सनराइज बैंकद्धारा बाल संगठनका बालबालिकालाई लत्ता कपडा वितरण
काठमाडौं, ११ असोज । सनराइज बैंक लिमिटेडले मंगलबार आफ्नो नवौं वार्षिकोत्सव सम्पन्न गरेको छ । सो अवसरमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल बाल संगठनमा एक कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकले संगठनमा रहेका १४० जना बालबालिकाहरुलाई न्यानो लत्ता कपडाहरुका साथै खाद्म सामाग्रीहरु वितरण गरेको छ । उक्त सामाग्रीहरु बैंकका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य एवं कर्मचारीहरुले वितरण गरेका हुन् । कार्यक्रममा बैंकका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतले बैंकको नवौं वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सामाग्रीहरु वितरण गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । यसै क्रममा नेपाल बाल संगठनका कोषाध्यक्ष मनोहर गोपाल श्रेष्ठले सनराइज बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सव कार्यक्रममा नेपाल बाल संगठनलाई पुर्याउँदै आएको सहयोगका लागी कृतज्ञता व्यक्त गरेका छन्र । साथै, श्रेष्ठले भविष्यमा यस्ता कार्यक्रमहरुको निरन्तरताका लागी बैंकलाई अनुरोध गरेका छन् ।
टोयोटाको तीन दिने दशैं एक्सचेञ्ज मेला सम्पन्न, मेलामा १० ओटा नयाँ कार बुकिङ्
काठमाडौं, ११ असोज । टोयोटाको नेपालका लागि आधिकारीक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट (युटीएस) ले ‘टोयोटा दशैं एक्सचेञ्ज मेला’ सम्पन्न गरेको छ । ग्राहकहरुको आवश्यकता तथा रुचीलाई ध्यानमा राख्दै विभिन्न आकर्षक योजना ल्याउने क्रममा कम्पनीले तीन दिनसम्म उक्त मेलाको आयोजना गरेको थियो । ललितपुरको ग्यालेक्सी अटोमोबाइलमा आयोजित उक्त मेलामा टोयोटाको नयाँ कारसँग ग्राहकले कुनै पनि आफ्नो पुरानो कार साट्न सकिने व्यवस्था गरिएको थियो । त्यस्तै, टोयोटाका विभिन्न प्रयोग भैसकेका (पुराना) तर प्रमाणित कार खरिद गर्ने सुविधा समेत मेला मार्फत उपलब्ध गराइएको थियो । मेलामा सहभागी हुन आउने ग्राहकहरुले आफ्नो सवारीको निःशुल्क परिक्षण (१६० वटा फ्री–चेक प्वाइण्टहरु) गराउनुका साथै भाग्यमानी ग्राहकहरुले आकर्षक उपहार समेत प्राप्त गरेका थिए । ३ दिनको मेला अवधिभर कुल १ सय ५० जनाले मेलाको अवलोकन गरेकोमा २५ वटा सर्टिफाइड कार तथा १० वटा टोयोटाका नयाँ कार बुकिङ भएको थियो । मेलाले विशेष गरी अटोमोबाइलका ग्राहकलाई सवारी साधन सम्बन्धि सम्पूर्ण ज्ञान उपलब्ध गराएको थियो । साथै ग्राहकहरुको पुरानो कारलाई टोयोटाका स्तरीय गाडीहरुसँग उचित अफर सहित साट्ने मौका प्रदान गरेको ग्यालेक्सी अटोमोबाइलका इश्वरी भट्टराईले बताए ।
शहरी क्षेत्र बाहिर बैंकका शाखा खोल्न राष्ट्र बैंकको स्वीकृति नचाहिने, भूकम्प प्रभावित जिल्लामा आफूखुसी शाखा सार्न पाइने
काठमाडौं, ११ असोज । नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यका, महानगरपालिका, उपमहानगर पालिका र नगरपालिका वाहेकका स्थानामा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्न स्वीकृति नचाहिने ब्यवस्था गरेको छ । यसअघि कुनै पनि ठाउमा बैंक तथा वित्तीय संस्थाको शाखा खोल्नको लागि राष्ट्र बैंकको स्वीकृति चाहिन्थ्यो । अव त्यस्ता स्थानमा शाखा खोल्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको संचालक