स्पीड वे फाउण्डेसनद्धारा लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
काठमाडौं । स्पीड वे कार्गो प्रा. लि. को संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नें आङ्गिक संस्था स्पीड वे फाउण्डेसनले लिखु गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । उक्त फाउण्डेसनले लिखु गाउँपालिकामा अवस्थित क्षेत्रपालमा.वि.मा आयोजित कार्यक्रममा सो गाउँपालिकाको लागी एम्बुलेन्स हस्तान्तरण गरेको हो । पुर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठ तथा अमेरिकी नागरिक मार्टिन ट्युनिसले सयुंक्त रुपमा क्षेत्रपाल सामुदायिक संस्थाका अध्यक्ष विष्णुलाल श्रेष्ठलाई एम्बुलेन्सको प्रतिकात्मक चावी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा बोल्दै फाउण्डेसनका अध्यक्ष राजु श्रेष्ठले हस्तान्तरण गरिएको एम्बुलेन्स त्यस क्षेत्रका जनसमुदायको स्वास्थ्यको लागी हित कर हुने र सो को सहि सदुपयोग हुने आशय व्यक्त गरेका छन् । साथै, राजु श्रेष्ठले त्यस गाँउपालिकाका समुदायको स्वरोजगार मार्फत आर्थिक स्थिती सुधार गरुन् भन्ने हेतुले त्यस गाउँपालिकाको लागी बहुउदेश्यीय तालिम केन्द्रको लागी ५ रोपणी जग्गा उपलब्ध गराई चाँडै नै निर्माण थालनी गर्ने घोषणा पनि गरेका छन्
काठमाडौंमा चार वटा नयाँ शहर बनाउन एक खर्ब ३० अर्ब सरकारी लगानी(फोटोसहित)
काठमाडौं । उपत्यकाका चार क्षेत्रमा निर्माण गर्न लागिएका चार वटा नयाँ शहरमा एक खर्ब ३० अर्ब सरकारी लगानी आवश्यक पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणका इञ्जिनियर भागवत भक्त खोखालीका अनुसार एक लाख रोपनी जमिनमा निर्माण हुने शहरमा सरकारले एक खर्बको लगानी गर्नेछ भने अन्य १०/१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने शहरमा प्रति शहर १० अर्बका दरले सरकारी लगानी हुनेछ । ती शहरमा सरकारले एक रुपैंयाँ लगानी गर्दा नागरिकले १० रुपैंयाँ लगानी गर्ने पनि उनले बताए । ‘सरकारले पुर्वाधार विकासमा लगानी गर्छ, नागरिकको लगानी जमिनमा हुने हो, नागरिकले सरकारको भन्दा १० गुणा बढि लगानी गर्नेछन्’, इञ्जिनियर खोखालीले भने । नयाँ शहरमा कुल जमिनको ३५ प्रतिशत सडकमै लाग्नेछ । ती शहरमा मुल सडक ५० मिटर र सहायक सडकहरु क्रमशः २२, ११, ८ र ६ मिटरका हुनेछन् । अहिले ८ आना भन्दा साना जमिनका प्लट बेचबिखनमा रोक लगाइएको छ । त्यस बाहेक नयाँ भवन निर्माणमा पनि रोक लगाईको छ । सडक निर्माण तथा विस्तार, ढलको निर्माण तथा विस्तारमा पनि रोक लगाइएको खोखालीले बताए । ‘घर निर्माण, खानेपानीको पाइप विस्तार, सडक निर्माण, ढल लगायतका सबै काममा रोक लगाएका छौं’, खोखालीले भने । भूकम्प पीडितलाई घर निर्माणमा भने रोक नलगाउनेबारे छलफल भैरहेको उनले बताए । तर अन्यत्र जमिन नभएका भूकम्प पीडितले मात्रै त्यहाँ घर बनाउन पाउनेछन् । त्यस्तै, भूमि सुधार मन्त्रालयले १० बर्षपछि मोहियानी छुट्याउने प्रक्रिया अघि बढाएकाले मोहियानी हक अन्तर्गत जग्गा काँटछाट फुकुवा गर्ने तयारी भैरहेकोछ । यी हुन प्रस्तावित नयाँ शहर काठमाडौं ईशानः प्राधिकरले उपत्यकामा निर्माण हुने पहिलो नयाँ शहरको नाम ईशान