विकासन्युज

सिटिजन्स बैंक इन्टरनेशलनले पायो अन्तर्राष्ट्रिय पुरष्कार

काठमाडौं, २७ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एक अन्तराष्ट्रिय स्तरको पुरस्कार पाएको छ । बैंकलाई सिङ्गापुरमा आयोजित वल्र्ड एच आर डी कन्ग्रेसको भव्य कार्यक्रममा एशिया बैकिङ, वित्तीय सेवा, तथा बीमा क्षेत्रबाट सार्वजनिक क्षेत्रको उत्कृष्ट बैंक विधामा पुरष्कृत गरिएको सो बैंकका प्रबक्ता गणेशराज पोखरेलले जानकारी दिए । विभिन्न उत्कृष्ट बैंकहरु, फाइनान्स कम्पनीहरु तथा इन्सुरेन्स कम्पनीहरुलाई उक्त संस्थाबाट कूल ९ विधाहरुमा पुरष्कार वितरण गरिएकोमा बैंकलाई उक्त अवार्डबाट सम्मानित गरिएको बैंकका प्रबक्ता पोखरेलले बताए । यस अघि पनि इन्टिच्यूट अफ चार्टर्ड एकाउण्टेन्ट अफ नेपालले यस बैंकलाई बेष्ट प्रिजेन्टेड एन्युवल रिपोर्ट २०१५ बाट सम्मान गरेको थियो ।

खाना पकाउने ग्यासमा व्यापक ठगी, अाेम ग्यासकाे सिलिण्डरमा २०० ग्राम कम तौल, अरू पाँच कम्पनी समातिए

काठमाडौँ, २७ भदौ । खाना पकाउने एलपी ग्यासमा व्यापक ठगी हुने गरेको पाइएको छ । सोमबार भएको अनुगमनमा पाँच वटा ग्यास उद्योेगले उपभोक्ता माथि चरम ठगी गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग र क्षेत्रीय कार्यालय बालाजुले सोमबारअनुगमन गर्दा धादिङमा रहेको ओम ग्यास उद्योगबाट उत्पादन हुने सिलिन्डरमा १५० देखि ४०० ग्रामसम्म ठगी हुने गरेको फेला परेको हो । यस्तै, कार्यालयले सगरमाथा ग्यासको डिपो, पेप्सीकोला, भक्तपुर, सिद्धार्थ ग्यासको डिपो, बालकुमारी, ललितपुर, लुम्बिनी ग्यासको डिपो, ललितपुर, त्रिवेणी ग्यासको डिपो, कोटेश्वरबाट बेचिदै आएका सिलिन्डरमा पनि तौल घटी भएको फेला पारेको हो । कार्यालयका प्रमुख शशिभूषण यादवले अधिकांश ग्यास उद्योग तथा डिपोले मापदण्डभन्दा घटी ग्यास बेचेको तथा खाली सिलिन्डरको तौल तोकिएकोभन्दा बढी हुने गरेको बताए । यसैगरी, कार्यालयले त्रिकोण वेभरेज (पानी उद्योग) बालाजु, काठमाडौँ मैदा मिल, बालाजु, क्वालिटी फिड एन्ड कोल्ड स्टोरेज प्रालि बालाजु, भवानी प्लास्टिक कम्पनी बालाजु र केजी एन्ड इन्जिनियरीङ वर्कस प्रालि बालाजुलाई समेत कारबाही गरेको छ । तीमध्ये त्रिकोण पानी उद्योगमा एक लिटर पानीमा २० मिलिलिटर घटी, काठमाडौँ मैदा मिलले अनुमतिपत्र नलिइ सञ्चालन गरेको, क्वालिटी फिड एन्ड कोल्ड स्टोरेज (दाना उद्योग) प्रालिले बोराको तौल प्रमाणित नगराएको, भवानी प्लास्टिक उद्योगले काँटा जाँचपास नगराई प्रयोग गरेको, केजी एन्ड इन्जिनियङ वर्क्स प्रालिले अनुमतिपत्र नलिएको र जाँच नगराई काँटा प्रयोग गरेको फेला पारेको जनाइएको छ ।

