काठमाडौं । अब खाता खोल्न बैंकमै जानुपर्ने बाध्यताबाट ग्राहकहरुले छुटकारा पाउने भएका छन् । माछापुच्छ्रे बैंकको अनलाईन खातामार्फत विश्वको जुनसुकै कुनाबाट पनि खाता खोल्न र संचालन गर्न सकिने बैंकले जनाएको छ ।
अनलाईन खाता खोल्न ग्राहकहरुले बैंकको वेबसाईटमा गई अनलाईन खाता खोल्ने फारम भर्नुपर्नेछ । इन्टरनेटको माध्यमबाट कम्प्युटर, मोबाईल, ट्याबलेट/आइ-प्याडको प्रयोग गरी सहजै खाता खोल्न सकिने बैंकले जनाएको छ ।
माछापुच्छ्रे बैंकले हाल सालै बचत खातामा प्रदान गर्दै आएको ब्याजदर समेत वृद्घि गरि ७ प्रतिशत पुर्याएको छ । बैंकले विभिन्न बचत खाताहरुमा ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशतसम्म ब्याज प्रदान गर्ने जनाएको छ । ग्राहकहरुले स्मार्ट बचत खाता तथा तलब व्यवस्थापन खातामा ७ प्रतिशत ब्याजदर पाउन सक्नेछन् ।
यो व्यवस्थासँगै ग्राहकहरुले बैंकले प्रदान गर्दै आएका अन्य सुविधा सहित आफ्नो बचतको उच्चतम प्रतिफल पाउने भएका छन् । मुद्दती निक्षेपमा पनि बैंकले १०.५ प्रतिशतसम्मको उत्कृष्ट ब्याजदर दिदैं आएको छ ।