काठमाडौं । नेपाल राष्ट्र बैंकमा रहेका सरकारी संस्थानहरुको खाता बन्द हुने भएको छ । राष्ट्र बैंकले सरकारी संस्थानहरुको खाता बन्द गरेर बाणिज्य बैंकमा सार्न सकिने व्यवस्था गरेको हो । अब सबै सरकारी संस्थानहरुले बाणिज्य बैंकहरुमा मात्रै खाता खोल्नुपर्नेछ । केन्द्रिय बैंकको यस्तो निर्णयले तत्कालै १२ अर्ब तरलता थपिने बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने ।

हाल कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, खाद्य संस्थान, नेपाल विद्युत प्राधिकरण लगायतका दर्जनौं सरकारी संस्थानहरुको राष्ट्र बैंकमा चालु खाता छ । राष्ट्र बैंकले सार्वजनिक गरेको ६ महिनाका वित्तिय तथ्यांक अनुसार सरकारी संस्थानहरुको ११ अर्ब ३३ करोड ४९ लाख ५० हजार रुपैंयाँ केन्द्रिय बैंकको चालु खातामा रहेको थियो ।
सरकारी संस्थानको खाता बन्द गर्दै राष्ट्र बैंक, बाणिज्य बैंकहरुलाई तत्कालै ११ अर्ब ३३ करोडको राहत
केन्द्रिय बैंकमा खोलिएको चालु खातामा राखिएको रकमलाई सरकारी संस्थानहरुले चालु खर्चका लागि उपयोग गर्दै आएका छन् । केन्द्रिय बैंकको खातामा राखिएको रकमबाट ती निकायहरुले ब्याज पाउँदैनन् । संस्थानहरुले निक्षेपको ब्याज पनि पाउने र बजारमा तरलता अभावको समस्या पनि हट्ने भन्दै राष्ट्र बैंकले सो योजना अघि सारेको हो ।