राजधानीमा हरियो तरकारीको भाउ ह्वात्तै बढ्यो, दिनहुँ बढेको मूल्यले उपभोक्ता मारमा
काठमाडौं १७, असोज । दशैं विदाका लागि आम उपभोक्ताले राजधानी छोड्दै गरेका बेला दैनिक उपभोग्य बस्तुको माग घटेको छ । विद्यार्थी, शिक्षक तथा मजदुरी गर्नेहरुले धमाधन राजधानी छाडेसँगै उपभोग्य वस्तुको व्यापार घटेको थोक तथा खुद्रा व्यवसायीहरुले बताउँछन् । तर, माग घटे पनि सर्वसाधारणले सबैभन्दा बढी उपभोग गर्ने हरियो तरकारीको मूल्य भने दिनहुँ बढिरहेको समाचार सोमबारको कारोबारमा छापिएको छ। राजधानी बाहिरबाट फर्किने सवारी साधनले सस्तो दरमा ढुवान गर्ने बेलामा समेत तरकारीको मूल्य बढ्नुलाई धेरैले अस्वभाविधक रुपमा लिएका छन्। कीर्तिपुरको एक पसलमा आइतबार बिहान रायोको साग किन्दै गरेकी सर्लाहीकी लीला तामाङ बजार मूल्य दिनहुँ बढेको देखेर हैरान भएको बताइन्। तरकारीको भाउ छोइनसक्ने गरी बढेको उनले बताइन्।
काठमाडौंमा थप बिजुली ल्याउन समस्या, उपत्यकाभित्रको वितरण प्रणाली कमजोर
काठमाडौं १७, अजोज । काठमाडौं उपत्यकाभित्रको कमजोर वितरण प्रणालीले गर्दा यहाँ थप विद्युत् ल्याउन समस्या हुने देखिएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौं उपत्यकाको अहिलेको प्रणालीले पाँच सय मेगावाटभन्दा बढी धान्न नसक्ने बताए। ‘पाँच सय मेगावाटभन्दा बढी विद्युत् ल्याऊँ भन्दा प्रणालीले धान्दैन,’ उनले भने, ‘त्यसैले काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम भइरहेको समाचार सोमबारको नयाँ पत्रिका दैनिकमा छापिएको छ। काठमाडौं उपत्यकको पिक आवरको विद्युत् माग करिब पाँच सय मेगावाट छ । बढी मात्रमा घरायसी प्रयोजनका लागि प्रयोग हुने भएकाले राति विद्युत्को माग सयको हाराहारीमा झर्ने प्राधिकरणले जनाएको छ। काठमाडौं उपत्यकाको वितरण प्रणाली सुदृढीकरणका लागि थानकोट–चापागाउँ–भक्तपुर लाइन निर्माण गर्न लागिएको छ। ‘यो लाइन नबनेसम्म काठमाडौं उपत्यकामा विद्युत् आउन सक्छ, तर उपभोक्ताको घरसम्म प्रवाह हुन सक्दैन,’ आयोजना प्रमुख ताराप्रसाद प्रधानले भने। २६ किलोमिटर लाइनमध्ये अहिलेसम्म १२ किलोमिटर मात्रै बनेको छ। ललितपुरको चापागाउँमा स्थानीयको अवरोधले काम रोकिएको छ। गत वर्ष भारतीय नाकाबन्दीले खाना पकाउने ग्यासको अभाव हुँदा उपभोक्ताले खाना पकाउनका लागि विद्युतीय उपकरण प्रयोगमा ल्याएका थिए । ओभरलोड भएपछि ट्रान्सफर्मर पड्किएका थिए, तार जलेका थिए । प्रणालीले धान्न सक्नेभन्दा बढी विद्युत् प्रवाह भएमा गत वर्षजस्तै ट्रान्सफर्मर पड्किने र तार जल्ने सम्भावना रहेको प्राधिकरणका अधिकारी बताउँछन् ।
नेपाल टेलिकमले पायाे फोरजी सेवा सञ्चालन गर्न अनुमति, एक सातामा कार्ययोजना पेश गर्न प्राधिकरणको निर्देशन
