विकासन्युज

बिजुलीको भाउ बढ्दैन : ऊर्जामन्त्री

काठमाडौं । सरकारले तत्काल औद्योगिक क्षेत्रमा विद्युतको महशुल नबढाउने भएको छ ।  ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले उद्योगधन्दामा तत्काल विद्युतको महशुल नबढ्ने बताएका छन् । नेपाल उद्योग परिसंघका केन्द्रिय पदाधिकारीसंगको भेटमा ऊर्जामन्त्री शाहीले विद्युत महशुल बढाउने निर्णय तत्काल कार्यान्वयन नहुने स्पष्टपारे ।  बिद्युत महशुल बृद्धि गर्ने निर्णय आफुले रोकेको जानकारी दिदै तत्काल यस विषयमा निर्णय नहुने उनले स्पष्टपारे । यसअघि विद्युत प्राधिकरणले महशुल बढाउनका लागि विद्युत महशुल निर्धारण आयोगमा निवेदन दिएको थियो । राष्ट्रिय विद्युत नियमन आयोग ऐन व्यवस्थापिका संसदबाट पारित भएकाले निर्धारण आयोग खारेज भएको छ ।  उत्पादनमुखी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि विद्युत उत्पादनमा तिब्रता दिनुपर्ने मन्त्री शाहीको भनाई थियो । उद्योग परिसंघका पदाधिकारीहरुले औद्योगिक क्षेत्रमा विद्युतको महशुल बढाईए उद्योग धन्दा धरासायी हुने भएकाले यो निर्णय कार्यान्वयन नगर्न माग गरेका थिए । उद्योगहरुमा ६६ प्रतिशतसम्म बिद्युत महशुल बृद्धि गर्ने प्रस्ताव गरिएको छ । महशुल बृद्धि गरिए यो अहिलेसम्मकै अप्रिय निर्णय हुने उद्योगी व्यवसायीको भनाई छ । उनीहरुले औद्योगिक क्षेत्रमा डेडिकेटेड पावर फिडर आवश्यक भएको पनि मन्त्री शाहीलाई जानकारी गराएका थिए ।

चाडपर्व नजिकिदै गर्दा कतार एयरवेजले सेप्टेम्बरदेखि काठमाडौंमा उडान थप गर्दै

कतार । कतार एयरवेजले सेप्टेम्बर १ देखि आफ्नो दोहा–काठमाडौंको उडान संख्या थप गर्ने भएको छ । सेप्टेम्बर तथा ओक्टोबर महिनामा पर्ने चाडपर्वका कारण बढ्ने उडान संख्या मागलाई सम्बोधन गरी यात्रुलाई सहजताको अनुभव दिन यसो गर्न लागिएको कम्पनीले जानकारी दिएको छ । थप हुने उडान संख्याका लागि कम्पनीले एयरबस ए३२०को ब्यवस्था गरेकोे छ । सेप्टेम्बर १ देखि दोहाबाट १ः२५मा छुटेर सो विमान काठमाडौंमा ८ः५५मा अवतरण गर्ने कम्पनीले विज्ञप्ति मार्फत जानकारी दिएको छ । थप गरिएको उडानले चाडपर्वका लागि नेपाल भ्रमणका लागि निस्कने यात्रुलाई सेवा प्रदान गर्ने कम्पनीको उद्देश्य हो । चाडपर्वका लागि नेपाल फर्कन चाहने नेपाली तथा अन्य यात्रु मार्फत बर्षेनी बढ्दो संख्यामा माग हुँदै आइरहेको हुनाले सो सेवा दिन लागेको कम्पनीले जनाएको छ । कतार एयरवेज ग्रुप चिफ एक्जेक्यूटिव महामहिम अकबर अल बाकर भन्छन् “मागको समाधान स्वरुप उडान संख्या थप गरी यात्रुलाई सेवा प्रदान गर्न पाउँदा हामी निकै हर्षित छौँ । साथै, थप गरिएको उडानले हाम्रा यात्रुलाई नेपाल भ्रमण तथा अनुभवका लागि थप अवसर प्रदान गर्ने हामीले विश्वास लिएका छौँ ।’ सेप्टेम्बर १ देखि थप गरिने उडानका साथमा कतार एयरवेजले दोहा र काठमाडौंको दैनिक चार उडान भर्ने कम्पनीले जानकारी दिएको छ । यसले यात्रुलाई आफ्नो आवश्यकता अनुसार उडान तालिका छनोटको अवसर समेत प्राप्त हुने कम्पनीको विश्वास छ । थप उडान सेवा प्रदान गर्न सञ्चालनमा ल्याइने एयरबस ए३२०मा १२ विजनेश क्लास सिट र १ सय ३२ ओटा ईकोनोमी क्लासका सिटहरु रहेका छन् । कतार एयरवेजले भरखरै श्रीलंका र बांग्लादेशमा रहेको बढ्दो मागको सम्बोधनका लागि कोलम्बो र ढाकाका लागि समेत उडान संख्या थप गरेको थियो । थप गरिएका उडान तालिका ः क्यूआर ६४८ दोहा (डीओएच)बाट काठमाडौं (केटीएम) छुट्ने ०१ः२५ अवतरण ः ०८ः२५ क्यूआर६४९ काठमाडौं (केटीएम)बाट दोहा (डीओएच) छुट्ने ०९ः५५ अवतरण ः १२ः१०