समितिले निर्णय गरे पुग्ने भएको छ । संचालक समितिले गरेको शाखा खोल्ने सम्बन्धि निर्णयको जानकारी राष्ट्र बैंकलाई ७ दिन भित्रमा दिए पुग्ने भएको छ । राष्ट्र बैंकले मंगलवार सवै बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ निर्देशन जारी गर्दै यस्तो ब्यवस्था गरिएको जानकारी दिएको हो । यस्तै काठमाडौं उपत्यका वाहेकका भूकम्प अति प्रभावित १३ जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थाका शाखा सोही जिल्लाको अर्काे स्थानमा सार्न पनि राष्ट्र बैंकको स्वीकृति लिइ रहनु नपर्ने भएको छ । यसअघिको स्वीकृत स्थानमा शाखा राखिराख्न असुविधा भए जिल्लाकै अर्काे उपयुक्त स्थानमा सम्बन्धित बैंक वित्तीय संस्थाले नै निर्णय गरेर सार्न सक्ने ब्यवस्था राष्ट्र बैंकले गरेको हो ।
एलजीको नयाँ शोरुम टान्डीमा
काठमाडौं, ११ असोज । सिजी इलेक्ट्रोनिक्सले ‘वादे रेडियो टिभी सेन्टर’ नामक नयाँ शोरुम टान्डीमा खोलेको छ । एलजी ब्राण्डले एकै ठाउँमा सबै डिजिटल आवश्यकताको परिपूर्ति गर्ने र नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभाबकारी बनाउने उद्देश्यले सो स्थानमा शोरुम खोलेको कम्पनीले बताएको छ । उक्त नयाँ शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनहरुको बारेमा पनि जानकारी गराउने कम्पनीले बताएको छ । कम्पनीले ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको छ । उक्त योजना अन्तर्गत एलजीका कुनै पनि सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । साथै, उद्घाटन दिनदेखि दैनिक रुपमा १५ दिनसम्म लक्की ड्र मा भाग लिन सक्ने कम्पनीले बताएको छ ।
नेसनल ट्रेडिङबाट कम तेल वितरण,पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम
काठमाडौं, ११ असोज । नेसनल ट्रेडिङ लिमिटेड टेकुमा रहेको पेट्रोल पम्पले पाँच लिटर तेल भर्दा ४० मिलिलिटर कम वितरण गर्ने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले सोमबार गरेको जाँचमा उक्त परिणाममा कम तेल दिने गरेको फेला पारेको कार्यालयका प्रमुख शशीभूषण यादवले जानकारी दिए । ‘हेलो सरकार’मा परेको निवेदका आधारमा जाँच गर्दा उक्त परिमाणमा फेला पारेको हो । “नागरिकलाई तेल भर्दा ठगी गरेकाले उक्त पम्पलाई तेल वितरणमा रोक लगाएका छौँ,” उनले भने । यस्तै कार्यालयले नयाँ बजारमा रहेको खुश्बु कोल्डस्टोरले इजाजत अनुमतिपत्र नलिई सञ्चालन गरेको तथा ढक, तराजु जाँच नगराई सञ्चालन गरिएको जनाएको छ । उक्त कोल्डस्टोरलाई जरिवानाका लागि कार्यालयमा हाजिर हुन बोलाइएको छ । यसैगरी हेलो सरकारको उजुरीकै आधारमा बत्तीस पुतलीमा रहेको कुमारी आयल स्टोरमा पनि अनुगमन गरिएको छ । रासस
सेवा विकास बैंकले १ः१.२ हकप्रद सेयर निष्कासन गर्दै, असोज १९ गते बुक क्लोज
काठमाडौं, ११ असोज । सेवा विकास बैंकले १ बराबर १.२ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सोही प्रयोजनको लागि असोज १९ गते बैंकको सेयर कारोबार बन्द (बुक क्लोज) हुने छ । हाल बैंकको चुक्ता पूँजी ४२ करोड ५५ लाख रुपैयाँ रहेको छ । मंगलबार बैंकको सेयर मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ रहेको छ ।
बलियो घर महँगो हुँदैन, इन्जिनियर्सकाे सहयाेगमा अनावश्यक खर्च कम हुने
