७ गोरखा  ४०५ कास्की  २ नवलपरासी  १ तनहु  १ लमजुङ्ग  ४ मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ रोल्पा १ रुकुम १

भूकम्पका कारण विभागको सर्भर बिग्रियो, विदेशिने शुन्यप्रायः

विकासन्युज /काठमाडौं, बैशाख १५ गत शनिबार र आइतबार गएको भुकम्पका कारण वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचल कार्यालयको सर्भर डाउन हुँदा सेवा पूर्णरुपमा अवरुद्ध भएको छ । विभागका निमित्त महानिर्देशक एवम् काठमाडौं कार्यालयका प्रमुख विश्वप्रकाश सुवेदीले दिएको जानकारीअनुसार विभागका इन्जिनियर विजय खत्रीको लुभुस्थित घर पूर्णरुपमा ध्वस्त भएका कारण उनी कार्यालय आउन सकेका छैनन् । उनको अनुपस्थितिमा काम गर्न सक्ने अरु जनशक्ति नभएका कारण बिग्रिएको सर्भर मर्मत गर्न ढिलाइ भएको हो । सर्भरले काम नगर्दा हातैले लेखेर भिसाको म्याद सकिन लागेका र आजभोलि नै टिकट भएका श्रमिकलाई अन्तिम श्रम स्वीकृति दिने काम भइरहेको सुवेदीले जानकारी दिए । विभागले व्यक्तिगत श्रम स्वीकृतिमात्रै दिइरहेको र मंगलबार बेलुकासम्म १ सय ५० जनालाई सेवा प्रदान गरिएको  उनले जनाए । विभागले विदेशबाट विदामा आई भिसा सकिन लागेकाहरुलाई मात्रै अन्तिम श्रम स्वीकृति प्रदान गर्न थालेको हो । व्यक्तिगत तर्पmका अरु र संस्थागत तर्पmका पूर्व तथा अन्तिम स्वीकृति सेवा सुचारु हुन सकेका छैनन् । उता भूकम्पका कारण जनजीवन तहसनहस भएका कारण वैदेशिक रोजगारीका लागि मुलुक छाड्नेको संख्या शुन्यप्रायः भएको छ । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष हंसराज वाग्लेले दिएको जानकारीअनुसार आइतबार २ सय जनाले स्वदेश छाडेको भए पनि सोमबार र मंगलबार सो संख्या शुन्यप्रायः रहेको छ । भूकम्पका कारण मुलुकभर शोक र अन्योल छाएका कारण कुनै पनि मेनपावर कम्पनीले कार्यालय सुचारु गर्न सकेका छैनन् भने कामदारको अन्तर्वातासमेत प्रभावित भएको छ । उता वैदेशिक रोजगारीका लागि मुलुक छाड्ने र स्वदेश फर्किएका श्रमिकको बास हुने मुख्य स्थान गोंगबुस्थित नयाँ बसपार्क छेउछाउ रहेका होटल र गेस्टहाउस भूकम्पका कारण क्षतिग्रस्त हुँदा सयौं कामदार हताहत भएका छन् । तर उद्दारको काम सुस्त हुँदा सो संख्या यकिन हुन सकेको छैन । सयपत्री गेस्टहाउसका सञ्चालक एवम् वैदेशिक रोजगार व्यवसायी छत्र बस्नेतका अनुसार उनको गेस्ट हाउसमा मात्रै कम्तीमा ८ जना श्रमिक पुरिएका छन् भने अन्य थुप्रै होटलहरु भत्किएकाले सो संख्या साढे ३ सय माथि हुनसक्छ ।

