विकासन्युज

नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुतलाई उद्योग मन्त्रीको आग्रह

काठमाडौं, १२ असोज । उद्योग मन्त्री नवीन्द्रराज जोशीले नेपालमा लगानी वृद्धि गर्न भारतीय राजदुत रंजीत रायलाई आग्रह गरेका छन् । जोशीले बुधबार उद्योग मन्त्रालय सिंहदरवारमा भारतीय राजदुत राय सँगको भेटमा सो विषयमा आग्रह गरेका थिए । नेपालमा औद्योगिक विकासको अत्यन्त ठुलो सम्भावना रहेको भन्दै मन्त्री जोशीले औद्योगिक वातावरण निर्माणका लागी उद्योग मन्त्रालयले काम गरिरहेको बताए । अहिले उद्योग मन्त्रालय नीतिगत सुधारको प्रकृयामा रहेको भन्दै मन्त्री जोशीले यसका लागि छिट्टै संसदबाट औद्योगिक व्यवसाय सम्वन्धी कानूनलाई संशोधन र एकिकरण गरी बनेको विधेयक २०७१ पास गर्न लागिएको बताएका छन् । सो विधेयकले मुलुक भित्र श्रम मैत्री औद्योगिक वातावरणको निर्माण गर्ने मन्त्री जोशीले बताए । मन्त्री जोशीले उद्योग स्थापनाका लागि लाग्ने प्रकृयागत झण्झटहरुलाई समेत सरलिकृत गरी छिटो भन्दा छिटो सेवा दिने दिशामा उद्योग मन्त्रालयका सेवाहरुलाई सुधार गरिएको पनि उनले बताए । नयाँ संविधान निर्माण पछिको अवको समयलाई औद्योगिकरणका माध्यमबाट आर्थिक सम्वृद्धि हासिल गर्ने दिशामा केन्द्रीत गर्न लागिएको भन्दै उद्योग मन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानी आकर्षित गर्न विदेशी लगानी सम्वन्धी विद्यमान कानूनमा समेत समसामयीक सुधार गर्न लागिएको प्रष्ट पारेका छन् । भेटमा नेपालका लागि भारतिय राजदुत रंजीत रायले लगानी प्रकृयामा देखिएका प्रकृयागत झण्झटहरुलाई समाधान गर्न सुझाव दिएका छन् । भारतमा रहेका लघु, घरेलु तथा साना उद्योगको अनुभवले नेपालका लघु, घरेलु तथा साना उद्योगको विकासका लागी फलदायी हुन सक्ने भएकाले ती संस्थाहरुबीच अनुभव आदन प्रदानका लागि काम गर्न सकिने बताए । नेपालको विकास प्रयासमा सहयोग गर्न भारत सँधै तत्पर रहेको नेपालका लागी भारतिय राजदूत रंजीत रायले बताएका छन् ।

केएल टावरमा सुरु भयो दशैं तिहार उपहार योजना

काठमाडौं, १२ असोज । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले दशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार नाम दिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार पाउने छन् । त्यसै गरी उपहार योजनामा सहभागि ग्राहकले साप्ताहिक तथा बम्पर उपहारमा टेलिभिजन वासिंग मेशिनदेखि मोटरसाइकलसम्म उपहार पाउने छन् । दशैंमा केही नयाँ वस्तु तथा सेवा खरिद गर्ने आम उपभोक्ताको मनसायलाई प्रोत्साहित गर्दै मलको व्यवशाय प्रवद्र्धनका लागि यो योजना ल्याइएको हो । उपहार कार्यक्रमका संयोजक हिरामणी तिमल्सिनाका अनुसार उपभोक्ताले केएल टावरमा सामान खरिद गर्नेले कुपन मार्फत उपहार प्राप्त गर्नेछन् । जस अनुसार दैनिक उपहारमा सिनेमा टिकट, सपिङ भौचर, जेडटिईका स्मार्टफोन, फुडकोर्टको लन्च कुपन लगायत रहेका छन् भने साप्ताहिक रूपमा मलले टिसिएल र गोदरेज ब्राण्डका वासिङ मेसिन, टेलिभिजन, फ्रिजलगायतका घरायसी सामान उपलब्ध गराउने तिमल्सिनाले बताए । यसका साथै साप्ताहिक उपहार कार्यक्रममा ग्रिनविच कम्पनीको टाइमेक्स घडी तथा ५ हजार रुपैयाँँबराबरको सपिङ भौचर पनि ग्राहले पाउने छन् । उपहार योजनाको बम्पर उपहारमा टिभिएसको अपाचे आरटिआर मोटरसाइकल, टिभिएसकै जेस्ट स्कुटर तथा बैंकक भ्रमणको अवसर ग्राहले पाउने छन् । ५० वटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका दैनिक प्रयोगमा आउने सबै प्रकारका सामान खरिद गर्न सकिने मलमा १ हजार रुपैयाँ बराबरको खरिदमा ग्राहले एउटा उपहार कुपन प्राप्त गर्नेछन् । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ । असोज १० गते सुरु भएको कार्यक्रम कात्तिक २७ गतेसम्म चल्नेछ ।

