विकासन्युज

इन्भेष्टमेन्ट बैंकको एफपीओ सेयर प्रमाणपत्र आयो

काठमाडौं, ३० असार । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले निष्काशन गरेको फर्दर पब्लिक इस्यू (एफपीओ)को सेयर प्रमाणपत्र वितरण शुरु भएको छ । बैंकले असार ३० गतेदेखि एफपीओको प्रमाणपत्र वितरण शुरु गरेको जनाएको छ । उक्त सेयर आवदेन गर्दा हितग्राही खाता (डिम्याट एकाउन्ट) उल्लेख गरेका आवदेकको सेयर सोझै डिम्याट एकाउन्टमा जम्मा हुने बैंकले जनाएको छ । डिम्याट एकाउन्ट नखुलाएका आवेदकले भने सेयर प्रमाणपत्र दिन आवेदन बुझाएको संकलन केन्द्रमा जानुपर्ने बैंकले जनाएको छ ।

मोबाइलमा पोर्नोग्राफी हेर्ने गर्नुभएको छ, होसियार ! तपाइको स्क्रिन लक हुनसक्छ

काठमाडौं २९ असार। तपाईँ आफ्नो मोबाइलमा पोर्नोग्राफी हेर्नुहुन्छ? बताउन चाहने वा नचाहने तपाईँको कुरा हो। अडल्ट इन्टरटेनमेन्टमा पोर्नो मुभी सबैभन्दा बढी हेरिनेमा पर्छ। आफ्नो मोबाइलमा निशुल्क उपलब्ध हुने पोर्नो एप्स राख्नु भएको छ भने त्यो खतरनाक हुनसक्छ। ह्याकरहरुले लक स्क्रिन मलवेयर विकास गरेका छन् जुन तपाईँले डाउनलोड गरेको पोर्नोग्राफी एपमा लुकाएर राखिएको हुनसक्छ। उनीहरुले स्क्रिन नै लक गर्न सक्छन्। साथसाथै उनीहरुले मोवाइलको डाटा चोरी गर्ने तथा थाहा नपाउने गरेर भाइरस पठाउने गर्दछन् जसका कारण तपाइको महत्वपुर्ण डेटाहरु लिक हुन सक्छ र पछि समस्यामा पर्न सक्नुहुन्छ। डेल सेक्युरिटी विज्ञ अलेक्स डवरोभस्की र उनको टिमले गरेको अनुसन्धानले पत्ता लागेको तथ्य हो – पोर्नोग्राफी एप बनाउनेले मलवेयरहरु लुकाएर छिराउने गर्छन् जुन तपाईँले नचाहँदा नचाहँदै मोबाइललाई सखाप पार्न पर्याप्त हुन्छ। ४.४ किटक्याट अपरेटिङ सिस्टम रहेको एन्ड्रोइड डिभाइसमा युजरको स्क्रिन ‌ओभरराइड हुँदै लक हुनसक्छ। र यसरी लक भएको मोबाइल स्क्रिन तपाईँले खुलाउनै नसक्ने पनि हुनसक्छ। त्यसैले मोवाइलमा पाेर्नोग्राफि हेर्नुभन्दा पहिले एकपटक विचार गर्नुहोस र अाफ्नो डेटालाई सुरक्षित राख्नुहोस्।

टेलिकमले चीनवाट अप्टिकल फाइबर ल्यायो

काठमाडौं, २९ असार । नेपालको दुरसञ्चार सेवालाई भारतीय परनिर्भरतावाट मुक्त गर्न नेपाल र चीनविच अप्टिकल फाइबर जडान सम्पन्न भएसंगै व्यापारीक कारोवारका लागि पनि काम अगाडि बढिरहेको छ। टेलिकमले व्यापारिक प्रयोजनका लागि साउनदेखि ल्याउने तयारी गरेको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन्। यसका लागि टेलिकमले चाइना टेलिकमसंग व्यापारिक सम्झौता समेत गरिसकेको छ। चाइना टेलिकम कर्पोरेसन लिमिटेडसंग सेवा खरिद र सेवा मर्मतका लागि संझौता भइसकेको  बैद्यले जानकारी दिइन्। यो संझौता संगसंगै नेपालमा चलिरहेको इनेटरनेट पनि सस्तो र कुनै पनि बेला भारत तर्फ फाइवरको समस्या भयो भने विकल्प हुनेछ। अब नेपाल टेलिकम र चीनको चाइना टेलिकमसंग अन्तरदेशिय प्रशारणलाइन विस्तार गर्नका लागि बाटो खुलेको छ भने चीनबाट नेपाल हुँदै दक्षिण एसियासंग छोटो दुरीमा अप्टिकल फाइबर मार्फत तीब्र गतिको इन्टरनेटसंग जोडिनका लागि सजिलो भएको छ।

