विकासन्युज

विकास खर्च भएन, सरकारी ढुकुटीमै थन्कियो डेढ खर्ब

काठमाडौं । लक्ष्यअनुसार सरकारी बजेट (विकास बजेट) खर्च हुन नसक्दा सरकारी ढुकुटीमा ठूलो पुँजी त्यसै थुप्रिएर बसेको छ । अनुत्पादक रुपमा सरकारी ढुकुटीमा यसरी बजेट थुप्रिँदा बैंकिङ क्षेत्रसँगै सबैखाले वित्तीय प्रणालीमा नकारात्मक प्रभाव परेको छ । पछिल्लो समयमा झन्डै डेढ खर्ब रकम सरकारी ढुकुटीमा छ । यति ठूलो रकम ढुकुटीमा थन्किएर बस्दा अर्थतन्त्रमा चौतर्फी नकारात्मक प्रभाव पारेको हो । अर्थ मन्त्रालयका अनुसार गत २३ वैशाखको तथ्यांकअनुसार १ खर्ब ३५ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ सरकारी ढुकुटीमा छ । यो रकमको अधिकांश हिस्सा अहिले पनि त्यत्तिकै थन्किएर बसेको छ। राजधानी दैनिकबाट ।

सरकारको नालायकीपना, भत्काएर आधुनिक बनाउनुपर्ने सिंहदरबारलाई प्लास्टिकले छोपियो

काठमाडौं । भत्काएर नयाँ र आधुनिक बनाउनुपर्ने सिंहदरलाई प्लाष्टिकले छोपेर राखिएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मूल भवनलाई बर्षाको पानीबाट बचाउन प्लास्टिकले ढाकिएको छ । प्लास्टिकले छोपेपछि मूल भवनलाई फलामको आड (स्ट्याफ फोल्डिङ) दिइने काम पनि शुरु भएको बताइएको छ । फलामको आड दिएपछि भवनलाई प्रबलीकरण गर्न भित्र जान सकिने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ । २०७२ बैशाख १२ को भूकम्पले क्षतिग्रस्त सिंहदरबारलाई पुरै भत्काएर पुननिर्माण गर्ने कि प्रवलीकरण गर्ने भन्नेमा प्राधिकरण र सहरी विकास मन्त्रालयबीच लामो समय विवाद चलेको थियो । नागरिक दैनिकबाट ।

स्थानीय चुनावमा पाँच अर्ब ५४ करोड सकियो, प्रतिमतदाता ४८८ रुपियाँ खर्च

काठमाडौं । पहिलो र दोस्रो चरणको निर्वाचनमा हालसम्म पाँच अर्ब ५४ करोड रुपियाँ खर्च भएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले शुक्रबार आयोजित समारोहमा आयोगले खर्च हुन बाँकी तीन अर्ब रुपियाँ सरकारलाई फिर्ता पठाएको जानकारी दिए। आयोगले निर्वाचनका लागि पाएको रकम निर्वाचन भएका ६ वटा प्रदेशमा खर्च गरेको थियो। निर्वाचन हुन बाँकी प्रदेश नम्बर २ को चुनावका लागि आगामी आर्थिक वर्षको बजेटबाट खर्च गरिनेछ। प्रदेश दुईको निर्वाचनअघि नै चालु अर्थिक वर्ष समाप्त हुने हुँदा आयोगले बाँकी रकम फिर्ता गरेको हो। प्रमुख आयुक्त यादवले आयोगले स्थानीय तहको निर्वाचनमा विदेशीसँग निर्वाचन शीर्षकका लागि पैसा नलिएको जानकारी दिए। राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति नियोक, आम निर्वाचन पर्यवेक्षण समिति जियोक तथा शान्ति, न्याय र लोकतन्त्रका लागि समावेशी महिला सञ्जाल सङ्कल्प नेपालद्वारा शुक्रबार आयोजित दोस्रो चरणको निर्वाचनको पर्यवेक्षणको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार स्थानीय निर्वाचनमा प्रतिमतदाता ४८८ रुपियाँ खर्च भएको छ। प्रमुख निर्वाचन आयुक्त डा। यादवले प्रदेश सभा र प्रतिनिधि सभाको लागि चार मतपेटिका राखेर एकै चरणमा मतदान गराउन सम्भव नहुने दोहोर्‍याए। आयोगले आगामी असोजको ३० गते सोमबार प्रदेश सभाको चुनाव गर्न प्रस्ताव गरेको छ। मङ्सिरको पहिलो सातामा प्रतिनिधि सभाको चुनाव गर्ने गरी मिति तोक्न सरकारलाई आयोगले आग्रह गरेर पत्र पठाइसकेको छ। उनले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि चार वटा मतपत्र आवश्यक पर्ने र मतदाता नामावली नै फरक हुने भएकाले कानुनी र व्यवस्थापकीय हिसाबले सम्भव नहुने बताए। दुवैमा प्रत्यक्ष र समानुपातिक हिसाबले दुईरदुई वटा मतपत्र र मतपेटिका राख्नुपर्ने हुन्छ। प्रमुख आयुक्त यादवले दुवै निर्वाचनको एउटै मतपत्र प्रयोग गर्ने गरी संवैधानिक र कानुनी व्यवस्था मिलाउने हो भने मात्रै दुवै निर्वाचन एकै पटक गर्न सकिने बताए। प्रमुख आयुक्त डा। यादवले भने, ‘निर्वाचनका सन्दर्भमा आयोगले सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतसँग सधैँ सम्पर्कमा रहेर पर्याप्त छलफल गरेको छ, निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित तुल्याउन मतदाता शिक्षालगायत विषयमा सुधारको पर्याप्त सम्भावना छ, यसमा पनि सबैको सहयोग होस्।’ नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठ, जियोकका अध्यक्ष हिमालय शमशेर जबरा र सङ्कल्पका अध्यक्ष लिली थापाले हस्ताक्षर गरेको प्रतिवेदनमा निर्वाचन उल्लासपूर्ण रूपमा सम्पन्न भएको उल्लेख छ। जियोकका अध्यक्ष हिमालय शमशेर राणाले केही स्थानमा सामान्य झडप र मतपत्र च्यातिने काम भए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र स्वतन्त्र रूपमा भएको जनाउँदै यसको सबैभन्दा ठूलो श्रेय मतदाताले प्राप्त गरेको बताए। नियोकका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले निकै लामो अन्तरालमा भएको स्थानीय तहको निर्वाचनसम्बन्धी समाचारलाई आमसञ्चारका माध्यमले निकै प्राथमिकता दिएर निर्वाचनको पक्षमा वातावरण बनाउनुका साथै मतदातामा पनि निकै उत्साह देखिएको बताए। नेपाल कानुन समाजका कार्यकारी निर्देशक कृष्णमान प्रधानले निर्वाचन कानुनमा सुधार गरी बराबर मत प्राप्त गर्ने उम्मेदवारले बराबरी समय कार्यकाल हुने गरी व्यवस्था मिलाउन आयोगलाई सुझाव दिए। नियोकका महासचिव गोपालकृष्ण सिवाकोटीले द्रूतमार्गबाट भएको स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा केही न केही त्रुटि र कमी कमजोरी देखिएको टिप्पणी गरे। प्रतिवेदनमा निर्वाचन प्रक्रियालाई आधुनिक र प्रविधिमैत्री बनाउन, निर्वाचन कानुन समयमै निर्माण गर्न, मतदाता शिक्षालाई थप प्रभावकारी तुल्याउन, मतदाता परिचयपत्र समयमै उपलब्ध गराउने व्यवस्था मिलाउनलगायत नौबुँदे सुझाव दिइएको छ।ंं गोरखापत्र दैनिकबाट ।