दोस्रो बजारमा सेयर कारोबार गर्न प्यान अनिवार्य, २ अर्ब ८ करोड राजश्व संकलन

काठमाडौं ।  आगामी आर्थिक वर्षदेखि दोस्रो बजारमा सेयर कारोबार गर्नेले स्थायी लेखा नम्बर (प्यान) अनिवार्य लिनुपर्ने भएको छ । करको दायरा बढाउने सरकारको नीतिलाई सघाउन धितोपत्र बोर्डले दोस्रो बजारमा सेयर कारोबार गर्ने व्यक्तिले अनिवार्य रुपमा प्यान नम्बर लिनुपर्ने व्यवस्था गर्न लागेको हो । अनिवार्य प्यान नम्बर आगामी आव ०७५/०७६ देखि लागु हुने धितोपत्र बोर्डले जनाएको छ ।  गत आवमा सेयर कारोबारबाट मात्र २ अर्ब ८ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये पुँजीगत लाभकर १ अर्ब ४५ करोड, अग्रिम कर (टीडीएस) बाट ४६ करोड ६९ लाख र आय कर १६ करोड ३९ लाख रुपैयाँ संकलन भएको बोर्डले जानकारी दिएको छ । बढ्दो पुँजीबजारलाई धान्न सक्ने गरी धितोपत्र बजारलाई प्रतिस्पर्धी बनाउन कर्पोरेट खाकामा नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि सहजीकरण गर्ने भएको छ । बोर्डले चालु आर्थिक वर्षका नयाँ योजना तथा कार्यक्रम सार्वजनिक गर्दे नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने संकेत गरेको हो । यो वर्षदेखि कमोडिटी डेरिभेटिभ बजारलाई नियमावली बनाई दायरामा ल्याउने, नगरपालिका ऋणपत्र निश्कासन सम्बन्धि नयाँ व्यवस्था, ऋणपत्र, अग्राधिकार सेयर बजार विकासका लागि आवश्यक प्रोत्साहनमुलक नीतिका सम्बन्धमा अध्ययन गर्ने योजना रहेको बोर्डले जनाएको छ । बोर्डले कम्पनी रजिष्टार कार्यालयको सहयोगमा धितोपत्र बजारमा लगानी गर्ने स्थापना भएकालाई नियमनको दायरामा ल्याउने भएको छ । धितोपत्र बजारमा गैरआवासिय नेपालीलाई लगानी खुलाउन आवश्यक कार्यविधि बनाउने योजना बोर्डको छ । गैरआवसिय नेपालीले धितोपत्र बजारमा लगानी गर्न पाउनुपर्ने माग गर्दे आएकोमा अब पुरा हुने देखिएको छ । इन्टरनेटमार्फत धितोपत्र खरिदबिक्रीको व्यवस्थालाई कार्यान्वयनमा ल्याइने, दलाल व्यवसायिको कार्यक्षेत्र बढाउन मार्जिन ट्रेडिङ र धितोपत्र व्यापारी सेवा विस्तारका सम्बन्धमा अध्ययन गर्ने बोर्डले जानकारी दिएको छ । यसैगरी बोर्डले सुचिकृत संगठित संस्थाका लागि संस्थागत सुशासन निर्देशिका र सुपरीवेक्षण म्यायूअल बनाइ लागु गर्ने, भेन्चर क्यापिटल र प्राइभेट इक्वीटी फण्डको अध्ययन गरी नियम बनाउने तयारी गरेको छ । सामुहिक लगानी कोषअन्तर्गत खुलामुखी योजना प्रवेश गराउने र बोर्डको ५१ प्रतिशतसम्म लगानी हुने गरी धितोपत्र प्रशिक्षण संस्था स्थापना गर्ने जस्ता योजना रहेका छन् ।    