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौं, २७ भदौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७२ साल माघमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह दोस्रो वर्षको समाजशास्त्र/मानवशास्त्र विषय ९सोधपत्र बाहेक० को परीक्षाको परीक्षाफल सोमबार प्रकाशित गरिएको छ । त्यसैगरी, २०७३ साल वैशाख/जेठ महिनामा सञ्चालित शिक्षाशास्त्र सङ्काय स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाको परीक्षाफल पनि आजै प्रकाशित गरिएको छ । परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, www.tu.ntc.net.np तथा www.educationkhabar.com मा हेर्न सकिने छ भने नेपाल टेलिकमको १६०२ नम्बरमा डायल गरी तथा ४९४९ मा म्यासेज गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

एनसीसी बैंकको एक्सटेन्सन काउन्टर रुपन्देहीमा पनि

काठमाडौं, २७ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले रुपन्देहीमा रहेको युनिभर्सल मेडिकल कलेजको परिसरमा एक्स्टेन्सन काउन्टर संचालन गरेको छ । उक्त एक्स्टेन्सन काउन्टरको उद्घाटन सोमबार यस बैंकका व्यवस्थापन समितिका संयोजक लक्ष्मी प्रपन्न निरौला तथा कलेजका अध्यक्ष रमेश शर्माद्वारा संयुक्त रुपमा गरिएको छ । सो काउन्टरबाट नगद जम्मा, नगद भुक्तानी तथा विपे्रषण सेवा उपलब्ध गराइनेछ । यस काउन्टरबाट उक्त कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारीहरु लाभन्वित हुने बैंकले जनाएको छ । यस बैंकले २०७३ आषाढ मसान्त सम्ममा निक्षेप परिचालन ३० अर्ब ३६ करोड रुपैयाँ तथा २४ अर्ब ८९ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । बैंकले सो अवधिसम्ममा ७० करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साथै यस बैंकले नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी पुर्याउन ४ वटा राष्ट्रिय स्तरको विकास बैंकहरुसँग गाभ्ने/गाभिने प्रक्रियाको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएको छ । उक्त गाभ्ने/गाभिने प्रक्रिया सम्पन्न भए पश्चात एनसीसी बैंकको शाखा ९६ वटा पुग्ने बैंकले जनाएको छ ।

कुमारी बैंकले ल्यायो चिप बेसमा आधारित क्रेडिट कार्ड, संसारभर प्रयोग गर्न सकिने

काठमाडौं, २७ भदौ । कुमारी बैंकले चिप बेसमा आधारित क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले सोमबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपालसहित संसारका सबै मुलुकमा प्रयोग गर्न सकिने सुबिधा सहितका क्रेडिट कार्ड सुरु गरेको हो । कुमारीले ल्याएको डोमेष्टिक कार्ड नेपाल तथा भारतमा प्रयोग गर्न सकिन्छ । डलरमा सञ्चालन हुने इन्टरनेशनल कार्ड भने संसारका जुनसुकै मुलुकमा प्रयोग गर्न सकिने बैंकले जनाएको छ । जारी गरिएका नयाँ कार्डमा उच्चस्तरको सुरक्षा सतर्कता तथा जोखिम न्युनिकरणका उपाय प्रयोग गरिएको पनि बैंकले जनाएको छ । यी कार्डहरुबाट क्रेडिट लिमिटको ९० प्रतिशतसम्म रकम झिक्न सकिन्छ । यसअघि नै बैंकले कुमारी भिसा कार्ड प्रयोगमा ल्याइसकेको छ । कुमारी बैंकले उपत्यका भित्र ११ वटा र बाहिर २५ वटा शाखा तथा दुई वटा एक्सटेन्सन काउन्टर र ३६ वटा एटिएमबाट सेवा प्रवाह गरिरहेको छ । बैंकको ग्राहक संख्या २ लाख पुगिसकेको छ ।

