विमानस्थल कार्यालयले उडान अनुमति नदिँदा निगमको दुबई उडान रद्द, ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान सारियो
काठमाडौं १२, असोज । सधै जहाजमा आउने प्राविधिक समस्या र वायुसेवाका सानो कमजोरीले यात्रु उडानमा समस्या हुने गरेको भएपनि मंगलबार राती भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको कमजोरीले वायुसेवा निगमको दुबईउडान रद्द भएको छ । निगमको काठमाडौंबाट दुवाई जाने उडानको समय साढे ११ बजेको भएपनि दुई दिन अगाडि निगमको जहाज आकस्मिक अवतरण गरेपछि यसका उडान प्रभावित हुँदै आएको थियो ।एउटा उडान प्रभावित हुँदा वायुसेवा कम्पनीलाई लाखौ घाटा हुने गरेको छ । उडान तालिम मिलाएर निगमले यात्रुलाई गन्तव्य स्थानमा लैजाने गरेको भएपनि मे विमानस्थल कार्यालयले उडान अनुमति नै नदिएका कारण उडान रद्द भएको निगमको भनाइ छ । मंगलबार रातीको उडान अन्तिम समयमा रद्द भएको कारण दुवाई उड्न ठिक्क परेका ५५ जना यात्रुलाई मध्यरातमा राजस्थान होटलमा लगेर राखिएको छ । यो यात्रुलाई आज बेलुकोको उडानमा दुवाई लैजाने तयारी निगमको छ । त्रिभुवन विमानस्थल सामान्यता रातको १२ बजेपछि बन्द हुने गरेको छ । कुनै वायुसेवाको उडान समय ढिलो भए विमानस्थल कार्यालय, सुरक्षा निकायसहितलाई लिखित आग्रह गरेर उडान समय माग्ने (एयरपोर्ट एक्टेन्सन वाच)हुने गरेको छ । तर, विमानस्थल कार्यालयले मंगलबार निगमको लिखिन आग्रहलाई पनि वेवास्था गर्दे उडान समय नै नदिएको विमानस्थल कार्यालय स्रोतले जानकारी दिएको छ । विमानस्थल कार्यालयले अनुमति दिएको अवस्थामा र विशेष परिस्थितिमा रातैभर जहाज उड्न् गरेका छन् । विमानस्थल कार्यालयल अनुमति नै नदिएको कारण निगमको आर २२९ उडान नम्बर रद्द हुन पुग्यो । मंगलबार रातीको उडान रद्दको प्रभाव बुधबार विहानको दिल्ली उडानसमेत प्रभावित भएको छ । निगमले हरेक दिन विहान ८ बजे काठमाडौंबाट दिल्ली उडान गर्ने समय तालिका तय गरेको छ । ‘मंगलबार उडान ढिलो हुने भनेर बुधबार (आज) विहानको ८ बजेको उडान ११ बजेलार्ई राखिएको थियो’, निगम स्रोतले भन्यो । दुवाई उडान नै नभएपछि जहाज काठमाडौंमै भएकोले उडान तालिका मिलाउँन ११ बजेको दिल्ली उडान ९ बजे नै गर्नु लागिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार दुई दिन अगाडि काठमाडौं अवतरण गर्ने क्रममा निगमको जहाज आकस्मिक अवतरण गर्दा उडान तालिका प्रभावित भएको छ । सोही तालिका मिलाउन हम्मे हम्मे परेको निगमलाई एउटा उडान रद्द भएपनि पुनः व्यवस्थापन मिलाउँन निकै कठीन हुने गरेको छ । यात्रुको सम्पर्क नंम्वर नहुँदा समस्या टिकेटिङ कम्पनी तथा ट्राभल एजेन्सीले यात्रुको सम्पर्क नम्बर नराखी टिकेट काट्दा पनि उडान रद्द हुदाँ र उडान समय सार्नुपर्दा वायुसेवा कम्पनीलाइ निकै तनाव हुने गरेको छ । अहिले पनि निगमले ११ बजेको दिल्ली उडान ९ बजे नै गर्ने तयारी गरिरहेको भएपनि यात्रुलाई खवर गर्न नै समस्या भइहरेको छ । टिकेट काट्दा ट्राभल एजेन्सीले सम्पर्क नम्बर नै नराख्ने गरेकोले उडान तालिका मिलाउने क्रमममा पनि यात्रुलाई नै मार पर्ने गरेको निगमका एक कर्मचारीको भनाइ छ ।
