चौधरी ग्रुप एसियाको बेस्ट इम्प्लोयर ब्राण्ड अवार्डबाट सम्मानित
काठमाडौं । चौधरी ग्रुप एसियाको उत्कृष्ट रोजगारदाता पुरस्कार ‘बेस्ट इम्प्लोयर ब्राण्ड अवार्ड’बाट सम्मानित भएको छ । सिंगापुरको ले-मेरिडियनमा वल्र्ड एच.आर.डी. कंग्रेस एण्ड इम्प्लोयर ब्रान्डिङ इन्सटिच्युटद्धारा आयोजित कार्यक्रममा ग्रुपलाई उक्त अवार्ड प्रदान गरिएको हो । वल्र्ड एच.आर.डी.ले प्रतिभा व्यवस्थापन, व्यवसाय सञ्चालनमा मानव संशाधन रणनीति तथा युवा पुस्ताका लोकप्रिय ब्राण्डहरू उत्पादनमा उत्कृष्ट योगदानका लागि चौधरी ग्रुपलाई उक्त अवार्डबाट सम्मानित गरिएको जनाएको छ । चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नेपालको उत्कृष्ट जनशक्तिलाई ग्रुपमा स्वागत गरिएको बताउँदै मानव संसाधन व्यवस्थापनमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त हुनु गौरवको बिषय भएको बताए । उनले आफ्नो ग्रुपलाई एसियाकै उत्कृष्ट कार्यस्थलका रुपमा स्थापित गर्न सकिएकोमा खुसी ब्यक्त गरेका छन् । आगामी दिनमा मानव संसाधन व्यवस्थापनमा थप सुधार गर्दै लगिने उनले जनाए । यसअघि माइक्रोसफ्ट, सिमन्स, पानासोनिक, टी.सी.एल, हुआवे, हचिसन टेलिकम्युनिकेसन्स, फक्सस्वागन, मलेसियन एयरलाइन्स, होलिडे इन, नोकिया, एच.टी.सी., थाई एयरवेज, युनिलिभर एसिया, क्वान्टस, म्याकडोनाल्डस, पेट्रोनास, फिजर, यू.पी.एस., मरिना बे स्यान्ड्स्, मास्टरकार्ड, रोल्स रोयस, केलोग्स, पेप्सी लगायतले उक्त अवार्ड प्राप्त गरेका छन् ।
जनरल फाइनान्सको साउन २६ गते बुक क्लोज, हकप्रद सेयर जारी गर्दै
काठमाडौं । जनरल फाइनान्सले आगामी साउन २६ गते कम्पनीको बुक क्लोज गर्ने भएको छ । उक्त दिन फाइनान्सले आफ्ना सेयरधनीहरुलाई १२५ प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको संचालक समितिको बैठकले गरेको हो । जनरल फाइनान्सले १६ करोड ५२ लाख रुपैयाँ बराबरको १६ लाख ५२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको छ कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
एप्पल वल्र्डमा‘स्मार्टफोन सट्टा-पट्टा’ मेला, हरेक सट्टा-पट्टामा गिफ्ट ह्याम्पर पक्का
काठमाडौं । लेटेस्ट एन्ड ब्राण्डेड मोबाइलको बिक्री तथा सबैभन्दा सस्तोमा मोबाइल कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले स्मार्टफोन सट्टा-पट्टा मेला बुधबारबाट सुरु गरेको छ । दरबारमार्गस्थित मर्कन्टायल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्डले कुनै पनि पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा–पट्टा गर्न सहज होस् भन्ने उद्देश्यले मेला गरेको जनाएको छ । मेलामा पुरानो फोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइने एप्पल वल्र्डका सेल्स म्यानेजर निराजन मल्ल ठकुरीले जानकारी दिए । मोबाइल एक्सचेन्ज, फेस टु फेस मोबाइल मर्मत, बिश्वबजारमा पाइने सबै मोबाइल उपलब्ध गराई टच एन्ड फिलको सुविधा सहित आफ्नो कारोबार गरिरहेको एप्पल वल्र्ड मोबाइलले अन्यत्र भन्दा सस्तो मूल्यमा मोबाइलको कारोबार गरिरहेको छ । पुरानो मोबाइल भएका तथा नयाँ मोबाइल खरिद गर्न चाहनेहरुलाई यो सट्टा–पट्टा मेलाले फाइदा पुग्ने विश्वास सेल्स म्यानेजर ठकुरीले लिएका छन् । मेलामा नयाँ प्रविधि मार्फत फुटेको डिस्प्ले बनाउने, ६० मिनेटमै फेस टु फेस मोबाइल मर्मत गरिदिने तथा मोबाइल खरिदमा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । एप्पल वल्र्डमा सामसुङ, जियोनी, ओप्पो, लाभा, जेटटिइ , हुवावे, माइक्रोम्याक्स, पानासोनिक, ओबिआइ, वानप्लस थ्री, आइफोन, एलजी, एमआइ, मेजु, एचटिसी, युएमआइ, माइक्रोसफ्ट, लेनेभो, सोनी, कलर्स लगायतका मोबाइल ब्राण्ड उपलब्ध छन् भने अन्तर्राष्ट्रिय बजारमा पाइने मोबाइल एसोसरिज र ल्यापटपको समेत कारोबार भइरहेको छ । सट्टा पट्टा मेला हरितालिका तीजसम्म चल्ने कम्पनीले जनाएको छ ।