काठमाडौं, १६ असोज । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई फोर जी सेवा सञ्चालन गर्न अनुमति दिदै एक साताभित्र कार्ययोजना पेश गर्न निर्देशन दिएको छ । गत शुक्रबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले टेलिकमलाई फोरजी सेवा सञ्चालन सहमति दिने र र त्यस सम्बन्धमा कार्ययोजना माग गर्ने निर्णय भएको र सोही अनुसार टेलिकमलाई आइतबार पत्र पठाइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । ‘फोरजी सेवा सञ्चालन गर्ने सम्बन्धमा कार्ययोजना पेश गर्न निर्देशन दिएका छौं । उसको कार्ययोजनाको आधारमा सेवा सञ्चालन गर्न अन्तिम स्वीकृति दिनेछौं’ प्रवक्ता अर्यालले विकासन्युजसँग भने–‘कुन कुन स्थानमा कहिलेसम्म फोरजी सेवा दिने हो, त्यसबारे रोल आउट प्लान बुझाउन भनेका छौं ।’ सरकारले केही महिनाअघि मात्र फोरजी सेवा खुला गर्ने नीति लिएको थियो । नयाँ नीति आएपछि नेपाल टेलिकमसहित एनसेल र स्र्माट टेलिकमले पनि फोरजी सेवा सञ्चालन गर्न अनुमति माग गर्दै प्राधिकरणमा निवेदन दर्ता गराएका छन् । नेपाल टेलिकमबाहेक अन्य कम्पनीको प्रस्तावबारे अध्ययन भईरहेको र निर्णय भईनसकेको अर्यालले जानकारी दिए । नेपाल टेलिकम फोरजी सेवा सञ्चालन गर्न तयारी अवस्थामा रहेकोले यसै साता कार्ययोजना पेस गर्ने नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । ‘एक हप्ताभित्र विजनेश प्लान बुझाउनु भनेर प्राधिकरणको पत्र आएको छ, हामी तोकिएको समयभित्र नै सबै योजना पेस गर्छौ’ उनले आईतबार साँझा विकासन्यजसँग भनिन् ।
काठमाडौं उपत्यकाका १ लाख १५ हजार घरको सर्भेक्षण
काठमाडौं, १६ असोज । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार असोज १५ गतेसम्म काठमाडौंमा ५३ हजार १ सय ४९, भक्तपुरमा ३२ हजार ३८ र ललितपुरमा ३० हजार ६ सय ६१ घरको सर्भेक्षण सम्पन्न भएको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा विस्तृत घरधुरी सर्भेक्षण गरिएकोमा काठमाडौं उपत्यकामा भेरीफिकेसन मोडलबाट घर सर्भेक्षण गरिएको हो । सर्भेक्षण सम्पन्न भई अनुदान प्राप्त गर्न योग्य घरधनीको सूची प्रकाशन गर्न क्रम सुरु भएकाले राजधानीमा छिट्टै अनुदान सम्झौता सुरु हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
जियोनि पी सेभेन म्याक्स र एस सिक्स प्रो मोबाइल नेपाली बजारमा
काठमाडों, १६ असोज । दसैंको अवसरमा जियोनिले नेपाली बजारमा २ नयाँ स्मार्टफोनहरु ल्याएको छ । जियोनिले थप दुई एस सिक्स प्रो र पी सेभेन म्याक्स मोबाइन नेपाली बजारमा ल्याएको हो । कम्पनीका अनुसार पी सेभेन म्याक्समा अत्यन्त आकर्षक र चम्किलो डिजाइन रहेको छ । यसमा ५.५ इन्चको एच डि स्क्रिन रहेको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्याश सहितको ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । रियर क्यामेरामा फास्ट शटर स्पिड र फास्ट फोकस यसको विशेषता हो । पी सेभेन म्याक्समा २.