यातायात व्यवसायीद्वारा बिपी राजमार्ग बन्द, यात्रु अलपत्र

सिन्धुली, १२ असोज । यातयात व्यवसायीले बुधबार बिहान ९ः३० बजेदेखि बिपी राजमार्ग बन्द गराएका छन् । मार्ग इजाजतको माग गर्दै बुधबार बिहानैदेखि यातायात व्यवसायीले यहाँको राजमार्गमा सवारी साधन तेर्सायएर बन्द गरेका हुन् । सरकारले अस्थायी मार्ग इजाजत दिने निर्णय गरे पनि मङ्गलबार धादिङमा भएको घटनालाई लिएर निर्णय परिवर्तन गरेपछि आफूहरुले बन्द गर्नुपरेको यातायात व्यवसायीले बताएका हुन् । सरकार आफैँले गरेको निर्णय कार्यान्वयन गराउनुको साटो उल्टै व्यवसायीलाई धरासायी बनाउन खोजेको बिपी यातायात सेवा समितिमा आबद्ध व्यवसायी पुरुषोत्तम शर्माले बताए । सरकारले तत्काल अस्थायी मार्ग इजाजत नदिएसम्म राजमार्ग बन्द गराउने उनको भनाइ थियो । सिन्धुलीका बिपी यातायात, कमलामाई यातायात, हिमाल तराई यातायातलगायतका जिल्लाका झन्डै एक दर्जन यातायात व्यवसायीले मार्ग इजाजतको माग गर्दै बिपी राजमार्ग अवरुद्ध गरेका हुन् । यसैबीच जिल्ला सशस्त्र प्रहरी बल बेस क्याम्प सिन्धुलीका प्रहरी नायब उपरीक्षक यदुविक्रम कार्कीले राजमार्ग कुनै पनि हालतमा बन्द गर्न नपाइने बताए । यातायात व्यवसायीले बिपी राजमार्गको विभिन्न स्थानमा बस तेर्सायएर गरेको बन्दले सिन्धुली हुँदै उदयपुर, झापा, मोरङ, हिलेबाट राजधानी हिँडेका दजनौँ यातायात सिन्धुलीमा रोकिएका छन् भने काठमाडौंबाट सिन्धुली हुँदै घर हिँडेका यात्रु पनि अलपत्रमा परेका छन् । रासस

रेनोल्टले ल्यायो दशैँ तिहार लक्षित ‘रेनोल्ट क्यासटिभल’ अफर

काठमाडौं, १२ असोज । नेपालमा रेनोल्टको आधिकारिक बितरक, एडभान्स अटो मोबाईल प्रालिले दशैँ तिहार लक्षित ‘रेनोल्ट क्यासटिभल’ अफर ल्याएको छ । यो अफर यही भाद्र १४ गते देखि कार्तिक २१ गतेसम्म लागू हुनेछ । रेनोल्ट क्यासटिभल अफरले सपनाकोे रेनोल्ट कार खरिद गर्न चाहने नेपाली ग्राहकहरुले यो अवधि भर उत्कृष्ट सुविधाहरु प्राप्त गर्नेछन् । महोत्सव अफरमा ग्राहकहरुले रेनोल्ट डस्टरको खरिदमा १ लाख २५ हजार रुपैयाँ तथा क्विडको खरिदमा ९० हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । क्यास ब्याकको अतिरिक्त, ग्राहकहरुले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्परका साथै जोडिहरुले (रेनोल्ट डस्टरको मोडेल आरएक्सजेड प्लस, आरएक्सजेड प्लस एएमटी, आरएक्सजेड प्लस एडब्लुडीको प्रतेक खरिदमा सिंगापुरको राउण्ड ट्रिपको टिकट फ्री जित्नेछन् । अफरको स्कीम लागू हुने अवधिसम्म कम्पनीले एक्सचेन्ज अफरका साथै न्यूनतम ब्याजदरमा मासिक किस्ताबन्दी र एक वर्षको लागि सडक कर छुट सुविधा उपलब्ध गराउनेछ, जसले गर्दा ग्राहकहरुले आफ्नो पुरानो गाडिहरु साटेर नयाँँ रेनो कार सहज रुपमा खरिद गर्न सक्नेछन् । रेनोल्ट फ्रेन्च बहुद्देशिय अटो मोबाईल उत्पादक हो, जून नेपाली बजारमा गत महिना मात्र प्रवेश गरेको हो । यो नेपालको सबैभन्दा ठूलो मध्ये एक व्यवसायीक समूह विशाल समूहसँग आवद्ध रहेको छ । एडभान्स अटोमोबिल प्रालि (विशाल समूहको सहायक), ले नेपालमा रेनोका तोकिएका श्रेणीका क्विड तथा डस्टर कारहरु उपलब्ध गराईरहेको छ ।