ऊर्जामन्त्रीले भने-काम सुरु नगर्नेको लाइसेन्स खारेज गरिने छ
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले निर्धारित समयमा जलविद्युत आयोजनाको काम सुरु नगर्ने लगानीकर्ताको अनुमतिपत्र (लाइसेन्स) खारेज गरिने बताएका छन् । जलविद्युतमा दलाल र माफियाले गर्दा काम हुन नसकेको बताउदै काम नगर्नेका लाइसेन्स खारेज गरिने जानकारी गराएका हुन् । अमेरिकी कार्यबाहक राजदुत मिचेल सी गोञ्जालेजसंगको भेटमा मन्त्री शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना समयमै निर्माण हुन नसक्नुमा निमार्ण कम्पनीले ढिलासुस्ती रहेको जानकारी दिए । मन्त्री शाहीले समयमै काम नगर्ने कम्पनीसंग एकपटक छलफल गरी समयावधि तोक्ने र समयाधिभित्र काम नगर्ने कम्पनिको लाईसेन्स समेत खारेज गर्ने नीतिगत व्यवस्था समेत गर्ने स्पष्टपारेका छन् । गोञ्जालेजले बुधबार आफ्नो देश ऊर्जा क्षेत्रमा लगानी गर्न इच्छुक भएको जानकारी गराएका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा कार्यबहाक राजदुत गोञ्जालेजले माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजनाको बारेमा चासो व्यक्त गरेका थिए ।
५० खर्बको लेखा परिक्षण गर्ने योजना, मन्दिर, गुम्बा, मस्जिद र चर्च पनि दायरामा
काठमाडौं । अब ५५०० वटा निकायहरुको ५० खर्ब भन्दा बढि रकमको लेखा परिक्षण हुने भएको छ । महालेखा परिक्षकको कार्यालयले आफ्नो ५५ औं बार्षिक प्रतिवेदनमा सरकारी, नीजी, पब्लिक लगायतका संघ संस्थाहरुको ५० खर्ब रुपैंयाँ बराबरको लेखा परिक्षण गर्ने भएको हो । महालेखाले आफ्नो ५४ औं बार्षिक प्रतिवेदनमा जम्मा १२ खर्ब ९४ अर्बको मात्रै लेखा परिक्षण गरेको थियो । महालेखाले पहिलो चरणमा मन्त्रालय, केन्द्रिय विभाग, काठमाडौं, भक्तपुर, ललितपुर लगायत पहाडका जिल्लाहरुको लेखा परिक्षणका लागि ४५० जना लेखा परिक्षकलाई साउन १५ गतेबाटै खाटईसकेको महालेखा परिक्षक टंकमणी शर्माले जानकारी दिए । उनीहरुले ४५ दिन लगाएर तोकिएको कार्यालय तथा फर्महरुको लेखा परिक्षण गर्नेछन् । महालेखाले पुस दोश्रो हप्तादेखि थप ३१ जिल्लामा लेखा परिक्षणको काम थाल्नेछ भने चैतमा बाँकी कार्यालय तथा जिल्लाहरुको लेखा परिक्षण अघि बढाउनेछ । ‘तीन चरणमा लेखा परिक्षणको काम अघि बढाउँदैछौं, यसपाली ५० खर्बको लेखा परिक्षण हुन्छ, निजी क्षेत्रका कम्पनीहरुको पनि यसपाली अडिट गर्छाै’, शर्माले भने । उनले लेखा परिक्षणको नेपाली इतिहासमा पहिलो पटक सार्वजनिक सूचना प्रकाशित गरेर नागरिक मार्फत उजुरी आव्हान गरेको पनि बताए । शर्माले अब देखि प्रत्येक जिल्लामा महालेखाको कार्यालय स्थापना गर्ने प्रक्रिया अघि बढाएको पनि जानकारी दिए । अब मन्दिर, गुम्बा, मस्जिद र चर्चको पनि लेखा परिक्षण महालेखा परिक्षक शर्माले अब देखि मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको पनि लेखा परिक्षण गर्ने बताए । ‘अहिलेसम्म मठ मन्दिर, गुम्बा, मस्जिद र चर्चहरुको आम्दानीको लेखा परिक्षण हुने गरेको छैन, यसपालीबाट सुरु गर्छाै’, शर्माले भने ।
चार कम्पनीको दुई करोड बढी कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत, क-कसको भयो?