काठमाडौं, ११ असोज । नेपालमा घर तथा आवास निर्माण गर्दा त्यति धेरै प्राविधिक पक्षहरुलाई ध्यान दिएको पाइदैन । प्राविधिक पक्षमा ध्यान नपुर्याउँदा यहाँ बन्ने घरहरु जोखिममा पर्ने गरेको छ । २०७२ वैशाख १२ गते आएको विनाशकारी भूकम्पले ठूला ठूला भवनदेखि पुरात्वातिक सम्पदाहरु मासिएपछि भने मानिसमा बलियो घर बनाउनु पर्छ भन्ने चेतना आएको छ । अब घर निर्माण गर्दा प्राविधिकको सल्लाह बिना घर नबनाउने निष्कर्षमा धेरै मानिस पुगेका छन् । मानिसले भूकम्पपछि डराएर अब भुइँतला वा दुई तलासम्मको मात्र घर बनाउने बताएका छन् । घर बनाउनु अघि नै सावधानी अपनाउन सके हामी ठूलो क्षतिबाट बच्न सक्ने नेपाल इन्जिनिरिङ एशोसिएशनका अध्यक्ष धु्रव थापाले बताए । ‘इन्जिनियरको डिजाईज र सल्लाहमा घर निर्माण गर्नुपर्छ, इन्जिनियर्सको सहयोग विना घर बनाउँदा फेरी ठूलो क्षति सक्छ’ उनले भने । ‘थोरै रकम जोगाउनका लागि हामी प्राविधिकको सल्लाह र सुझाव लिदैनौ र कमसल मालवस्तु प्रयोग गरि घर निर्माण गछौं र त्यो नभत्केसम्म मर्मत सम्भार गर्दैनौ’ उनी भन्छन्–‘भूकम्प प्रतिरोधात्मक डिजाइन गर्दैमा निर्माण खर्च बढ्न भन्ने होइन । बरु नचाहिने ठाउँमा खर्च घट्छ ।’ आममानिसमा भूकम्प प्रतिरोधात्मक घर बनाउँदा धेरै खर्च लाग्छ भन्ने गलत धारणा पाईएको उनले बताए । घर जति ठूलो बनाए पनि जग, पिलर आदिमा गुणस्तरीय सामग्री प्रयोग गरी आर्किटेक्ट तथा सिभिल इञ्जिनीयरसँग सल्लाह गरेर भूकम्प प्रतिरोधात्मक घर बनाउनुपर्ने स्ट्रक्चरल इञ्जिनीयर प्रह्लाद ज्ञवाली बताउँछन् । उनका अनुसार घर बनाउनुअघि जमीनको माटो परीक्षण गराउनुपर्छ । किफायत गर्न कमसल सामग्री प्रयोग गर्नु नै जोखिम बढाउनु हो । इन्जियियर्सहरुका अनुसार नक्सामा दुई तलाको डिजाइन गराउने र पछि आफ्नै हिसाबले थप्ने, जमिनमुनिबाट पानी बोरिङ गर्ने कार्यले घर कम्जोर हुन्छ । भवन निर्माणको प्रयोजनअनुसार स्ट्रक्चरल डिजाइन गरेर घर निर्माण गर्ने सामग्री (सिमेण्ट, इँटा, बालुवा, गिट्टी, डण्डी आदि)को गुणस्तर परीक्षण गराउनुपर्छ । आर्किटेक्ट नवीन श्रेष्ठका अनुसार नेपालमा गएकोे भूकम्पमा काठमाडौं, ललितपुर, भक्तपुरलगायत विभिन्न जिल्लामा पुराना, माटाले बनाइएका र कमजोर घरहरू बढी क्षतिग्रस्त भएका छन् । गोंगबु तथा बालाजु क्षेत्रमा भत्किएका नयाँ घरहरूको सन्दर्भमा उनले भने, ‘कालो माटो भएकाले उक्त क्षेत्रका घरहरु भत्किएका हुन् । उक्त जमीन घर निर्माणभन्दा पनि खेतीका लागि योग्य छ,’ उनले भने । ठूल्ठूला भवन माटो परीक्षण गराएर बनाइएकाले सिमेण्ट चर्किएका वा बाहिरी भाग मात्र बिग्रिएका छन्, पिल्लर बाङ्गिएको वा भत्किएको त्यति पाइँदैन । नेपालका पुरातात्विक महत्वका धरोहर नष्ट हुनुमा समयमै उचित मर्मत–सम्भार नगरिनु प्रमुख कारण रहेको इञ्जिनीयरहरू बताउँछन् । सामान्यतया २५ देखि ३० वर्षमा एकपटक यस्ता धरोहरहरूको मर्मत–सम्भार गरिने प्रचलन छ । तर, नेपालमा सयौं वर्षसम्म पनि यस्ता धरोहर मर्मत गरेको पाइँदैन । पाटन दरबार स्क्वायरमा जुन–जुन मन्दिर मर्मत–सम्भार तथा पुनर्निर्माण गरिएको छ, तिनमा खासै क्षति भएको छैन । उपत्यकाका तीनओटै दरबार स्क्वायरका मर्मत–सम्भार नभएका मठ–मन्दिर, पाटी र सत्तलहरू भत्किएका छन् । नयाँ घर बनाउँदा अपनाउनु पर्ने सावधानीहरु भूकम्प प्रतिरोधक घर बनाउँदा दायाँ–बायाँ तथा तल–माथि जाने भूकम्पलाई ध्यान दिनुपर्छ । भूकम्प प्रतिरोधक घर बनाउन बिल्डिङको मास गोल्डेन रेशियो हुनुपर्ने ज्ञवाली बताँउछन् । बिल्डिङ सिलिण्डर शेपमा नबनाई बढाउने हो भने त्यही रेशियोमा एरिया पनि बढाउनुपर्छ । ‘घरको पूरै भाग एकआपसमा टाइअप हुनुपर्छ,’ उनले भने, ‘एकअर्कामा राम्रोसँग कनेक्ट भयो भने भूकम्पबाट त्यति डराउनुपर्दैन ।’ रेक्ट्याङ्गल, राउण्ड तथा स्क्वायर शेपका घर भूकम्प प्रतिरोधक मानिने उनको भनाइ छ । यसबाहेक अरू शेप भने ज्वाइण्ट छुट्टयाएर बनाउन सकिन्छ, जसले घरलाई सुरक्षित गर्छ । घरको तला थप्दा बिल्डिङ कर्नरहरू टाइअप हुनुपर्छ । मासलाई पिरामिड स्टाइलबाट तलको भागमा लोड बढी र माथिल्लो भागमा लोड घटाउँदै लैजानुपर्छ । वाल सिष्टमका घरमा कर्नरबाट कम्तीमा पनि २ फिट छोडेकै हुनुपर्छ । ओपनिङ सकभर २५ देखि ५० प्रतिशत राख्दा राम्रो हुने ज्ञवालीले बताए । तर, ५० प्रतिशतभन्दा बढाउनु उपयुक्त हुँदैन । कर्नर वालमा टाइअप गर्नुपर्छ । वाल लामो भयो भने बीचमा अर्काे वालले सपोर्ट गरेको हुनुपर्छ । घर बढाउन खोज्दा फरक–फरक घर छ भने अग्लो र सानो घरको टाइअप छुट्टै गर्नुपर्छ, अन्यथा भूकम्पले हल्लियो भने ठूलोको धक्का सानोमा पर्न सक्छ । भूकम्प प्रतिरोधात्मक घरका दृष्टिले हाम्रा पुराना मल्लकालीन घर उदाहरणीय मानिन्छन् । ती घर भूकम्पबाट बचाउने गरी डिजाइन गरिएको ज्ञवालीले बताए । पहिलेका घर तथा मन्दिरमुनिको वाल ठूलो हुँदै माथि सानो अर्थात् पिरामिड हुन्छन् भने घरको बीचमा चोक पनि यसैलाई ध्यानमा राखी बनाइएको देखिन्छ । घरमा टुँडाल राखिनुको कारण पनि भूकम्पबाट बचाउनु हो । ठाउँ–ठाउँमा टाइअपका लागि चुकुलहरू राखिएका हुन्छन् । झ्यालको माथि काठका टाई बिम राख्नु पनि भूकम्पबाट जोगिने उपाय हो ।
मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिँदै, मूल्य १५ हजारदेखि ३० हजारसम्म
पर्वत, ११ असोज । नेपालीको महान् पर्व बडादसैं र तिहारलाई लक्षित गरी हिमालपारिको जिल्ला मुस्ताङबाट ४५ हजार भेडा च्याङ्ग्रा बाहिरिने भएका छन् । जिल्ला पशुसेवा कार्यालय मुस्ताङका अनुसार यस वर्ष जिल्लाबाट मात्रै ४५ हजार सङ्ख्यामा भेडा च्याङ्ग्रा बाहिरिने भएका हुन् । प्रत्येक वर्ष दसैं तिहारको अघि जस्तै यस वर्ष पनि दसैं तिहारका लागि मुस्ताङ जिल्लाबाट भेडा च्याङ्ग्रा बहिरिएका हुन् । मुस्ताङबाट म्याग्दी, पर्वत, बागलुङ, पोखरा, काठमाडौँ, तनहुँलगायतका जिल्लामा भेडा च्याङ्ग्रा बिक्री हुने गरेका छन् । हिमाली भेगमा हुर्केका भेडा च्याङ्ग्राको मासु स्वादिलो हुने भएकाले देशका विभिन्न बजारमा यसको माग उच्च रहेको छ । अहिले सामान्यतया २० देखि ४० किलोग्रामका च्याङ्ग्रा बजारमा गएको र एउटाको मूल्य न्यूनतम १५ हजारदेखि ३० हजार रुपैयाँसम्म पर्ने गरेको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख नन्दलाल बर्माले जानकारी दिए । विगतका वर्षमा तिब्बतबाट समेत भेडा, च्याङ्ग्रा आउने गरेको भएपनि यस वर्ष जिल्लाकै उत्पादनले पुग्ने भएकाले बाहिरबाट ल्याउन रोक लगाएको बर्माले बताए । गत वर्षको तुलनामा यस वर्ष भेडा च्याङ्ग्राको मूल्यमा समेत वृद्धि भएको छ । गत वर्ष १५ हजार रुपैयाँमा च्याङ्ग्रा बिक्री हुँदै आएकोमा यस वर्ष भने व्यापारीले मुस्ताङमै २० हजार रुपैयाँमा बिक्री गर्दै आएका छन् । बर्सेनि बडादसैंका लागि चीनबाट समेत आउने भेडा च्याङ्ग्रा यसपटक आउन नसकेपछि अभाव हुने देखिएको छ । रासस