विकासन्युज

कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारहरुको कानूनी प्रतिरक्षासम्बन्धी निर्देशिका–२०७५ स्वीकृत गरेको छ । बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिएका छन् । बैठकले चीनका प्रधानमन्त्री ली खछ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । भ्रमण अपेक्षा अनुरुप नेपालको हितमा रहेको निष्कर्षमा मन्त्रिपरिषद् पुगेको मन्त्री बाँस्कोटाले जानकारी दिएका छन् । “नेपाल र बङ्गलादेश सरकारबीच हुने द्वैध कराधान मुक्ति तथा वित्तीय छल निरोधसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न र बीमा विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय भएको छ”, सञ्चारमन्त्री बाँस्कोटाले भने। त्यसैगरी, सरकारले कर्जा सुरक्षण नियमावली, २०७५ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बैठकले कृषि विकास रणनीति कार्यान्वयनका लागि युरोपेली संघबाट प्राप्त हुने ४० मिलियन यूरो (करीब पाँच अर्ब ६ करोड) अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । त्यसैगरी, बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगको पहिलो संशोधन विधेयक-२०७५ संसद्मा पेश गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृतको छनोट, सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधासम्बन्धी नियमावली–२०७५ र निक्षेप सुरक्षण नियमावली–२०७५ लाई पनि स्वीकृत गरेको छ । रासस

सिजीको विश्वकप अफरमा दुई जनाले पाए २० इन्चको एलइडि टिभी

काठमाडौं । सिजीको विश्वकप अफरमा दुई जना विजेताले २० इन्चको एलइडि टिभी पाएका छन् । हाल भइरहेको विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर गरि सिजीले आफ्ना टिभी खरिदकर्ताहरु मध्यबाट प्रत्येक हप्ता एक जनालाई लक्की ड्र मार्फत सिजीको एलईडि टिभी प्रदान गरेको हो । जस अन्तर्गत हिजो मात्र एक पत्रकार सम्मेलन गरि २ जना भाग्यसालि विजेताहरु छानिएका थिए । जस मध्य इलाम घर भएका धिरज आर्चाय र काठमाडौं, तिलगंगा घर भएकी संजिता देउला रहेका छन् । तसर्थ योजना अनरुप सिजीले उनीहरु २ जनालाई सम्पर्क गरि उक्त उपहार प्रदान गर्ने र अझै २ वटा टिभीहरु उपहार स्वरुप दिन बाँकी रहेको बताएको छ । साथै, सिजीका ब्राण्ड म्यानेजर दिवाकार नगरकोटीले सिजीका टिभीहरु खरिद गरि आफुलाई भाग्यशाली विजेता बनाउन आग्रह गरेका छन् ।

चक्रपथ विस्तारको नयाँ डिजाइनः हरियाली, फुटपाथ, आकासे पुल, सोलार बत्ति र ट्राफिक लाइट

काठमाडौं । चीन सरकारको सहयोगमा विस्तार हुने चक्रपथको कलंकी–महाराजगञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ । कोटेश्वर–कलंकी खण्डको सडक डिजाइनमा त्रुटि भेटिएपछि सडक विस्तार आयोजनाले कलंकी–चक्रपथ खण्डमा भने डिजाइनमै सुधार गर्न लागेको हो । ‘कोटेश्वर–कलंकी खण्डबाट पाठ सिकेर कलंकी–चक्रपथको डिजाइनमै सुधार गर्ने काम भैरहेको छ, चिनियाँ पक्षसँग यसबारेमा छलफल गरिरहेका छौं’, चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाश भण्डारीले भने । उनका अनुसार कलंकी–महाराजगञ्ज खण्डको सडकमा हरियाली, आकासे पुल, मेडियन, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायत समावेश हुनेछन् । आयोजनाले असोजदेखि सो खण्डको चक्रपथ विस्तार कार्य आरम्भ गर्न लागेको छ । हाल सडकको राइट अफ वे भित्र पर्ने व्यक्तिगत संरचना हटाउन सार्वजनिक सूचना प्रकाशित गरिएको छ । साउनदेखि रुख, वत्ति, पानी, ढल लगायतका संरचनाहरु हटाउन थालिने पनि भण्डारीले जानकारी दिए । कलंकी महाराजञ्ज खण्डको स्वम्भुमा भने सुरुङ खन्ने विकल्पबारे छलफल भैरहेको पनि उनले जानकारी दिए । ‘विश्व सम्पदा सूचिमा रहेको स्वयम्भु क्षेत्रमा भने सुरुङ वा फ्लाईओभरको विकल्पबारे छलफल भैरहेको छ’, भण्डारीले भने । स्वम्भुमा सडकको राइट अफ वे भित्रै वुद्धका बिभिन्न अवतारका तीन वटा ठूला मूर्ति रहेका छन् । ‘कलंकी–महाराजगञ्ज खण्डको प्रारम्भिक डिजाइन तयार भएको छ, त्यसमा थप सुधारका लागि हामीले आफ्नो धारणा दिनेक्रम जारी छ’, आयोजना प्रमुख भण्डारीले भने । कलंकी–कोटेश्वर खण्डको निर्माण सकिए लगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँदैछ । चीन सरकारको शतप्रतिशत अनुदानमा आगामी असोज महिनादेखि कलंकी महाराजगञ्ज चक्रपथ विस्तार अघि बढाउन लागिएको हो । चीन सरकारले सो खण्ड विस्तारका लागि करिब ६ अर्ब बजेट लाग्ने अनुमान गरेको छ । निर्माण आरम्भ गरेको तीन बर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । ढिलोमा ४ बर्षभित्र कलंकी देखि महाराजगञ्ज खण्ड आठ लेनको बनिसक्नेछ ।

