विकासन्युज

उद्योगमा विदेशी नागरिकलाई नियुक्त गर्न नपाउने, नियुक्त गर्नु परेमा श्रम विभागबाट स्वीकृत लिनु पर्ने

काठमाडौं, १७ असोज । अब उद्योगी व्यवसायीहरुले आफ्नो उद्योग तथा प्रतिष्ठानलाई आवश्यक पर्ने जनशक्ति नेपाली नागरिकबाटै पूर्ति गर्नुपर्ने भएको छ । संशोधित ‘औद्योगिक व्यवसाय ऐन २०७३’ ले उद्योगलाई आवश्यक पर्ने जनशक्ति राष्ट्रिस्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गरी पदपूर्ति गर्नुपर्ने व्यवस्था गरेको छ । यस अघि उद्योगी व्यवसायीहरुले आफूले चाहेमा विदेशी जनशक्तिबाट पनि पूर्ति हुँदै आएको थियो । यदि उद्योगको लागि कुनै खास सीप तथा दक्षता भएको जनशक्ति नेपाली नागरिकबाट उपलब्ध हुन नसकेमा अथवा उच्च व्यवस्थापन तहको पदका लागि श्रम विभागबाट स्वीकृत लिई बढीमा ५ वर्षसम्मका लागि यस्ता उद्योगहरुले विदेशी नागरिक नियुक्त गर्न सक्ने छन् । श्रम विभागले जनशक्ति सिफारिस गर्दा उद्योगले माग गरे बमोजिमको सीप र दक्षता भएको जनशक्ति नेपाली नागरिकबाट पूर्ति गर्न प्रयास गरे नगरेको वा त्यस्तो जनशक्ति नेपालमा उपलब्ध हुन सक्ने नसक्ने सम्बन्धको यकिन गर्ने र उद्योगलाई त्यस्तै जनशक्ति आवश्यक भएको ठहर भएमा श्रम विभागबाट स्वीकृत लिएरमात्र विदेशी नागरिकलाई नियुक्त गर्नुपर्ने वाध्यकारी व्यवस्था औद्योगिक ऐन २०७३ ले गरेको छ । यदि नियुक्त गरिएको व्यक्ति विशिष्ट प्रकारको प्राविधिक भएमा त्यस्तो जनशक्ति नेपालमा उपलब्ध हुन नसक्ने अवस्था रहेको खण्डमा उसलाई थप दुई पुनः नियुक्त गर्न सक्ने छ । त्यस्तो नागरिकले आफ्नो तलव, भक्ता, पारिश्रमिक रकम बढीमा ७५ प्रतिशतसम्म परिवत्र्य विदेशी मुद्रामा लैजान पाउने छ । सुदृढ औद्योगिक सम्बन्धलाई औद्योगिक उत्पादकत्वको वृद्धिलाई प्रवल आधार मानी काम नगर्दाको अवधिको पारिश्रमिक सम्बन्धमा प्रचलित श्रम ऐनले निदिष्ट गरे अनुसार व्यवस्था हुनेछ । श्रम ऐनअनुसार श्रम विवाद तथा अन्य विषयलाई लिएर हुलदंगा, बन्द हड्ताल गरेमा त्यस्तो कर्मचारी तथा कामदारलाई नसिहत पनि दिन सक्नेछ । उद्योगमा कार्यरत कर्मचारी तथा कामदारले उद्योगको संचालन तथा त्यसको उत्पादनमा अवरोध पुग्ने गरी बन्द हडताल जस्ता कुनै काम कारवाही गर्न पाउने छैनन् । तर, कामदार तथा कर्मचारीले आफ्ना जायज मागहरु शान्तिपूर्ण ढंगले व्यवस्थापन समक्ष राख्न र आपसी सहझदारीमा समाधान गर्न भने पाउने छन् । विवाद समाधन हुन नसकेको परिस्थिितिमा कानुन बमोजिम गठन भएको ट्रिव्युनलमा त्यस्ता विवाद पेश गर्न सकिने छ । ट्रिव्युनलको निर्णयनै दुबै पक्षलाई मान्य अन्तिम निर्णय हुनेछ । करारमा कामदार राख्न पाउने कुनै पनि उद्योग तथा प्रतिष्ठानले कामदारसँग करार तथा उपकारर गरी वस्तु तथा सेवाको उत्पादन गर्न सक्ने छ । निर्यातमूलक उद्योग तथा निर्यात प्रवद्र्धन गृहले तोकिएको मापदण्ड पु्रा गरी करार वा उपकरारका आधारमा निश्चित परिमाणमा वस्तु तथा सेवाको उत्पादन गरेमा त्यस्ता उद्योगले ऐनमा व्यवस्था भएबमोजिमको छुट सुविधा तथा सहुलियत पाउने छन् । मुलुकभित्र उत्पादित वस्तु निर्यात गरेमा विदेशमा निर्यात गरेको परिमाणको आधार, वस्तु निर्यात गरेको सूचना नेपाल सरकारको राजपत्रम प्रकाशित गरेमा ड्युटी ड्र ब्याकको रकम फिर्ता पाउने ऐनमा उल्लेख गरिएको छ । उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ वा सहायक कच्चा पदार्थ भन्सार महसुलले तोकेको शर्त र कार्यविधिमा रहि वस्तु आयात गर्न सक्ने सुविधा ऐनले व्यवस्था गरेको छ ।

लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने, शतप्रतिशत हकप्रद सेयर पनि

काठमाडौं, १७ असोज । लक्ष्मी बैंकले प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्ने भएको छ । असोज १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले प्रोफेसनल दियालो विकास बैंकलाई अक्वाएर गर्ने निर्णय गर्दै कात्तिक ७ गते आयोजना हुने बिशेष साधारण सभामा बिशेष प्रस्ताव लैजान लागेको हो । हाल लक्ष्मी बैंकको चुक्ता पूँजी ३ अर्ब ४ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले २४ करोड चुक्ता पूँजी रहेको प्रोफेसनल दियालो विकास बैंक अक्वाएर गर्न लागेको हो । अक्वाएरपछि लक्ष्मी बैंकको पुँजी ३ अर्ब २७ करोड पुग्नेछ ।  हाल नेप्सेमा लक्ष्मी बैंकको सेयरको मूल्य प्रति कित्ता ८९० रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको प्रतिकित्ता सेयर मूल्य ३७७ रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले दियालोलाई अक्वाएर गरेपछि हुने पूँजीको शतप्रतिशत अर्थात एक बराबर एक कित्ताको अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय समेत सोही बिशेष सधारण सभाबाट गर्नेछ । लक्ष्मी बैंकको जगेडा कोषमा २ अर्ब ६० करोड रुपैंयाँ रहेको छ भने प्रोफेसनल दियालोको जगेडा कोषमा ६ करोड रुपैंयाँ रहेको छ । लक्ष्मी बैंकले गत आर्थिक बर्षमा ६७ करोड नाफा कमाएको थियो भने दिलायोले ३ करोड नाफा कमाएको थियो ।

हानको अध्यक्षमा अमरमान शाक्य, २१ सदस्यीय नयाँ कार्यसमिति छनोट

काठमाडौं १७, असोज । होटल संघ नेपाल (हान)मा अमरमान शाक्य चयन भएका छन् । हानलको ४५ औं अधिवेनबाट ताहाचलस्थित अमर होटलका संचालक शाक्यर्लाइ अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । हानको अहिलेसम्मको इतिहासमा अध्यक्ष निर्विरोध नै चयन गर्ने गरिएकोले यो पटक पनि सोही मापदण्ड लागू गरिएको हानले बताएको छ । हानको आगामी दुई वर्षे कार्यकालका लागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । कार्यसमितिको प्रथम उपाध्यक्ष होटल अन्नपूर्णकी संचालिका सिर्जना राणा, द्वितिय उपाध्यक्षमा शंकर होटलका संचालक विनोद शंकर श्रेष्ठ, महासचिवमा एयरपोर्ट होटलका संचालक विनायक शाह चयन भएका छन् । शाहले महासचिवमै आफ्नो कार्यकाल दोहोर्याएका हुन । कार्यसमितिको कोषाध्यक्षमा पार्क भिलेज रिसोर्टका संचालक सुनिल शाक्य चयन भएका छन् । क्षेत्रिय होटलमा पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष विप्लव पौडेल, क्षेत्रीय होटल संघ चितवनबाट घनश्याम श्रेष्ठ कार्यसमिति सदस्य चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष शाक्यले पर्यटन क्षेत्रमा होटलको महत्व स्पष्ट पारेर अगाडि बढ्ने बताए । पर्यटन क्षेत्रमै सबैभन्दा बढी लगानी भएको यो क्षेत्रलाई सरकारले प्राथमिता नदिएको र पर्यटन क्षेत्र नै ओझेमा परेकोले आफ्नो कार्यकालमा होटल क्षेत्रकै स्थायित्वको लागि आफूले पहल गर्ने बताए ।

व्यवसायीले निहुँ खोजेपछि सरकार आफैंले सवारी चलाउने, दसैंलाई सरकारी कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने

काठमाडौं १७, असोज । सिन्डिकेट बलमा सडकमा मनपरी गरिरहेका व्यवसायीलाई चुनौती दिँदै सरकारले यातायात क्षेत्रमा उपस्थिति जनाउने भएको छ । यातायात क्षेत्रमा सरकारको उपस्थिति शून्य रहेको समयमा सडकमा एकाधिकार जमाएका व्यवसायीले दसैंको समयमा यात्रुलाई दुःख दिने नियतले टिकट बुकिङ बन्द गरेपछि सरकारले आफैँ सवारी साधन सञ्चालन गर्ने निर्णय गरेको छ ।उपत्यकाबाट बाहिरिने ८ लाख बढी यात्रुले टिकट काट्न बाँकी रहँदै व्यवसायीले टिकट बन्द गरेका थिए । व्यवसायीले ‘बार्गेनिङ’ गर्न नियमितबाहेक चाडबाडका समयमा सवारी नथप्ने र भएका सवारीलाई समेत ग्यारेजमा थन्क्याउने नियत राखेपछि सरकार आक्रामक भएको हो । दसैंमा घर जाने यात्रुलाई दुःख दिन व्यवसायीले यात्रु कोच्न र बढी भाडा लिन पाउनुपर्ने, सरकारले इन्धन उपलब्ध गराउनुपर्नेलगायत नाजायज माग तेर्स्याएका थिए । दुर्घटना न्यूनीकरणका लागि र यात्रुको सहजताका लागि सरकारले सिट क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाएको छ । दसैंको समयमा अतिरिक्त बस सञ्चालन नगर्दा सरकारलाई यो व्यवस्था हटाउन दबाब पर्छ भन्दै व्यवसायीले अग्रिम टिकट बुकिङ खुले पनि नियमितबाहेक बस थपेका थिएनन् । तर, व्यवसायीको नियत बुझ्दै सरकारले दसैंलगायत पर्वका समयमा सरकारी कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी र विद्यालयका बस सञ्चालन गर्ने निर्णय गरेको समाचार सोमबारको नागरिक दैनिकमा छापिएको छ ।

नेता तथा सांसदहरु दशैं मान्न विदेशतिर, आफन्त भेटघाटको नाममा नेपाली पैसा विदेशमा

काठमाडौं १७, असोज । सर्वसाधारण दशैं मान्न गाउँ गइरहँदा मन्त्री, विभिन्न दलका केन्द्रीय नेता तथा सांसदहरु भने विदेश जाने तयारीमा छन् । केही मन्त्री तथा नेताहरु भने केही दिनदेखि नै विदेशमै छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विदेशमै छन् भने सत्तारुढ राप्रपा अध्यक्ष पशुपतिशम्शेर राणा सोमबार सिंगापुर जाँदै छन् । फोरम अध्यक्ष यादव दशैंको टीकाको एक दिनअघि मात्र २४ असोजमा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । तर त्यो मिति लम्बिनसक्ने उनी निकट नेताहरुले बताएका छन् । यसैगरी नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का पनि बुधबार नयाँ दिल्ली जाँदै छन् । यही क्रममा उनले स्वास्थ्य परीक्षण पनि गर्ने बताइएको छ । दशैपछि मात्र उनी काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनकी छोरी भारतको पुनामा अध्ययन गर्दै छिन् । यसैगरी तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने तयारीमा छन् । त्यसो त केही मन्त्री पनि यतिखेर विदेशमा छन् । पर्यटनमन्त्री रमी गौचन, भूमिसुधारमन्त्री विक्रम पाण्डे अहिले विदेशमा रहेका छन् ।

