विकासन्युज

कालीगण्डकीको सतह बढेपछि सेतीवेणी बजारका ५० पसल डुबानमा

पर्वत, ११ साउन । सोमबार दिउँसोदेखि अविरल परेको वर्षाका कारण कालीगण्डकी नदीको सतह बढ्दा पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित सेतीवेणी बजार डुबानमा परेको छ । राति २ः३० बजेदेखि पानीको सतह ह्वात्तै बढ्दा बजार डुबानमा परेको स्थानीय प्रहरी चौकीले जनाएको छ । राति एक्कासि पानीको सतह बढेपछि स्याङ्जाको पिढीखोलामा पर्ने बजारका झन्डै ५० पसल डुबानमा परेको स्थानीय प्रहरी चौकीका प्रमुख चन्द्र न्यौपानेले जानकारी दिए । अहिले बजारवासी घर छाडेर माथि उक्लिएका छन् । उनीहरु रातभर खुला आकाशमुनि रात काट्न बाध्य भए । वर्षा नरोकिएकाले सतह पनि बढ्दै गएको र डुबानमा पर्ने घर पसलको सङ्ख्या पनि बढ्दै गएको छ । कतिपय व्यवसायीले पसलका सामान उपल्लो तलामा राख्न सफल भए पनि अधिकांश व्यवसायीका पसल भने डुबानमा परेका छन् । डुबानबाट भएको क्षतिको यकिन विवरण नआए पनि करोडौँको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । अहिलेसम्म उक्त क्षेत्रका बासिन्दालाई उद्धारका लागि कुनै पहल भएको छैन । पर्वतको शालिग्राम र स्याङ्जाको पिढीखोला–८ मा पर्ने सेतीवेणी बजारमा झन्डै २०० घर तथा पसल छन् । कालीगण्डकीमा पानीको सतह बढेर बजारसम्म आइपुगेपछि स्थानीयवासी रातभर जाग्राम बसेका थिए । स्थानीय प्रहरी चौकीका प्रमुख न्यौपानेका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । राति नै स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ जान अनुरोध गरिएपछि उनीहरु बस्तीभन्दा माथिको भिरमा गएर रात काट्न बाध्य भएका थिए । मुलुककै सबैभन्दा ठूलो कालीगण्डएकी ‘ए’ जलविद्युत् आयोजनाको बाँधका कारण बाढी आउँदा सेतीवेणीबजार डुबानको खतरामा पर्ने गरेको छ । बाढीका कारण विश्वकै ठूलो शालिग्राम शिला पनि डुबानमा परेको छ । छ वर्षअघि कालीगण्डकी र सेतीखोलो उर्लेर आउँदा तीन दर्जन घरपरिवार विस्थापित बनेका थिए । पवित्र शालिग्राम शिला र शालिग्राम क्षेत्रका सत्तल लगायत संरचना डुबेका छन् । शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिनसमेत पानीले पुरिएपछि शिला सङ्कटमा परेको बताइएको छ । अहिलेसम्म पर्वततर्फको भागमा रहेको बजारमा भने क्षति नपुगेको बताइएको छ । रासस  

सेञ्चुरी बैंक लिमिटेडले १०ः३ हकप्रद सेयर निष्कासन गर्दै, साउन १८ गते बुक क्लोज

काठमाडौं, ११ साउन । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चुँक्ता पूँजीको १० बराबर ३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले चुँक्ता पूँजी २ अर्ब ८५ करोड रुपैयाँको सो अनुपातमा सेयर निष्काशन गर्न लागेको हो । सो प्रयोजनको लागि बैंकको साउन १८ गते बुक क्लोज हुने बैंकले जनाएको छ । उक्त निर्णय गत पुस २२ गते बसेको बैंकको पांचौं वार्षिक साधारणसभाले पारित गरेको थियो । बैंकका अनुसार सेयरधनीले सेयरधनी दर्ता पुस्तिका बन्द भएको मिति( साउन १८) गते भन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा भएको कारोवारबाट शेयर खरिद गर्नुपर्ने छ । त्यसपछि शेयरधनी दर्ता पुस्तिका बन्द भएको मितिले ७ (सात) कार्य दिनसम्म शेयर नामसारी तथा दाखिल खारेजका लागि आवश्यक कागजात सहित यस बैंकको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट लि., काठमाडौं प्लाजा, काठमाडौंमा पेश गर्नु पर्ने बैंकले जनाएको छ । बैंकका अनुसार सो विवरणको आधारमा कायम भएका शेयरधनीले मात्र हकप्रद शेयरका लागि दरखास्त दिन पाउने छन् ।