भूकम्पबाट मर्नेको संख्या करिब ४८ सय पुग्यो, १० हजार घाइते

विकासन्युज/ बैशाख १६, काठमाडौं । गत शनिबार र आइतबार गएको भुकम्पका कारण मृत्यु हुनेको संख्या बुधबार बिहानसम्म बजेसम्म ४७ सय ८५ पुगेको छ भने  ९ हजार ९५२ जना घाईत भएका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार सो संख्या बुधबार बिहान ६ बजेसम्मको हो । काठमाडौं उपत्यकामा मात्रै १४ सय ४८ जनाले ज्यान गुमाएका र  ५३ सय ७६ जना  घाईते भएको प्रहरीले जनाएको छ । उपत्यकाभित्र काठमाडौ जिल्लामा १०३९ जना,  ललितपुरमा  १५९ जना र  भक्तपुरमा  २५० जनाको मृत्यु भएको छ । हालसम्म सबैधन्दा बढी मानवीय क्षति सिन्धुपाल्चोक मा पुगेको छ । त्यहाँ १२६० जनाको मृत्यु भइसकेको प्रमाणित भएको छ भने सो संख्या बढिरहेको प्रहरीले जनाएको छ । तथ्यांकमा क्षति पूर्व क्षेत्र   मृतक ५१ घाईते २०४ भोजपुर २ सुनसरी ७ सोलु २२ ओखलढुंगा १७ ताप्लेजुंग १ मोरङ् २ मध्य क्षेत्र मृतक २८८५ घाईते ३२२१ रामेछाप २४ सिन्धुपाल्चोक १२६० धनुषा १ मकवानपुर ३४ रसुवा ३०२ दोलखा ५४ चितवन ६ नुवाकोट ५६० धादिङ ३५५ सिन्धुली ९ बारा ५ पर्सा ५ सर्लाही १ रौतहट १ काभ्रे २६८ पश्चिम क्षेत्र मृतक ३९९ घाईते ११३० गोरखा ३९१ कास्की २ नवलपरासी १ तनहु १ लमजुङ्ग ४ मध्य पश्चिम क्षेत्र मृतक २ घाईते २१ रोल्पा १ रुकुम १ स्रोतः नेपाल प्रहरी

भूकम्प पीडितका लागि प्रवासमा सहयोग संकलन गरिँदै

विकासन्युज /काठमाडौं, बैशाख १६ नेपालमा शनिबार र आईतबार गएको भूकम्पबाट पीडित भएकाहरुका लागि मलेसिया र बेल्जियममा आर्थिक संकलन अभियान सुरु गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई राहत, घाइतेको उपचार र घरबारविहिन भएका परिवारलाई सहयोग गर्न त्यहाँ रहेका विभिन्न नेपाली संघसंस्थाले आर्थिक संकलन अभियान चलाएका हुन् । मलेसियास्थित नेपाली दूतावासले राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातको संयोजकत्वमा भूकम्प पीडित सहायता समन्वय समिति गठन गरेको छ । यस महाविपत्तिमा परेका पीडितहरुलाई सहयोग गर्न ईच्छुक व्यक्ति, संघ संस्थाहरुले दुतावासको समितिमार्फत् नेपालमा सहयोग पु¥याउन दुतावासले अनुरोध गरेको छ । सो समितिको सल्लाहकारमा  पुत्राजय कर्पोरेसनका अध्यक्ष  आसे छि मात्     छन् भने सदस्यहरुमा मलेसिया नेपाल व्यापार परिषदका अध्यक्ष दातो प्रदिप कुकरेजा, पेनाङका अवैतानिक वाणिज्यदुत दतुक ह्वान चेंग जेंग, एनआरएनए मलेसियाका सभापति शंकर पौडेल, शाक्यमुनि फाउन्डेसनका लाइ सिउखी छन् । सो समितिका सदस्यसचिवमा श्रम सहचारी बुद्धिनाथ भट्टराई  रहेको दुतावासले जनाएको छ । यसैबीच प्रवासी नेपाली मञ्च मलेसियाले तत्कालका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने र अरु सहयोग संकलनका लागि समिति गठन गरिएको जनाएको छ । गैरआवासीय नेपाली संघ मलेसियाले पनि ३ लाख ७३ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग संकलन गरिसकेको जनाइएको छ । त्यसैगरी एनआरएन बेल्जियमले १० लाख, एनआरएन फ्रान्सले ३ लाख र पोर्चुगलले १ लाख रुपैयाँ सहयोग गर्ने जनाएका छन् । जर्मनीमा कार्यरत नेपालीहरुले पनि १ दिनको तलबवापतको पैसा उठाउने अभियान सुरु गरिएकोे जानकारी प्राप्त भएको छ भने एनआरएन जर्मनीले पनि सहयोग रकम संकलन गरिरहेको छ ।