लगानीकर्तालाई निराश नहुन नरेन्द्र सिजापतिका यस्ता छन् सेयर टिप्स

सेयर बजार  कार्यक्रम : ६:३० बजे : चिया पसलमा आर्थिक पत्रिका र अनलाइन खबरहरु हेर्ने । कम्पनीहरुको आर्थिक विवरण र समाचारमा ध्यान केन्द्रित गर्ने कति घटबढ भो याद गर्ने । चुरोट सल्काउदै लगानीकर्ताले आशा गरे अनुसार भएन, आज यसको मुल्य घट्ने भो भनेर बहस शुरु । ७ देखि ९ बजे : साथिभाई र ब्रोकरसंग फोनमा गफिदै, खै रिपोट खासै राम्रो आएन बजार बढ्ला जस्तो लागेन । उसले त आज बेच्नु पर्ला भन्दै थियो, बजार के होला मित्र ? बजार घटाउन पत्रपत्रिका लागि परेका छन् । अनावश्यक रुपमा बजार घटाउन स्रोतको छानबिनका कुरा पनि अाएको छ । खै के खै के यसपालिको दशैं खल्लो होला जस्तो छ । दिनको कार्यक्रम : ११ देखि ३ बजे : शुरुमा हरियो देखेपछि, हल्लाखल्ला शुरु गर्दै, बजार बढाएर बेच्न ब्रोकरहरुले वाई अर्डर धेरै देखाका छन्, सेकेण्ड आवरमा बजार घट्ने भो । आजको कारोबार भोलुम पनि ब्रोकरले म्याचिङ गरेका कारण यति पुगेको हो नत्र यति पनि हुदैनथ्यो । साझको कार्यक्रम : ५ देखि ७ बजे : आज बजार के कारणले यस्तो भएको होला गम खादै निरास भएर भोलिको बारेको पुनः नकरात्मक विचार बनाउदै एक्लै मधुसालामा प्याला संगै दुख साट्ने । रातिको कार्यक्रम : ८ देखि ११ बजे : थुक्क अस्ति शेयर नकिनेको भए आज यति सस्तोमा पाईने रहेछ । बरु भोलि बेचेर दुईचार दिन पछि अझ सस्तोमा किन्ने हो की के गर्ने गर्ने । रिमोटले टि भिको च्यानल चेन्ज गर्दै शुरुदेखि अन्तिम र अन्तिमदेखि शुरुसम्म करिव चार पाच पटक चलाउदा पनि मन स्थिर नभएर फेरि मोवाइमा सामाजिक संन्जाल तर्फ कसले के पोष्ट गरेछन हेर्दै ओछ्यानमा कोल्टे फेर्दै निदाउन प्रयास गर्ने । दुवो प्रवृतिका लगानीकर्ता विहानको कार्यक्रम : आफुले गरेको लगानीको हिसाब किताव पुनः चेक गरेर सो कम्पनीसंग सम्वन्धित सूचनाहरु संकलन गर्ने तर्फ पत्रपक्का तथा अनलाइनका समाचारहरु हेर्ने । शेयर बजारसंग सम्वन्धित सकरात्मक र नकरात्मक सुचनाको विस्लेषण गरी तेसले पार्ने अल्पकालिन र दीर्घकालिन प्रभाव बारे बिचार गर्ने सोही अनुसार रणनिती बनाउने । शेयर बजारसंग सम्वन्धित नीति नियमहरु केही थपघट भएकी वा हुने क्रममा छन् की जान्ने प्रयार गर्ने । राजनैतिक, आर्थिक तथा सामाजिक समाचारले शेयर बजारमा पार्ने प्रभावको आकलन गर्ने । नबुझेका र