२ गिगाहर्जको अक्टाकोर मिडियाटेक पी टेन प्रोसेसर छ र ३१०० एम ए एचको ब्याट्री रहेको छ । यसमा ३ जी बि र्याडम र ३२ जी बि इन्टरनल स्टोरेज रहेको छ । अन्य जियोनि स्मार्टफोनझैं यसमा पनि डि टि एस साउन्ट प्रविधि छ । एन्ड्रोइड ६.० मा आधारित जियोनिको अमिगो ३.२ यु आई पी सेभेन म्याक्समा छ । बजारमा यसको मूल्य २१ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, एस सिक्स प्रो भने एस सिक्स एसको परिष्कृत मोडेल रहेको कम्पनीले जनाएको छ । ४ जी बि र्याम र ३२ जी बि स्टोरेज रहेको यो फोनमा ६४ बिटको अक्टाकोर १.८ गिगाहर्ज हेलियो पी टेन प्रोसेसर रहेको छ । फोनमा पूर्ण मेटालिक बडि रहेको छ जसमा गोरिल्ला ग्लास ३ ले सुरक्षित ५.५ इन्चको १०८०पी एफ एच डि २.५ डी वाटर ड्रप डिस्प्ले छ । एस सिक्स प्रोमा १३ मेगापिक्सेलको रियर क्यामेरा र स्क्रिन फ्ल्यास सहितको फ्रन्ट क्यामेरा छ । एस सिक्स प्रोमा फ्रन्ट फिङ्गरप्रिन्ट स्क्यानर पनि छ जुन फोटो खिच्नका लागि समेत प्रयोग गर्न सकिन्छ । यो डुअल सिम सेटमा ३१३० एम ए एचको ब्याट्री र यु एस बि टाइप सी चार्जिंग छ । फोनमा एन्ड्रोइड ६.०.१ मा आधारित जियोनिको आफ्नै यु आई अमिगो ३.२ छ । बजारमा यसको मूल्य ३४ हजार ९९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ । यो फोन सिल्भर, गोल्ड, र रोज गोल्ड रंगमा उपलब्ध छ ।
सुजुकी धुमका विजेताको नाम घोषणा
काठमाडौं, १६ असोज । नेपालका लागि सुजुकी मोटरसाइकलको आधिकारिक आयातकर्ता तथा विक्रेता भी.जी. अटोमोबाइल्स प्रा.लिले सुजुकीे धुम अफरका पहिलो महिनाको भाग्यशाली विजेता लक्की ड्र मार्फत घोषणा गरेको छ । उक्त विजेता घोषणा टेकु स्थित भी.जी. सुजुकी शोरुममा एक कार्यक्रम बीच गरिएको छ । सुजुकी धुम अन्र्तगत पहिलो महिनाको सुजकी जिक्सर एसएफ् मोटो जिपी भाग्यशाली विजेता सुर्खेतका शान्ता वम भएकी छन् । दशैं तिहारलाई लक्षित गरेर ल्याइएको भी.जी. सुजुकी धुम अफरमा ग्राहकले हरेक बाइक वा स्कुटरका खरिदमा एउटा स्क्र्याच कुपन पाइने छ । जसमा ७ हजार रुपैयाँ देखि १ लाख रुपैयाँ सम्मको नगद छुट प्रदान गरेको छ । साथै भाग्यशाली विजेताले हरेक महिना लक्की ड्र मार्फत सुजुकी जिक्सर एसएफ् मोटो जिपी प्राप्त गर्न मौका पाएका थिए । यो योजना भदौ १५ देखि मङसिर १५ गते सम्म नेपाल अधिराज्यभरमा रहेको भी.जी सुजुकी डिलरमा लागू गरिएको कम्पनीले जनाएको छ ।
सिटिजन्स बैंकले ७५ करोड बोनसका साथै ३ करोड नगद लाभांश दिने, ८ अर्व पूँजी पुर्याउन २५ प्रतिशत हकप्रद निष्कासन गर्ने