काठमाडौं राखेको छ । शहर काठमाडौंको पुर्व उत्तर क्षेत्रमा पर्छ । यो शहर पुर्वमा भक्तपुरको नगरकोट जाने बाटो, तेलकोट सडक, पश्चिममा जोरपाटी क्रिकेट मैदान, मुलपानी गोठाटार हुँदै मनोहरा पुलसम्म फैलिनेछ । त्यस्तै, उत्तर तर्फ साँखु बजार र साँखु जाने मुल सडकसम्म फैलिनेछ । दक्षिणमा भने भक्तपुर पुरानो बाटो सैनिक प्रतिष्ठान, इतापाके जग्गा एकिकरण आयोजना लगायतको क्षेत्रमा फैलिएको हुनेछ । यो नयाँ शहर एक लाख रोपनी क्षेत्रफलमा निर्माण हुनेछ । काठमाडौं आग्नेयः उपत्यमा निर्माण हुने दोश्रो शहर १० हजार रोपनी क्षेत्रफलमा फैलिएको हुनेछ । यसको नाम काठमाडौं आग्नेय अर्थात पुर्व दक्षिण राखिएको छ । यो शहर भक्तपुर क्षेत्रमा मात्रै पर्छ । पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ । दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । तेश्रो शहरस् काठमाडौं नैऋत्य काठमाडौं उपत्यकाको दक्षिण पश्चि क्षेत्रमा फैलिने यो शहर पनि १० हजार रोपनी क्षेत्रफलको हुनेछ । यसले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्यः काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनारनै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । चौथोः काठमाडौं उत्तर यो शहरले काठमाडौं जिल्लाको १० हजार रोपनी जमिन ओगट्नेछ । यसमा पुर्वतिर तर सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म आउनेछ । त्यस्तै, पश्चिममा काभ्रेस्थली देखि बाइपास आउने मुल सडक पर्नेछ । उत्तरतर्फ भने सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थलीको बाटोसम्म पुग्नेछ । दक्षिणमा भने यो शहरले ग्रीनल्याण् चौक देखि महादेवखोला काभ्रेस्थली मुल सडक छुनेछ । नयाँ शहरमा भूकम्प प्रतिरोधी भवन, फराकिला सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । यी शहरहरुलाई आइटीसँग जोडेर स्मार्ट सिटी बनाउन पनि सकिने काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले बताए ।
सनराइज बैंकको नयाँ एटिएम गोठाटारमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले गोठाटार स्थित सनसिटी अपार्टमेन्टमा ८१ औं एटिएम संचालनमा ल्याएको छ । उक्त एटिएम बैंकका पूर्व संचालक श्रवण गोयल र सनसिटी कल्याणकारी समितिका अध्यक्ष युवराज दाहालले संयुक्त रुपमा उद्घाटन गरेका छन् । हाल बैंकले मुलुकभर आफ्नो ७० वटा शाखा, ८१ वटा एटिएम, १६ वटा शाखारहित बैंकिङ्ख सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्धारा आधुनिक एंव सर्वसुलभ बैकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सन्राइज क्यापिटल लि. रहेको छ ।
सिन्धु विकास बैंकलाई ८० प्रतिशत हकप्रद निष्काशन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिन्धु विकास बैंकलाई ८० प्रतिशत (१० बराबर ८ को अनुपातमा) हकप्रद सेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई २० करोड ९७ लाख रुपैयाँ बराबरको २० लाख ९७ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा एनआईबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
नेप्से ३१ अंकले वृद्धि, मौद्रिक नीति चुहिएकै हो ?