पाँच कम्पनीलाई साढे तीन अर्बको हकप्रद सेयर निष्काशन गर्ने अनुमति

काठमाडौं, १२ असोज । बिभिन्न पाँच वटा बैंक तथा वित्तिय संस्थाले साढे तीन अर्ब मुल्य बराबरको हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले कृषि विकास बैंक, सिद्धार्थ बैंक, सेती फाइनान्स, सेवा विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकलाई तीन अर्ब ४८ करोड ७१ लाख २४ हजार एक सय मुल्य बराबरको हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । कृषि विकास बैंकले २ बराबर एक कित्ताको अनुपातमा एक करोड ९६ लाख ८८ हजार कित्ता हकप्रद सेयर निष्काशनको अनुमति पाएको छ । असोज २ गते हकप्रद सेयर निष्काशनको अनुमति पाएको यस बैंकले एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । त्यस्तै, असोज २ गते नै सिद्धार्थ बैंकले ४ बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयरको निष्काशन अनुमति पाएको हो । बैंकले ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सिद्धार्थले लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । सोही मितीमा सेती फाइनान्सले पनि एक बराबर एक दशमलब ५ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति पाएको हो । फाइनान्सले ९ लाख ५१ हजार ७सय ८६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । सेती फाइनान्सले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बोर्डले असोज ६ गते सेवा विकास बैंक र ७ गते वेष्टर्न डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशनको अनुमति दिएको हो । सेवाले एक दशमबल एक दशमलब २ कित्ताको अनुपातमा एनएमबी क्यापिटल मार्फत ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । वेष्टर्न डेभलपमेन्ट बैंकले पनि एक बराबर एक कित्ताको अनुपातमा प्रभु क्यापिटल मार्फत १५ लाख ६९ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गर्नेछन् । बुक क्लोज पुर्व सेयर खरिद गर्ने लगानी कर्ताहरुले हकप्रद सेयर प्राप्त गर्न सक्नेछन् ।

समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकको पूँजी आठ अर्ब

काठमाडौं, १२ असोज । राष्ट्र बैंकले तोकेको समय अगावै नेपाल इन्भेष्टमेन्ट बैंकले पूँजी वृद्धि गरेर आठ अर्ब रुपैयाँ पुर्याएको छ । मंगलबार सम्पन्न बैंकको ३० औँ साधारणसभाले बैंकको ४१ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई पारित गरेपछि बैंकले पूँजी आठ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको हो । बैंकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनश शेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांस दिने प्रस्ताव गरेको थियो । बैंकले गत आर्थिक बर्षमा दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । हाल बैंकको ७ अर्ब २५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । बोनश वितरण पश्चात बैकको चुक्तापूँजी ८ अर्ब ७१ करोड रुपैयाँ पुग्नेछ । बैंकको ३०औँ साधारणसभाबाट सञ्चालकमा भुवनेश्वरप्रसाद शाह र निराजनमान श्रेष्ठ चुनिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको प्रवर्धन समूहको प्रतिनिधित्व गर्दै विनोदकुमार गुरागाईँलाई सञ्चालकका रूपमा चुनिएको बैंकद्धारा जारी प्रेस विज्ञप्तीमा छ । उक्त सभामा बैंकले एक अर्ब भन्दा बढी चुक्ता पूँजी भएको एस डेभलपमेन्ट बैंकलाई खरिद गर्ने निर्णय पनि गरेको छ । गत आर्थिक बर्षको वित्तीय विवरण अनुसार बैंकको जगेडा कोषमा १० अर्ब ५५ करोड रुपैयाँ रहको छ । हाल बैंकले ७ लाख भन्दा बढी ग्राहकलाई ४७ शाखा, ८२ एटिएम मार्फत सेवा दिँदै आइरहेकोे छ ।