यस वर्ष धान खेती १० प्रतिशतले वृद्धि, करिब १४ अर्ब रुपैयाँको आयात घट्ने

काठमाडौं, २७ भदौ । कृषि विकास मन्त्रालयले यस वर्ष देशभर ९७ प्रतिशत धानखेती भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीका अनुसार गत वर्ष ८७ प्रतिशत मात्र खेती भएकामा यस वर्ष १० प्रतिशतले खेती वृद्धि भएको हो । धानखेती वृद्धि भएका कारण यस वर्ष उत्पादनमा समेत वृद्धि हुनेछ । गत वर्ष करिब ४३ लाख मेट्रिक टन फलेकामा यस वर्ष ५० लाख मेट्रिक टन धान फल्ने प्रक्षेपण गरिएको छ । मन्त्रालयले गरेको प्रक्षेपणअनुसार अहिले वृद्धि हुने धान उत्पादनले करिब १४ अर्ब रुपैयाँको आयात (घट्ने) छ । प्रवक्ता कार्कीका अनुसार हिमाली तथा पहाडी भेगमा पनि धानको उपभोग बढेकाले त्यहाँ उत्पादन हुने आलु, कोदो, फापरलगायत वस्तुलाई स्थानीय तहमा खपत गर्न सकिएमा धानको उत्पादनले राष्ट्रको माग पूरा गर्न सकिने छ । झापालाई धान उत्पादनको विशेष क्षेत्रका रुपमा लिइएको छ । देशको मागलाई पूरा गर्न करिब ५५ लाख मेट्रिक टन धान उत्पादन हुन आवश्यक रहेकाले यस वर्ष पनि करिब पाँच लाख मेट्रिक टन धान आयात गर्नुपर्ने देखिन्छ । गएको वर्ष मुलुकको मागभन्दा करिब १२ मेट्रिक टन धान कम उत्पादन भएपछि २४ अर्ब रुपैयाँको धान आयात गरिएकामा यस वर्ष मुलुकको माग धान्न करिब १० अर्ब रुपैयाँको धान आयात गर्नुपर्नेछ । रासस

‘जनता कवच बचत खाता’ सञ्चालनमा, १० लाखको दुर्घटना र एक करोडको घर बीमा

काठमाडौं, २७ भदौ । जनता बैंकले ‘जनता कवच बचत’ नामको नयाँ खाता सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा बचत अनुसार १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा र १ करोड रुपैयाँसम्मको घर बिमा दुबै सित्तैमा बैंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउने छ । जनता कवच बचत खाताले आम जनतालाई बचत मात्र नभई सुरक्षा समेत प्रदान गर्ने बैंकले विश्वास लिएको छ । बैंकले २०७३ असार मसान्त सम्ममा २४ अर्ब ६ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ४७ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ । यस आर्थिक वर्षभित्र बैंकले ३२ करोड ५३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । हाल बैंकले ३६ वटा शाखाहरु, २९ वटा ए.टि.एम, ५ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्ग मार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

हराएको पासपोर्ट एक दिनमै बन्ने

काठमाडौं, २७ भदौ । अबदेखि पासपोर्ट हराएमा पत्रपत्रिका सूचना प्रकाशित नगरी प्रतिलिपी बनाउन सकिने भएको छ । पत्रपत्रिकामा सूचना तथा प्रहरी रिपोर्ट बनाउनु पर्ने व्यवस्थाले सेवा ग्राहीलाई असहजता थपिएको भन्दै राहदानी विभागले सबै झण्झटिला व्यवस्था हटाएको हो । अबदेखि पासपोर्ट हराएमा बिभागमा निवेदन दिए नयाँ बनाउन सकिनेछ । जिल्लास्तरमा भने जिल्ला प्रशासन कार्यालय वा इलाका प्रशासन कार्यालयमा जानकारी गराएर नयाँ पासपोर्ट बनाउन सकिनेछ । त्यसरी दिइएको सूचनालाई विभागले नै प्रहरी समक्षा पुर्याउनेछ । प्रहरीले त्यसरी प्राप्त सूचनलाई इन्टरपोल मार्फत चेक जाँच गर्नेछ । अब हराएको पासपोर्ट एक दिनमै प्राप्त गर्न सकिने पनि बिभागले जनाएको छ । हराएका पासपोर्ट बनाउने प्रक्रियालाई सहज बनाउन बिभागले एक छुट्टै कोठाको व्यवस्था समेत गरेको छ । सबै नेपालीको एमआरपी इन्टरपोल सूचना प्रणालीमा राखेर दोश्रो व्यक्तिले पासपोर्ट प्रयोग गर्ने तथा अपराधिक क्रियाकलापमा संलग्नहरुलाई पक्रन समेत सहज हुने राहदानी बिभागले जनाएको छ ।