औद्योगिक व्यवसाय कानून सम्वन्धि प्रतिवेदन पारित, उद्योगमा बन्द हड्ताल गर्न नपाइने
काठमाडौं, १२ असोज ।व्यवस्थापिका संसदको उद्योग समितिले औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको प्रतिवेदन पारित गरेको छ। तीब्र विवादका विच समितिले मंगलवार दुईपटक बैठक वसेर उक्त विधेयक पास गरेको हो। बैठकमा उद्योगहरुले मजदूरहरुलाई काम नगर्दाको अवधिको तलब दिन नपर्ने गरी विधेयकमाथिको प्रतिवेदन पारित गरेको हो। समितिले सुदृढ औधोगिक सम्बन्धलाई उत्पादकत्व वृद्धिको प्रबल आधार मानी काम नगर्दाको अवधिको पारिश्रमिक दिनु नपर्ने तथा यस सम्बन्धमा श्रम वा कानूनले निर्दिष्ट गरेबमोजिम हुने व्यवस्थासहित प्रतिवेदन पारित गरेको हो। समितिबाट पारित प्रतिवेदन अनुसार उद्योगमा कार्यरत कामदार तथा कर्मचारीले उद्योगको संचालन तथा उत्पादनमा वाधा अवरोध पुग्ने गरी बन्द हड्तालजस्ता कार्यक्रम गर्न पाउने छैनन्। समितिको बिहान बसेको बैठकमा हड्तालको अवधिमा मजदूरहरुलाई तलब दिने नदिने विषयमा विवाद भएको थियो। समितिमा माअोवादीका सांसद जनक बुढाले फरक मत राख्दै पार्टिमा छलफल गर्नुपर्छ भनेपछि बैठक रोकिएको थियो। समितिले पारित गरेको प्रतिवेदन अनुसार मझौला, ठूला वा वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने उद्योगले मुनाफाको १ प्रतिशत रकम व्यवसायिक सामाजिक जिम्मेवारी वहन गर्न छुट्याउनुपर्ने भएको छ। मुनाफाबाट प्रत्येक आर्थिक वर्ष छुट्याइने रकम वार्षिक योजना तथा कार्यक्रम बनाएर तोकिएका क्षेत्रमा मात्र खर्च गर्न पाइने समितिका सभापति भिष्मराज आङदम्बेले बताए। समितिबाट पारित प्रतिवेदनसहितको विधेयकले संसद्को पूर्ण बैठकबाट पारित भएपछि कानूनी मान्यता पाउने छ। औद्योगिक व्यवसाय सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तत्कालीन उद्योगमन्त्री महेश बस्नेतका पालामा संसद्मा पेश भएको हो।
१५ वर्षसम्म भातसँगमात्रै पेट्रोलियम पदार्थ लिनुपर्ने, चीनसँगको सम्झौता कार्यान्वयन चुनौतिपूर्ण
काठमाडौं १२, असोज । पेट्रोलियम बजार विविधिकरण गर्दै चीनबाट इन्धन ल्याउने नेपालको योजनामा तगारो हाल्दै भारतले नेपाली बजारलाई आफ्नो एकाधिकारमै राख्न खोजिएको देखिएको छ । रक्सौल अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण चरणमा प्रवेश गर्ने तयारी भइरहँदा भारतले नेपाललाई १५ वर्षसम्म निरन्तर पेट्रोलियम पदार्थ ल्याउनुपर्ने शर्त अघि सारेको छ । भारतीय नाकाबन्दीका बेला नेपालमा पेट्रोलियम पदार्थको विकल्प खोज्ने निर्णय भएको थियो । तत्कालिन केपी ओली सरकारले चीनसँग पारबहन सम्झौता गर्दै त्यसका लागि बाटोसमेत खोलेको थियो । नेपाल आयल निगम अधिकारीसँग भारतमा सोमबार सम्पन्न बैठकमा इन्डियन आयल कर्पोरेसन आइओसी का अधिकारीले पाइपलाइन परियोजना अघि बढाउन आगामी १५ वर्षसम्म नेपाली बजारको सुनिश्चितता खोजेका हुन् । आइओसीको प्रस्तावलाई नेपाली पक्षले भने अस्वीकार गरेको समाचार बुधबारको नागरिक दैनिकमा छापिएको छ ।
राष्ट्रिय परिचयपत्र निःशुल्क पाइने, परिचयपत्र खरिदमा साढे १० अर्ब खर्च