काठमाडौं । साताको अन्तिम दिन सेयर बजारमा हरियो देखियो । नेप्से परिसूचक ३१ अंकले वृद्धि भयो । १४६ वटा कम्पनीको सेयर कारोबार भएकोमा १२३ वटा कम्पनीको सेयर मूल्य बढ्यो । सेयर बजारलाई मौद्रिक नीतिले पछ्याएको कालिका सेक्युरिटीज्का प्रबन्धका निर्देशक नरेन्द्रराज सिजापतिले बताए । ‘नयाँ मौद्रिक नीतिमा सीडी रेसियो ८५ प्रतिशत बनाइदै छ भन्ने सन्देश लगानीकर्तामा गएको देखिन्छ’ उनले भने ‘सीडी रेसिया ८५ प्रतिशत भयो भने बैंकमा लगानी योग्य पुँजी सहज हुन्छ, कर्जाको व्याज घट्छ, सेयर मूल्य बढ्छ भन्ने विश्लेषण लगानीकर्ताले गरेको देखिन्छ ।’ तरलताको संकट समाधान गर्ने गरी खुकुलो मौद्रिक नीति आउने विश्वास लगानीकर्तामा पलाएकोले बजारमा मूल्य बढेको थ्राइभ ब्रोकर हाउसका प्रबन्ध निर्देशक अन्जनराज पौडेलले बताए । के मौद्रिक नीति चुहिएकै हो त ? विकासन्युजको प्रश्नमा नेपाल राष्ट्र बैंकका प्रबक्ता नारायणप्रसाद पौडेल भन्छन्-‘नेपालको सेयर बजार किन बढ्छ, किन घट्छ, त्यसको कुनै आधार छैन ।’ मौद्रिक नीति अझै फाइनल नभएको उनले बताए । ‘सञ्चालक समितिमा छलफल जारी छ । साँझ छलफलले टुङ्ग्यायो भने शुक्रबार सार्वजनिक हुन पनि सक्छ, छलफल बाँकी रह्यो भने आगामी साता सार्वजनिक हुन्छ’ प्रबक्ता पौडेलले भने । आर्थिक वर्षको अन्तिम समय भएको, कम्पनीहरुको अन्तिम चौमासिक रिपोर्ट प्रकाशित हुन लागेको, सरकारी बजेटको खर्च बढेको, निर्वाचनले पनि तरलता वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएकोले बजारमा सुधार देखिएको अन्जनराज पौडेल बताउँछन् । विहीबार ७६ करोड ३० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम अघिल्लो दिनको तुलनामा २८ करोड रुपैयाँ बढी हाे । बुधबार ४८ करोड २९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबार कारोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३१९ अंकले बढेको छ । त्यस्तै, होटल, विकास बैंक, बैंकिङ, हाइड्रोपावर र उत्पादनमूलक समूहको परिसूचक दोहोरो अंकले बढेका छन् ।
आशा लघुवित्तले एकैसाथ खोल्यो चार नयाँ शाखा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरुको स्थापना गरेको छ । स्थापना गरिएको शाखा कार्यालयहरुमा तानसेन-पाल्पा, बेलौरी-कञ्चनपुर, कलुवापुर-कञ्चनपुर र गल्छी-धादिङ रहेको छ । गल्छी शाखाको उद्घाटन संस्थाका संस्थापक तथा पुर्व प्रमुख कार्यकारी अधिकृत रमेशसिंह खडकाले गरेका थिए । साथै, कार्यक्रममा संस्थाका अध्यक्ष रामबहादुर पाण्डे र विभागीय प्रमुखहरु जीवन खनाल र रविन खतिवडाकाको उपस्थिति रहेको थियो । सो कार्यक्रमहरुमा बंैक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो । यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा बिपन्न वर्गका महिलाहरुलाई विभिन्न आय आर्जनको व्यवसाय सञ्चालन गर्न उनीहरुको घरदैलोमा लघुवित्त सेवा पुर्याउने तथा प्रत्येक घर परिवारलाई उद्यमि बनाउनको लागी सरल, सहज रुपमा विना धितो कर्जा लगानी गर्ने छ ।
सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा न्यायपरिषद् सचिव नहकुल सुवेदी