नेकपा एमाले पर्यटन विभागको सचिवमा चन्द्र रिजाल

काठमाडौ, २९ असार। नेकपा एमाले पर्यटन प्रबद्र्धन विभागको सचिवमा वरिष्ठ पर्यटन व्वसायी चन्द्रप्रसाद रिजाल चयन भएका छन् । दुई दशकदेखि पर्यटन क्षेत्रमा निरन्तर क्रियाशिल रिजाल नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष एवं ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष हुन् । विद्यार्थी राजनीतिबाट माथि उठेका रिजाल यस अघि नेकपा एमाले उद्योग व्यवसाय विभागको सदस्य थिए । बुधबार नेकपा एमाले केन्द्रिय कार्यालयमा आयोजित विभागको पहिलो बैठकले रिजाललाई सर्वसम्मत सचिव चयन गरेको विभागका सदस्य कृष्णहरि खत्रीले जानकारी दिए । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकको अध्यक्षता विभागका प्रमुख सूर्य थापाले गरेका थिए । बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोखरेलले सरकारको समर्थन फिर्ता लिने र अविश्वास प्रस्तावको परिक्षण व्यवस्थापिका संसदबाटै गर्ने बताए । को हुन् चन्द्रप्रसाद रिजाल ? अनेरास्ववियुमा लामो समय राजनीति गरेका चन्द्रप्रसाद रिजाल, नेकपा एमाले उद्योग विभागको पूर्व सदस्य, एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दुई कार्यकाल सफल अध्यक्ष हुन् । त्यस्तै पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासका निम्ति स्थापीत छाता संगठन ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल ९टान० को ३७ औँ केन्द्रिय वार्षिक साधारणसभा सँगै सन् २०१५ देखि २०१७ सम्मका लागि उनी टानको अध्यक्ष छन् ।

कुमारी बैंकको विशेष साधारणसभामा चुनाव पक्का, एनसीसी बैंकसँग मर्ज नहुने सम्भावना बढ्यो