काठमाडौं १२, असोज । सरकारले राष्ट्रिय परिचयपत्र निः शुल्क उपलव्ध गराउने भएको छ। तीन पुस्ते विवरणसहित आगामी आर्थिक वर्षदेखि राष्ट्रिय परिचयपत्रका रुपमा नेपालीले स्मार्ट कार्ड निः शुल्क पाउने भएका समाचार बुधबारको कारोबारमा छापिएको छ। परिचयपत्र व्यवस्थापन केन्द्रका कर्मचारी निर्देशक दिनेश भट्टराईले स्मार्ट कार्ड जारी गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले नै वेहोर्ने जानकारी दिए। करिब ३ करोड नेपालीलाई निः शुल्क उपलव्ध गराउँदा स्मार्ट कार्ड खरिदमा मात्रै १० अर्ब ५० करोडभन्दा बढी रकम खर्च हुनेछ। एउटा स्मार्ट कार्डलाई ३ देखि ४ डलरसम्म पर्छ। यसका लागि शतप्रतिशत पोली कार्बोनेट कार्डको प्रयोग गरिनेछ। जसका २५ वटा फिचर समावेश गरिनेछ। कार्यकारी निर्देशक भट्टराईका अनुसार २०७४ भदौदेखि राष्ट्रिय परिचयपत्र वितरण गरिनेछ ।
ठग्न नपाएपछि आन्दोलन, मिटर विगारेर ठग्नेलाई कारवाहि गरिएको विरोधमा ट्याक्सी जाम
काठमाडौं १२, असोज । बैशाखमा बा १ ज १९०८ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै यात्रुले ट्राफिक प्रहरीको ९८५१२९५१०० नम्बरको मोबाइलमा एसएसएस पठाए । त्यसको केही दिनपछि सोही ट्याक्सी चालकले मिटरमा जान नमानेको भन्दै पुनः एक यात्रुले एसएमएस पठाए। एउटै ट्याक्सीका चालकलाई मिटरमा जान नमानेकोमा प्रहरीले तीनपटक कारबाही गर्यो । बा २ ज १८२६ नम्बरको ट्याक्सी चालकले मिटरमा जान नमानेपछि यात्रुले एसएमएसमार्फत उजुरी दिए । मिटरमा जान नमानेकै कसुरमा प्रहरीले यो ट्याक्सीका चालकलाई पनि तीनपटक कारवाही गर्यो । वैशाखदेखि मिटरमा जान नमान्ने, मोलमोलाई गर्ने र मिटर बिगार्ने ट्याक्सी चालकमाथि प्रहरीले कारवाही गर्न थालेपछि अहिले प्रत्येक दिन करिब १२ ट्याक्सी चालक कारवाहीमा पर्ने गरेका छन् । तर मंगलबार भने कुनै पनि ट्याक्सी चालक कारवाहीमा परेनन् । किनभने मंगलबार ट्याक्सी चालकहरुले ट्राफिक प्रहरीले चलाएको कारवाही अभियानको विरोधमा ट्याक्सी चलाएनन् । यात्रुले भनेको ठाउँमा जान नमान्ने, मिटरमा नगई मोलमोलाई गर्ने र मिटर बिगार्नेलाई गरिएको कारवाहीका विरोध गर्दै ट्याक्सी जाम गरिएको समाचार बुधबारको कान्तिपुरमा छापिएको छ। उपत्यका ट्राफिक महाशाखाका डीआईजी प्रकाश अर्याल यात्रुलाई सहज तरिकाले गन्तब्यमा पुर्याउन अनुरोध गर्दा नमानेपछि कारवाही अभियान चलाएको बताउँछन् । ‘यो त ठग्न पाइएन भनेर गरेको आन्दोलन हो,’ उनले भने, ‘यात्रुलाई दुःख नदेऊ, मिटर नबिगार, मिटरमा उठेको भाडा लेऊ भन्दा आन्दोलन गर्ने कस्तो अचम्म रु’ जति आन्दोलन गरे पनि यात्रु ठग्नेलाई कडा कारबाही गरेरै छोड्ने उनले चेतावनी दिए।
साल्ट ट्रेडिङले ९ रुपैयाँमा बेच्ने नुन तिव्बती सीमाका दुर्गम गाँउमा १ सय ७० रुपैयाँसम्म, नुन पनि सुन जस्तै महंगो