अस्पष्ट भएका विषय जानकार साथिभाई वा सम्वन्धित ठाउमा बुझेर प्रष्ट हुने । बजारको चाललाई गम्भिरता पुर्वक हेरिरहने । दैनिक नभई कम्तिमा साप्ताहिक रुपमा बजारको चालको पुर्वानुमान गर्ने । दिनको कार्यक्रम : बजारको चाल र आफुले गरेको अनुमानमा के कति कारणले फरक पर्न गयो तथ्य नजिक पुग्ने प्रयास गर्ने । के कस्ता सान्र्दभिक वा असान्दर्भिक सूचनाहरुले बजारमा तत्काल कस्तो प्रतिक्रिया जनायो अध्ययन गर्ने । लगानीको लागत कम गर्न स्रोतहरुको तुनला गर्ने । स्रोतको पहिचान गर्ने व्याजदरमा के परिर्वतन हुदैछ जानकारी लिने । लगानी बढाउने , यथावत राख्ने वा कम गर्ने बारे विचार गर्ने । दिनभरको विषय बस्तु, सूचना तथा गतिविधि स्मरण गर्ने । साझको कार्यक्रम : शेयर बजारको निम्न नियम आफले पालना गरे नगरेको बिचार गर्ने । लामो समयको लागि लगानी ।  क्षमता अनुसार कम पुजीबाट लगानी ।  स्वयमले जान्ने बुभ्ने ।  कम्पनीहरुको जानकारी भएपछि मात्र लगानी ।  अल्प, मध्ये र दीर्घकालीन लगानी ।  चाडो चाडो कम्पनी परिवर्तन नगर्ने ।  सम्भावित जोखिम बारे पुर्ण सचेत रहने । • सकरात्मक सोच बाट नै सकरात्मक नतिजा आउछ । बजार नकरात्मक कदापि हुदैन।

नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा क्षेत्रमा प्रिपेड सिम निःशुल्क उपलब्ध गराउँदै

काठमाडाै‌ । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लाहरु झापा, मोरङ, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही लगायतका जिल्लाहरुमा प्रिपेडको सिम निःशुल्क वितरण गरिरहेको छ । सो सिममा ५० रुपैयाँको  टक भ्यालू सहितको जिएसएम प्रिपेड सिम कार्ड र सिम कार्डबाट कम्पनीको नेटवर्क भित्र थप ५० मिनेट बराबरको निःशुल्क कल गर्ने सुविधा सहितको सिम निःशुल्क वितरण गरी रहेको छ । साथै, बाढी प्रभावित क्षेत्रका नेपाल टेलिकमका ग्राहकहरुले आफुले प्रयोग गरिरहेको सिम नष्ट भएको वा हराएको भनी निवेदन पेश गरेमा सो को सट्टामा अर्को सिम कार्ड नेपाल टेलिकमले निःशुल्क उपलब्ध गराउने एनटीसीले जनाएको छ । टेलीकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाढी प्रभावित क्षेत्रका ग्राहकहरुका लागि यो सेवा उपलब्ध गराएको जानकारी दिएको छ । यो सुविधा यहि भाद्र १२ गते देखि २६ गतेसम्म उपलब्ध हुनेछ । कम्पनीको ग्राहक सेवा केन्द्रबाट यो सुविधा लिन सकिनेछ ।