काठमाडौं, २९ असार । असार ३१ गते हुन लागेको कुमारी बैंकको विशेष साधारणसभामा मर्जको पक्ष र विपक्षमा मतदान हुने पक्का भएको छ । मर्जको विपक्षमा रहेका लगानीकर्ता जुट्दै गएका छन् भने मर्जको पक्षका प्रोक्सी (प्रतिनिधिपत्र) संकलन गर्नेहरु निराश भएका छन् । कुमारी बैंक, एनसीसी बैंक, इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंकबीच मर्जर प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा कुमारी बैंक मर्जर प्रक्रियाबाट बाहिरिने सम्भावना बढेर गएको जानकारहरुले बताएका छन् । कुमारी बाहेक अन्य पाँच वटा बैंकहरुले विशेष साधारणसभा सम्पन्न गरेका छन् र मर्जर प्रस्तावलाई सर्बसहमतिमा अनुमोदन गरेका छन् । अन्तिममा विशेष साधारणसभा गर्न लागेको कुमारी बैंकका सेयरधनीहरु भने उक्त मर्जको पक्ष र विपक्षमा विभाजित भएका छन् । एनसीसीसँगको मर्जरलाई सफल बनाउने पक्षमा काम गर्दै आएका कुमारी बैंकका एक जना सञ्चालक बुधबार निकै निराश रुपमा भेटिए । त्यसको कारण हो मर्जको पक्षमा आवश्यक प्रोक्सी संकलन नहुनु । कम्पनी कानुन अनुसार मर्ज सम्बन्धि विशेष प्रस्ताव साधारणसभाबाट पारित गर्न दुई तिहाई मत आवश्यक हुन्छ । हाल बैंकको चुक्ता पुँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ छ । मर्ज सम्बन्धि प्रस्ताव पारित गर्न कम्तिमा २ करोड २ लाख ४७ हजार कित्ता सेयरधनीले पक्षमा मतदान गर्नुपर्छ । तर हालसम्म मर्जको पक्षधरले करिव ७० लाख कित्ता सेयरधनीको प्रोक्सी संकलन गरेको छ । ‘कम्तिमा ६० प्रतिशत प्रोक्सी संकलन भएको भए मर्ज प्रस्तावको पक्षमा ७५ प्रतिशत खस्ने सम्भावना हुने थियो । तर अहिलेसम्म ३५ प्रतिशत प्रोक्सी पनि संकलन भएको छैन’–उनले भने । स्रोतका अनुसार बैंकको महत्वपूर्ण प्रवद्र्धक अमिरप्रताव राणा र उनको नातेदारहरुले प्रोक्सी दिन मानेका छैनन् । उक्त समूहसँग ४० देखि ४२ लाख कित्ता सेयर भएको बताईएको छ । उनीहरुले विपक्षमा मतदान गरेको अवस्थामा मर्ज विफल हुने स्रोतले बतायो । बैंकका सञ्चालक डा शोभाकान्त ढकाल भन्छन्–‘लगानीकर्ता अन्तिम निर्णयकर्ता हुन् । विशेष साधारणसभाले जे निर्णय गर्छ त्यसलाई सबैले मान्नैपर्छ ।’ राणा समूहले साधारणसभामा आफै उपस्थिति हुने भन्दै प्रोक्सी दिन नमानेको उनले बताए । कुमारी बैंकमा ४९ प्रतिशत सेयर सर्बसाधारणसँग भएकोले त्यसको ठूलो हिस्साले मर्जको विपक्षमा मत हाल्ने सम्भावना देखिएको छ । बैंकका एक लगानीकर्ताले भने–‘लगानीकर्ताले कसरी बढी कमाउन सकिन्छ भनेर हिसाव गरेका हुन्छन् । बोनस सेयर र हकप्रद सेयरको अपेक्षा गर्ने लगानीकर्ताले मर्जको विपक्षमा मत खसाल्नेछन् ।’ विपक्षीको मत एनसीसीसँग मर्जपछि अवसरभन्दा जोखिम बढी रहेको मर्जको विपक्षमा रहेका लगानीकर्ताको भनाई छ । ‘चालु आर्थिक वर्षमा कुमारी बैंकले ८० करोड रुपैयाँ भन्दा बढी खुद नाफा गर्दैछ । खरावकर्जाको असुली राम्रो भएकोले नाफा १ अर्ब नजिक पुग्ने सम्भावना छ । आर्थिक वर्ष २०७२/७३ को नाफाबाट २० देखि २५ प्रतिशत बोनस सेयर दिन सकिन्छ । आर्थिक वर्ष २०७३/७४ को नाफाबाट पनि बोनस सेयर दिन सकिन्छ । अपुक पुँजीको लागि हकप्रद सेयर जारी गर्न सकिन्छ’ ती लगानीकर्ता भन्छन् । उनी भन्छन्–सेयरको बजार मूल्य बढेको छ । हकप्रद सेयर जारी गर्दा सबै लगानीकर्ता खुशी हुन्छन्, लगानीकर्तालाई हरेक कोणबाट फाइदा छ । सेयर पुँजी ८ अर्ब रुपैयाँ पुर्याए पनि व्यापार विस्तार चुनौतिपूर्ण भएकोले मर्जमा जानु उत्तम हुने तर्क गर्दै आएका छन् । कुमारी बैंकका एकथरी प्रवद्र्धकहरु भने एनसीसीसँगको मर्ज तोडेर एभरेष्ट बैंकसँग मर्ज गर्ने पक्षमा लविङ गरिरहेको स्रोतले बतायो । अन्य बैंकलाई असर नपर्ने कुमारी बैंकको साधारणसभाले मर्जको विपक्षमा निर्णय लिएमा एनसीसीसँग ४ वटा विकास बैंक भने मर्ज हुनेछन् । ‘मर्ज प्रक्रियामा सहभागि मध्ये कुनै संस्थाको साधारणसभाले विपक्षमा निर्णय गरेको अवस्थामा मर्जको पक्षमा निर्णय गर्नेहरुसँग मर्ज अगाडि बढाउने निर्णयमा सबैले हस्ताक्षर गरेका छौं । कुमारी आएन भने पनि ५ वटा बैंकबीच मर्ज हुन्छ’ मर्जर कमिटीका एक सदस्यले भने । कुमारीमा विवाद देखिएकोले मर्जर कमिटिले गत साता यस्तो निर्णय गरेको उनले बताए ।

लेनोभोको चार नयाँ स्मार्टफोन नेपाली बजारमा, खरिदमा एक लाख रुपैयाँसम्मको स्क्रयाच कार्ड उपहार