काठमाडौं, १६ असोज । सिटिजन्स इन्टरनेसनल बैंकले आर्थिक वर्ष ७२/७३ को नाफाबाट सेयरधनीलाई ७५ करोड ६ लाख ७५ हजार ७६२ रुपैयाँ बोनस दिने भएको छ । साथै, कर प्रयोजनको लागि ३ करोड ९५ लाख ९ हजार २५१ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्ने बैंकको निर्णय पारित भएको छ । उक्त निर्णय आइतबार सम्पन्न बैंकको १०औँ वार्षिक साधारणसभाले पारित गरेको छ । सो मात्रामा बोनस वितरण पश्चात बैंकको चुक्ता पूँजी ४ अर्व ७५ करोड ११ लाख १२ हजार रुपैयाँ पुगेको छ । साथै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकको चुक्ता पूँजी ८ अर्व रुपैयाँ पुर्याउने उद्देश्य अनुरुप बैंकले आफनो पूँजी योजना अनुसार चालु आर्थिक वर्ष भित्र १०:२.५ (२५ प्रतिशत) हकप्रद शेयर जारी गर्ने समेत निर्णय गरेको छ । उक्त सभामा संचालक समितिको तर्फबाट अध्यक्ष शंकर प्रसाद शर्माका अनुसार बैंकले आर्थिक वर्ष २०७२।७३ मा थप ११ अर्व ६१ करोड रुपैयाँ निक्षेप परिचालन गरी कूल निक्षेप ४७ अर्व ३९ करोड रुपैयाँ परिचालन गरेको छ । साथै कर्जा लगानी तर्फ बैंकले ११ अर्व ३६ करोड रुपैयाँ वृद्धि गरी कुल ४० अर्व ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै सोही आ.व.मा बैंकको संचालन मुनाफामा ४२.४५ प्रतिशत र खुद मुनाफामा ४९.९९ प्रतिशत वृद्धि भई क्रमश १ अर्व ५६ करोड रुपैयाँ तथा १ अर्व ८ करोड रुपैयाँ आर्जन गरेकोे बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । सोही सभाबाट समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्न गरिएको निर्वाचनमा मनोहरदास मूल निर्विरोध निर्वाचित भएका छन् ।
दश वर्षपछि उपत्यका बाहिर साझा बस, पहिलो पटक बाग्लुङ र गोरखा जिल्लामा
काठमाडौं, १६ असोज । साझा यातायातले दसैँमा काठमाडौं उपत्यका बाहिर जाने यात्रुको चापलाई ध्यानमा राखी आइतबारदेखि सेवा विस्तार गरेको छ । दश वर्षपछि पहिलो पटक आइतबारदेखि साझाले आफ्नो सेवा उपत्यका बाहिर विस्तार गरेको हो । दशैंमा घर जाने यात्रु बोकेर पहिलो पटक साझा बाग्लुङ र गोरखाका लागि छुटिसकेको साझाका कामु प्रमुख कार्यकारी निर्देशक महेन्द्रराज पाण्डेले जानकारी दिए। लामो समयपछि आज पहिलो दिन काठमाडौंदेखि बाग्लुङ र काठमाडौं—गोरखाका लागि दुई दुई बस बिहान ८ बजेदेखि उपत्यकाबाट बाहिरिसकेका छन् । पाण्डेका अनुसार अब एक दई दिनमा साझा बस चढेर दसैँ मान्नका लागि वीरगन्ज जान पाउने छन् । विभिन्न आन्तरिक कारणले गर्दा विसं २०६२÷६३ देखि पूर्ण रूपमा लामो दूरीमा साझाका बस सञ्चालन हुन छाडेको थियो । झन्डै दुई हप्ताअघि भारतबाट ल्याइएका तीस बस भने परीक्षणका क्रममा रहेकाले दसैँपछि मात्र सञ्चालन हुने प्रमुख पाण्डेले जानकारी दिए । काठमाडौं उपत्यकामा भने विसं २०७० वैशाखदेखि १६ बस सञ्चालन भइरहेका छन् । साझाले अहिले उपत्यका बाहिर सञ्चालन गर्न लागेको बस नयाँ नभई हाल उपत्यकामा सञ्चालन भइरहेका बस नै हुन् । सेवा विस्तार गरिएको स्थानमा जानका लागि यात्रुले पुल्चोक र कलङ्कीबाट टिकट काट्न पाउनेछन् । उक्त बसमा एक पटकमा बसेर ५५ जनाले र केहीले उठेर पनि यात्रा गरेका छन् । रासस