ग्लोबल आईएमई बैंक र कतारको कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । ग्लोबल आईएमई बैंक र कतारस्थित कमर्सियल बैंकबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात कमर्सियल बैंकको कतारमा रहेका ३० भन्दा बढि शाखाहरु मार्फत पठाएको पैसा ग्लोबल आईएमइको जुनसुकै शाखाबाट लिन सकिने छ । बैंकले हाल १२९ शाखाहरु, ५ वटा एक्सटेन्सन काउण्टर तथा ९० शाखा रहित बैंकिङ्ग सेवा, ७००० भन्दा बढि एजेन्ट मार्फत सेवा दिँदै आइरहेको छ ।  ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । कतार स्थित कमर्सियल बैंक, कतारमा रहेका वाणिज्य बैंकहरु मध्यको अग्रणी स्थानमा रहेको बैंक हो जसको धेरै शाखा संजाल रहेको छ । ग्लोबल आइएमई बैंकले रेमिट्यान्सलाई प्राथमिकतामा राखी बिगत १० वर्षदेखि विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ ।

चिया पसलले गरे अस्पतालको लागि ७ कट्ठा १० धुर जग्गादान

काठमाडौं । गाउँमा अस्पताल निर्माणका लागि सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ निवासी विन्देश्वर साहले जग्गादान गरेका छन् । लक्ष्मीपुर पतारी गाउँपालिका–१ रामपुर बजारमा चिया पसल गर्दै आउनुभएका साहले आफ्नो नाममा रहेको गाउँको सम्पूर्ण सात कट्ठा १० धुर जग्गा स्वास्थ्य मन्त्रालयको नाउँमा दान दिएका हुन् । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले सुनकोशी कन्सट्रक्सन नेपाल प्रालि काठमाडौं मार्फत अस्पताल भवन निर्माण गर्ने योजना रहे पनि जग्गा अभावमा भवन निर्माण गर्न नसकेको अवस्थामा साहले जग्गा दान दिएपछि अब छिट्टै अस्पताल निर्माण गर्ने वडा नं १ का वडाध्यक्ष मानिकलाल यादवले जानकारी दिए।

दाेस्रो हाफमा साम्पोलीले मेसीलाई ‘के म अग्युइरोलाई राख्न सक्छु’, भनी सोधेको खुलासा

काठमाडौं । अर्जेन्टिनाका प्रशिक्षक जोर्जे साम्पाउलीले कुन खेलाडी राख्ने भनेर मेसीलाई सोधेको खुलासा भएको छ । नाइजेरिया विरुद्धको दाेस्रो हाफमा टचलाई नजिक आएर मेसीलाई साम्पाउलीले कुन अग्युइरोलाई राख्ने कि नराख्ने विषयमा मेसीलाई सोधेको एक भिडियो फुटेजबाट सार्वजनिक भएको हो । स्पेनिस अनलाइन मार्काका अनुसार खेल १/१ को बराबरी रहेको अवस्थामा साम्पोलीले मेसीलाई के म अग्युइरोलाई राख्न सक्छु भनी सोधेको पुष्टी गरेको छ । पछिल्लो समय कप्तान लियोनल मेसी र मस्कुरानोले अर्जेन्टिनाको खेलाडी छनोटमा प्रभाव पारिरहेको बताइएको छ । समुह चरणको दोस्रो खेलमा क्रोयोसियासँगको लज्जास्पद ३-० को हार बेहोरेपछि प्रशिक्षक साम्पोलीको चर्को विरोध भएको थियो । अब फ्रान्ससँगको खेलमा पनि मेसीले नै खेलाडी छनोटमा प्रभाव पार्न सक्ने अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन्।

डलरको भाउ ११० रुपैयाँ नाघ्यो, नेपालमा महंगी बढ्ने !