राज्य कोषको चरम दुरुपयोग, अवकाश पाएका कर्मचारीलाई दिनुपर्ने भन्दा १ अर्ब रुपैयाँ बढी भुक्तानी

काठमाडौं, ११ साउन । निवृत्तिभरण व्यवस्थापन कार्यालयले सेवा निवृत्त (अवकाश पाएका) कर्मचारीको अभिलेख अद्यावधिक गर्न नसक्दा दिनु पर्नेभन्दा १ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी दिएको पाईएको छ । कार्यालयले सेवानिवृत्त कर्मचारीको अभिलेख अद्यावधिक गर्ने क्रममा बढी भुक्तान भएको पत्ता लागेका कार्यालयका प्रमुख शिवनाथ पौडेलले बताए । ‘सेवानिवृत्तले पाउनेभन्दा बढी रकम भुक्तान भएका पेन्सनर हजारौंको सङ्ख्यामा छन्,’ उनले भने, ‘यो सङ्ख्या र रकम अझै बढ्न सक्छ ।’ कार्यालयले सेवानिवृत्त कर्मचारीको तथ्याङ्क प्रशोधन तथा व्यवस्थापन गर्ने क्रममा सो रकम बढी भुक्तान भएको फेला पारेको हो । ‘सेवानिवृत्त कर्मचारी एवम् उनीहरुसँग आश्रित परिवारलाई भुक्तान गर्नुपर्ने रकमभन्दा बढी भुक्तान भएको हो,’ पौडेलले थपे ‘बैङ्कले भुक्तान गरेको रकम र पाउनुपर्ने पट्टामा फरक देखिएको छ ।’ बढी रकम भुक्तान भएका सेवानिवृत्तको पेन्सनहरुको पेन्सन हाललाई रोक्का गरी अगाडि बढी भुक्तान भएको रकम असुल उपर भएपछिमात्र उनीलायई पेन्सनको पुनः निरन्तरता दिइने कार्यालयले बताइएको छ । कार्यालयका अनुसार सेवानिवृत्त कर्मचारीको हिसाब समय समयमा जाँच नहुँदा बढी रकम भुक्तान हुन गएको हो । उपत्यकामा मात्र १० हजार सेवानिवृत्त कर्मचारीको हिसाब मिलेको देखिदैन । कार्यालयले अनलाइन प्रणालीमार्पmत पेन्सन उपलब्ध गराउँदा सो अभिलेख नमिलेको पत्ता लागेको हो । गत असोजदेखि कार्यालयले उपत्यकामा अनलाइन प्रणाली शुरू गरेको हो भने देशभरिकै तथ्याङ्क अनलाइनमार्फत अद्यावधि गर्ने काम अन्तिम चरणमा पुगेको पौडेलले बताए । कार्यालयसँग कहिलेदेखि बढी रकम भुक्तान भएको स्पष्ट अभिलेख छैन । सेवानिवृत्तहरुमध्ये कतिपयको त मृत्यु भइसकेको पनि हुनसक्ने कार्यालयको भनाइ छ । यदि यस्तै हो भने राज्य कोषको सो रकम डुब्ने निश्चित छ । नेपाल बैङ्क लिमिटेड र राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कार्यालयले पेन्सन उपलब्ध गराउँदै आएको छ । गत आवमै देशभरि पेन्सन अनलाइन प्रणालीमा लैजाने कार्यालयको योजना भएपनि केही ढिला भएपनि साउनसम्म सकिने कार्यालयले बताएको छ । सेवानिवृत्त कर्मचारीमध्ये २५ प्रतिशतलाई काठमाडौंबाट पेन्सन भुक्तान हुने गरेको छ । हाल नेपालमा २ लाख १३ हजार सेवानिवृत्त कर्मचारी रहेका छन् । सरकारले चालू आव २०७३/७४ मा सेवानिवृत्त कर्मचारीका लागि रू. ४२ अर्ब १० करोड बजेट विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब सेवानिवृत्त निजामती कर्मचारी, सेना, प्रहरीको लागि हो भने रू. ७ अर्ब १० करोड शिक्षकका लागि भएको कार्यालयले जानकारी दिएको छ । गत आव २०७२/७३ मा सरकारले यसका लागि रू. ४१ अर्ब ६ करोड विनियोजन गरेको छ । सो रकममध्ये रू. ३५ अर्ब निजामती कर्मचारी, सेना तथा प्रहरीका लागि हो भने बाँकी रकम शिक्षकका लागि भएको कार्यालयले बताएको छ । सरकारले एकातिर सेवानिवृत्त कर्मचारीका लागि पेन्सन फण्डको व्यवस्था गर्न नसक्दा विकास निर्माणमा खर्चिनुपर्ने ठूलो रकम पेन्सनकै लागि खर्च भइरहेको छ भने अर्कोतिर दिनुपर्नेभन्दा बढी रकम भुक्तान हुनुले निवृत्तिभरण वितरणमा चरम लापरबाही देखिएको छ ।