राजधानीमा फैलियो झाडापखाला, वर्षायामसँगै पानीको कारणले नित्याउँदै महामारी

बर्षायामसँगै शुरु हुने झाडापखालाका विरामी काठमाडौंमा बढेका छन् । राजधानीमा प्रत्येक दिन झाडापखाला तथा आउँ (रगतमासी) का बिरामी बढ्दै गएका छन् । दुई सातादेखि काठमाडौंलगायत बर्षात शुरु भएका क्षेत्रमा पानीका कारण झाडापखाला र आउँमसीका विरामी बढेको टेकु अस्पताल क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जानकारी दिए । विगत बर्ष झैं काठमाडौंमा हालसम्म हैजाका विरामीभन्दा सिबेला ब्याक्टेरियाका कारण हुने आउँका विरामी ह्वात्तै बढेका छन् ।

गरिमाको केन्द्रीय कार्यालय काठमाडौंमा स्थानान्तरण, चाबहिलमा नयाँ शाखा विस्तार

काठमाडौं । पोखरालाई आधार बनाएर वित्तीय सेवा प्रदान गर्दै आएको गरिमा विकास बैंकले काठमाडौंको लाजिम्पाटमा केन्द्रिय कार्यालय स्थानान्तरण गरेको छ । एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले बैंकको केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा गर्भनर डा. नेपालले राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने बाटोमा बैंक अघि बढेको भन्दै खुसी व्यक्त गरेका थिए । उनले अब राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको प्रभावकारी सुपरिवेक्षणमा जोड दिने बताए । बैंक तथा वित्तीय संस्था नाफा कमाउनका लागि सञ्चालन गर्न नहुने बताएका उनले त्यस्तो मानसिकता राख्ने सबै बैंकका सञ्चालकहरुलाई अन्य नाफा मुलक व्यवसायमा लाग्न सुझाव दिए । कार्यक्रममा बैंककाप्रमुखकार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सेवाग्राहीलाई उत्कृट वित्तीय सेवा सहज रुपमादिन बैंकले कुनै कन्जुस्याई नगर्ने बताए । ‘हामीउत्कृट सेवादिने लक्ष्यका साथ आक्रामक उपस्थिती जनाउँदैछौं । काठमाण्डौं स्थानान्तरण यसको पहिलो सुरुवातहो’ प्रमुखकार्यकारी अधिकृत ढकालले भने । पोखराबाट काठमाण्डौंको लाजिम्पाटमा आफ्नो मुख्य कार्यालय स्थानान्तरणको सबै प्रकृया पुरा गरि गत चैत २७ देखि लाजिम्पाटबाट बैंकले अनौपचारिक रुपमा सेवा सुरु गरेको थियो । आर्थिक बर्ष २०७३/७४ को यस अवधिसम्म बैंकले १३ अर्ब ९५ करोड रुपैंया निक्षेप संकलनतथा १२ अर्ब ९० करोड रुपैंया कर्जा प्रवाहगरि४२ करोड १६ लाख संचालन आम्दानी गरेको छ । केही समय अघिमात्रै १० बराबर ७ (१०ः७)को अनुपातका हकप्रद शेयर निष्काशन गरेको बैंकको हालको चुक्ता पूँजी २ अर्ब १६ करोड ९६ लाख ५१ हजार ६ सय ९ रुपैंया रहेको छ । यसै बिच बैंकले शुक्रबार नै चाबहिलमा आफ्नो शाखा समेत बिस्तार गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथावित्तिय संस्थानिय मनविभागका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । चावहिल संगै काठमाण्डौंको सामाखुसी, लाजिम्पाट तथा कलंकी सहित देशभर ४७ शाखा र ९वटा एटीएमबाट बैंकले वित्तीय सेवा दिँदै आएको छ ।