नेपाली जुत्ता घरको ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ योजना

काठमाडौं, १२ असोज । स्वदेशी ब्राण्डका जुत्ता बिक्रि गर्ने नेपाली जुत्ता घरले बडा दशै तथा तिहारलाई लक्षित गरि ‘स्क्रयाचमा केबल कार, बम्परमा आईफोन उपहार’ नामक उपहार योजना ल्याएको छ । यस उपहार योजना अन्र्तगत प्रत्येक जोर जुत्ता तथा चप्पलको खरिदमा उपभोक्ताले एउटा स्क्रयाच कुपन प्राप्त गर्नेछन् । साथै, स्क्रयाच कुपन मार्फत ५ देखि ५० प्रतिशत छुट वा ७५ देखि ५ हजार रुपैयाँसम्म नगद र चन्द्रागिरी केबल कारको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस योजनामा बम्पर उपहारको समेत व्यवस्था गरिएको छ । उपहार योजनाको अन्त्यमा हुने बम्पर उपहारमा योजना अवधिभरमा सहभागी भएका उपभोक्ताहरुबाट बम्पर लक्की ड्र मार्फत ७ जनालाई आईफोन, २ जनालाई ल्यापटप प्रदान गरिनेछ । नेपाली जुत्ता घरमा नेपाली बजारमा ख्यातीप्राप्त एवं ब्राण्डेड जुत्ता कम्पनीहरुको सहभागीता रहेको छ । जसमा शिखर, बि.एफ.डियर हिल, स्काई, कोशेली, क्रसरोड, लेदर विङ्गस्, टाकुरा, सफटच, शूल्याण्ड र ईजि लगायतका प्रतिष्ठित ब्राण्डका जुत्ता चप्पलहरु पाईनेछन् । जुत्ता घरमा सबै ब्राण्डका स्पोर्टस्, क्याजुयल, पार्टी, अफिसियल, कलेज/स्कुल र लेडीज सबै बर्ग उमेर र समुहलाई हुने जुत्ता तथा चप्पलहरु बिक्रि वितरणका लागि राखिएको छ । कम्पनीहरुले चाडपर्वलाई ध्यानमा राखि उत्पादित नयाँ मोडलका जुत्ता चप्पलहरु समेत नेपाली जुत्ता घरमा बिक्रि वितरणका लागि राखिएको छ । जुत्ताघरको मुख्य उद्देश्य भनेको नेपाली ब्राण्डको पहिचान एवं नेपाली ब्राण्डको प्रवद्र्धननै रहेको छ । जुत्ता घरमा सबै खालका भेराईटी पाउनुका साथै समयको बचत एवं राजधानीको प्रमुख व्यापारिक केन्द्रहरुमा भएको हुँदा उपभोक्तालाई आफ्नो सेवा तथा सुविधा पुरयाउन सहज हुने विश्वास कम्पनीको रहेको छ ।

४ अर्ब ८८ करोड खर्चेर ३२ जिल्लामा अप्टिकल फाइबर, दुई बर्षभित्रै ब्रोडब्याण्ड सर्भिस

काठमाडौं, १२ असोज । नेपाल दुर सञ्चार प्राधिकरण र नेपाल टेलिकमबिच मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार प्राधिकरण अध्यक्ष दिगम्बर झा र टेलिकमकी नव नियुक्त प्रबन्ध निर्देशक कामीनी राजभण्डारीले ४ अर्ब ८८ करोड लागतको अप्टिकल फाइबर योजनामा हस्ताक्षर गरेका हुन् । आगामी दुई बर्षभित्र पुष्पलाल मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने सम्झौतामा उल्लेख गरिएको छ । पाँचथरको चियो भज्याङदेखि धादिङको सल्यानटारसम्मको २३७६ किलोमिटरमा अप्टिकल फाइबर बिछ्याइनेछ । अप्टिकल फाइबरले सो क्षेत्रमा ब्रोडब्याण्ड सर्भिस उपलब्ध गराउनेछ । सम्झौता पत्रमा हस्ताक्षर गर्दै प्राधिकरणका अध्यक्ष दिगम्बर झाले डिजिटल नेपाल बनाउने अभियानको प्रारम्भका रुपमा मध्यपहाडी लोकमार्गको पुर्वी खण्डमा अप्टिकल फाइबर बिछ्याउने कार्यक्रम सुरु गरिएको बताए । दुई बर्षभित्र सो खण्डमा काम सम्पन्न गरेर डिजिटल पुर्व खण्डको सुभारम्भ गरिने पनि उनले बताए । त्यस्तै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामीनी राज भण्डारीले समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरिन् । यसरी बिछ्याइएको अप्टिकल फाइबरको पुर्वाधार अन्य दुर सञ्चार सेवा प्रदायक कम्पनीलाई समेत सहप्रयोगका लागि उपलब्ध गराइने व्यवस्था छ । सम्झौता अनुसार आगामी दुई बर्षभित्र प्रदेश नम्बर १, २ र ३ का सबै जिल्ला सदरमुकाम र नगरपालिकासम्म अप्टिकल फाइबर बिछ्याउने काम सम्पन्न गरिनेछ । टेलिकमले यसै हप्ता प्रदेश नम्बर ४ र ५ मा अप्टिकल फाइबर बिछ्याउने कामका लागि टेण्डर आव्हान गर्दैछ । टेलिकमलाई भने सिधै काम गर्नेगरि सम्झौता गरिएको हो ।