एनआरएनलाई एक हजार घर बनाउन स्विटजरल्याण्डबाट ९३ लाख सहयोग

काठमाडौं, ११ साउन । भूकम्प पिडितहरुका लागि एक हजार घर निर्माण गर्ने अभियानमा जुटेको गैर आवासिय नेपाली संघ(एनआरएन)ले स्विजरल्याण्डबाट ९३ लाख सहयोग प्राप्त गरेको छ । गोर्खाको उत्तरी गाउँ लाप्राकमा बस्ती बनाउँन सरकारसंग सम्झौता गरिसकेको एनआरएनएलाई घर निर्माणका लागि स्विटजरल्याण्डबाट सो मात्रामा सहयोग प्राप्त भएको हो । स्वीस– नेपाली भूकम्प पुननिर्माण अभियानले संकलन गरेको ७५ हजार ६ सय ८२ स्वीस फ्रयाङकस् र स्वीस–नेपाली समाजको १० हजार स्वीस फ्रर्यााङकस् गरी करिब ९३ लाख रुपैया  एनआरएनको पुनर्निमाण अभियानमा सहयोग गर्ने घोषणा भएको हो । गैरआबासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष शेष घले र उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा जुरिखमा आयोजित एक कार्यक्रमबीच रकम प्रदान गर्ने घोषणा भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष घलेले गोर्खाको उत्तरी गाउ लाप्राकलाई नयां स्थानमा सारेर एकीकृत नमुना बस्ती बनाउन नेपाल सरकारसंग संघले सम्झौता गरेपछिको प्रगती बिवरण बारे जानकारी गराएका थिए । उनले सेप्टम्बरसम्म योजनाको मास्टर प्लान तयार भई सक्ने बताए । संघले प्रत्येक घर बनाउन करिब ३ लाख ५० हजार रुपैयांको खर्च अनुमान गरेको छ ।

एनएमबी माइक्रोफाइनान्सको नाफा तीन करोड

 काठमाडौं, ११ साउन । एनएमबी माइक्रोफाइनान्सको  नाफा तीन करोड पुगेको छ । एनएमबी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७२/७३ मा २ करोड ९८ लाख नाफा कमाएको हो । यो नाफा कम्पनीले अघिल्लो आर्थिक वर्षमा कमाएको भन्दा एक करोड ९१ लाखले बढी हो । कम्पनीले आर्थिक वर्ष २०७१/७२ मा जम्मा १ करोड ७ लाख नाफा कमाएकोे थियो । ७ करोड ४१ लाख चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा तीन करोड रहेको छ । १ दशमलब १५ प्रतिशत खराब कर्जा रहेको एनएमबीको प्रति सेयर ६४ रुपैंया ८७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ भने २३४ रुपैंयाँ ३२ पैसा रहेको छ ।

टानको विवाद सहतमा, मनपरी चन्दा बाँडेको विषयमा अध्यक्ष र कोषाध्यक्षबीच आरोप प्रत्यारोप