बालाजू अटोवक्सले प्राविधिकहरुका लागि प्रशिक्षण तालिम िदयाे

काठमाडौं । नेपालको लागि महिन्द्रा ट्राक्टरको आधिकारिक विक्रेता अग्नि ग्रुप अन्तर्गत बलाजू अटो वर्कस्ले आफ्नो डिलहरुमा रहेका प्राविधिकहरुका लागि प्रशिक्षण कार्यक्रमक सम्पन्न गरेको छ । कार्यक्रममा बलाजू अटो वर्कस् तालिम केन्द्र विरगन्जमा भएको जानकारी दिएको छ । कार्यक्रमको मुख्य लक्ष्य उत्कृष्ट सर्भिस् तथा महिन्द्रा जेन्यून स्पेयर पार्टस् र लुब्रिकेन्टको सहि उपयोग सम्बन्धी सीप विकास गराई उनीहरुलाई सक्षम बनाउनु रहेको कम्पनीले बताएको छ । सो तालिम मार्फत् प्राविधिकले ग्राहकहरुको आवश्यकतालाई अझ बढी उचित ढंगले समाधान दिन सक्ने बताइएको छ । उक्त दुई दिने कार्यक्रममा प्रतिनिधिहरुलाई शैदान्तिक तथा व्यवहारीक दुबै प्रकारको तालिम दिइएको थियो । उक्त तालिमको विशेष आकर्षण महिन्द्रा ट्राक्टर नोभो र युभोको रहेको थियो । कार्यक्रममा नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका कन्ट्री मेनेजर तपस पटनायक तथा बालाजू अटो वक्र्सका सिनियर इन्जिनियर दीपक आचार्यबाट प्रशिक्षण दिइएको थियो ।  

नारायणगढ–मुग्लिन सडक भासिएका कारण दिनभर यातायात अवरुद्ध हुने

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको चार किलोमा सडक भासिएका कारण आज दिनभर यातायात अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजना प्रमुख चन्द्रनारायण यादवकाअनुसार करिब ५० मिटर लम्बाइ सडकको चार मिटर चौँडा भाग भासिएकाले सो ठाउँमा भित्तो काटेर यातायात सञ्चालन गर्नुपर्ने भएको छ । एकतर्फी सडक सञ्चालन गरेमा दिउँसो २ बजेसम्ममा काम सम्पन्न हुने भए पनि दुईतर्फी सञ्चालनका लागि साँझसम्म काम गर्नुपर्ने उनले बताए । सडक भासिएका ठाउँका सडक नौ मिटर मात्रै फराकिलो छ । यसअघि सडक फराकिलो बनाउन भित्तो काटिएको ठाउँमै सडक भासिएको हो । सवारी साधन सञ्चालन भएपछि काम गर्न नसकिने भएकाले भित्तो काटेर दुईतर्फी सडक सञ्चालन गर्ने तयारी भइरहेको छ । सो सडकको पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध भएको हो । जलबिरेको दुई स्थानमा, कालिखोला, चारकिलो र पाँच किलोमा एक-एक स्थानमा पहिरो खसेको थियो । आयोजनाका इञ्जिनियर शिव खनालकाअनुसार जलबिरे बाहेक अन्यत्रको पहिरो भने पन्छाइसकिएको छ । केही समयमा जलबिरेको पहिरो पनि पन्छाइसकिने उनले बताए । खोलाबाट लेदो झरेकाले सो ठाउँमा सडक अवरुद्ध भएको हो । पहिरोको जोखिमका कारण साउन अन्तिम साताबाट रातको समयमा सवारी आवागमन रोकिँदै आएका थिए । पहिरो खसेपछि हिजो साँझबाट सडकमा रोकिएका सवारीसाधन अलपत्र परेका छन् । रासस