काठमाडौं १२, असोज । तिब्बत सीमाका दुर्गम गाविसमा नुन पनि सुनजस्तै महँगिएको छ । काँडा गाविसमा आयोडिनयुक्त नुनको मूल्य प्रतिकिलो १ सय २० रुपैयाँ छ । सरकारी ढुवानी अनुदानमा साल्ट ट्रेडिङ कर्पोरेसनले प्रतिकिलो ९ रुपैयाँमा उपलब्ध गराउने नुनको मूल्य दुर्गममा पुग्दा महँगिएको हो । ढुवानी भाडाले आयोडिनयुक्त नुन महँगो पर्ने भएकाले यहाँका अधिकांशले तिब्बतबाट ल्याएको ढिके नुन प्रयोग गर्दै आएका छन । ‘नुन पनि सुनजस्तै महँगो भयो, आयो नुन त अब हुनेखानेले मात्र प्रयोग गर्छन्,’ काँडा धुली गाउँका लालसिंह बोहराले भने, ‘महँगो भएकाले सबैले त्यो नुन खान सक्ने अवस्था छैन ।’ गाउँका केही परिवारले मात्र आयोडिनयुक्त नुन प्रयोग गरिरहेको र अरू बाँकी तिब्बती ढिके नुनकै भरमा बाँचिरहेको उनले बताए । तिब्बतबाट भेडामा ल्याएको नुनको मूल्य धुलीमा प्रतिकिलो ६० रुपैयाँ छ । आयोडिनयुक्त नुन १ सय १० रुपैयाँ पर्छ । खच्चरबाट ल्याउँदा सदरमुकामदेखि धुलीसम्मको भाडा प्रतिकिलो ९० रुपैयाँ पर्ने भएकाले नुनको मूल्य महँगो भएको यहाँका व्यापारी जयपाल लामाले बताए । चैतदेखि असारसम्म र भदौदेखि मंसिरसम्म खच्चर चल्ने र अन्य महिनामा वर्षा र हिउँका कारणले बाटो बिग्रने भएकाले भरियालाई बोकाएर ढुवानी गर्नुपर्दा मूल्य झन्डै दोब्बर परिरहेको उनको भनाइ छ । ‘भरीयाद्वारा ल्याउँदा एक किलोको १ सय ७० रुपैयाँ पर्न जान्छ,’ उनले भने, ‘भाडा नै त्यति तिरेपछि हामीले कतिमा बेच्नु रु यहाँ पोकाको नुन खान सक्ने परिवार नै कम छन् ।’ खच्चरबाट ढुवानी गरेको नुन पनि बलौडीमा किलोको १ सय २० र त्यसभन्दा माथि रहेका अस्थायी होटलहरूमा १ सय ५० सम्म पर्ने गरेको समाचार बुधबारको कान्तिपुरले छापेको छ ।
यामाहाको ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन विजेता घोषित
काठमाडौं, ११ असोज । यामाहा मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दशैं अफर ‘टेक्नो ट्रिप टु टोकियो’का थप तीन जना साप्ताहिक विजेताको नाम घोषणा गरेको छ । उक्त योजनामा बिर्तामोडका अरुण फुयाल चौथो विजेता घोषित भएका हुन् । उनले बिर्तामोडस्थित सयपत्री ट्रेडलिंकबाट सुपरमोडल स्कुटर फेसिनो खरिद गरेका थिए । यामाहाको दशैं स्किमका पहिलो विजेता ललितपुरका पुकार शर्मा हुन् । उनले रिसिक अटोमोबाइल्सबाट एफजेड–एस एफआई खरिद गरेका थिए । उनीपछि भक्तपुरका रवि भोमी र पर्साका आशिष भुजेल क्रमशः दोस्रो र तेस्रो साताका विजेता घोषित भए । भोमीले द ह्विल्सबाट फेसिनो र भुजेलले पर्साबाट रे जी खरिद गरेका थिए । एमएडब्लुले दशैंको सुखद अवसरमा आफ्ना ग्राहकहरुका लागि ‘टेक्नो ट्रिप टु टोकियो’ ल्याएको हो जसअन्तर्गत यामाहाका मोटरसाइकल वा स्कुटर खरिद गर्ने हरेक ग्राहकले आठ हजार रुपैयाँ छुट पाउनुका साथै हरेक साता एक जना भाग्यशालीले जापान भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । यामाहाकाको दशैं योजनाबाट ग्राहकहरु उत्साहित भएको हामीले पाएका छौं । यो योजना तिहारसम्म जारी रहनेछ । ‘टेक्नो ट्रिप टु टोकियो’का साप्ताहिक विजेताले जापानस्थित यामाहाको कम्युनिकेसन प्लाजा, प्लान्ट र अन्य पर्यटकीय क्षेत्रको अवलोकन गर्ने सुनौलो मौका पाउनेछन् । एमएडब्लुले भर्खरै मात्र ‘स्पोर्टी’ स्कुटर रे जेडआर सार्वजनिक गरेको थियो । नेपाली बजारको यामाहा एफजेड–एस एफआई, एफजेड एफआई, आर १५, स्यालुटो, एसजीआरआर, फेसिनो र रेजी लगायतका दुईपांग्रे उपलब्ध छन् । एमएडब्लुले अत्याधुनिक अटोमोबाइल प्रविधिजडित आर३को समेत विक्री गर्दै आएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर १५ र एफजेडमा फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