सानिमा बैंकको नयाँ शाखा महाराजगंजमा

काठमाडौं । सानिमा बैंक लिमिटेडले महाराजगंजमा आफ्नो ४६औँ शाखा कार्यालय स्थापना गरीे बैंकिङ्ग सेवा बिस्तार गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका ब्राण्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह जोडी) द्धारा संयुक्त रुपमा भएको छ । उक्त उद्घाटन कार्यक्रममा सानिमा बैंकका संचालक डा. सुवर्णदास श्रेष्ठले समस्त ग्राहक वर्गको थप सेवा तथा सुविधाका लागी सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताएका छन् । त्यसैगरी सोही बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा मह जोडीले महाराजगंजमा सानिमा बैंक संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरेका छन् । हाल बैंकले ४६ वटा शाखा तथा ५३ वटा ए.टि.एम. बाट सेवा दिँदै आइरहेको छ ।

नेप्सेमा ३ करोड ६९ लाख कित्ता सेयर सूचिकृत, एक करोड २५ लाखको इकाई पनि

काठमाडौं । यस सातामा ३ करोड ६९ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो अवधिमा विभिन्न चार वटा कम्पनीको हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । बजारमा तीन कम्पनीको हकप्रद सेयर र बाँकी एक कम्पनीको साधारण सेयर सूचिकृत भएको छ । महाकाली विकास बैंकको एक लाख ४८ हजार २९२ कित्ता, लक्ष्मी बैंकको २ करोड ७९ लाख ०३ हजार ८७३ कित्ता र एनआईसि एशिया बैंकको ८७ लाख २९ हजार ४७५ कित्ता हकप्रद सेयर सूचिकृत भएको हो । त्यस्तै, छ्याङ्दी हाइड्रोपावरको २१ लाख ६० हजार कित्ता साधारण सेयर नेप्सेमा थिपिएको छ । साथै, लक्ष्मी इक्विटी फण्डको एक करोड २५ लाख इकाई नेप्सेमा सूचिकृत भएको छ ।

अनलाईन सेयर ट्रेडिङः भदौंमा परीक्षण, कात्तिकमा पूर्ण कार्यान्वयन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले आगामी भदौंदेखि अनलाईन सेयर कारोबार परिक्षण आरम्भ गर्ने भएको छ । नेप्सेका लागि स्वचालित अनलाइन कारोबार प्रणाली निर्माण गरिरहेको वाइको प्रालिले आगामी भदौ महिनाबाट प्रणालीलाई परीक्षणमा लैजाने गरी कार्य भइरहेको जानकारी दिएको हो । वाइको कम्पनीका परियोजना व्यवस्थापक संजय चौधरीले नेप्सेका प्रमुख कार्यकारी अधिकृत सीताराम थपलिया र उच्च अधिकारीहरु समक्ष परियोजनाको प्रगतिबारे जानकारी दिँदै भने–‘प्रस्तावित प्रणालीको विभिन्न मोडुलहरुमा समानान्तर ढंगले काम भइरहेको छ,’उनले भने,‘आगामी कात्तिकको तेस्रो साता प्रयोगकर्ताले नयाँ प्रणालीबाट कारोबार गर्न सक्नेछन् ।’ चौधरीले कारोबार, राफसाफ तथा फछ्र्यौट, सुपरिवेक्षण तथा अनुगमन, जोखिम व्यवस्थापन लगायत प्रस्तावित प्रणालीमा रहेका विभिन्न मोडुलहरुको विकास कुनकुन चरणमा छ भन्ने जानकारी गराएका थिए । उनले प्रस्तावित प्रणालीका लागि आवश्यक सम्पूर्ण हार्डवयर उपलब्ध गराइसकेको पनि जानकारी दिए । ‘हामी निर्धारित समयभित्रै अल्फा, बिटा टेस्टमा जान्छौं,’ उनले भने ।