काठमाडौं, ११ साउन । पर्वतीय तथा पदयात्रा क्षेत्रको विकासमा स्थापित टे«किङ एजेन्सिज एसोसिएशन अफ् नेपाल (टान)मा भित्रको विवाद वाहिर आएको छ । टानका अध्यक्ष चन्द्र रिजाल र कोषाध्यक्ष लिलाबल्लभ दाहालबीच सार्वजनिक मञ्चमा नै एकले अर्कोलाई बाघ र बाच्छोको संज्ञा दिएका छन् । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा बोल्दै टानका अध्यक्ष चन्द्र रिजालले वर्तमान कार्यसमितिले व्यवसायीको हित हुने कार्यक्रमहरु अगाडि बढाउन खोजे पनि कार्यसमिति दुई खेमामा विभाजित हुँदा झन् समस्या निम्तिएको स्विकार गरे । कार्यसमिति मार्फत बहुमतले पारित गरेका कार्यक्रममा समेत फरक मत राखि कोषाध्यक्षले बजेट निकासामा अवरोध गरेको बताए । कोषाध्यक्षका कै कारण टानका धेरै कार्यक्रमहरु बीचैमा अलपत्र परेको अध्यक्ष रिजालले बताए । उनले भने–‘कोषाध्यक्षले बिधिसम्मत भुक्तानी गर्नुपर्ने विषयहरुका चेकमा हस्ताक्षेर नगर्दा र हरेक कार्यक्रमहरुमा प्रतिपक्षीको जस्तो भूमिका निर्वाह गरिदिंदा टानले आफ्ना नियमित गतिविधि चलाउन सकेको छैन ।’ नियोजित रुपमा संस्थालाई संकटमा पार्ने काम भएकाले कोषाध्यक्ष दाहाललाई स्पष्टीकरण सोध्न कार्यसमिति बाध्य भएको उनको भनाई थियो । कार्यक्रममा टानका कोषाध्यक्ष लिलाबल्लभ दाहालले भने कार्यसमितिमा आफूलाई एक्लो पारी बाघले बाच्छोलाई लखेटेको झैं गरि लेखेटेको भन्दै आफूले पनि बाच्छोको सिंग चलाएको भन्ने जवाफ दिए । उनले टानलाई गलत बाटोमा जान नदिन र अनावश्यक चन्दा दिनबाट रोक्ने उदेश्यका साथ सबै चेकमा हस्ताक्षर नगरिएको स्पष्ट पारे । दाहालले प्रति प्रश्न गर्दै भने, ‘चेकमा हस्ताक्षेर नै नगरेको भए अहिलेसम्म टान कसरी चल्यो ?’ संस्थामा बिधिसम्मत काम गरिरहेको र आगामि दिनमा पनि बिधिसम्मत बाटोमा हिंड्न आफु तत्पर रहेको उनको भनाई थियो । त्यस्तै टानका महासचिव कर्ण लामाले पनि कोषाध्यक्षकै कारण टान गतिहीन बनेको आरोप लगाए । उनले कोषाध्यक्षले फोनै नउठाउने, महत्वपूर्ण भनेका बैठकहरुमा अनुपस्थित हुने, भित्र अर्कै कुरा गर्ने–बाहिर अर्कै कुरा गर्ने र संस्थालाई समय नै नदिने गरेको र यसरी संस्था नचल्ने बताए । उनले पनि बिधि नियम अन्तर्गत नै संस्थामा सबैले काम गर्नुपर्ने स्पष्ट पारे । कार्यक्रममा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले टिम्स रकम निकासामा ठूलो आन्तरिक समस्याहरु देखिएको बताउँदै यसलाई तत्काल समाधान गर्नुपर्ने बताए । उनले टानको विवाद सतहमा छताछुल्ल हुनु दुःखद् भएको भन्दै समस्याको समाधानमा आफुहरुले सक्रिय भूमिका निर्वाह गरि विवादरहित टान बनाउन पहल गर्ने प्रतिबद्धता जनाए । टानका पूर्व अध्यक्ष ज्योति अधिकारीले विवाद सतहमा पुग्नु राम्रो नहुने भन्दै आन्तरिक रुपमै समस्याको समाधान खोज्न कार्यसमितिलाई सुझाब दिए । टानमा जानेहरुले ईश्यू, क्वालिटी, इन्प्mास्टक्चचर आदि कुरामा बहस गर्ने भन्दै अध्यक्ष र कोषाध्यक्ष दुबैलाई संयमता अपनाउन र व्यवसायीक हितमा सहकार्य गर्न आग्रह गरे । टानका अर्का पूर्व अध्यक्ष दीपक महतले कार्यसमिति विधान सम्मत चल्नु पर्नेमा जोड दिए । कोषाध्यक्ष एक्लै छ भनेर पेल्न÷हेप्न नहुने, कर्मचारी माथि कसैले पनि फरक दृष्टी राख्न नहुनेमा उनको जोड थियो । उनले टान भित्रका विवादलाई सामाजिक संजालमा ल्याएर व्यवसाय कै बद्नामी गर्ने काम भएको भन्दै वर्तमान कार्यसमितिको आलोचना गरे । पर्यटन पत्रकार संघ (जाट–नेपाल)ले आयोजना गरेको ‘जाट–नेपाल फेस टू फेस’ कार्यक्रममा टानका बहुसंख्यक सदस्य तथा निवर्तमान कार्यसमिति, टानका पूर्व अध्यक्षहरु र ट्रेकिङ व्यवसायीहरुले टान विवादलाई आपसी छलफलबाट समाधान गर्न सुझाव दिएका छन् । सहभागीहरुले टानका आन्तरिक समस्यालाई सञ्चारमाध्यममा ल्याएर नाङ्गो बनाउनु भन्दा आफैं–आफैं बीच चित्त नबुझेका विषयलाई गहन छलफल गरि पर्वतीय तथा पदयात्रा क्षेत्रको विकास र प्रबद्र्धनमा एक आग्रह गरेको छन् ।