काठमाडौं, २९ असार । लेनोभो स्मार्टफोनको नेपालका लागि आधिकारिक बितरक लाइफकमले नयाँ चार स्मार्टफोनका मोबाइलहरु नेपाली बजारमा ल्याएको  छ ।  सार्वजनिक गरिएका मोडलहरुमाः लेनोभो के थ्री नोट, लेनोभो के फोर नोट, लेनोभो भाइव पी वान एम, र लेनोभो भाइव सी हुन् । कम्पनीका अनुसार लेनोभो के फोर नोटमा ५.५ इन्चको फूल एचडी डिस्प्ले छ भने यसमा ३ जीबी र्याम, १६ जीबी रोम र ३,३०० एमएएच ब्याट्री रहेको छ । यो १.३ गीगाहर्जको अक्टा कोर प्रोससरद्धारा संचालन हुन्छ । यसले फोरजी एल टी ई नेटवर्क सपोर्ट गर्दछ । यसको मूख्य विशेषता भनेको यसको पछाडिको भागमा रहेको फिंगरप्रिन्ट रिडर हो । यो फोनमा ड्यूल एलईडी फ्ल्याशसहित १३ मेगापिक्सेलको फेस डिटेक्सन, अटोफोकस रियर क्यामरा छ भने ५ मेगापिक्सेलको फ्रन्ट सूटर रहेको छ । उपभोक्ताले यो मोडलको खरिदमा एउटा निशुल्क भी आर हेडसेट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । लेनोभो के फोर नोटमा रहेको थिएटर म्याक्स फीचरले प्रयोगकर्तालाई ठूलो स्क्रीनमा हेरेको जस्तै अनुभव प्रदान गर्दछ । यसमा लेनोभो भीआर टेक्नोलोजी प्रयोग गरिएको छ जसले सिनेम्याटिक एक्सपेरियन्स दिन्छ । यो स्मार्टफोनमा हेरिने मूभिज, गेम्सलाई अझ आकर्षक र रोचक अनुभव लिएर भिआर हेडसेटका साथ हेर्न सकिन्छ । त्यस्तै कम्पनीले सराउण्ड साउण्ड अडियो सिस्टम प्रयोग गरेको छ जसले यसलाई अझ आकर्षक बनाएको छ । अर्को फोन लेनोभो के थ्री नोटमा १.७ गीगाहर्जको प्रोसेसर छ भने यसमा २ जीबी र्याम र १६ जीबीको रोम रहेको छ । यो स्मार्टफोनले ५.५ इन्चको एफ एच डी डिस्प्ले, २९०० एमएएच ब्याट्री प्रदर्शन गर्दछ । यसमा ड्यूल एलईडी फ्ल्याश सहित १३ मेगापिक्सेलको अटोफोकस रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा छ । यसमा विश्वको पहिलो डल्बि एटमोस भएको ड्यूल स्पीकर रहेको छ । कम्पनीका अनुसार लेनोभो भाइव पी वान एममा ५ इन्चको आइृपीएस डिस्प्ले छ र यो २ जीबी र्याम र १६ जीबी रोम सहित आउँछ । यसमा ४ हजार एमएएचको शक्तिशाली ब्याट्री रहेको छ, जसले टूजीमा ३६ घण्टासम्मको टक टाइम र थ्रीजीमा १६ घण्टासम्मको टक टाइम दिन्छ । यो फोनमा ८ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ । लेनोभो भाइव सी १.१ गीगा हर्जको क्वाड कोर प्रोसेसर, र १ जीबी र्याम तथा ८ जीबी रोमसहित आउँछ । यो फोनमा २,३०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसले २६० घण्टासम्म निरन्तर फोन संचालन हुन्छ । यो स्मार्टफोनले फोरजी नेटवर्क पनि सपोर्ट गर्दछ भने यसमा ५ मेगापिक्सेलको रियर क्यामरा र २ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको कम्पनीले जनाएको छ । कम्पनीले जनाए अनुसार यी सबै मोडलहरुले एन्ड्रोयड ललीपप अपरेटिंग सफ्टवेयर सपोर्ट गर्दछ भने द्रूत र शक्तिशाली प्रोसेसर सहित आउँछन्, जसले ड्यूल स्ट्याण्डवाई सहितको ड्यूल सिम सपोर्ट गर्दछ । कम्पनीले लागू गरेको नयाँ मोडलको घोषणाका साथमा क्यास काउण्ट योजना पनि संचालनमा छ । लेनोभो क्यास काउण्ट योजना अन्तर्गत प्रत्येक लेनोभो स्मार्ट फोनको खरिदमा ग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् जुन स्क्रयाच गरि स्योर शट पाँच सय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म क्यास काउण्ट गर्ने अवसर पाउने कम्पनीले बताएको छ ।