माउन्ट कैलाश इनर्जीको २२ लाख ५० हजार कित्ता आईपीओ आउँदै

काठमाडौं । माउन्ट कैलाश इनर्जी कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । १३.६ मेगावाटको थापाखोला जलविद्युत आयोजना सम्पन्न गरेर परीक्षण उत्पादन थालेको माउन्ट कैलाशले आउदो २ महिनाभित्र आईपीओ निश्कासन गर्न लागको हो । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई १० र सर्वसाधारणलाई १५ गरी कुल २५ प्रतिशत आईपीओ निश्कासन गर्नका लागि आन्तरिक तयारी गरिरहेको कार्यकारी निर्देशक भरत खड्काले बताए । आयोजनाले असोज १ गतेदेखि व्यवसायीक रुपमा बिजुली उत्पादन थाल्ने र ढिलोमा २ महिनाभित्र आईपीओ निश्कासनका लागि प्रक्रिया अघि बढाईको उनको भनाई छ । कम्पनीले सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने छ । हाल प्रस्ताव गरिएको भन्दा सेयर संख्यामा थपघट हुन सक्ने उनको भनाई छ । शेयर निश्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट्स लिमिटेडसँग सम्झौता गरेको छ । धितोपत्र निश्कासन नियमावलीमा न्युनतम् १० प्रतिशत आईपीओ निश्कासन गरे हुने व्यवस्था भएपनि सर्वसाधारणको सहभागिता बढाउन थप १५ प्रतिशत सेयर निश्कासन गर्न लागेको उनले जानकारी दिए । २ अर्ब ५६ करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको हो । भौगोलिक विकटता, प्राविधिक पक्ष परिवर्तन हुनु, भूकम्प, नाकाबन्दीका कारण अनुमान गरे भन्दा १२ करोड रुपैयाँ लागत बढेको कम्पनीले जनाएको छ । आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारणलाइन र दुईवटा सवस्टेशन बनाएको छ । कोवाङ र दानामा सवस्टेशन बनाएको हो । चार वर्षमा आयोजना निर्माण पूरा भएको हो । टुकुचे हिमालको फेदीमा बाँध रहेको आयोजनाको १ हजार ८३३ मिटर सुरुङ र ७५० लामो पाइपमार्फत पानीलाई टर्बाइनमा खसालिएको छ । बेनी–जोमसोमसडकको टुकुचेखण्डभन्दा करिब ५०० मिटरभित्र आयोजनाको विद्युत्गृह छ । भूकम्प, नाकाबन्दी र बेसरीको पहिरो तथा बेगखोलाको बाढीका कारण निर्माण सामग्री आपूर्तिमा समस्या हुँदा निर्माण अवधि एक वर्षपछि धकेलिएको हो ।  थापाखोलाबाट उत्पादित विद्युत् म्याग्दी हँुदै केन्द्रीय प्रसारण लाइनमा जोडिने भएकाले म्याग्दीमा भइरहेको अनियमित विद्युत् आपूर्तिको समस्या समाधान हुने अपेक्षा गरिएको छ । हाल चार एमभिए क्षमताको ट्रान्सफर्मर रहेको मिलनचोक सव स्टेशनमा आठ एमभिए क्षमताको ट्रान्सफर्मर जडानको तयारी भइरहेको बताउँदै केन्द्रका प्रमुख सीताराम शाहले थापाखोलाको विद्युत् केन्द्रीय प्रसारणमा जोडिएपछि म्याग्दीमा विद्युत् आपूर्ति सहज हुने जानकारी दिए।