काठमाडौं । मन्त्रिपरिषद्को बैठकले न्यायपरिषद्का सचिव नहकुल सुवेदीलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बिहीबार बसेकोे बैठकले नेपाल सरकार र अष्ट्रेलिया सरकार बीच दुईपक्षीय परामर्श संयन्त्र स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न परराष्ट्र सचिवलाई अख्तियारी दिने निर्णय गरेको छ । यसैगरी बैठकले नेपाल सरकार र मित्रराष्ट्र चीन सरकार बीच ‘फिल्ड अफ रजिष्ट्रेशन एण्ड मार्केट इन्टिटिज’ विषयक समझदारीपत्रमा हस्ताक्षरका लागि उद्योग सचिवलाई अख्तियारी प्रदान गर्ने निर्णय पनि गरेको छ । रासस
वाइवाइ सिटी भारतमा तिब्र गतिमा फैंलिदै, करिब ३० प्रतिशत हिस्सा ओगट्न सफल
काठमाडौं । भारतीय बजारमा नेपाली ब्राण्ड वाइवाइ चाउचाउको तीब्र विस्तारसँगै नयाँ अवधारणा सहित कार्यान्वयनमा ल्याइएको नूडल्स बार ‘वाइवाइ सिटी’लोकप्रिय बनेको छ । क्विक सर्भिस रेष्टुरेन्टको अवधारणामा संचालनमा ल्याइएको वाइवाइ सिटीमा वाइवाइ चाउचाउबाट बनाइएका विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध छन् । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले ट्विट गर्दै भारतको अर्को शहर बंगलोरमा वाइवाइ सिटी विस्तार भएको भन्दै खुसी ब्यक्त गरेका छन् । वाइवाइका पारखीहरूसँग सोसल मिडियामा अन्तक्र्रिया गर्दै उनले भारतका मुख्य शहरहरुमा वाइवाइ सिटीको प्रतिक्षा लामो नरहने जानकारी दिएका छन् । ‘हामीले दक्षिण एसियाली बजारमा नूडल्स बारको नयाँ अवधारणा कार्यान्वयनमा ल्याएका हौँ जसलाई भारतीय उपभोक्ताले निकै रुचाएका छन्’, चौधरी ग्रुपका कार्यकारी निर्देशक बरुण चौधरीले भने, ‘जसका कारण वाइवाइ सिटीको तिब्र विस्तार गर्न हामी दवावमा रहेका छौँ ।’ केही समयअघि भारतको राजधानी नयाँदिल्लीमा वाइवाइ सिटीको उद्घाटन गरिएको थियो । ल्लीकाउपभोक्ताहरुले वाइवाइ चाउचाउबाट बनेका परिकारप्रति देखाएको रुचिसँगै यसको विस्तार शुरु भएको हो । हाल वाइवाइ सिटी भारतको नयाँदिल्ली, नोयडा, पुने र बंगलोर गरि चार शहरमा विस्तार भईसकेको छ । वाइवाइ सिटी भारतका प्रमुख शहरहरुमा तिब्र गतिमा विस्तार हुने जानकारी कार्यकारी निर्देशक बरुण चौधरीले दिए । ‘हामी सन् २०१७मा एकसयवटा वाइवाइ सिटी स्थापनागर्ने हतारोमा छौँ’, चौधरीले भने, ‘भारतका सबै ठूला शहरहरुमा पहिलो चरणमा वाइवाइ सिटी स्थापना गर्ने हाम्रो लक्ष्य हो ।’ वाइवाइ सिटीमा नूडल्ससँग सम्वन्धित करिब दुई दर्जन परिकारहरुको स्वाद उपभोक्ताहरुले लिन पाएका छन् । अनुसन्धानका आधारमा नयाँ परिकारहरु थपिदै जानेछन् । नेपाली ब्राण्ड वाइवाइ अहिले भारतीय नूडल्स बजारमा तिब्र गतिमा फैलिइरहेको छ । हाल भारतीय नूडल्स बजारमा वाइवाइको हिस्सा करिब ३० प्रतिशत पुगेको छ । ‘भारतीय नूडल्स बजारमाश सक्त ब्राण्ड बन्ने हाम्रो रणनीति सफल भएको छ । अब हामी वाइवाइलाई अर्को चरणमा पुर्याउने तयारीमा छौँ’, अध्यक्ष चौधरीले भने, ‘नेपालमा जन्मिएका ब्राण्डहरू पनि विश्व ब्यापी प्रतिस्पर्धामा अब्बल सावित हुन सम्भव छ भन्ने वाइवाइले प्रमाणित गरेको छ ।