काठमाडौं । नेपाली रुपैयाँसंग अमेरिकी डलर मंहगिएर नयाँ रेकर्ड राखेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार १ डलर बराबर ११० रुपैयाँ ८ पैसा तोकेको छ । गत वैशाख यता अमेरिकी डलर निरन्तर मजवुत र नेपाली मुद्रा कमजोर हुदै गएको छ । भारतीय रिजर्व बैंकले बिहीबारका लागि १ डलर बराबर ६८ रुपैयाँ ५२ पैसा भारु तोकेको छ । अमेरिकाको अर्थतन्त्र मजवुत र भारतको कमजोर भएपछि यसको असर नेपालमा परेको हो । नेपाली रुपैयाँ र भारुबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु कमजोर हुनसाथ नेपाली रुपैयाँ पनि अवमूल्यन हुन्छ । डलर मजवुत भएपछि यसको असर बजार मूल्यमा पर्ने गर्छ । डलर मजवुत भएपछि बजार भाउ बढ्छ । गत बैंशाखमा अमेरिकी डलर औसत १०६ रुपैयाँ ३८ पैसा थियो । २ महिनाको बीचमा नेपाली रुपैयाँ ४ रुपैयाँले कमजोर भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर्पोरेट करमा भारी कटौती गर्ने भएपछि अन्तराष्ट्रिय बजारमा अमेरिकी डलरको भाउ बढ्दै गएको छ । राष्ट्रपति ट्रम्पले आगामी सन् २०१९ देखि लागु हुने गरी कर्पोरेट कर ३५ प्रतिशतबाट २० प्रतिशतमा झार्ने प्रस्तावमा हस्ताक्षर गरेपछि अन्तराष्ट्रिय बजारमा डलर महंगिदै गएको हो । कर्पोरेट कर घट्ने भएपछि भारतलगायत अन्य मुलुकबाट लगानी अमेरिकामा फिर्ता हुन थालेको छ । ट्रम्पको कर्पोरेट कर कटौती नीतिले भारतलगायत मुलुकमा डलर संचितीमा गिरावट आउनुका साथै अर्थतन्त्र कमजोर हुदै गएको छ । गत मार्चमा १ डलर बराबर १०३ रुपैयाँ ९५ पैसा थियो । २ गत पुस मसान्तमा डलरसंग नेपाली रुपैयाँ मजवुत भएको थियो । त्यसबेला डलर १ को खरिद विनिमय दर १०१ रुपैयाँ ५२ पैसा थियो । अघिल्लो वर्ष मंसिरमा डलर मजवुत भएर १११ रुपैयाँ नजिक पुगेको थियो ।डलरका कारण वस्तु तथा सेवाको भाउमा वृद्धि भई मुद्रास्फितीको चाप बढ्ने देखिएको छ । विशेष गरी आयातित वस्तुको भाउ बढ्ने छ । डलर बलियो हुँदाका बेफाइदा डलर तिरेर आयात गरिएका वस्तु तथा सेवाको लागत महंगो भई खुद्रा मूल्य बढ्छ र अन्त्यमा यसको मारमा उपभोक्ता पर्छन् । यस्तै पेट्रोलियमको भाउ बढाउन पनि सहयोग गर्छ । डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी हुन्छ । यस्तै भारत तथा तेस्रो मुलुकबाट आउने सवारीसाधन, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडाको भाउ बढ्छ । विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ । विदेशबाट आयातित वस्तुको लागत बढेर बजार भाउ महंगो हुन्छ । राज्यले विदेशी दातृ निकायसंग लिएको ऋणको भार बढ्छ । अन्तराष्ट्रिय बजारमा हवाइ टिकटको मूल्य बढ्छ । नेपाल विद्युत प्राधिकरणले डलरमा बिजुली खरिद गर्दा तिर्ने दाइत्व पनि थप हुन्छ । यस्तै विदेशी कम्पनीले फिर्ता लैजाने लाभांश दायित्व बढ्छ । डलर बढ्दा रेमिट्यान्स र पेन्सन आप्रवाहमा वृद्धि हुन्छ ।

वैदेशिक रोजगार पीडितलाई ४ करोड बराबरको क्षतिपूर्ति

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिएका १८५ पीडितले करीब रु चार करोड बराबरको क्षतिपूर्ति पाएका छन् । अखिल नेपाल वैदेशिक रोजगार पीडित तथा परामर्श संघको पहलमा रोजगारका लागि विदेश गएर अलपत्र परेका तथा जाने प्रक्रियाका क्रममा स्वदेशमै ठगिएका पीडित तथा उनीहरुको आफन्तको उजुरीका आधारमा वैदेशिक रोजगार विभाग, नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखालगायत सरोकार पक्षसँग समन्वय गरी क्षतिपूर्ति उपलब्ध भएको संघका अध्यक्ष दीपक राउत क्षेत्रीले जानकारी दिए । गत वैशाखदेखि असार पहिलो सातासम्ममा माल्दिभ्स, साउदी अरब, कतार, मलेसिया, साइप्रस, पोल्याण्ड, अजरवैजान, मकाउ, संयुक्त अरब इमिरेट्स्लगायत मुलुकमा विभिन्न मेनपावर एजेण्टमार्फत गएका कामदारले भनेजस्तो काम नपाएको, सम्झौता गरेअनुसारको पारिश्रमिक नपाएको, अलपत्र परेका कामदारलाई सम्बन्धित मेनपावर कम्पनीबाट फिर्ता बोलाएर कानूनअनुसार क्षतिपूर्ति भराइएको हो । विदेशमा कामका लागि गरिएको सम्झौताअनुसार समयावधि सकिएर घर फिर्ता हुन नपाएका केही कामदारलाई फिर्ता गराइएको संघले जनाएको छ । रासस