सेनाको डुंगा खरिदमा बद्‌मासी, करोडकोमा १२ वटा डुंगा खरीद, आर्थिक चलखेलको आशंका

काठमाडौं १७, असोज । नेपाली सेनाले विपद् व्यवस्थापनमा प्रयोग हुने डुंगा खरिद गर्दा नियमविपरीत बदमासी गरिएको पाइएको छ। नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयले विपत बेला प्रयोग गर्नका लागि संभाररथी विभाग स्वदेश प्राप्तीले खरिद गरेको डुंगामा नियमविपरितको काम भएको पाइएको समाचार सोमबारको नेपाल समाचार पत्रमा छापिएको छ । संभाररथी विभागले सो निर्देशनालयलाई चाहिने सामाग्री भन्दै टेन्डर आव्हान गरेको भए पनि टेन्डरमा उल्लेख भएभन्दा बाहिर गएर डुंगा खरिद गरिएको पाइएको छ। विभागले टेन्डर आव्हान गर्दा टिकाउ र भरपर्दो हुनुपर्ने सर्त र प्रावधान राखेको थियो। नेपाली सेनालाई चाहिने डुंगा खरिदका लागि टेन्डर आव्हान गर्दा १० वटा कम्पनीले प्रतिश्पर्धा गरेको भए पनि स्टार इन्टरप्राइजेजले टेन्डर पाएको थियो। सो इन्टरप्राइजेजले अमेरिकी डुंगा कम्पनी एएनएसको स्पेक राखेर टेन्डर बिड गरेको थियो। एएनएस कम्पनीको स्पेक राखेर टेन्डर बिड गरेको भए पनि सो कम्पनीले चीनमा बनेको डुंगा खरिद गरेर सो निर्देशनालयलाई आइतबार हस्तान्तरण गरेको छ। २ करोडको लागतमा खरिद गरिएको १२ वटा डुंगा र त्यसमा प्रयोग हुने सामान खरिद गरेको उच्च सैनिक स्रोतले बतायो। प्रधानसेनापति राजेन्द्र क्षेत्रीलाई पनि जानकारी नदिई हतार हतार संभाररथी विभागको मिलेमतोमा कमसल खालको डुंगा खरिद गरेको र निर्देशनालायलाई जिम्मा लगाएको स्रोतले बतायो। अमेरिकामा बनेको डुंगाको ५ वर्षको ग्यारेन्टी र १० वर्षको वारेन्टी हुने भए पनि चीनमा बनेको डुंगाको कुनै वारेन्टी तथा ग्यारेन्टी नभएको स्रोतले बतायो।

शुभकामना कार्ड नछाप्न निर्देशन, कार्डको छपाइ फजुल खर्च

काठमाडौं १७, असोज । त्रिभुवन विश्वविद्यालयले आफ्ना मातहतका सबै निकायलाई शुभकामना कार्ड छपाइ नगर्न परिपत्र गरेको छ। शुभकामनाको नाममा फजुल खर्च हुने भन्दै विश्वविद्यालयले ६० आंगिक, विभिन्न अनुसन्धान केन्द्र, डीन कार्यालय र क्याम्पसलाई निर्देशन दिएको समाचार सोमबारको नेपाल समाचार पत्र दैनिकले छापेको छ। शिक्षा मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगले त्रिविलगायत सबै विश्वविद्यालयलाई पत्र पठाएर दशैं, तिहार, नयाँ वर्षलगायतका चाडपर्वमा शुभकामना कार्ड छपाइ गरेर वितरण नगर्न लिखित निर्देशन दिएपछि त्रिविले सबै निकायलाई परिपत्र गरेको हो। दशैंको अवसर पारेर विभिन्न कर्पोेरेट हाउसदेखि सामान्य व्यक्तिलेसमेत कार्ड छाप्ने गरेका छन् । यस्तो कार्ड छपाईले छापई उद्योगलाई राम्रो लाभ हुने भएपनि यसको प्रयोग र महत्व भने निकै घटेको देखिन्छ ।

दसैंमा पानी पर्न सक्ने, मौसमको भर नभएको मौसमविद्को भनाइ

काठमाडौं १७, असोज । दसैं हिलो, मैलो र वर्षा हराएपछिको चाड । मनसुन बिदा भएपछि खुलेको आकाश । मनसुन बिदा हुने बेलामा मनाइने चाड भएको हुनाले पनि कविशिरोमणि लेखनाट पौड्यालले लेखे, ‘हट्यो सारा हिलो मैलो, हरायो पानीको वर्षा, भवानीको भयो पूजा चल्यो आनन्दको वर्षा ।’ पछिल्ला वर्षमा भने पौड्यालले भनेजस्तो दसैं हुन छाडेको छ । दसैंलाई वर्षा तथा प्राकृतिक प्रकोपले खल्लो बनाइदिएका उदाहरण धेरै छन् । यसपालीको दसैंचाहिँ कस्तो हुन्छ रु जलवायु तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहानबेलुका छिटपुट वर्षा भएपनि टीका लगाउने दिन मौसम पूर्ण सफा रहनेछ । मौसमविद् वरुण पौडेलले भने, ‘मनसुन अति कमजोर अवस्थामा पुगेको छ । ठूलो पानी पर्ने सम्भावनै छैन ।’ बुधबारसम्ममा मनसुन कमजोर भइसक्ने अनुमान छ । मनसुन बिदा हुने बेलामा देखिने पश्चिमी वायु क्रमशः पूर्वतर्फ सरेको महाशाखाले जनाएको छ । बिहानबेलुका गड्याङगुडुङ हुने तथा क्षणिक वर्षा हुने सम्भावना भने रहिरहनेछ समाचार सोमबारको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।