पिजनका उत्पादनहरु अब नेपाली बजारमा

काठमाडौं, २९ असार । पिजन ब्राण्डले आफ्ना उत्पादनहरु अब नेपाली बजारमा ल्याएको छ । जापानमा निर्मित उक्त ब्राण्डका सामान आमा र शिशुहरुका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ । विगत ६० बर्षदेखि संसारका विभिन्न देशमा आफ्नो गुणस्तरका कारण पिजनका उत्पादन लोकप्रिय हुदै आएको कम्पनीले बताएको छ । त्यसलाई अब नेपाली उपभोक्ता समक्ष ल्याइएको छ । कम्पनीका अनुसार यी उत्पादनहरुमा दुधको वोतल, निप्पल, शिशु स्याहार तथा स्वास्थ्य सम्बन्धी सामग्रीहरु छन् । पिजन नेपालका प्रमुख शहरहरुमा उपलब्ध छन् । नेपालमा यसको आयात तथा बजारीकरणको दायित्व प्रसिद्घ व्यापारिक समूह गोल्छा अर्गनाइजेसन अन्तर्गत फष्ट स्टेप डिष्ट्रिव्यूटरले लिएको कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्सले ल्यायो टिभीएसका ५ नयाँ उत्पादन

काठमाडौं, २९ असार । जगदम्बा मोटर्स ‘टिभीएस मोटर कम्पनी’ को नेपालका लागि एक मात्र आधिकारीक बिक्रेताले आफ्ना ५ नयाँ उत्पादन नेपाली बजारमा ल्याएको छ । कम्पनीले बजारमा ल्याएको ५ उत्पादनहरुः नयाँ उटिभीएस वेगो, टिभीएस एक्सएल–१००, टिभीएस–डज, टिभीएस भिक्टर र टिभीएस किङ हुन् । कम्पनीले हालै मात्र आफ्नो वार्षिक वितरक सम्मेलन २०१६–२०१७ ‘टुगेदर वी ग्रो स्ट्रङ्गर’ नारासहित यहि १२ जुलाई देखि १४ जुलाईसम्म ३ दिन काठमाडौंको गोकर्ण फरेष्ट रिसोर्टमा सम्पन्न गरेको छ । सो कार्यक्रमकाबीच जगदम्बा मोटर्सले टिभीएसका उक्त उत्पादनहरुको अनावरण गरेको हो । सो अवसरमा कम्पनीले सहभागीहरुलाई अभिप्रेरक तालिम प्रदान गर्नुका साथै कम्पनीका आगामी योजना तथा व्यावसायीक गतिविधीका बारेमा अवगत गराएको थियो । छुट्टाछुट्टै उत्पादित ५ उत्पादनको छुट्टाछुट्टै विशेषता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘नयाँ टिभीएस वेगो’ कम्बी ब्रेकयुक्त र ‘टिभीएस एक्सएल–१००’ सिसी इञ्जिनयुक्त प्रतिलिटर ६९ किलोमिटर गुड्ने छ । त्यस्तै, ‘टिभीएस–डजमा’ मोबाइल चार्जको सुविधाका साथै ट्युबलेस टायरसहितको ड्यूरा लाइफ इञ्जिन जडान गरिएको छ । कम्पनीले कम खर्चमा आरामदायी यात्रा गर्न ‘टिभीएस भिक्टर’ र ‘टिभीएस किङ’ बजारमा ल्याएको छ । ६० वाटको हेडल्याम्प भएको टिभीएस भिक्टरको मुख्य विशेषता भनेको यसमा शक्तिशाली ३–भल्भ इञ्जिनका साथै ७६ किलोमिटर प्रतिलिटर माइलेजयुक्त ट्युबलेस टायरको जडान गरिएको छ । त्यस्तै, ३ पाङ्ग्रे ‘टिभीएस किङमा’ कारको जस्तो ड्यासबोर्ड भएको सेल्फ स्टार्टको सुबिधा रहेको छ । कार्यक्रम जगदम्बा मोटर्स प्रालिका प्रबन्ध निर्देशक शाहिल अग्रवालको संयोजकत्वमा एवम् कम्पनीका व्यवस्थापक औरो आशिष चौधरी, सहायक प्रबन्ध निर्देशक–सर्भिस एसपी कृष्ण कुमार तथा टिभीएस मोटर कम्पनी, भारतका सहायक प्रबन्ध निर्देशक अरुण कुमारको सहभागितामा सम्पन्न भएको थियो । टिभीएसले ग्राहकको आवश्यकतालाई ध्यानमा राखी टिभीएसका दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरु नेपालभर विभिन्न आकर्षक योजनाका साथमा बिक्री वितरण गर्दै आइरहेको छ ।