काठमाडौं । बुधबार मात्रै चार बैंक तथा वित्तीय संस्थाको २ करोड ८ लाख ५६ हजार ७६३ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन सिद्धार्थ डेभलपमेन्ट बैंक, मिसन डेभलपमेन्ट बैंक, तिनाउ विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकको गरी सो मात्राको हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकको ८५ लाख १५ हजार ००५ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ । त्यस्तै, मिसन डेभलपमेन्ट बैंकको १९ लाख ४९ हजार २५० कित्ता हकप्रद सेयर नेप्सेमा थपिएको छ । त्यसैगरी, नेप्सेमा तिनाउ विकास बैंकको ११ लाख ९४ हजार ७९६ कित्ता र टुरिजम डेभलपमेन्ट बैंकको ९१ लाख ९७ हजार ७१२ कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
चितवन। प्रधानमन्त्री शेरबहादुर देउवाले नारायणगढ–मुग्लिन सडक निर्माण चाँडो सक्न निर्देशन दिएका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको बुधबार स्थलगत अनुगमन निरीक्षण गर्दै प्रधानमन्त्री देउवाले निर्माण चाँडोभन्दा चाँडो सक्न सडक आयोजनाका कर्मचारी र निर्माणमा संलग्न ठेकेदारलाई निर्देशन दिए । “यो लाइफ लाइनको बाटो हो, जनताले धेरै दुःख पाएका छन् । निर्माण चाँडो सक्नुपर्छ,” उनले भने, “सडक निर्माण गर्न सरकारले गर्नुपर्ने सहयोग गर्छ ।” प्रधानमन्त्री देउवा बिहान १० बजे काठमाडौँदेखि हेलिकप्टरमा भरतपुरको आँपटारी आएका थिए। आँपटारीदेखि दासढुंगासम्मको करिब २० किलोमिटर सडकखण्डको स्थलमार्ग हुँदै निरीक्षण तथा अनुगमन गरेका थिए । दासढुंगामा प्रधानमन्त्री देउवाले सडक आयोजना र निर्माणमा संलग्न ठेकदारसँग छलफल गरे। सो अवसरमा दुवै पक्षले अहिलेसम्म भएको प्रगतिबारे उहाँलाई जानकारी गराएका थिए । प्रधानमन्त्रीका साथमा सडक अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएका भौतिक योजना तथा पूर्वाधारमन्त्री वीरबहादुर बलायरले सडक निर्माण सक्न सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्नुपर्ने बताए । “अहिलेसम्म किन प्रगति भएन, सक्ने ठाउँमा चाडो काम गर्नुपर्यो,” उनले भने । निर्माण चाँडो सक्न मन्त्रालय सहजीकरण गर्न तयार रहेको मन्त्री बलायरको भनाइ थियो । रासस
फेवा विकास बैंकको सेयर मूल्य समायोजन, प्रतिकित्ता ५२७ रुपैयाँ मात्र
काठमाडौं । बुधबार फेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २०.६ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता ५२७ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ४१७ रुपैयाँ रहने छ ।