राजधानीमा ‘थाईल्याण्ड नेपाल दशैं फेष्टिवल’ आगामी शुक्रबारदेखि हुँदै
काठमाडौं, ११ असोज । नजिकिँदै गरेको दशैंको पुर्वसन्ध्यामा राजधानीमा थाइल्याण्ड नेपाल दशैं फेष्टिवल आयोजना हुने भएको छ । सायम लंचंग बैंककको आयोजना यहि असोज १४ गते शुक्रबारदेखि १८ गते मंगलबारसम्म फेष्टिबल आयोजना हुन लागेको हो । फेष्टिवलले नेपाल र थाइल्याण्डको व्यवशायिक सम्बन्ध बिस्तारमा टेवा पुग्ने विश्वास गरिएको छ । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी फेष्टिबलको आयोजकले थाईल्याण्ड नेपाल दशैं फेष्टिवलमा नेपाल, थाइल्याण्ड र बंगलादेशको गरी १ सय ५० बढी प्रदर्शनी कक्षहरु रहने जानकारी दिएको छ । उक्त फेष्टिबल नेपालका लागि थाई राजदुताबास, थाइल्याण्ड नेपाल चेम्बर अफ कमर्श तथा ललितपुर उद्योग वाणिज्य संघको विशेष सहयोगमा आयोजना हुन लागेको छ । थाई एयरवेजले प्रवद्र्धन गरेको फेष्टिबलले गुणस्तरीय उत्पादनको प्रयोगमा नेपाली उपभोक्तालाई अभ्यस्त बनाउन सहयोग पुग्ने विश्वास आयोजकको छ । फेस्टिवलको मार्के्टिंग पार्टनर गुड नेटवर्क तथा मार्केटर रहेका छन् । सिन्थेसिस एक्विजिसन्स एण्ड इभेण्ट्स प्रालिको व्यवस्थापनमा काठमाण्डौंको भृकुटिमण्डपस्थित प्रदर्शनी कक्षमा आयोजना हुने एक्स्पोमा ३० भन्दा बढी बंगलादेशी व्यवशायीहरुले आफ्ना उत्पादनहरुको प्रदर्शन तथा बिक्रि बितरण गर्नेछन् । त्यसै गरी थाइल्याण्डका ४० भन्दा बढी व्यवशायीको पनि फेष्टिबलमा सहभागिता रहनेछ । विभिन्न विधाका उत्पादनहरु निर्माण सामग्री, तयारी पोशाक, प्लाष्टिकजन्य उत्पादन, सेरामिक्स, खाद्यान्न तथा खाद्य पदार्थ छालाजन्य उत्पादन, टेक्सटाइलका उत्पादन, औषधिजन्य उत्पादन, सौन्दर्य सामग्री, जुत्ता चप्पल, विद्युतीय सामग्री एक्सपोको आकर्षणका रुपमा रहने छन् । त्यसै गरि हस्तकलाका उत्पादन, कृषि जन्य उत्पादन तथा औजार, तयारी खाद्य सामग्री, प्रविधिजन्य सेवा सुविधा तथा पर्यटन सम्बन्धी वस्तु तथा सेवा एक्स्पोका अवलोकनकर्ताको आकर्षण बन्ने छ । एक्स्पोमा नेपालका तर्फबाट पनि व्यवशायीहरुले बैंकक आयात गर्न चाहनेहरुलाई लक्षित गर्दै आफ्ना उत्पादनहरुको प्रदर्शनी तथा बिक्रि बितरण गर्ने छन् । जसले नेपालमा उत्पादित वस्तु तथा सेवाको पहुँच बैंकक पुर्याउन र नेपाली उत्पादन निर्यात प्रवद्र्धन गर्न सहयोग पुर्याउने छ । यसका अलावा पछिल्लो समय विकास भएका प्रविधिको नेपाल र बैंकक साटा साट गर्न पनि एक्स्पोले महत्वपुर्ण योगदान पुर्याउने विश्वास गरिएको छ । नेपाल र बैंकक द्धिदेशिय सम्बन्ध बिस्तारका बहुआयामिक पक्षहरुलाई समेत फेस्टिवलले उजागर गर्नेछ । उक्त फेष्टिवलको सफलताले नेपाल बैंकक बीचको सम्बन्ध बिस्तार, सहकार्य बिस्तार र आगामी दिनको व्यवशायिक मार्ग निर्देशन गर्ने अपेक्षा आयोजकको रहेको छ ।