गुडविल फाइनान्सको नाफा ९ करोडले बढ्यो

काठमाडौं, ११ साउन । गुडविल फाइनान्स लिमिटेडले आपर्थक वर्ष २०७२/७३ मा १३ करोड १४ लाख नाफा कमाएको छ । यो नाफा गुडविलले अघिल्लो आर्थिक वर्षमा कमाएको नाफा भन्दा ९ करोड ९ लाखले बढि हो । फाइनान्सले अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा जम्मा ४ करोड ५ लाख मात्रै नाफा कमाउन सफल भएको थियो । ३६ करोड चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोषमा १८ करोड रुपैंयाँ रहेको छ । गुडविललले ४१ करोड व्याज आम्दानी गरेर २३ करोड व्याज खर्च गरेको छ । २ दशमलब शुन्य ५ प्रतिशत खराब कर्जा रहेको कम्पनीले १ करोड राइटब्याकबाट आम्दानी गरेको देखिन्छ । गुडविलको प्रति सेयर आम्दानी ३६ रुपैंयाँ २२ पैसा छ भने प्रति सेयर नेटवर्थ १५२ रुपैंयाँ १५ पैसा रहेको छ ।

मेगा रेमिटबाट पठाएको रकम बुमबाट भुक्तानी हुन

काठमाडौं, ११ साउन । मेगा रेमिटेन्स प्रालीले बुम रेमिटेन्स प्रालीलाई सुपर एजेन्ट नियुक्त गरेको छ । मेघा ईन्टरनेसनल मनि ट्रान्सफर मार्फत नेपालीले विदेशबाट पठाएको रकम बूम रेमिटले नेपालमा भुक्तानी गर्नेछ । बुम रेमिटको ७५ वटै जिल्लामा १५०० वटा भन्दा बढि सब–ऐजेन्टहरु रहेका छन् । मेघा ईन्टरनेसनल मनि ट्रान्सफरले युरोपबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बूम रेमिट्यान्सले खाडी मुलुकबाट रेमिटेन्सको कारोवार गर्दै आएको छ । बुमले चाँडै मलेसीया, कोरीया, जापान, अस्टे«लिया, युरोपबाट समेत कारोवार सुरु गर्ने जनाएको छ । उक्त सम्झौतामा बूम रेमिट्यान्सको तर्फबाट प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र मेघा ईन्टरनेसनल मनि ट्रान्सफरका अघ्यक्ष शन्तोस अधिकारीले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए ।