विकासन्युज

मोवाइलका कारण इन्टरनेट चलाउनेको संख्या सवा करोड भन्दा बढी

काठमाडौं, ३ भदौ । मोवाइलबाट प्रयोगकर्ताको संख्या बढ्दै गएका कारण नेपालमा इन्टनरेको प्रयोग गर्ने पनि बढ्दै गएका छन् । पछिल्लो समय मोवाइ सेवा प्रदायकले दिएको सुविधाको प्रयोग गर्दे मोवाइलबाटै इन्टरनेट चलाउँनेको संख्या एक करोड ३५ लाख ३९ हजार पुगेको नेपाल दूरसंचार प्राधिकरणले जारी गरेको तथ्यांकमा उल्लेख छ । प्राधिकरणले आफ्नो वेवसाइटमा राखेको म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (एमआईएस) प्रतिवेदनका अनुसार गएको बैशाख महिनासम्ममा विभिन्न माध्यमबाट इन्टरनेट प्रयोगकर्ताको संख्या देखिएको हो । प्राधिकरणले विभिन्न ६ वटा सेवाप्रदायकबाट दिइएको यस्तो सेवा नेपालीको जनसंख्याकै अनुपातमा हेर्ने हो भने पनि ५० प्रतिशतसम्म पुगेको प्रधिकरणले जानकारी दिएको छ । प्राधिकरणले २०७३ बैशाखसम्मको तथ्यांक राखेर सार्वजनिक गरेको यस्तो प्रतिवदेन अनुसार सरकारी स्वामित्वका नेपाल टेलिकमका ७४ लाख २९ हजार इटनरनेट अर्थात डाटा प्रयोगकर्ता छन् । एनसेको ५७ लाख ९० हजार, इन्टरनेट सेवा प्रदायक (आईएसपी)को एक लाख ५३ हजार, स्मार्ट टेलिकमको एक लाख र यूटीएलका ६३ हजार डाटा प्रयोगकर्ता रहेको तथ्यांकले देखाएको छ । टेलिकमको बजार हिस्सा ५४ प्रतिशत नेपालमा अहिले दुरसंचार सेवामा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच तीब्र प्रतिस्पर्धा चलेको छ । यो प्रतिस्पर्धामा अहिलेसम्म नेपाल टेलिकम नै अग्रणी स्थानमा रहेको छ । टेलिकमको अहिलेको बजार हिस्सा ५४ दशमलव ८७ प्रतिशत रहेको छ भने एनसेलको ४२ दशमलव ४७ प्रतिशत रहेको छ । यसबाहेक आईएसपीको एक दशमलव १३, यूटीएलको ० दशमलव ४७, स्मार्ट ० दशमलव ७६ प्रतिशतको मात्रै इन्टरेनटको बजार हिस्सा रहेको छ । पछिल्लो सयम शहरी क्षेत्रका प्रयोगकर्ताले एउटै मोवाइलको सेटमा दुईतीनवटा सम्म सीमकार्ड राखेर डाटा चलाउने गरेका छन् । यसरी दोहोरो सिमकार्डको प्रयोग गर्नेका कारण नियामक निकायले वास्तविक तथ्यांक भने अझै सार्वजनिक गर्न सकेको छैन । ग्रामिण क्षेत्रमा पहुँच विस्तार हुन नसक्नु र सहरी क्षेत्रमा भने बढ्दै जानुले पनि मोवाइलबाट इन्टरनेट चलाउनेको संख्या ह्वात्तै बढेको देखिएको पनि प्राधिकरणको बुझाई छ । नेपालमा डेटा सेवाको पहुँच उल्लेख्य मात्रामा भएको छ तर तथ्यांक भेरिफाइ तथा ग्रामीण भेगसम्म सेवा विस्तारमा जोड दिनुपर्ने प्राधिकरणका सूचना तथा प्राविधिक विज्ञ मनोहर भट्टर्राइ बताउँछन । उनका अनुसार सहरी क्षेत्रमा अधिकांशले दोहोरो मोबाइल प्रयोग गर्ने प्रवृत्ति बढेकाले ग्राहक बढे पनि दुर्गम ग्रामीण क्षेत्रमा मोबाइल सेवा पुग्न अझै बाँकी छ । प्राधिकरणका अनुसार अन्तरनेटवर्क कल गर्दा आफ्नै नेवटर्कभन्दा बढी शुल्क लाग्नु तथा गुणस्तरको समस्याले ग्राहक दोहोरो मोबाइल प्रयोग गर्न बाध्य भएका हुन । सेवाप्रदाकयले जवसम्म गुणस्तरीय सेवा प्रदान गर्न सक्दैनन्, तवसम्म प्रयोगकर्ता दोहोरो संख्यामा आउने भइरहन्छ । प्राधिकरणले पनि सेवा प्रदायकले पठाएको तथ्यांकलाई आधार मान्ने भएकाले समय समयमा अनुगमन गरी वास्तविक ग्राहकको अवस्थाबारे नियमन निकायले जानकारी लिने संयन्त्र बनाउनुपर्ने हुन्छ ।

गोर्खाज फाइनान्सको नाफा २७ करोड, खराब कर्जा अझै १३ प्रतिशत

काठमाडौं, ३ भदौ । गोर्खाज फाइनान्सले गत आर्थिक वर्षमा २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको छ । सञ्चालन नाफा ९३ लाख रुपैयाँ मात्र भएको यस फाइनान्सले पुराना कर्जा असुली तथा सम्पत्ति बिक्री गरी २७ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको हो । यस फाइनान्समा खराब कर्जा अझै करिव १३ प्रतिशत छ । समस्याग्रस्त गोखा विकास बैंक र काठमाडौं फाइनान्सबीच मर्ज भई बनेको यस वित्त कम्पनीको सेयर पुँजी ५७ करोड ८६ लाख रुपैयाँ छ । यस फाइनान्सको जगेडा तथा कोषमा २१ करोड ३२ लाख रुपैयाँ छ । यस फाइनान्समा सर्वसाधारणको निक्षेप ३ अर्ब २ करोड रुपैयाँ छ भने फाइनान्सले २ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

हिलियमबाट चल्ने विश्वकै ठूलो जहाजलाई बेलायतले पहिलो उडान भरायो

लण्डनः विश्वकै सबैभन्दा ठूलो मानिएको हिलियमबाट चल्ने एयरल्यान्डर१० जहाजले अन्ततः आफ्नो पहिलो उडान भर्न सफल भएको छ । ४ दिन अघि प्राविधिक खराबीका कारण यो जहाजको पहिलो उडान रद्ध गरिएको थियो । यो जहाजले मध्य बेलायतको कार्डिङ्गटन विमानस्थलबाट पहिलो उडान भरेको हो । ८६ वर्षअघि यस्तै एक एयरसिपले उडान भर्न सफल भएको थियो । तर त्यो जहाज फ्रान्समा दुर्घटना हुँदा त्यसमा सवार ४८ जनाको ज्यान पनि गएको थियो । यो जहाज अमेरिकन सैनिकका लागि ठूला ठूला गाडी र अन्य युद्धक सामाग्री ढुवानीका लागि निर्माण गरिएको हो । यो जहाजलाई एयरल्यान्डरलाई अमेरिकन सेनाका लागि हाइब्रिड एयर व्हीकल्स (एचएभी) ले बनाएको हो । ९२ मिटर लामो यस एयरक्राफ्टलाई कार्गो जहाजसरह प्रयोग गर्न सकिन्छ । एचएभीले एयरल्यान्डरलाई अहिलेका हवाईजहाजहरुमध्ये सबैभन्दा ठूलो भएको बताएको छ । ब्रिटिश सरकारले यस प्रोजेक्टलाई सफल बनाउन ३७ लाख डलर मद्धत गरेको थियो। यसभन्दाअघि कार्डिङ्गट विमानस्थलबाटै ‘आर१०१’ एयरसिपले  अक्टोबर १९३० मा उडान भरेको थियो । तर फ्रान्समा यो जहाज दुर्घटनामा परेको थियो । यो जहाज दुर्घटनामा पर्दा ४८ जना मासिनको ज्यान पनि गएको थियो । यो दुर्घटनापछि एयरसिपको निर्माणकार्यलाई रोकिएको थियो । एचए‌वीका अनुसार एयरल्यान्डर १४८ किलोमिटर प्रतिघन्टाको गतिमा ४८८० मिटर (६ हजार फिट) को उचाईसम्म उड्न सक्नेछ । यसमा हिलियम भरिएको छ । यो रिमोट कन्ट्रोलबाट २ हप्तासम्म र बिना रिमोट कन्ट्रोल ५ दिनसम्म हावामा रहन सक्ने कम्पनीले जनाएको छ। एचएवीका सीईओ स्टेफन म्याक्ग्लेनका अनुसार यो जहाज हेलिकोप्टर प्रविधिको तुलनामा धेरै सस्तो र वातावरणमैत्री पनि रहेको छ । यसलाई बेलायतको ठूलो आविष्कार पनि भन्न सकिन्छ । यो एक किसिमले जहाजहरुको एउटै सम्मिश्रण पनि हो ।

गुणस्तर तथा नापतौल विभागले नविकरण नभएका चार उद्योगका गुणस्तर चिन्ह खारेज

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले समयमा नविकरण नभएका चार ठूला उद्योगका गुणस्तर चिन्हको इजाजत रद्ध गरेको छ। विभागका अनुसार समयमा नविकरण नभएर रद्ध भएका उद्योगमा जय मंगलम सिमेन्ट, जेबिएस इन्ड्रस्ट्रिज, काठमाडौं स्टिल प्रालि र सूर्य एग्रो रहेका छन् । विभागकाले तोकिएको समयभित्र नविकरण गर्न नआएकोले इजाजतपत्र खारेज गरिएको बताउँदै काठमाडौं स्टिल र जय मंगलमको सिमेन्ट उत्पादनमा रोक लगाएको जानाएको छ। एक आर्थिक वर्षभित्र राजस्व तिरेर गुणस्तर चिन्हको नविकरण गर्नुपर्ने प्रावधान छ । तर यी चार कम्पनीले आर्थिक वर्षभित्र नविकरण गरेनन् । यी कम्पनीहरुले अब नयाँ गुणस्तर चिन्ह लिनको लागि आवेदन दिनुपर्छ । चार वटामध्ये दुर्इवटा निर्माण समाग्रीसँग सम्वन्धित छन् भने दुर्इवटा खाद्य उद्योग हुन् । जय मंगलम सिमेन्टले २०५८ साल असोज २९ गते एनएस चिन्ह लिएको थियो । यो उद्योगले ओपिसि सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योग बाँकेमा अवस्थित छ । फलामे डन्डी उत्पादन गर्दै आएको काठमाडौं स्टिल नवलपरासीमा छ ।

जग्गाधनी महिलाको सङ्ख्या २६ प्रतिशत

रोल्पा, २ भदौ । जिल्ला मालपोत कार्यालयबाट आर्थिक वर्ष २०७२/७३ मा पारित भएका रजिस्ट्रेसनमध्ये करिब २६ प्रतिशत महिलाको नाममा भएको देखिएको छ । आव २०७२/७३ मा कुल पारित रजिस्ट्रेसन चार हजार १३६ मध्ये एक हजार ९४ वटा महिलाको नाममा भएको छ । यस्तै आव २०७१/७२ मा पारित कुल चार हजार ३३१ रजिस्ट्रेसनमध्ये एक हजार १४५ रजिस्ट्रेसन महिलाको नाममा भएको कार्यालयका नासु प्रदीप घर्तिमगरले जानकारी दिए । विगतमा घर घडेरी तथा जग्गा मालपोत कार्यालयबाट रजिस्ट्रेसन गर्दा पुरुषको नाममा मात्रै गराउने चलन हुँदा अचल सम्पत्तिमा महिलाको पहुुँच निकै कम देखिएको छ । महिलाको नाममा समेत जग्गा रजिस्ट्रेसन हुनुपर्ने माग उठ्न थालेपछि सरकारले नीति तथा कार्यक्रममार्फत महिलाको नाममा जग्गा रजिस्ट्रेसन गर्दा २५ प्रतिशत राजस्व छुट दिने व्यवस्था गरेका कारण जग्गा खरिद गर्दा महिलाको नाममा जग्गा पास गर्ने क्रम बढेको हो । यसैगरी आव २०७१/७२ मा दलित र अपाङ्गको नाममा रजिस्ट्रेसनको अवस्था शून्य देखिएको छ भने आव २०७२/७३ मा दलितको नाममा पाँच तथा अपाङ्गको नाममा चारवटा रजिस्ट्रेसन भएका छन् । मालपोत कार्यालयले आव २०७२/७३ मा अंशबन्डा ४१०, सट्टापट्टा दुई, अंशभर्पाइ २६२, शेषपछिको बकसपत्र २८, हालैको बकसपत्र १४३, दृष्टिबन्धक २८८ देखिएको छ । यसैगरी नामसारी ६७९, दानपत्र रजिस्ट्रेसन २४ वटा गरेको जनाएको छ । रजिस्ट्रेसनबापत आव २०७२/७३ मा रु एक करोड ६९ लाख ९२ हजार राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा एक करोड ६० लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको बताइएको छ । रासस

विद्युत् प्राधिकरणका आयोजना समस्यामा, बर्सेनि आर्थिक दायित्व बढ्दै

काठमाडौं, २ भदौ । नेपाल विद्युत् प्राधिकरणले तीन वर्षदेखि चमेलिया, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली ‘थ्री’ लगायतका आयोजना निर्माणको अन्तिमचरणमा पुगेको बताउँदै आएको छ । तर ती आयोजना कहिले र कति लागतमा सम्पन्न हुने भन्ने बारेमा हालसम्म आफ्नो धारणा सार्वजनिक गरेको छैन । प्राधिकरणको दायित्व बढ्दै गएको छ । ऊर्जा सङ्कटका कारण मुलुकमा दैनिक समस्या बढ्दै गएका छन् । दार्चुलाको शिखर गाविस– ४ बलाँचमा निर्माणाधिन ३२ मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाको सिभिलतर्फ ९६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । तर खुम्चिएको सुरुङको काम सम्पन्न गर्नेतर्फ ठेकेदार कम्पनीले ध्यान नदिँदा समस्या पैदा भएको छ । इलेक्ट्रो मेकानिक, हाईड्रोमेकानिकल र प्रसारण लाइन निर्माणको कार्य सम्पन्न हुन लाग्दा पनि ८४३ मिटर लामो सुरुङ खुम्चिएको विषयमा प्राधिकरण सञ्चालक समितिले तत्काल प्रक्रिया अगाडि बढाउन ठेकेदार कम्पनीलाई आग्रह गरे पनि भुक्तानीको विषयमा कुरा मिल्न नसक्दा समस्या कायमै छ । हेडरेस सुरुङसम्बन्धी देखिएको विवाद निरुपण गरेको खण्डमा सन् २०१७ जुनसम्म उक्त आयोजना सम्पन्न हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले बताउछन् । यस्तै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रोको सिभिल संरचनाको ९५ प्रतिशत, उपकरण ढुवानी ७० प्रतिशत, इलेक्ट्रोमेकानिकल, हाईड्रोमकोनिकलतर्फ ३७ प्रतिशत प्रगति देखिएको छ । सो आयोजना सन् २०१६ डिसेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिए पनि कार्यप्रगति सुस्त रहेकोले तोकिएको समयमा सम्पन्न हुनेमा ढुक्क हुन सकिने अवस्था छैन । यस्तै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘थ्री ए’को भूकम्पका कारण पाँच किलोमिटर पहुँचमार्गमा पहिरो गएकोकोले निर्माणकार्य रोकिएको छ । संसदीय समितिले आयोजना तत्काल अगाडि बढाउन निर्देशन दिए पनि प्राधिकरणले त्यसतर्फ चासो देखाएको छैन । यस्तै ३२ मेगावाट क्षमताको राहुघाट आयोजनालाई ४० मेगावाट क्षमतामा अभिवृद्धि गरेर अगाडि बढाउने लक्ष्य राखिएको छ । आयोजना अगाडि बढाउन ठेकेदार छनोट प्रक्रिया सुरु भएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । प्राधिकरणको घाटा बढ्दै प्राधिकरणले सार्वजनिक गरेको वित्तीय प्रतिवेदनअनुसार विद्युत्को खरिद मूल्यभन्दा बिक्री मूल्य कम भएकाले आव २०७२/७३ मा अनुमानित ११ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको छ । यस्तै प्राधिकरणले भारतलाई विद्युत् आयातबापत आव २०७२/७३ मा रु १६ अर्ब ५० करोड भुक्तानी गरेको छ । ३२ अर्ब रुपैयाँ आम्दानी गर्दा भारतलाई तिर्ने रकम प्राधिकरणको कुल आम्दानीको ५१.५६ प्रतिशत हुन आउँछ । प्राधिकरणको सञ्चित घाटा रु ३६ अर्ब पुगेको छ भने चुहावट नियन्त्रण गर्ने भनिए पनि हाल २५।७८ प्रतिशत कायम रहेको छ । विद्युत् खरिद गर्दा स्वदेश तथा विदेशमा सम्पूर्ण रुपमा रु २४ अर्ब ५० करोड भुक्तानी दिनुपरेको छ । भारतबाट हाल ३१५ मेगावाट विद्युत् आयात गरिँदै आएको छ । आगामी वर्ष करिब ६०० मेगावाट विद्युत् आयात गर्दा कुल आम्दानीको ७० प्रतिशतभन्दा बढी हिस्सा भारतीय कम्पनीलाई नै बुझाउनुपर्नेछ । विद्युत् महसुल निर्धारण आयोगको सिफारिसमा कुल १९ प्रतिशत विद्युत् महसुल बढाउँदा प्राधिकरणले थप रु पाँच अर्ब आम्दानी गर्ने देखिएको छ । यस्तै प्राधिकरणको दीर्घकालीन ऋण रु चार अर्ब ८९ करोड ६३ लाख पुगेको छ । सञ्चालन खर्चतर्फ उत्पादनमा रु एक अर्ब ४६ करोड ३५ लाख, प्रसारणतर्फ रु ६८ करोड ४३ लाख तथा वितरणतर्फ रु छ अर्ब २६ करोड ७४ लाख र प्रशासनतर्फ रु एक अर्ब ४० करोड ९० लाख पुगेको छ । यसले प्राधिकरणको आर्थिक अवस्थालाई समस्यामा पारेको छ । सरकारले २०६८ सालमा प्राधिकरणको रु २७ अर्ब सञ्चित नोक्सानको दायित्व लिए पनि चार वर्षमै नोक्सानी रु ३६ अर्ब पुग्दा व्यवस्थापकीय पाटो पूर्णरुपमा कमजोर रहेको पाइएको छ । ऊर्जा मन्त्री जनार्दन शर्मा निर्माणका क्रममा आयोजना तत्काल सम्पन्न गर्न सकिए प्राधिकरणको घाटा कम हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । निर्माणको क्रममा रहेको एक हजार ४७ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्न सके विद्युत्भार कटौती कम हुने र प्राधिकरणको आर्थिक अवस्था सबल हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा मन्त्री शर्मा जोड दिए। रासस

अरनिको यातायातको सिन्डिकेट, काठमाडौंवाट यात्रु लगेर धुलिखेलमा अलपत्र, साढे ६ सय बसले सिंहदरवार घेर्ने धम्की

काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहल गर्ने बताएको भोलिपल्ट नै अरनिको यातायात सेवा समितिले यात्रुलाई विचवाटोमै अलपत्र पारेर सिन्डिकेटको नाङ्गो रुप देखाएको छ । विहिवार विहान काठमाडौंवाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाको लागि छुटेका बसका यात्रुलाई समितिले धुलिखेलमा ओरालेर अलपत्र पारेको छ । बीपी राजमार्ग हुदै रामेछाप जानलाई प्रहरीले रोकेपछि समितिले आफ्ना सम्पूर्ण बस धुलिखेलमा रोकेर यात्रुलाई विच वाटोमै अलपत्र पारेको हो । समितिले विगत ३ बर्षदेखि विना रुट परमिट सो वाटोमा सवारी चलाइ रहेको थियो । यसअघि पटके परमिटको आधारमा गाडी चलाउने गरिए पनि विहिवार धुलिखेलवाट नै सो राजमार्गमा बस प्रवेशमा रोक लगाइए पनि समिति आन्दोलित भएको हो । ‘विहिवार विहान प्रहरीले समितिका गाडीलाई विपी राजमार्ग प्रवेश गर्न दिएन, यसैको विरोधमा हामीले सवै यात्रुलाई धुलिखेलमा ओरालेर सेवा बन्द गरेका छौं,’ सो क्षेत्रमा बस चलाउदै आएका एक बस ब्यवसायीले बताए । काठमाडौंवाट टिकट काटेर गएका यात्रुलाई अलपत्र पारेपनि सरकारले कुनै कारवाही गर्न सकेको छैन । यो समाचार तयार पार्दासम्म ब्यवसायी र सरकारका प्रतिनिधिविच वार्ता भइरहेको छ । विचवाटोमै अलपत्र यात्रुहरु केही काठमाडौं फर्किएका र केही विकल्प खोजेर गन्तब्यसम्म गएका बताइएको छ । समितिका पदाधिकारीहरुले भने आफूलाई विपी राजमार्गमा गाडी चलाउन नदिए समिति मातहतमा साढे ६ सय बस रहेको र ती सवै बस राती ल्याएर सिंहदरवार चारैतिरवाट घर्ने चेतावनी दिएका छन् ।

नेविसङ्घको अध्यक्षमा महर निर्वाचित

काठमाडौं, २ भदौ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)को अध्यक्षमा नयनसिंह महर निर्वाचित भएका छन् । केहीबेरअघि सम्पन्न मतपरिणामअनुसार महर एक हजार ३३४ मतका साथ विजयी भएका प्रमुख निर्वाचन अधिकृत भरतप्रसाद खरेलले जानकारी दिएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी मनोजमणि आचार्यले एक हजार २०९ मत प्राप्त गरेका थिए । त्यसैगरी महामन्त्रीमा कुन्दन काफ्ले र सरोज थापा निर्वाचित भएका छन् । यसैबीच नवनिर्वाचित अध्यक्ष महरले आमविद्यार्थीको भावनालाई आत्मसात् गरेर सङ्गठनलाई अघि बढाउने प्रारम्भिक प्रतिक्रिया दिए । उनले ११औँ महाधिवेशन एकताको महाधिवेशन भएको र यसले सकारात्मक सन्देश प्रवाह गरेको बताए। अध्यक्षका प्रत्यासी आचार्यले नेविसङ्घले आमविश्वविद्यालयका विद्यार्थीको भावना समेटेर अघि बढ्ने विश्वास व्यक्त गर्दै आगामी कार्यकालको शुभकामना व्यक्त गरे । संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन गत साउन २३ गते सुरु भएको थियो । नेतृत्व चयनका लागि बुधबार बिहान १२ बजेदेखि सुरु भएको मतदान प्रक्रिया आज बिहान ९ः४५ मा सकिएको थियो । विद्युतीय मतदानका कारण चाँडो परिणाम आएको हो । निर्वाचन अधिकृत कृष्णप्रसाद पनेरुका अनुसार तीन हजार ३०७ प्रतिनिधिले मतदान गरेका थिए ।